अमेरिकन कम्पनी सेक्युरिटी पालकाे नेपालमा पनि सेवा सुरु
काठमाडाैं । नेपाली मूलका उद्यमीले अमेरिकामा स्थापना गरेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि सेवा शुरू गरेको छ। कम्पनीको अत्याधुनिक सुविधा सहितको सेक्युरिटी अपरेशन कमाण्ड सेन्टर मंगलबारदेखि औपचारिक रूपमा काठमाडौंमा सञ्चालनमा ल्याइएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले रिवन काटेर केन्द्रको उद्घाटन गरेका छन् । अमेरिका स्थित सिलिकन भ्यालीमा केन्द्रीय कार्यालय रहेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि सेवा शुरू गरेको हो । कम्पनीका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुकार चन्द्र हमालले सिलिकन भ्यालीमा स्थापना गरेको करिब २ वर्षपछि नेपालमा पनि यसको शुरूवात गरेका हुन् । कम्पनीको उद्घाटन गर्दै राजदूत थम्पसनले सेक्युरिटी पालजस्ता कम्पनीले नेपालका निकै नै गतिशील उद्यमी तथा कम्पनीहरूलाई लाभ हुने बताए । उनले विश्वमा यस कम्पनीको उपस्थिति निकै आवश्यक रहेको भन्दै आफूले कम्पनीको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गरे । कम्पनीले गत वर्ष क्राफ्ट भेन्चर्सको नेतृत्वमा २१ मिलियन डलरको सिरिज ए को लगानी घोषणा गरेको थियो । सोही अन्तर्गत कमाण्ड सेन्टरको निर्माण भएको हो । सेक्युरिटी पालले एप्टियो इंक, हाईहेल्लो इंक र मटेरियल सेक्युरिटी इंक पनि आफ्नो ग्राहक पोर्टफोलिओमा थपिएको जानकारी सहित बजारमा आएको छ । नेपाली बजारमा समेत सेवा शुरू गर्न पाउँदा खुशी लागेको कम्पनीले जनाएको छ । कम्पनीले उद्यमीका लागि अग्रणी संस्था बन्ने लक्ष्यसहित बजारमा आएको जनाएको छ । सुरक्षा समीक्षा कार्यका कारण आम्दानी र सुरक्षामा कहिल्यै कमी हुन नदिने सुनिश्चितता आफूले दिन चाएको कम्पनीले जनाएको छ । अनुभवी सुरक्षा विश्लेषकहरू आवद्ध यस कम्पनीले जापानी, जर्मन, स्पेनिस, पोर्चुगिज्, फ्रान्सेली लगायतका भाषामा समेत सेवा प्रवाह गर्ने छ । सेक्युरिटी पालले स्केलिङ कम्पनी र उद्यमहरूलाई सुरक्षा समीक्षा र प्रश्नावलीहरूको जटिल एवम् विकसित प्रकृतिको सामना गर्न मद्दत गर्छ । कमाण्ड सेन्टरले ग्राहक कम्पनीका सुरक्षा कर्मचारीहरूलाई सहयोग गर्ने कम्पनीको भनाइ छ । ‘सेक्युरिटी पालको अपरेशन कमाण्ड सेन्टरले डेटा सुरक्षाका लागि एप्टिओको प्रतिवद्धतालाई बलियो बनाउँछ,’ एप्टिओ इंकका एण्डी हचिसनले बताए । सेक्युरिटी पालका सीईओ हमालले सेक्युरिटी पाल सातै दिन, २४ सै घण्टा सञ्चालनमा रहने बताएका छन् । नेपाली बजारमा आफ्नो कम्पनीले विश्वसनीय सेवा दिनेमा ढुक्क रहेको समेत उनको भनाइ छ ।
रोहितको आक्रामक ब्याटिङ र सन्दिपको ४ विकेटले नेपाललाई जित, सिरिज क्लिनस्विप
काठमाडौं । नेपालले विश्वकप लिग–२ मा स्कटल्यान्डमाथि २ विकेटले जित हासिल गरेको छ । कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङले नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गरर जित हासिल गरेको हो । उनले अविजित ९५ रन हाने । १०१ बल खेलेका पौडेलले ७ चौका र ४ छक्का प्रहार गरे । नेपालले लिग–२ को शृंखला क्लिन स्विप गरेको यो पहिलो पटक हो । नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पार्यो । बलिङतर्फ सन्दिप लामिछानेले चार विकेट लिए । लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिएका हुन् । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए ।
भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता
काठमाडौं । भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा लूब्रिकेन्ट्स पार्टनर गल्फ लुब्रिकेन्टको उत्साहजनक सहभागिता जनाएको छ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको नेपाल ल्युब आयलले दुगड ब्रदर्श एण्ड सन्स्द्धारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको हो । उक्त सर्भिस क्याम्प माघ ८ देखि फाल्गुन ३ सम्म काठमाडौँ उपत्यका भरीका ६ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा सम्पन्न भएको थियो । दुगड ब्रदर्श एण्ड सन्स्द्धारा भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । गल्फ लूब्रिकेन्ट्स भेस्पा र अप्रिलिया स्कुटरको निमित्त आधिकारिक ल्युव पार्टनर रहेको र उक्त दुवै स्कूटरहरुको इन्जनको निमित्त आवश्यक विश्वस्तरिय गूणस्तरको ल्युव उत्पादन गर्दै आईरहेको छ । सो क्याम्पमा सहभागी १८०० भन्दा धेरै ग्राहक मध्ये ६ भाग्यमानी ग्राहकलाई नेपाल ल्युव आयल (गल्फ लूब्रिकेन्ट्स) को तर्फबाट लक्की ड्र मार्फत आकर्षक उपहार प्रधान गरिएको थियो। लक्की ड्र बाट निश्चल कार्की (भक्तपुर), कृष्ण नगबशी (बनेपा), राजेश प्रसाई (एकान्तकुना), शान्ति माया मगर (गहनापोखरी), अमीर मान भट्टाचार्य (झम्सिखेल), र राजु गुरुङ (बालाजु) बिजेता भएका थिए । कम्पनीका अनुसार दूगड ब्रदर्श एण्ड सन्स्द्धारा संचालित यस क्याम्पमा सहभागिता जानउनूको मूख्य उद्धेश्य भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ र गल्फ लुब्रिकेन्ट्सको गूणवत्ता र उपादेयता सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो । फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।
खडेरीका कारण हिउँदे बालीको उत्पादन घट्दा किसान चिन्तित
पर्वत । लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बालीनाली प्रभावित बनेका छन् । झन्डै पाँच महिनासम्म वर्षा नहुँदा कृषकहरुले लगाएको आलु, गहुँ, जौ, तोरी लगायतका हिउँदे खेतीको उत्पादन ह्वात्तै घटेको पाइएको छ । पर्वतमा यतिबेला खेतमा मकैबाली लगाउने बेला भएको छ । तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्नसमेत नपाएको कृषकहरुले गुनासो गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका कृषकहरुसमेत खडेरीका कारण नष्ट भएको गुनासो गरेका छन् । धेरै वर्षपछि यति लामो खडेरी परेको पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताए । खेतमा मकै लगाउने बेला भइसके पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उनले बताए । गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन । जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पु-याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउँमा उत्पादनमा निकै कमी आएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् । उनका अनुसार बालीनाली उम्रिसकेपछि सिँचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ, त्यो समयमा सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँचाइ अनिवार्य गर्नुपर्दछ । ‘सिँचाइ भएका ठाउँमा पनि वर्षा भयो भने उत्पादन झनै बढ्छ’, थापाले भनिन् । पर्वतमा आकासे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएको गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको थापाले बताइन् । तेलहन बालीमा मात्र ३० प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आउने उनको अनुमान छ । त्यसैगरी लहरेबालीसमेत समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी कृषकहरु मारमा परेका छन् । उनका अनुसार जिल्लाको पातिचौर क्षेत्र र मिलनचोक क्षेत्र तथा दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतबारीमा बाहेक सबै ठाउँमा खडेरीले असर परेको छ । कतिपय ठाउँमा बालीनाली नै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाएको बालीनाली नै सखाप भएपछि कृषकहरुसमेत चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको कृषकहरुले गुनासो गरेका छन् । जिल्लामा झन्डै आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको भए पनि खोला सुकेका कारण सिँचाइ नहरमासमेत पानी बन्द हुँदा झनै समस्या भएको छ । सानातिना मूलहरुको भरमा खेतीपाती गर्दै आएका कृषकहरुमा प्रचण्ड खडेरीका कारण मूल नै सुकेपछि झनै चिन्ता थपिएको शङ्करपोखरीका कृषक कुलप्रसाद तिवारीले जानकारी दिए । उनले भने, “मकै, चैते धान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्या भएको छ ।” अर्कोतर्फ पिउने पानीका मुहानहरु सुक्न थालेका छन् । यो महिनाभरिमा वर्षा नहुने हो भने मकै खेती र लहरेबालीसमेत उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ । खडेरीले यस वर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञान केन्द्रका प्रमुख थापाको अनुमान छ । रासस
