मोलुङ्ग हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने आज फागुन १० गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि जारी पूँजीको ३४ प्रतिशत अर्थात् २७ करोड २८ लाख ५० हजार रुपैयाँको आईपीओ निष्काशन गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले फागुन आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २७ लाख २८ हजार ५ सय कित्ता सेयर छुट्याएको छ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ । यस्तै, २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
मेन्छियाम हाईड्रोको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीले आज फागुन १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५३८ कित्ता आयोजना प्रभावित क्षेत्र संखुवासभाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र सािवक शिद्धकाली, शिद्धपोखरी र मावादानी गा.वि.स.का स्थानियहरुको लागि २ लाख ७१ हजार २९२ कित्ता र आयोजन प्रभावित क्षेत्र सुंखवासभा जिल्लाका स्थानियहरुका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर बिक्री गरेको हो । यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेलन दिन सकिनेछ । तर, समयमा माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले चैत ९ गतेसम्म आवेदन दिने समय थप हुनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्न् । यस्तै, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।
हात्तीपाइले रोगको उच्च जोखिममा मधेस प्रदेश
महेन्द्रनगर । मधेस प्रदेशका आठैवटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । विश्वमा रहेका हात्तीपाइले रोगीमध्ये धेरै रोगी भारतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढजस्ता राज्यमा भएकाले मधेस प्रदेशसहित तराई मधेसका जिल्ला उच्च जोखिममा रहेको हातीपाइले रोगको औषधि खुवाइने अभियानका स्वास्थ्य अधिकृत एवं संयोजक नागेश्वर यादवले बताए । जनकपुरधाममा स्वास्थ्य कार्यालय धनुषाले आज आयोजना गरेको पत्रकार भेटघाटमा स्वास्थ्य अधिकृत शिवजी दासले हाल विश्वमा ७२ देशमा हात्तीपाइले रोगी रहेको बताए । उनका अनुसार ती देशमा पाँच करोड १४ लाख हात्तीपाइले रोगका सङ्क्रमित रहेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख रहेकाले यस रोगलाई सन् २०३० सम्ममा उन्मूलन गर्ने लक्ष्यसहित सङ्क्रमित मुलुकमा सङ्गठनले निःशुल्करुपमा औषधि प्रदान गरेर अभियान सञ्चालन गरिएको हो । नेपालमा पनि हात्तीपाइले रोगीको सङ्ख्या ३० हजार रहेको र नेपालमा पाइने रोगीमध्ये धेरै रोगी तराई मधेसका जिल्लामा नै हुने अनुमान गरिएको अधिकृत दासले बताउनुभयो । मधेस प्रदेशका कतिपय जिल्लामा १० पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदा पनि रोगी फेला पर्न रोकिएको छैन । यस पटक अभियानको रुपमा नै फागुन ११ गतेदेखि स्वास्थ्यकर्मीको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्तीपाइले रोगविरुद्धको तीन प्रकारका औषधि खुवाउन थालिएको स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडि ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत दासले बताए । धनुषाका १८ वटै पालिकामा एक साथ तीन प्रकारको औषधि मान्छेको उचाइको आधारमा खुवाउन लागिएको स्वास्थ्य कार्यालयका अर्का अधिकृत रामबाबु ठाकुरले जानकारी गराए । यस पटक खुवाइने आइभरमेक्सन, डाइफाइक्यावामिर्जान र एल्मेडाजोल निक्कै प्रभावकारी भएको स्वास्थ्य उनले बताए । एकै पटक उचाइको आधारमा खुवाइन थालेको औषधिको प्रभाव ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको अनुसन्धानले पुष्टि गरेको ठाकुरले उल्लेख गरे । औषधि खाइसकेपछि माइक्रो फलेरियाको प्रभाव शरीरमा नभएकालाई कुनै प्रकारको स्वास्थ्य समस्या आउने छैन भने यसको जीवाणु प्रवेश गरेको व्यक्तिको हकमा सामान्य तथा धेरै भाइरस भएका व्यक्तिलाई औषधि सेवनपछि केही असर पार्ने भएकाले त्यसको उपचारको सम्पूर्ण प्रबन्ध गरिएको छ । यस्तो प्रभावित हुनेको सङ्ख्या एक लाखमा एक जनासम्म हुने स्वास्थ्य कार्यालयले जनाएको छ । धनुषाको जनक चोकमा फागुन ११ गते औषधि खुवाउने अभियानको थालनी गरिने र औषधिसहितको स्वास्थ्यकर्मी धनुषाको १८ वटै पालिकामा परिचालन गरिएको छ । मधेस प्रदेशका आठवटै जिल्लामा हात्तीपाइले रोगीको सङ्ख्या निक्कै रहेको र यसको विस्तृत सर्भे चैतदेखि सुरु गरिने भएको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस
२१ दिने लामो नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड हुँदै
