विकासन्युज

महालक्ष्मी विकास बैंकले गर्यो विद्यालय र टोल सुधार समितिलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गतका कार्य गरेको हो । बैंकको बसुन्धरा शाखाद्वारा तारकेश्वर नगरपालिका वडा नं ९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी हस्तान्तरण गरेको छ । कक्षा एक देखि छ सम्मका विद्यार्थीहरुलाई अध्यापन गराईरहेको विद्यालयले कक्षा थप गर्न लागेको र विद्यार्थीहरुको संख्या पनि बढ्दै गएकाले विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग पुयाउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । त्यस्तै, बैंकको विजयपुर शाखाद्वारा पोखरा उपमहानगरपालिका वडा नं २६ मा अवस्थित कडेनी प्रगती टोल विकास संस्थालाई डस्टविन तथा कुर्सी हस्तान्तरण गरेको हो । बैंकले टोल वरपरको फोहोर संकलन तथा व्यवस्थापनको लागि डस्टविन र संस्थाको कार्यालय प्रयोजनार्थका लागि कुर्सी प्रदान गरेको हो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैकले जनाएको छ ।

सातौं युवा वैज्ञानिक शिखर सम्मेलन सुरु

काठमाडौं । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस/कलेजको संयुक्त आयोजनामा भइरहेको दुईदिने सातौं युवा वैज्ञानिक शिखर सम्मेलन २०२३ हिजोबाट युनिग्लोब कलेज, कमलादी काठमाडौँमा सुरु भएको छ । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल युवा परिषद्, युनेस्को नेपाल, अनुसन्धान तथा विकास सोसाईटी नेपाल र नेपाल विज्ञान शिक्षक समाजसँगको सहकार्यमा आयोजना गरिएको यस सम्मेलनमा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट कक्षा ८ देखि १२ सम्मका युवा वैज्ञानिकहरुले सम्मेलनको पहिलो दिनमा उत्साहपूर्वक उपस्थिति जनाएका थिए । सम्मेलनमा ३१ विद्यालयका ५६ वटा अनुसन्धान प्रोजेक्टहरुबीच प्रतिस्पर्धात्मक प्रतियोगिता हुदैछ ।सम्मेलनमा युवा वैज्ञानिकहरुले इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान र गणित र कम्प्युटर विज्ञानमध्यको (आर्टिफिसियल इन्टेलीजेन्स समेत) कुनै एक विधामा आफ्नो प्रस्तुती दिएका थिए । हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गरेका थिए । युवा वैज्ञानिकको अनुसन्धान कार्यको नवीनता पुरस्कार तथा पदक लागि छनोटको मुख्य मापदण्ड हुनेछ । यसबाहेक संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा अनुसन्धाताले गरेको प्रस्तुतीका आधारमा पनि मूल्यांकन गरिनेछ । यस सम्मेलनका बिजेताहरुलाई पाँच विभिन्न विधामा प्रमाणपत्र र पदकसहित सम्मान गरिनेछ । शीर्ष विजेताहरू सन् २०२३ सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोकोसोनोरामा आयोजना हुने १२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा सहभागी हुनेछन् । युनिग्लोब एसएस/कलेजका अध्यक्ष डा.खगेन्द्र प्रसाद ओझाले अध्यक्षतामा हुने समापन समारोहमा विजेताहरुको घोषणा गरिनेछ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, डा. भगवान कोइराला र डा.नन्द बहादुर सिंहको समेत उपस्थिति रहनेछ ।  

मनकामना दर्शनद्धारा शहिद लखन गाउँपालिकालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर सहयोग

काठमाडौं । मनकामना दर्शनले सामाजिक शहिद लखन गाउँपालिकालाई गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद लखन गाउँपालिकालाई फोहोर व्यवस्थापन कार्यको लागि महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान गरेको हाे । कम्पनीले विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्रकाे ट्याक्टर र हाइड्रोलिक ट्रेलर कुरिनटार स्थित अग्नी इनकर्पोरेटेडको अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुको लगायत यसका उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव रहने मनकामना दर्शनले जनाएकाे छ ।

