‘विभिन्न आश्वासनमा जबरजस्ती ऋण लिए, असुली गर्दा अनेक दुःख पाए’

<p>काठमाडौं । लघुवित्तले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन् । चर्को ब्याजदर, महँगो सेवा शुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुर्व्यवहार लगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएका हुन् । लघुवित्त कम्पनीहरू नाफामा मात्रै केन्द्रीत हुँदा सदस्यले ऋणको भारी [&hellip;]</p>

काठमाडौं । लघुवित्तले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन् । चर्को ब्याजदर, महँगो सेवा शुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुर्व्यवहार लगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएका हुन् । लघुवित्त कम्पनीहरू नाफामा मात्रै केन्द्रीत हुँदा सदस्यले ऋणको भारी बोक्नुपरेको उनीहरूको भनाइ छ ।

काठमाडौँमा आयोजना गरेको ‘सङ्कटमा लघुवित्त : कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका लघुवित्तका ऋणीले आफ्ना पीडा पोखे । सिराहाकी पुनम कुमारी महतोले लघुवित्तकै कर्मचारीले मिटरब्याजमा पैसा लगाउने गरेको बताइन् । लघुवित्तका कर्मचारीबाट आजित भएपछि साहु महाजनबाट चर्को ब्याजमा ऋण लिएर तिरेको उनको भनाइ छ । ‘सानो व्यवसाय शुरु गर्ने भनेर ऋण लिएँ तर मधेश आन्दोलनका बेला व्यापार व्यवसाय ठप्प भयो, नियमित किस्ता तिर्न सकिनँ, लघुवित्तका कर्मचारी घरमै आएर हरेक दिन आधा रातसम्म दुःख दिन थालेपछि साहुसँग चर्को ब्याजमा ऋण लिएर लघुवित्तको ऋण तिरेँ’, उनले भनिन।

लघुवित्तबाट ऋणको साँवा ब्याज तिर्दा आफ्नो सबै सम्पत्ति सकिएको पनि उनको भनाइ छ ।

त्यस्तै, सिराहा देवीपुरका श्याम कुमारी चौधरीले लघुवित्तकै कारण आफ्नो घरखेत र गरगहना सबै बेचेको बताइन् । ‘मैले १ लाख रुपैयाँ ऋण लिँदा ८५ हजार रुपैयाँ मात्रै पाएँ, शुरुमै १५ हजार रुपैयाँ सेवा शुल्क भनेर काट्यो, हरेक महिना १० हजार रुपैयाँका दरले १३ किस्ता तिरिसक्दा पनि ऋण सकिएन, थप पैसा माग्न थालेपछि मैले खेत बेच्नुपर्यो’, उनले भनिन् ।

रौतहटकी दिलकुमारी कार्कीले मिटरब्याजीबाट लिएको ऋण तिर्नका लागि लघुवित्तबाट ऋण लिएको बताइन् । ‘मिटरब्याजीले खाली चेक मागेर साढे ४ लाख ऋण दियो तर, उसले खाली चेकमा ११ लाख भरेर असुल्न खोज्यो, मिटरब्याजीको पासोबाट उम्कन लघुवित्तबाट ऋण लिएँ, पछि लघुवित्तका कर्मचारीले पनि मिटरब्याजीजस्तै व्यवहार गर्न थाले’, कार्कीले भनिन्।

अहिले आफू ६/७ वटा लघुवित्त कम्पनीको ऋणी रहेको उनको भनाइ छ ।

लघुवित्त कम्पनीका कर्मचारी बारम्बार घरमा आएर ऋण असुलीका लागि दबाब दिन थालेपछि आफ्नो छोरीले आत्महत्या गरेको पनि कार्कीले बताइन् । सिन्धुपाल्चोक घर भएर भक्तपुरमा हार्डवेयर पसल सञ्चालन गर्दै आएकी सुनमाया तामाङले समूहमा ऋण लिएर अर्कोले नतिर्दा आफू समस्यामा परेको बताइन्।

‘अरुले ऋण नतिरेका कारण मेरो बचत पनि पाइनँ, जबरजस्ती ऋण भिराएर असुली गर्न खोज्नु कहाँको न्याय भयो ?’, प्रश्न गर्दै उनले भनिन् लघुवित्तले विभिन्न आश्वासन दिएर जबरजस्ती ऋण दिने गरेको र असुली गर्दा अनेक दुःख दिने गरेको काभ्रेपलाञ्चोकको पनौतीकी प्रिया खत्रीको भनाइ छ ।

‘म ऋण लिन गएको होइन, उनीहरू आफैँ आउँछन्, अनेक लोभ देखाएर जबरजस्ती ऋण भिराए, मलाई १ लाख ऋण दिने भनेकोमा ८५ हजार मात्रै हात पर्यो’, उनले भनिन्।

के भन्छन् नियामक र सरोकालवाला ?

