काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएका बेला नेपाल राष्ट्र बैंकले अझै ब्याजदर नघट्ने संकेत गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरिरहेको ब्याजदर सरह नै राष्ट्र बैंकले बचतपत्रको ब्याजदर तोकेपछि अझै केही समय ब्याजदर नघट्ने संकेत देखिएको हो ।
राष्ट्र बैंकले साढे ११ प्रतिशत ब्याजदरमा बचतपत्र बिक्री गर्ने तयारी गरेको छ । जुन बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्र तथा मुद्दती निक्षेप खातामा तोकिएको ब्याजदरभन्दा बढी हो हो ।
राष्ट्र बैंकले ५ वर्षका लागि २ अर्ब ५० करोड रुपैयाँ बचतपत्र बिक्री खुला गर्ने भएको हो । जसको ब्याजदर ११.५० प्रतिशत तोकेको छ । राष्ट्र बैंकले फागुन १० गतेदेखि फागुन ३० गतेसम्म बिक्री खुला गर्नेछ । उक्त ऋणपत्र चैत ६ गते निष्काशन गर्नेछ भने २०८४ चैत ६ गते साँवा भुक्तानी गर्नेछ ।
राष्ट्र बैंकले वर्षमा कति ऋणपत्र बिक्री गर्ने भनेर योजना बनाएको हुन्छ । सोही अनुसार यसपटक उच्च ब्याजदरमा बचतपत्र बिक्री गर्न लागेको हो । हाल बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा ११.३३ प्रतिशत ब्याजदर तोकेका छन् भने ऋणपत्रमा ११.३० प्रतिशत मात्रै ब्याजदर तोकेका छन् । यसले गर्दा बजारमा नकारात्मक असर परेको जानकारहरु बताउँछन् ।
राष्ट्र बैंकले उच्च ब्याजदरमा बचतपत्र बिक्री गर्ने सूचना जारी गरेपछि सेयर बजारमा असर परेको लगानीकर्ता बताउँछन् । राष्ट्र बैंकले उच्च ब्याजदरमा बचतपत्र निष्काशन गर्ने भएपछि पुँजी बजार ओरालो लाग्न थालेको लगानीकर्ता अन्जिव तुलाधर बताउँछन् । राष्ट्र बैंकले बिक्री गर्ने बचतपत्रका कारण पुँजी बजारमा नकारात्मक असर परेको उनको भनाइ छ ।
बचतपत्रमा तोकिएको ब्याजदरका कारण नै पुँजी बजारका लागनीकर्तामा मनोवैज्ञानिक प्रभाव पारेको उनले बताए । ब्याजदर बढ्ने कुनै आधार नभएपनि राष्ट्र बैंकले भने घट्न नसक्ने संकेत गरेको उनको बुझाइ छ ।
‘अब ब्याजदर बढ्ने कुनै आधार छैन, यो भन्दा बढी ब्याजदर उद्योगी व्यवसायीहरुले थेग्न सक्दैनन्, उनीहरु आन्दोलन गरिरहेका छन्, १८ प्रतिशतसम्म ब्याज तिरेर कुनै पनि उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘राष्ट्र बैंकले बजारको ब्याजदर अनुसार निर्धारण गरेको हुन सक्छ, यसले लगानीकर्तामा मनोवैज्ञानिक असर पारेको छ किनभने बजार २ दिन निरन्तर घटिसक्यो, लगानीकर्तामा ब्याजदर घट्दैन भन्ने लागेको छ, लगानीकर्ताले बचतपत्र खरिद नगरे पनि दिमागमा त्यसको असर परिरहन्छ ।’
