गर्मीयाम सुरु भएकाले अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो
अर्घाखाँची । जिल्ला सदरमुकामस्थित अर्घाखाँची अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनाको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन् । दैनिक एक सयदेखि एक सय ५० जनासम्म ओपिडीमा उपचारका लागि आउने गरेकामा अहिले बढेर दैनिक तीन सयभन्दा बढी पुगेको अस्पतालका प्रमुख चिकित्सक जगन्नाथ तिवारीले बताए । बालबालिका, ज्येष्ठ नागरिक, मौसमी रुघाखोकी तथा दीर्घ रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । ओपिडीमा मात्र नभएर इमर्जेन्सीका बिरामी पनि बढेका छन् । अस्पतालमा भर्ना भएर उपचार गराउनेकोे सङ्ख्या पनि बढेको छ । केही समयपहिलादेखि बन्द रहेको सिएस सेवा अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा पनि नियमित भएको छ । अस्पतालमा प्रमुखको जिम्मेवारी सम्हालेर चिकित्सक जगन्नाथ तिवारी आएपछि यो सेवा सुरु भएको हो । जटिल प्रकृतिका प्रसूतिलाई शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ । शल्यक्रियाकै लागि बुटबल जानुपर्ने बाध्यता हटेपछि स्थानीयवासी पनि खुसी भएका छन् । दुई एमडिजिपी, एक विशेषज्ञ र पाँच मेडिकल अफिसरबाट सेवा पुनः सञ्चालन गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीको भनाइ थियो । अत्याधुनिक उपकरणबाट अधिकांश रोगको जाँच गरिने ल्याब सेवा सञ्चालन गरिएको छ । थाइराइड, फङ्गसन टेस्टदेखि लिएर सबै प्रकारका बायोकेमेस्टिक टेस्ट, डिजिटल एक्स–रे, डप्लर अल्ट्रासाउन्ड सेवा, फिजियोथेरापी सेवालगायत सेवा नियमित सञ्चालन भएका छन् । दैनिक ५०/६० वटासम्म अल्ट्रासाउन्ड हुने गरेको छ । अन्य सामान्य शल्यक्रियालगायत हाइड्रोसिल, हर्नियालगायत रोगको शल्यक्रिया पनि सोही अस्पतालमा हुने गरेको छ । सिएस सेवा सञ्चालन गर्दा जिल्लामा ब्लड बैंक नभएर समस्या हुने तर शल्यक्रिया गर्नुभन्दा पहिला ब्लड दिने व्यक्तिलाई राखेर शल्यक्रिया गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीले जानकारी दिए । अहिलेको सङ्ख्याभन्दा पनि बिरामीको चाप बढ्न सक्नेछ । गर्मीयाम सुरु भएकाले बिरामीको चाप थप बढ्न सक्ने अनुमान चिकित्सक तिवारीको थियो । रासस
प्रधानन्यायाधीश नियुक्ति चाँडो टुङ्ग्याउन नेपाल बारको माग
काठमाडाैं । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग गरेको छ। एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताए । सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेषरूपमा लिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष घिमिरेले लामो समयदेखि कायममुकायमको भरमा सर्वोच्च अदालत चलिरहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको बताए । प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्था छ । विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश हुन् । भेटमा अध्यक्ष घिमिरेसहित महासचिव अञ्जिता खनाल, बागमती प्रदेश उपाध्यक्ष हर्क रावल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए।
आइसिसी लिग–२ : नेपालसामु २१३ रनको चुनौती
काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि २१३ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो । स्कटल्याण्डको लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रनको योगदान गरेका हुन । त्यस्तै स्कटल्याण्डका अन्य खेलाडी म्याथ्यु क्रसले ४२ रनको योगदान गरे । ब्रेन्डन म्याकुलमले ३१ रन बनाउँदा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२/२२ रन जोडे । मार्क वाट्ले ८ रन बनाए भने शफ्यान शरिफले अविजित ८ रन जोडे । क्रिस ग्रेभ्ब्सले ७ रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले चार विकेट लिए भने करण केसीले तीन विकेट झारे । त्यसैगरी ललित राजबंशी र कुशल मल्लले समान एक एक विकेट हात पारे । यस सिरिजमा नेपाल लगातार चौँथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेलमा नेपालले विजय हासिल गरेको थियोे । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा तीन विकेटको जित हासिल गरेको थियो । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अङ्कका साथ छैँटौँ स्थानमा छ । त्यस्तै स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र नौ मा हारसहित ५० अङ्कका साथ शीर्षस्थानमा छ ।
प्रोग्रेशिभ फाइनान्सले माग्यो धेरै संख्यामा कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । प्रोग्रेशिभ फाइनान्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । फाइनान्सले विभिन्न पदका लागि कर्मचारकाे माग गरेको हाे । कम्पनीले डिपार्टमेन्ट हेड देखि एसिस्टेन्ट लेभलसम्म विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर लेभलका लागि पनि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट मार्फत फागुन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।
एक जनाबाट एक करोड निक्षेप उठाए, यो काम लघुवित्तको हो ? कार्यकारी निर्देशक नेपालको विचार
लघुवित्त वित्तीय संस्थाहरुले समुदायलाई वित्तीय सेवा दिएका छन् । यो कार्य एउटा लघुवित्त संस्थाले मात्रै सम्भव भएको होइन । यसमा समग्र लघुवित्त संस्थाहरुको योगदान छ । राष्ट्र बैंकमा काम गर्दा केही समय अगाडि लघुवित्त संस्थासँग संलग्न हुने अवसर पाएको थिएँ । लघुवित्त क्षेत्रमा अभ्यासकर्ताको रुपमा १० वर्ष अगाडि काम गरेको थिएँ । त्यसैले मलाई राष्ट्र बैंकमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्न अथवा लघुवित्त वित्तीय संस्थाहरुको क्रियाकलापमा हातेमालो गर्न सहयोग पुगेको छ । सुझाव र सल्लाहलाई फिडब्याकका रुपमा लिनेछु । लघुवित्त वित्तीय संस्थाहरुले बचतमा राम्रो योगदान गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले तल्लो तहसम्म पुगेर काम पनि गरेका छन् । लघुवित्त संस्थाहरुले ३३ लाख ग्राहकलाई कर्जा दिएका छन् भने ५९ लाख ग्राहकहरुको रकम बचत गरेका छन् । लघुवित्त संस्थाहरुले गाउँगाउँमा वित्तीय साक्षरता तथा वित्तीय पहुँच पुर्याउन ठूलो भूमिका निर्वाह गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले ५ हजार १५० वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गरिरहेका छन् । संस्थाहरुले गरेको सेवालाई राष्ट्र बैंकले राम्रो मूल्याङ्कन गरिरहेको छ । लघुवित्त संस्थाहरुले राम्रो काम गर्दागर्दै पनि धेरै कुराहरुमा गलत अभ्यास भएको देखिन्छ । राष्ट्र बैंकले लघुवित्त विरुद्धका मुद्धाका बारेमा संस्थाहरुलाई सचेत गराइरहेको हुन्छ । लघुवित्त संस्थाहरुले गुलियो दिने काम मात्रै गरेको छैन । केही गलत अभ्यास पनि भइरहेका