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवती प्रसाद नेपाल अहिले लघुवित्त कम्पनीमा देखिएको जरा धेरैवटा समस्याबाट गाँजिएको बताउछन् । ‘लघुवित्त क्षेत्रमा अहिले देखिएको समस्या भनेको सुदखोर, साहु महाजन, मिटरब्याजीदेखि सहकारीसम्मले जेलिएको समस्या होऽ यो एकैचोटि अहिले मात्रै देखिएको होइन’, उनले भने ।

लघुवित्त कम्पनीले उत्पादनमूलक र व्यावसायिक परियोजनामामा लगानी गर्न नसक्दा समस्या भएको उनको भनाइ छ । तर ऋणीहरू आन्दोलित भएर उनीहरूले लिएको ऋण मिनाहा हुन्छ भनेर सोच्न नहुने कार्यकारी निर्देशक नेपालले बताए ।

‘अहिले देखिएको समस्याको कारण पहिचानका लागि राष्ट्र बैंकले पहल गर्छ, लघुवित्त नै बन्द गर्नुपर्ने वा ऋण नै नतिर्ने माग लिएर आन्दोलन गरेर समस्या समाधान हुँदैन’, उनले भने, ‘राष्ट्र बैंकले नीतिगतरूपमा समाधान खोज्ने र त्यसका लागि कार्यदलनै गठन गरेर अध्ययनका लागि निर्देशन दिइसकेको छ, लघुवित्त संस्था स्वशासनमा बस्नुपर्छ, लघुवित्त कम्पनी धेरै व्यावसायिक लाभ केन्द्रित भए, केही सेयर खेलाडी लघुवित्तमा लाग्दा त्यसले पनि असर गरेको छ, अहिले बजारमा देखिएको तरलता सङ्कटका कारण पनि लघुवित्तमा समस्या भएको हो ।’

लघुवित्तले प्रवाह गर्ने कर्जाबारे ऋणीलाई पर्याप्त जानकारी दिएर वित्तीय साक्षारता बढाउनुपर्ने, लघुवित्तका कर्मचारीले ऋणीसँग गर्ने व्यवहार सुधार्नुपर्ने, एउटै व्यक्तिलाई दर्जनौँ संस्थाले सजिलै ऋण दिनेलगायतका कारण समस्या देखिएको पनि कार्यकारी निर्देशक नेपालको भनाइ छ । एकै व्यक्ति धेरैवटा लघुवित्तमा सदस्य बन्न नपाउने र कर्जा लिन नपाउने गरी राष्ट्र बैंकले चाँडै निर्देशिका जारी गर्ने उनको भनाइ छ । लघुवित्त कम्पनीहरूले कर्जा प्रवाह सजिलै गर्ने तर असुलीमा कडाइ गर्ने गर्दा ऋणीलाई त्यसले समस्यामा पारेको पनि नेपालले बताए।

लघुवित्त संस्थाहरू आफ्नो सिद्धान्त र अवधारणाभन्दा बाहिर काम गर्न थालेपछि समस्या देखिएको त्रिभुवन विश्वविद्यालयको एमबीए प्रोग्राम डाइरेक्टर भरतसिंह थापा बताउछन् । लघुवित्त संस्था सामाजिक पूँजी निर्माणमा कमजोर हुँदै गएको र नाफामा मात्रै बढी केन्द्रित हुन थालेको उनको भनाइ छ ।

‘जहाँ सामाजिक पूँजी स्खलन हुन्छ, त्यहाँ लघुवित्तको हाम्रो मोडलले काम गर्दैन । नेपालको लघुवित्त मोडलले आपसी सद्भाव, सदाचारिता, सहकार्यसहितको सामाजिक पूँजी निर्माण हो भन्छ । तर संस्थाहरू नाफामुखी हुँदै गएर त्यो मोडल नै बिर्सिंदै गए,’  थापाले भने ।

