विकासन्युज

सामुदायिक लघुवित्तले गर्यो २१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सामुदायिक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार ९ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गरेको हो । बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थाबमोजिम उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ । ऐनले यस प्रयोजनका लागि ‘लाभको पद’ भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद बुझिने स्पष्ट गरेको छ । ऐनको दफा १२ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन अयोग्य मानेको छ । यस्तै, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको, सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार हुन पाउने छैन । साथै उल्लिखित कसुरबाहेक अन्य कसुरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैदमा बसेकामा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको व्यक्ति उम्मेदवार हुन अयोग्य हुनेछ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी मिति तय गरेको छ । निर्वाचनका लागि यही फागुन ८ गतेदेखि नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । सो कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्दैछ । दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सङ्घीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहने छन् । प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । विद्यमान कानुनअनुसार सङ्घीय संसद्का प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार चार सय र प्रदेशसभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिएको छ । साथै फागुन १३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ देखि अपराह्न २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । रासस

ट्याक्सी चालकलाई युएई र कतार जान रोक

काठमाडाैं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो । युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ । उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

नवलपुरबाट निकुञ्जमा सफारीको अनुमतिले पर्यटकको सङ्ख्यामा वृद्धि

चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरको अमलटारीबाट निकुञ्ज प्रवेश र सफारीको अनुमति खुलाएसँगै अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जङ्गल सफारी जाने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नवलपुरको अमलटारी क्षेत्रबाट यसअघि सीमितले मात्रै जङ्गल सफारीको निकुञ्ज प्रवेशको अनुमति पाएका थिए भने अन्य स्थानीय होटल र होमस्टेले नजिकको सामुदायिक वनमा मात्रै सफारी गराउन पाउने नियम थियो । निकुञ्जले अमलटारीबाट टेम्पल टाइगर र थारु भिलेजबाहेक अन्य होटल व्यवसायी र होमस्टेलाई निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएसँगै एक महिनाको अवधिमा सात सय ७५ नेपाली र दुई सय विदेशीले निकुञ्जभित्र जङ्गल सफारी गरेको नवलपुर पर्यटन समितिका सचिव धनीराम गुरौले जानकारी दिए । उनका अनुसार निकुञ्जभित्र जङ्गल सफारीका लागि पश्चिम सेक्टरअन्तर्गत रजहरको कुजौली रेन्जपोस्ट र अमलटारीबाट निकुञ्ज प्रवेश गर्ने अनुमति निकुञ्ज प्रशासनले दिएको छ । कुजौलीबाट हरेक दिन दुई जिप र अमलटारीबाट पाँच जिपमा निकुञ्ज प्रवेश गर्न पाउने व्यवस्था छ । निकुञ्जले तोकेकै जिपबाट मात्र जङ्गल सफारी जान पाइन्छ । एउटा जिपमा एक पटकमा १२ जनाले सफारी गर्न सकिने र कम्तीमा एक नेचर गाइड लैजानुपर्ने व्यवस्था छ । एक जना गाइडले एक हजार पाँच सयदेखि तीन सय हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् । निकुञ्ज प्रवेशका लागि नेपालीले एक सय ५० रुपैयाँ, सार्क क्षेत्रका पर्यटकले एक हजार रुपैयाँ र अन्य देशका पर्यटकले दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । यो क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने हरेक जिपले एक पटक पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । सो शुल्क तिरेपछि हरेक जिप प्रवेश गराएबापत निकुञ्जलाई थप पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्ने नियम छ । यहाँको नारायणी नदी फराकिलो क्षेत्रमा फैलिएका कारण डुङ्गा चढेर निकुञ्ज आसपासको दृश्य अवलोकन गर्ने र नदीका चरा हेर्ने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको सचिव गुरौले बताए । पर्यटकको सङ्ख्या बढ्दै गएपछि रोजगारी पनि बढ्दै गएको र निकुञ्ज प्रवेश गर्दा पैदलयात्रीले अनिवार्य दुई नेचर गाइड लैजानुपर्ने भएकाले स्थानीय तहमा रोजगारी बढेको सचिव गुरौको भनाइ छ । रासस

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुना बढी कैदीबन्दी

ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले बताए । कारागारमा हाल एक सय १५ कैदी र ४० थुनुवा छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन् । ‘क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ’, जेलर खवासले भने । कारागारमा दरबन्दी अनुसारका कर्मचारी नभएको उनको भनाइ छ । नौ जनाको दरबन्दी रहेकामा हाल एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र कार्यरत छन् । रासस

बिरामी सुरक्षासम्बन्धी सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

काठमाडौं, फागुन १० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी मंगलबार राति त्यसतर्फ गएका हुन् । सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका छन्। मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कनेछन् ।

बागलुङ कालिका मन्दिर जिर्णोद्धार गरियो

गलकोट । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ । धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले रुपान्तरण गर्न रणनीतिक योजना बनाएको हो । मन्दिरका अन्य सहायक संरचना सत्तल, हवन कुण्डलगायत निर्माणाधीन छन् । दुई महिना लगाएर ताम्रपत्र मर्मतलगायत काम गरेको छ । मन्दिरको बाहिरी संरचनामा कलात्मकरुपमा निर्माण गरिएका इँटाको प्रयोग गरिएको छ । पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअन्तर्गत मन्दिरको स्वरुपलाई कलात्मक बनाइएको र आगामी दिनमा अन्य संरचना पुरातात्विक शैलीमा निर्माण गरिने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । ‘मन्दिरको भित्री संरचना जीर्ण भएको थियो, तामाको छानो चुहिने भएपछि जिर्णोद्धारसँगै मर्मतसम्भार गरिएको हो’, उनले भने, ‘दुई चरणमा गरेर दुई महिनामा कलात्मक बनाइएको हो ।’ मन्दिरको पूर्वपट्टिको सत्तल र हवन अग्निकुण्डलाई कलात्मक बनाइँदै छ । सिमेन्ट र ढुङ्गाजडित संरचना हटाएर कलात्मक काठ र धातुको प्रयोग गरेर संरचना बनाउने योजना रहेको खड्का बताउँछन् । २६ लाख रुपैयाँको लागतमा मन्दिरको जिर्णोद्धार गरिएको हो । सत्तल निर्माणमा ७० लाख रुपैयाँ र हवनकुण्ड निर्माणमा १३ लाख रुपैयाँ खर्च लाग्ने समितिले जनाएको छ । मन्दिर जिर्णोद्वारपछि चिटिक्क देखिएको छ । आगमी दिनमा मन्दिर तथा अन्य संरचना निर्माण गर्दा काष्ठकला, धातु तथा अन्य पुरातात्विक वस्तुको प्रयोग गर्नुपर्ने समितिलाई स्थानीयवासीको सुझाव छ । रासस

भोजपुरको पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ। सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो । नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबिच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो। प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबीपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको हो । सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्षमा ७३ हजार नौ सयका दरले २४ लाख ३८ हजार रुपैयाँ बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ । त्यस्तै, दोस्रो वर्षमा प्रतिविद्यालय १८ हजार रुपैयाँका दरले छ लाख बराबररुपैयाँको इन्टरनेट सेवा प्रदान गर्ने पौवादुङमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुनिता कटवालले जानकारी दिइन् । सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम् प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष किरण राईले बताए । शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको उनको भनाइ छ । रासस