सुनचाँदीमा कोटा नहटाए व्यवसाय चलाउन सकिँदैन : महासंघ

काठमाडौं । दैनिक १० किलो मात्रै कच्चा सुन आयातले आम उपभोक्ताको आवश्यकता पुरा गर्न कठिन भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सो कुरा बताएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा र अफ सिजनको समयमा झण्डै १० देखि १५ किलोको हाराहारीमा कच्चा सुनको माग हुने गरेको बताए । ‘केही वर्ष पछि छोराको विवाह गर्छु, आझै ५/७ तोला कच्चा सुन किनेर राख्छु भन्दा दिन सक्ने अवस्था छैन, बरु गहना बनाएर दिन सकिन्छ,’ उनले भने ‘अहिलेको सुन आयातको सिस्टम नहटे सुनचाँदी पसल चलाउन सकिँदैन । ‘ विधिवत रुपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिना भन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार सुन बजारलाई केही धानेको भएपनि अहिले प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीहरुलाई पक्राउ गर्ने र अनावश्यक दुःख दिने गरेको आरोप महासंघको छ । महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यव्स्थाको समीक्ष हुन जरुरी रहेको बताएको छ । नेपाली मौलिक गरगहनाहरु विश्वव्यापीरुपमा माग भइरहेको सम्बन्धमा गरगहना निर्यातका लागि स्थानीय बजारको व्यवस्थापनका लागि र घरघरमा रहने आम उपभोक्ताहरुको सम्पतीका रुपमा रहनका लागि सुनचाँदी गरगहनाको यो पेशा व्यवसायलाई आवश्यक नीति, नियम र ऐन कानून निर्माण गर्न आवश्यक रहेको बताएको छ ।

एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम : डाक्टरले १० लाख तलब रोज्लान् कि एक लाख ?