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.६० अंकले घटेको छ । जुन राष्ट्र बैंकको बचतपत्रमा तोकिएको ब्याजदरका कारण घटेको लगानीकर्ताहरुको बुझाइ छ ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द प्रसाद ढकाल सरकारले उच्च ब्याजदरमा पैसा उठाउनु भनेको दूरदर्शी नै रहेको बताउँछन् । यसरी सरकारले नै उच्च ब्याजदर निर्धारण गर्दा बैंकको ब्याजदर नघट्ने संकेत देखिएको बताए ।
‘बजारमा पैसा छैन, तरलताको अभाव छ भन्ने संकेत गरेको हो, बैंक तथा वित्तीय संस्थाको पैसा बचतपत्रमा लगानी गर्छन्, बैंकमा लगानीयोग्य पुँजी कम भएपछि अनुत्पादक क्षेत्रमा लगानी गर्दैनन्, त्यसैले बढी ब्याज तोकेको हो, बैंक तथा वित्तीय संस्थाले डबल डिजिटमा लाभांश दिन सक्दैनन्, सरकारले १२ प्रतिशतसम्म दिएपछि आकर्षण बढ्छ,’ उनले भने ।
यस्तै, पूर्व बैंकर अनलराज भट्टराई राष्ट्र बैंकका पोलिसी रेट, ट्रेजरी बिलको रेट उच्च भएको हुँदा सरकारी बचतपत्र पनि बढेको हुन सक्ने बताए । दीर्घकालमा ब्याजदर घट्न नसक्ने संकेत राष्ट्र बैंकले गरेको उनको भनाइ छ ।
‘साढे ११ प्रतिशतको ब्याजमा पैसा उठाउँदा ‘मनी मार्केट’ र अर्डिनरी लोन मार्केट महँगो छ भन्ने यसले संकेत गरेको हो, यो ब्याजदर उच्च भएको नै हो तर अहिलेको परिपक्षेमा साढे ११ प्रतिशत ब्याजदर भनेको सामान्य नै हो,’ उनले भने ।
सरकारको बचतपत्रमा नै यति धेरै ब्याजदर पाइने भएपछि बैंकको ऋणपत्रमा आकर्षण कम हुने उनको भनाइ छ । एसएलएफमा ऋण लिन ऋणपत्र कूल निक्षेपको १ प्रतिशत सीमा तोक्दा ब्याजदर बढेको हुन सक्ने उनले बताए । ब्याजदर तत्काल घट्न सक्ने संकेत भने नरहेको उनको भनाइ छ ।
यस्तै, पूर्व गभर्नर चिरञ्जिवी नेपाल राष्ट्र बैंकले बचतपत्रमा साढे ११ प्रतिशत ब्याजदर दिएर लगानीकर्तालाई आकर्षण गर्न खोजेको बताउँछन् । उनका अनुसार ब्याजदर उच्च भएपछि बचतपत्रमा सर्वसाधारणको आकर्षण बढ्छ ।
‘राष्ट्र बैंकले ब्याजदर बढी दिएर आकर्षण गर्न खोजेको हो, बजारबाट रकम उठाउनका लागि बढी ब्याजदर दिएको हो, यसले दीर्घकालमा ब्याजदर नघट्न सक्ने संकेत राष्ट्र बैंकले दिएको हो,’ उनले भने ।
बैंकहरुको ऋणपत्रभन्दा बढी ब्याजदर राष्ट्र बैंकको बचतपत्रमा पाइने भएपछि लगानीकर्ताको आकर्षण बढ्ने उनले बताए । ‘जति वर्ष बढी अवधिको हुन्छ त्यहि अनुसार ब्याजदर निर्धारण हुन्छ, लामो अवधिका लागि धेरै ब्याजदर हुन्छ, ब्याजदर निर्धारण गर्दा वर्षले अर्थ दिन्छ, धेरै ब्याजदर भएको ऋणपत्र छिटो बिक्री हुन्छ,’ उनले भने ।
नेपालमा बचतपत्र बिक्री गर्ने चलन खासै कम रहेको उनले बताए । बचतपत्रबाट संकलित रकम ठूल्ठूला आयोजनामा लगानी गर्ने गरेको उनको भनाइ छ । विदेशमा सरकारले ठूला आयोजना निर्माण गर्न यस्तै बचतपत्र बिक्री गरेर रकम उठाउँछ ।