छन् । जस्तो हाहमीले खाने ५/६ वटा तत्वहरुमध्ये गुलियो मात्रै खायो भने स्वास्थलाई राम्रो काम गर्दैन । पछिल्लो समय लघुवित्त संस्थाहरु विरुद्धको आन्दोलन अथवा लघुवित्त संस्थाहरु क्रियाकलाप विरुद्धको गतिविधि भइरहेका छन् । यसरी लघुवित्त संस्थाहरु विरुद्धका गतिविधि हुनु दुःखद हो । राष्ट्र बैंकले नीतिमा छलफल गर्दा, नियमन गर्दा, नीति निर्देशन वा व्यवस्थापन समितिमा लघुवित्त संस्थाहरु विरुद्धको गतिविधिका बारेमा जानकारी लिइरहेको हुन्छ । राष्ट्र बैंक अप्रत्यक्ष रुपमा यस्ता गतिविधिका बारेमा जानकारी भएको हुन्छ । राष्ट्र बैंकले सम्पूर्ण प्रयास गरेर लघुवित्त संस्थाहरुका क्रियाकलाप विरुद्धका गतिविधि न्यूनीकरण गर्न काम गरिरहेको छ । राष्ट्र बैंकले यस्ता गतिविधि विरुद्ध विभिन्न सार्वजनिक कार्यक्रममा बोल्दै आएको छ । हामीले पनि विभिन्न फोरमहरुमा आफ्ना कुराहरु राखेका छौं । तर, यतिले मात्रै प्रयाप्त हुँदैन । राष्ट्र बैंकले लघुवित्त संस्थाहरु लगायत अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने गरेको छ । यसले पद्धतीमा नै जोखिम निम्त्याउँछ । अहिले लघुवित्त संस्थाहरुमा मात्रै समस्या आएको हो । भोलिका दिनमा फाइनान्स कम्पनी, विकास बैंक र वाणिज्य बैंक सहित समग्र इण्ड्रष्टी नै यस्ता गतिविधिले हिट गर्छ । पैसा लिएर तिर्नु पर्दैन भन्ने प्रवृत्ति अथवा क्रियाकलापहरुलाई राष्ट्र बैंकले जहिले पनि अराजक गतिविधि हुन् भनेर भन्ने गरेको छ । तर, यो क्रियाकलापहरु आउनुमा हाम्रा पनि केही क्रियाकलापहरु सँगसँगै जोडिएका छन् । कर्मचारीले गर्ने व्यवहारहरु, लघुवित्तले लिने सेवा शुल्कमा शोषण ९एक्सप्लाइटेसन० गर्ने काम भइरहेका छन् । लघुवित्तले लिने सेवा शुल्क कसरी निर्धारण भएका छन् रु कर्मचारीहरुले फिल्डमा गर्ने व्यवहार के छ रु लघुवित्तको अनुशासनमा ब्यापक गिरावट आएको छ । लघुवित्त संस्थाहरुको अनुशासनमा पहिला सीसीटी, जिआरटी लगायत प्लसका सिद्धान्तहरु लागू हुन्थे । म लघुवित्तमा हुँदा बङ्गलादेश, फिलिपिन्स लगायत केही देशहरुमा लघुवित्त संस्थाको अध्ययन गर्ने अवसर पाएको थिएँ । त्यो बेलामा यस्ता सिद्धान्तहरु परिपालना हुन्थे । ती खालका सिद्धान्तहरु अहिले लागू भएका छैनन् । पछिल्लो चरणमा लघुवित्तका क्रियाकलाप, अनुशासन पालना लगायतका क्रियाकलाप घट्दै गएको छ । कर्मचारीहरुले राम्रो सेवा दिइरहेका छैनन् । माथिल्लो तहका कर्मचारीले मनिटरिङ गर्न सकेको छैन । विगतमा लघुवित्तमा हुँदा क्रेडिट प्लस लागू हुन्थ्यो । अहिले ती कुराहरु ठप्प भए । लघुवित्त संस्थाहरु नाफामुखी भएका छन् । सामाजिक क्रियाकलापहरु कम हुँदै गएका छन् । लघुवित्तका सिद्धान्तहरु लागू हुन सकेनन् । यस्ता क्रियाकलापममा पनि लघुवित्त संस्थाहरुले ध्यान दिन सकेनन् । लघुवित्तको लक्ष्य प्राप्तिमा पनि चुकेका छौं । ग्राहक सदस्यहरुको संरक्षण गर्न तिर जोड दिनु पर्छ । केन्द्र कोषको परिचालन गरेर सदस्यको उत्थान गर्न पर्ने अहिलेको आवश्यकता हो । लघुवित्तका माथिल्लो तहका कर्मचारीहरुबीच छलफल हुन जरुरी छ । लघुवित्तले गरेका कामका बारेमा बजारमा प्रचारप्रसार गर्नुपर्यो । जसले विरोधीहरुलाई डाउन गर्न मद्दत पुग्छ । पछिल्लो समय लघुवित्त संस्थाहरुको राम्रो स्थिती छैन । तर, गत असारको फिगरहरु अर्थात् एजिएम क्लियरेन्सका लागि केही संस्थाले मात्रै