काठमाडौं । पदम गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि माघ २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मन्त्रालयको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना पेश गर्यो । सो कार्ययोजनामा एउटा महत्वपूर्ण विषय ‘एक चिकित्सक एक स्वास्थ्यकर्मी’ कार्यक्रम समेटिएको छ । सरकारले ०७७ असारदेखि नै लागू गर्न खोजेको तर असफल भएको सो कार्यक्रमलाई पुनः मन्त्री गिरीले प्राथमिकताका साथ अगाडि सारेका छन् । ०७८ असारबाट मन्त्रालयले १० वटा अस्पतालमा सो कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेपनि चिकित्सकहरुकै असहमति तथा असहयोगको कारण सो कार्यक्रम लागू हुन सकेको छैन । पहिले सरकारले १० वटा अस्पतालमा लागू गर्ने प्रयास गरेको सो कार्यक्रमलाई मन्त्री गिरीले भने काठमाडौंमा रहेका मुख्य तीनवटा सरकारी अस्पताल वीर, कान्ति र परोपकार, प्रसुती तथा स्त्रीरोग अस्पतालमा लागू गर्ने विषय अगाडि सारेका छन् । मन्त्रालयको प्राथमिकतामा रहेको एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू भएमा त्यसले निजी क्षेत्रबाट सञ्चालित धेरै अस्पतालहरुको स्वास्थ्य व्यवसायलाई समेत असर गर्न सक्ने अनुमान छ । तर, सरकारले अगाडि कार्यान्वयन गर्न खोजेको एक चिकित्सक एक स्वास्थ्य संस्थाको कार्यक्रम राम्रो भएको सोको कार्यान्वयनले निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुलाई कुनै असर नपर्ने निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुलाई समस्या नपर्ने एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफन) का अध्यक्ष डा. पदमबहादुर खडकाको भनाइ छ । ‘सरकारले ल्याएको यो एकदमै राम्रो कार्यक्रम हो’, उनले भने, ‘सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई बाहिर जान नपरोस् भनेर ल्याएको कार्यक्रम हो जस्तो लाग्छ ।’ अस्पतालमा चिकित्सकहरु बसे भने स्वास्थ्य सेवा राम्रो हुने डा. खड्काको भनाइ छ । ‘अस्पतालमा चिकित्सक बसे भने स्वास्थ्य सेवा राम्रो हुन्छ, जस्तै ओपीडी ९ बजेदेखि १२ बजेसम्म हुनु र ४ बजेसम्म हुनुमा फरक पर्छ, त्यसो हुँदा सेवाग्राहीले सेवा पाउँछन्’, उनले भने, ‘यो सरकारीमा सेवाग्राहीलाई गुणस्तर कम भयो भनेर ल्याएको हो जस्तो लाग्छ मलाई ।’ तर यसलाई सफल वा असफल बनाउनका लागि मन्त्रालय, अस्पताल र चिकित्सकबीचमा समझदारी हुनुपर्ने उनको भनाइ छ । सरकारले ल्याएको कार्यक्रमले भने निजी क्षेत्रबाट सञ्चालित अस्पताललाई कुनै असर नगर्ने अध्यक्ष डा. खड्का बताउँछन् । ‘यो कार्यक्रमले निजीलाई केही असर गर्दैन, किनभने निजीले आफ्नो व्यवस्था गरेको छ, सरकारको कार्यक्रमलाई हेरेर निजीले केही विषय परिमार्जन गर्न पर्दैन ।’ सरकारी अस्पतालक चिकित्सकको संख्या देशभरी १२ सय देखि १५ सय पनि नभएको त्यसमा पनि एक हजार जति मात्रै चिकित्सकको पेशामा रहेको हुनसक्ने आंकडा बताउँदै अध्यक्ष डा. खड्काले निजी क्षेत्रमा भने १४/१५ हजार चिकित्सक भएको बताए । ‘केही २/४ वटा मेडिकललाई समस्या होला, तिनले आफ्नो व्यवस्था गर्छन्, यो चाहिने कार्यक्रम हो, यसले निजीलाई केही असर गर्दैन, यो कार्यक्रम लागू भयो भने जनताले सेवा पाउँछन्’, उनले भने । त्यस्तै, एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफन) का महासचिव हेमराज दाहालले सरकारले सो कार्यक्रम लागू गरेमा केही आंशिक समस्या निजी क्षेत्रबाट सञ्चालित अस्पताललाई परेपनि सरकारी अस्पतालहरुलाई नै बढी समस्या पर्ने बताए । ‘निजी अस्पताललाई त्यस्तो असर पर्दैन, अहिले निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुले पनि पर्याप्त मात्रामा चिकित्सक उत्पादन भैसकेका छन्, बरु सो कार्यक्रम लागू गर्दा निजी अस्पतालमा काम गरिरहेका चिकित्सकहरुले सरकारी अस्पतालबाट राजीनामा दिएर आउन थाले भने सरकारले कसरी रोक्छ’, दाहालले प्रश्न गरे । उनले सरकारले सो कार्यक्रम लागू गरेमा पारिश्रमिकको कारणले पनि चिकित्सकहरुले सरकारी अस्पताल छोड्न सक्ने बताए । ‘सरकारी अस्पतालमा ४५ हजार, ५० हजार र बढीमा १ लाख सम्म पारिश्रमिक लिन्छन्, निजीमा १० लाख सम्म लिने चिकित्सकहरु हुनुहुन्छ’, उनले भने, राज्यले एक चिकित्सक एक स्वास्थ्य संस्था लागू गरेमा चिकित्सकहरुले भोली राज्यलाई नै छोडेर निजीलाई अंगाले भने के गर्ने ?’ मन्त्रालयले ल्याएको कार्यक्रम पपुलर हुनका लागि स्टन्टमुखी ढंगले आएको महासचिव दाहालको भनाइ छ । ‘पपुलर हुनको लागि स्टन्ट गर्ने होइन नी राज्यको निकायको मान्छेहरुले, बुझेर यथार्थलाई स्वीकार गर्नपर्यो नी’, उनले भने । श्रम ऐनले मान्छेलाई ८ घण्टाभन्दा बढी काम गराउने व्यवस्था गरेको र चिकित्सक प्राविधिकहरुलाई डब्लुएचओले ६ घण्टा मात्रै काम गराउनुपर्ने मान्यता राखेकाले सो कार्यक्रम लागू गरे पनि चिकित्सकले ६ घण्टाभन्दा बढी काम गर्ने अवस्था नहुने महासचिव दाहालको तर्क छ । ‘त्यो समय भन्दा बाहेकको समयमा उसको व्यक्तिगत कुरा हो, उसको मानवअधिकारको कुरा हो’, उनले भने, ‘यो अव्यवहारिक छ, ज्ञान, सीप र क्षमतालाई राज्यले बाँधेर राख्छु भनेर सक्छ, सक्दैन ।’ सरकारी अस्पताल व्यवस्थित गर्नको लागि आफ्ना जनशक्तिलाई समय तालिकामा खटाउनुपर्ने उनको सुझाव छ । त्यस्तै ओभरटाइम सुविधा दिने काम लगाउने नीति अख्तियार गर्नुपर्ने महासचिव दाहालले बताए । राज्य स्वास्थ्य क्षेत्रसँग आवद्ध हुँदा नागरिकले सुविधा पाउने, निजी भन्दा सरकारी अस्पतालमा सहुलियत पनि भएको तर जर्बजस्ती गरेर सञ्चालन गर्न नहुने उनको भनाइ छ ।