लघुवित्तको अवधारणा पैसा लगानी गर्ने र नाफा आर्जन गर्ने भन्ने मात्र नभई यसले सामाजिक सद्भाव र भाइचारा कायम गर्नका लागि पनि काम गर्ने उनको भनाइ छ । अहिले लघुवित्त क्षेत्रमा समस्या देखिनु भनेको समाजमा भाइचारा र सम्बन्ध बिग्रेको रूपमा बुझ्नुपर्ने उनले बताए । त्यस्तै, सुदखोर, महाजन, मिटरब्याजी, सहकारी र लघुवित्त कम्पनीका समस्या सबै एकै ठाउँमा राखेर हेर्न नहुने उनको भनाइ छ । लघुवित्तका कर्मचारीले ऋणीमाथि ज्यादती गरेको पनि उनले बताए । समुदायमा अर्काको हित चिताएर आपसी उन्नयनका लागि काम गर्न लघुवित्त कम्पनी स्थापना गरिएको भए पनि अहिले लघुवित्त कम्पनीहरूले ऋणीलाई पैसा दिने र असुल गर्ने मात्रै जानेको उनको भनाइ छ ।

लघुवित्त सङ्घ नेपालका अध्यक्ष जगत पोखरेलले कुनै लघुवित्तले ऋणीलाई दुःख दिएको भए त्यसका लागि नियामकीय निकाय राष्ट्र बैंकले कारबाही गर्न सक्ने बताए । तर ऋणी आन्दोलित भएर समस्याको समाधान नहुने उनको भनाइ छ ।

‘कुनै कम्पनीले बदमासी गरेको भए त्यसका लागि कारबाहीको तरिका छ, कानून आफ्नो हातमा लिएर मात्रै समस्या समाधान हुँदैन’, उनले भने ।

नेपालमा लघुवित्तले गरेको लगानी मोडलबारे पुनर्विचार गर्नुपर्ने बेला आएको उनको भनाइ छ । ‘धेरै लघुवित्त भएर हो वा धेरै समस्या भएर हो, अहिले केही लघुवित्त कम्पनीका ऋणी आन्दोलनमा हुनुहुन्छ, समूहमा लगानी गर्ने लघुवित्तको मोडलबारे छलफल गर्नुपर्ने देखिएको छ,’  उनले भने ।

लघुवित्त कम्पनीहरूले आफ्ना ऋणीलाई व्यवसाय गर्न ऋण परिचालन गर्ने र उत्पादनमा लगानी गरेर बजारको समेत सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ । यसो गर्दा न्यून ब्याजदर कायम गर्न सकिने पनि पोखरेलको भनाइ छ । लघुवित्त कम्पनीले आफ्नो सिद्धान्त र अवधारणाअनुसार काम गर्न नसकेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दन पन्त बताउँछन् । त्यस्तै, वित्तीय साक्षरता नहुँदा ऋणी मर्कामा पर्ने गरेको पनि उनको भनाइ छ ।

‘समाजमा रहेको चरम गरिबीबाट पार पाउन स-सानो पूँजी लगानी गरेर त्यसलाई उत्पादनसँग जोड्न सक्नुपर्छ  तर, उनीहरूको उद्देश्य र काममा तालमेल नै मिलेको छैन’, उनले भने । लघुवित्त कम्पनीले थोरै नाफा लिएर सामाजिक कार्य बढी गर्नुपर्ने पनि उनको भनाइ छ ।

लघुवित्तबाट ऋणीले लिएको ऋणले उत्पादनलाई सघाउनुपर्ने पन्तको भनाइ छ । ‘ऋण लिएर उत्पादनमा लगाइएन भने त्यसले प्रतिफल दिँदैन, लघुवित्तले त कुनै व्यवसायमा लाग्न प्रेरित गर्ने हो र व्यवसायबाट आएको नाफाले ऋण तिर्ने हो’, पन्तले भने, ‘कुनै लघुवित्त कम्पनीले नियम विपरित काम गरेको पाइएमा नियामक नेपाल राष्ट्र बैंकले कारबाही गर्न सक्नुपर्छ ।’

त्यस्तै, ऋणीले लिएको ऋण कहाँ परिचालन भयो भनेर पनि हेरिनुपर्ने उनले बताए । ‘व्यवसाय गर्नका लागि दिइएको पैसाले ऋणीले कुनै वस्तुको उत्पादनमा लगाएको छ वा छैन भनेर स्वयं लघुवित्तले नै हेर्नुपर्छ । कर्जाको सदुपयोग गरिएन भने हामी गरिबीको दुश्चक्रमा पर्छौं’, उनले भने । रासस

Share News