स्वीकृति लिएका छन् । अहिलेसम्म राष्ट्र बैंकमा रिपोर्टिङ भएका लघुवित्तहरुमा २० प्रतिशतभन्दा घटी लाभांश घोषणा गर्ने संस्था ६ वटा मात्रै छन् । ७६ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । यस्तो किसिमको आम्दानी कहाँबाट गर्याै भनेर अध्ययन गर्नुपर्छ । अधिकांश लघुवित्तले २० प्रतिशत भन्दा बढी लाभांश घोषणा गरेका छन् । लघुवित्तले ७६ प्रतिशतसम्म लाभांश वितरण गर्नु स्वभाविक हो की होइन ? यो पैसा कहाँबाट कसरी संकलन गरेका हौं ? भन्ने कुराहरु पनि सोच्नुपर्ने बेला आएको छ । डिपोजिट रिफण्डका समस्याहरु पनि आइरहेका छन् । अब सिस्टमलाई बलियो बनाउन पहल गर्नुपर्छ । अप्रेसन रिस्क बढेका छन् । क्लाइन्ट प्रोटेक्सनमा धेरै काम गर्न बाँकी छन् । लघुवित्त संस्थाहरु प्रोफिट ओरियन्टेड भएका छन् । जसरी पनि पैसा उठाउने, अन्य शेवा शुल्क लगाएर नाफा कमाउने क्रियाकलापले लघुवित्तको प्रुडेन्ट घटेको छ । लघुवित्तका बारेमा ब्रिफिङ गर्नुपर्ने बेला आएको छ । धेरै ठाउँमा आफै पनि सुध्रिनु पर्नेछ । अहिलेको आन्दोलनलाई निमिट्यान्न पार्न आफू कर्पाेरेट कल्चरमा बस्न जरुरी छ । विगत समयभन्दा पछिल्लो चरणमा मुनाफा कमाउने होडवाजी चलेको छ भने क्रेडिट प्लस वा सोसियल एक्टिभिटहरु कम हुँदै गएका छन् । यसले लघुवित्त क्षेत्रको लक्ष्यलाई पुरा गर्दैन । हामीले थ्याङ्कमा सबै कुराहरु छर्लङ्ग देखाउनुपर्छ । किनभने तथ्याङ्कले यी कुराहरुले सहयोग गर्छ । राष्ट्र बैंकले तथ्याङ्क बाहिर गएर बोल्न सक्दैन । कुनै किसिमको सहयोग आवश्यक पर्दा राष्ट्र बैंक जहिले पनि हातेमालो गर्न तयार छ । डिप्राइड सेक्टरमा क्रेडिट लगायत धेरै कुराहरुमा राष्ट्र बैंकको सहयोग हुन्छ । विगतमा छिमेक लघुवित्त र निर्धन लघुवित्तलाई शाखा कार्यालय सञ्चालन गर्न मात्रै दिइएको थियो । कसरी लाइसेन्स दिएको हो, उहाँहरुको सिस्टम अपग्रेड भएको छ की छैन भनेर शाखा वाइजमा स्वीकृति दिइएको थियो । त्योलमा यी २ वटालाई मात्रै दिएर र खन्य लघुवित्तलाई दिइएको थिएन । किनभने त्यो बेलाको रिपोर्टिङकमा विभिन्न मेकानिज्म मिलेको थिएन । आधार दर प्लसमा जानका लागि राष्ट्र बैंकलाई कुनै समस्या छैन । तर, हाम्रा क्लाइन्टहरुलाई आधारदर गणना गरेर शुल्क गर्न सम्भव छ की छैन भनेर हेर्न जरुरी छ । वाणिज्य बैंकको औषत आधारदर साढे १० प्रतिशत छ । लघुवित्तको आधारदर औषतमा १३.३ प्रतिशत छ । यो लागू हुँदा क्लाइन्ट प्रोटेक्सनका सिद्धान्तहरुलाई अवलोकन गर्न सकिन्छ की सकिँदैन ? आधार दरमा जाँदा क्लाइन्टहरुको अवस्था के हुन्छ भनेर छलफल गरेर अघि बढ्नुपर्छ । रिस्ट्रक्चरिकङ लघुवित्तलाई आवश्यक छैन । तैपनि अधिकांश संस्थाहरुले काम गरिरहेको नोटिस गरिरहेका छौं । आवश्यक पर्दा राष्ट्र बैंकले कारवाही गर्न सक्छ तर, अनुशासनमा बस्ने भएकाले कारवाहीमा जाँदैनौं । लघुवित्तले ९६ लाख रुपैयाँसम्म प्रतिब्यक्तिबाट डिपोजिट कलेक्सन गरेका छन् । त्यो लघुवित्तको काम हो ? यस्ता ठूला खालका ऋणीहरुसँग गएर डिपोजिट कलेक्सन गर्ने र राष्ट्र बैंकबाट लाइसेन्स नलिएर पनि पब्लिकको डिपोजिट कलेक्सन गरेका छन् । यो खालको क्रियाकलाप गरियो भने हाम्रो इण्डष्ट्रि कतातिर जान्छन् ? कम्लायन्समा सकेसम्म जोड दिनु पर्छ । लघुवित्तले ठूला वर्गलाई मात्रै कर्जा दिइरहेका छन् । धितो कर्जामा ज्यादती बढेको छ । (रेवतीप्रसाद नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख हुन् । काठमाडौँमा आयोजित कार्यक्रममा राखेको विचार)