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत अपाचे ओनरस्ग्रुप (एओजी) को मार्क्यु राइड गर्ने भएको छ । फागुन ११ गतेबाट सुरु हुने उक्त यात्रा २१ दिन लामो हुनेछ । जसमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने छन् । पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ । कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएको आयोजकले बताएको छ । काठमाडौंबाट सुरुहुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुने आयोजकले बताएको छ । राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन् । आयोजकको अनुसार यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।
नेपालपे क्युआरमा २ लाखभन्दा बढी मर्चेन्ट आवद्ध
काठमाडौं । बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्युआरमा २ लाखभन्दा बढी मर्चेन्ट आवद्ध भएका छन् । छोटो समयमा २ लाखभन्दा बढी मर्चेन्टहरु कयुआरमा आवद्ध गरिनुले नेपालमा कयुआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने कम्पनीले जनाएकाे छ । नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआवद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा २ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपालपे क्युआरमा आबद्ध हुन सक्दछन् भने १६ बैंक वित्तीय संस्था तथा ४ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान एण्ड पे को सुविधा उपलब्ध रहेको छ ।
माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै मलेसिया जादै
काठमाडौं । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ । जसमा चार हजार दुई सय ६६ जना महिला र ३४ हजार आठ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार सात सय ८३ जना रहेको छ । कतार जानका लागि १२ हजार सात सय चार जना, साउदीका लागि १० हजार पाँच सय ७६ जना, युएईका लागि नौ हजार सात सय ७० जना र कुवेतका लागि दुई हजार नौ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । साइप्रसका लागि चार सय १७ जनाले, क्रोएसियाका लागि चार सय ७१ जनाले, जापानका लागि आठ सय ८२ जनाले, माल्टाका लागि दुई सय ७० जनाले, पोल्याण्डका लागि सात सय २० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि आठ सय चार जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर
काठमाडौं । नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर भन्दा धेरै रहेको छ । नेपाल मेडिकल काउन्सिलमा २०२२ डिसेम्बर अन्त्यसम्म दर्ता भएका चिकित्सा पेसाको संख्याले नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर भन्दा धेरै देखिएको हो । तथ्यांकअनुसार २०२२ को ३१ डिसेम्बर सम्म काउन्सिलमा एमबिबिएस गरेका २७ हजार आठ ८०५ जना चिकित्सक दर्ता भएका छन् । जसमध्ये १८ हजार ५२० जना पुरुष र नौ हजार २८५ जना महिला चिकित्सक दर्ता भएका छन् । त्यस्तै, काउन्सिलमा सोही समयसम्म विशेषज्ञ चिकित्सकहरु १० हजार ८० जना दर्ता भएका छन् । जसमध्ये एमडी÷एमएस गरेका पुरुष चिकित्सक ६ हजार सात सय १४ जना र दुई हजार ६२५ जना महिला चिकित्सक रहेका छन् । त्यस्तै, एमडीएस गरेका तीन सय ९६ जना पुरुष चिकित्सक र तीन सय ४५ जना महिला चिकित्सक रहेको काउन्सिलको तथ्यांकले देखाएको छ ।
राष्ट्रपति बन्नेबारे केही सोचिसकेको छैन : माधव नेपाल
भालुवाङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताएका छन् । दाङको भालुवाङमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको समेत दाबी गरे । ‘अहिले बजारमा हल्ला धेरै छन् । चर्चा परिचर्चा धेरै छन् । यस सन्दर्भमा कुनै टुङ्गो लागेको छैन’, उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन ।’ राष्ट्रपतिको उम्मेदवारका विषयमा आफ्नो पार्टीले निर्णय नगरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘पावर सेरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ, अरुकै लागि सधैँ बलिदान भइन्न ।’ अरुले फाइदा उठाउने कुरा मान्य नहुने उनको भनाइ छ । राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न आफूलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भए पनि अध्यक्ष नेपालले कतिपय कुरा पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए । ‘प्रेसमा आएका सबै समाचार साँचो हुन्छन् भन्ने छैन’, उनले भने, ‘अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताए । ‘संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ’, उनले भने, ‘देशलाई समाजवादको दिशातर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौँ ।’ रासस