नेपाल एपीएफ स्कुलको सेमिफाईनल यात्रा सुनिश्चित

काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाईनल खेलमा आयोजक नेपाल एपीएफ स्कुलले सैनिक आवासीय महाविद्यालयलाई १-० गोलले पराजित गरी आफ्नो सेमिफाईनलको यात्रा सुनिश्चित गरेको छ । आज भएको खेलमा नेपाल एपीएफ स्कुलको तर्फबाट डम्बर वि.क.ले १ गोल गरेका थिए । त्यसैगरी आज सम्पन्न दोस्रो क्वाटर फाईनल खेलमा लिटल एन्जल्स स्कुल, लतितपुरले ब्लुम नेपाल स्कुललाई ३-२ को गोल अन्तरले पराजित गर्यो । लिटल एन्जल्स स्कुलको तर्फबाट आयुष माझी, सुमन वि.क. र प्रज्जवल गुरुङ्गले १-१ गोल गरेका थिए भने ब्लुम नेपाल स्कुलको तर्फबाट राजकुमार रावलले २ गोल गरेका थिए । भाेली ९ गते हुने क्वाटर फाईनल चरणका खेलहरुमा ल्याब्रेटोरी माध्यमिक विद्यालय विरुद्ब राराहिल मेमोरियल स्कुल, कीर्तिपुर र नेपाल पुलिस स्कुल, साँगा विरुद्ब ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थ खेल्ने अायाेजकले जनाएकाे छ ।

बन्दै नबनेको सडक बनाएको भन्दै भ्रष्टाचार गर्ने कर्मचारीविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख गुराँस गाउँपालिकाका इञ्जिनीयरलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्थानीय निगालपानी रेग बगौरा सडक निर्माण योजनाको सम्झौतामा रहेको निर्धारित शर्त र मापदण्डविपरीत नक्कली नापी किताब बनाएको, उपभोक्ता समितिसम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदनसमेत तयार पारी मापदण्डअनुसार सडक निर्माण भएको भनी गलत प्रतिवेदन बनाएको पाइएपछि मुद्दा दायर गरिएको हो । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ को सो परियोजनामा यसरी अनियमितता गर्नेमा तत्कालीन इञ्जिनीयर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनीयर नवीनकुमार विसीको संलग्नता रहेको आयोगको ठहर छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारवाहीको माग गरिएको छ ।

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा सम्मान

काठमाडौं । एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ। कार्यक्रम अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यलय एनसेल आइकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रममाझ विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्यहरुको उपस्थितीमा प्रदान गरिएको थियो । २०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याइ यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको बताइएको छ । पुल्चोक क्याम्पसका क्याम्पस चीफ एसोसियट प्राडा. इन्द्रप्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज बिजनेस अफिसर अदिल इस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ अध्ययन संस्थानका कार्यवाहक डीन प्रा.डा. शुशिल बज्राचार्यले भने, ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान स्थापना गरि प्रत्येक वर्ष यसरी हाम्रा विद्यार्थीलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गरिदिनु भएकोमा हामी धेरै आभारी छौं। यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम आफैमा एक उदाहरण बनिसकेको छ । एनसेल सञ्चारमा मात्र नभइ कम्पनीले विभिन्न क्षेत्रमा गर्ने सामाजिक पहलहरुका लागि पनि लोकप्रिय छ ।’ यस्तै, कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) सँगको सहकार्यमा २०७१ सालदेखि विद्यार्थीहरुले प्राप्त गरेको नतिजाको आधारमा उनीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै युवा प्रतिभाको विकासमा योगदान पुर्‍याउन पाउँदा हामी खुसी छौं । एनसेलमा हामी दिगो विकास लक्ष्य अनुरूप सरकारले परिभाषित गरेका तीनवटा क्षेत्रहरूलाई उच्च प्राथमिकता दिन्छौं । शिक्षा हाम्रा लागि महत्त्वपूर्ण भएकोले हामी यस पहललाई निरन्तरता दिन तत्पर छौं ।’ २०७१ सालबाट सुरु गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको एनसेलले जनाएको छ । कुल १८ जनामध्ये पाँचवटै संकायका छात्राहरुबाट उत्कृष्ट नतिजा ल्याएका द्धीतीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् । यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशी एक लाख रुपैयाँ छ।