जलवायु परिवर्तन : न वर्षा न हिमपात
मनाङ । यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा काला पत्थर मात्रै देखिन्छ । हिउँले रुझेर यहाँका धुलो हिलाम्मे हुनुपर्ने समय हो । तर, यसवर्ष यहाँ मौसम प्रतिकूल भएर हिमपात हुनसक्ने सम्भाव्यता देखिए पनि हिउँ पर्न सकेन । मनाङमा हिमपात नहुँदा हिमाल कालापत्थर बन्दै गएको छ । हिमपात नभएपछि यहाँ कृषि क्षेत्रमा सिँचाइको अभाव देखिनेछ । पर्याप्त मात्रामा हिमपात भएको अवस्थामा यहाँ उत्पादन वृद्धि हुने गर्दछ । मनाङको तल्लो क्षेत्रमा वर्षा हुने र माथिल्लो क्षेत्रमा भार हिमपात हुँदा यहाँको उत्पादन फस्टाउने गरेको किसान बताउँछन् । हिमाली जिल्ला मनाङमा यसपटक हिमपात भएको छैन । यस वर्ष बेमौसममा हिमपात भयो । तर हिमपात हुने समयमा भने हिमपात हुनसकेन । मनाङमा गतवर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायःजसो मङ्सिर अन्तिमदेखि हिमपात हुनुपर्ने हो । तर, हिमपात हुँदा जीवनयापनमा समस्या हुने भएकाले यहाँका स्थानीयवासी चिसो र हिमपात छल्न कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेँसी झर्ने गर्दछन् । उनीहरु काठमाडौँ, पोखरा, बेँसीसहरलगायतका स्थानतर्फ जाने गर्दछन् । चिसो छल्न मनाङवासी बँेसी झरे पनि हिमपात हुने समयमा यस पटक हिमपात भएन । हिमपात नहुँदा किसान चिन्तित हिमपातले हिउँदेबालीमा सिँचाइ हुने भए पनि नहुँदा सिँचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले किसानका लागि समयमै हिमपातको महत्व रहेको छ । ‘यहाँको मुख्य बाली आलु र करु हो, चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । तब मात्र माटो भिज्छ’, ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय पशुपालक किसान याङदुङ गुरुङ भन्छन्, ‘जमिन तातिएपछि हिउँ पर्नाले हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई असर गर्छ ।’ हिमपात हुनुपर्ने समयमा हिउँ परेन यसवर्ष बाली राम्रो हुने अवस्था नभएको उनी बताउँछन् । उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर गर्छ । ‘स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । माघमा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुन पाउँदैन, यस पटक त हिमपात नै भएन’, उनले भने । यस पटक उत्पादन नहुने उनी बताउँछन् । ‘हिमाली क्षेत्रमा नै हिउँ परेन यहाँ अब पानीको हाहाकार हुने भयो खेतीबालीलाई, के भएको हो ? अहिलेसम्म यस्तो थाहा पाएका थिएनौँ’, गुरुङले भने । ‘मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले माघ महिनाको पनि आधा कटिसक्यो । तैपनि हिउँ परेको छैन’, नासों गाउँपालिका–५ थुतेन लामाले भने, ‘आकाशमा अलिअलि मात्र बादल लाग्ने गरेको छ । हिउँपर्ने सङ्केत अझै कुनै छाँटकाँट देखिँदैन ।’ तापक्रम भने निकै घटेर मौसम चिसिएको उनले बताए । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात नभएको बताए । कहिलेकाहीँं पानीको छिटा परे पनि हिउँपर्ने सङ्केत नदेखिएको लामा बताउँछन् । उनका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँ चिसोका कारण यतिबेला खाली भए पनि हिमपात भएको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेँसी झरिसकेका छन् । मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बँेसी झरेको उहाँले जानकारी दिए । ‘समयमा हिउँ नपर्दा खेतीबाली उत्पादनमा ह्रास आउने भयो’, लामाले भने । विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । यसपटक सोहीअनुसारको व्यवस्था गरिए पनि हालसम्म हिउँ नपरेको उनी बताउँछन् । प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गाना खनालले मनाङमा हालसम्म जिल्लामा हिमपात नभएको जानकारी दिइन् । माथिल्लो मनाङमा हल्का हिमपात भए पनि आवश्यक मात्रामा हिमपात नभएको उनी बताउँछन् । ‘मनाङमा हालसम्म हिउँ परेको छैन’, उनले भनिन् । मनाङमा बस्ती रहेको सबैभन्दा तल्लो क्षेत्र एक हजार सात सय मिटर उचाइमा रहेको तालगाउँमा समेत यसअघि यो समय हिउँपर्ने गर्दथ्यो । मनाङमा जेठमा फापर रोपिन्छ । चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । मङ्सिर, पुसमा हिउँ परे मात्रै जमिनमुनि चिस्यान पुग्छ र खेतीपाती हुन्छ । अहिले हिउँ परेन खेतीबाली राम्रो हुँदैन । तापक्रम बढेपछि पर्ने हिउँ पग्लिएर माथि–माथि नै सुक्ने किसान बताउँछन् । चिसोले पूर्वाधार निर्माणमा समस्या हिमपात नभए पनि यहाँ चिसो बढ्दै गएपछि विकास निर्माणका कार्य गर्न रोकिन्छ । चिसो बढेसँगै माथिल्लो मनाङको पूर्वाधार निर्माणको काम पूर्ण रुपमा ठप्प हुन्छ । गतवर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको निर्माणाधीन भौतिक संरचना निर्माणका कार्य अहिले रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतको विकास निर्माणका कार्य रोकिएको पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख जय विष्टले बताए । ‘सदरमुकाम चामे, नासाें गाउँपालिका क्षेत्रमा केही कार्यनिर्माण भइरहेको छ । तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य रोकिएको छ’, उनले भने । चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न नसकिएको विष्टले बताए । ‘हिमपात नै नभए पनि चिसोले माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न कठिन छ । यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै गर्न पाइन्छ’, विष्टले भने । मनाङको मेरुदण्डको रुपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माणकार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उनले बताए । प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको उनले बताए । यससडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेषरुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनीयोजन गर्दै आएको छ । विपदग्रस्त जिल्लालाई समावेश गरेर सङ्घ सरकारमार्फत विपद व्यवस्थापन विभागबाट रु तीन करोड १४ लाख बजेट विनियोजन भएपछि तालगाउँको संरक्षणको लागि तटबन्धन निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माणकार्य सकिने अवस्थामा जाडो मौसमले गर्दा केही ढिलाइ हुने भएको जनाइएको छ । हिमाल कालापत्थर हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नहुँदा पग्लिएर नाङ्गिन थालेका छन् । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यसवर्ष हिमपात हुन नसक्दा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ । हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ । हिउँ पग्लिएपछि हिमाल नाङ्गिँदै गएका छन् । पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था आएको छ । हिउँ नपरेपछि यतिबेला अन्नपूर्ण दोस्रो, तेस्रो, चाैंथो, चलु फरेस्ट, हेम्लुङ, मनास्लु, निलगिरि, तिलिचो पिक, थोराङ पिकलगायतका हिमाल रङ उडेझै फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले बताए । उनका अनुसार समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाडजस्ता देखिन थालेको र जङ्गली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको छ । पर्यटक घटे हिमाली जिल्लामा समेत हिमपात नभएपछि हिउँ खेल्न आउने पर्यटक घटे । विगतका वर्षमा हिमपात हुनासाथ मनाङ आउने पर्यटक यसवर्ष आउने वातावरण बनेन । ‘हिउँ परे हिमाल सेताम्मे हुन्थे, हिमपातपछि मौसम खुल्थ्यो, अहिले दिनहुँ हुस्सु मात्रै छ, हिमाल पनि हिउँविहीन देखिन थालेका छन्, मौसम यसरी नै बिग्रदै जाने हो भने हिउँदमा हिमपात नै नहुने हो कि भन्ने कौतुहलता बढेको छ’, पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले भने । गतवर्ष पुस पहिलो साता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकको उल्लेख्य आगमन भएको उनले बताए । यस वर्ष हिउँ नपरेपछि पर्यटन व्यवसायसमेत प्रभावित बनेको उनको गुनासो छ । ‘हिउँ खेल्न पर्यटक खचाखच हुन्थे, हिमपात नभएपछि सबै होटल सुनसान छन्, सुक्खा जाडोको कारण नेपाली पर्यटक पनि घुम्न आउन छाडेका छन्’, उनले भने । हिउँ नपरे पनि चिसो भने अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि भने यहाँका पर्यटकीयस्थलमा पर्यटक भरिभराउ हुने गरेका थिए । जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलहरूमा पनि देखिन थालेको छ । चैत–वैशाखमा फूल्ने लालीगुराँस यसवर्ष पुसदेखि नै फुलेको देखिएको छ । जङ्गलमा लालीगुराँस पुसमै फुलेपछि स्थानीय अचम्मित बनेका छन् । मौसम परिवर्तन हुँदै गएको छ, भारी वर्षा र भारी चिसोको समस्या हरेक वर्ष बढ्दो छ, पानी र हिउँ समयमा पर्दैन, वनका फूल बेमौसममा फुल्न थालेका छन्, यो नै जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भएको विज्ञहरु बताउँछन् । रासस
राष्ट्रपति पदमा कांग्रेसले जित्नुपर्छ : कोइराला
सिन्धुली । नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन् । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने जिकिर गरे । पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उनको भनाइ थियो । ‘राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस्’ उनले भने । दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उनले बताए । लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसले जनतासँग सहकार्य गर्नुपर्ने र देशको विकास तथा समृद्धिका लागि हरेक विषयमा जनतालाई जोडेर लगे लोकतन्त्र सुदृढ, शुसासन, पारदर्शिता हुनाका साथै दलप्रति जनताको विश्वास रहने नेता कोइरालाको भनाइ थियो ।
टर्कीमा पुनः शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु
टर्की । टर्कीएमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएका गृहमन्त्री सुलेमान सोयलुले सोमबारको भूकम्पमा परी घाइते भएका दुई सय १३ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन् । सिरियामा एक सय ३० जना घाइते भएका तथा अघिल्लो भूकम्पबाट जीर्ण भएका केही भवन पूर्ण रूपमा भत्किएका छन् । रासस