रुकुममा बजेट अभावले सुरु भएन मालपोत र नापी कार्यालयको सेवा
रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापना भएको लामो समयसम्म पनि सेवा सञ्चालन भएको छैन । गत असोज ९ गते आठविसकोट नगरपालिका लगायतका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले राडीमा मालपोत तथा नापीको शाखा कार्यालय स्थापना गरिएको थियो । ती कार्यालयहरुमा उद्घाटन भएकै दिनदेखि ताला लागेको छ । कार्यालय सञ्चालनका लागि कार्यालय प्रमुख पनि तोकिएको छ । तर लामो समयसम्म कार्यालय सञ्चालनमा आउन सकेको छैन । मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी नीलधोज पाण्डे र नापी कार्यालयको प्रमुखको जिम्मेवारी तुलसीराम भुसाललाई दिइएको थियो । प्रमुखसमेत तोकिए पनि कार्यालयहरुबाट हुने सेवा भने सञ्चालनमा आउन सकेका छैनन् । कार्यालय सञ्चालनका लागि विभागबाट बजेट नआउँदा कार्यालयबाट सेवा दिन नसकिएको मालपोत शाखा कार्यालय आठविसकोटका प्रमुख पाण्डेले जानकारी दिए । ‘विभागमा सोध्दा अर्थ मन्त्रालयबाट बजेट आएको छैन भन्छन्’, प्रमुख पाण्डेले भने । बजेट अभावका कारण कार्यालयमा आवश्यक सामग्री खरिद गर्न नसकिएका कारण पनि कार्यालय सञ्चालनमा समस्या भएको प्रमुख पाण्डेको भनाइ छ । आठविसकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि जिल्ला मालपोत कार्यालयले विभागमा पत्र पठाएपछि कार्यालय स्थापना भएको र अहिले सेवा बन्द रहेको जिल्ला मालपोत कार्यालयका प्रमुख ओमप्रकाश खत्रीले बताए । उनका अनुसार आठविसकोटका नागरिक अहिले पनि सेवा लिनका लागि जिल्लामै आउने गरेका छन् । आठविसकोटमा कार्यालय स्थापना भएको भए पनि सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्य नभएको वडा नं १० का सुरेन्द्र ओलीले बताए । कार्यालय स्थापना भएको बेला नजिकै मालपोत तथा नापीको काम हुने भयो भनेर खुसी भएका सर्वसाधरण कार्यालयहरुबाट काम नुहँदा दुःखी भएका छन् । गत वर्ष २०७८ चैत १७ गतेको मन्त्रिस्तरीय बैठकले बाँकेको कोहलपुर, डडेल्धुराको जोखबुढा, महत्तरीको गौशाला र रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा शाखा स्थापना गर्ने निर्णय गरेको थियो । रासस
आमाहरूको अभियान : ‘मदिरा र जुवातासमा रोक’
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्मा ‘मदिरा सेवन र बिक्री वितरणसँगै जुवातास खेल्न रोक’ लगाइएको छ । स्थानीय मगरदाङ आमा समूहले गाउँभेलामार्फत सामाजिक नीति नियम तयार गरेर लागू गरेका हुन् । समाजमा भएका विकृति विसङ्गतिलाई हटाउँदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ गाउँमा मदिरा सेवन र बिक्री वितरण तथा जुवातास खेल्न रोक लगाइएको आमा समूहका अध्यक्ष राजमति बुढाले बताइन् । ‘‘युवा कुलतमा फस्दा सिङ्गो समाजलाईनै प्रभावित बन्ने गरेको छ, सार्वजनिक स्थानमा मदिरा सेवन र बेचबिखन गर्नेलाई जरिवानै तोकेका छौँ’’, अध्यक्ष बुढाले भनिन् । महिलालाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसङ्गतिको अन्त्यको लागि सक्रिय समूहले समाजमा जुवातास खेल्न तथा मदिराजन्य पदार्थको सेवन गर्न निषेध गरेको आमा समूहले जनाएको छ । गाउँभरिका पसलमा सिसा, बियर तथा रक्सीका कुनैपनि सामग्री लिएर बेचविखन गर्न नपाइने नियम बनाइएको अध्यक्ष बुढाले जानकारी दिइन् । समाजलाई सभ्य बनाउन र विकृति नियन्त्रण गर्न समूहले चालेको अभियानलाई सार्थक बनाउनुपर्ने निर्वतमान वडाध्यक्ष समेत रहेकी स्थानीय अगुवा पिपला बुढाले बताए । उनले समाज परिवर्तन र रुपान्तरण सबैको साझा दायित्व भएकाले आमा समूहले सञ्चालन गरेको अभियानमा सबैले साथ दिनुपर्ने बताइन् । आमा समूहले मदिरा लगायतका मध्यपानको हानि र असरको बारेमासमेत टोल र बस्तीस्तरमा सचेतना अभियान सञ्चालन गर्न सुरु गरेको छ । घरघरमा पुगेर मध्यपान र जुवातासमा लगाइएको निषेधको बारेमा जानकारी गराउने र अटेर गर्नेलाई जरिवाना सहितको कारबाही गरिनेबारेमा सचेतना जगाउन थालिएको आमा समूहकी सचिव स्थानीय शिक्षिका सुनिता पुनले बताइन् । उनका अनुसार कसैले नियमविपरीत कार्य गर्ने गराउने तथा रक्सी खाएर समाजमा हो–हल्ला, झै–झगडा तथा अशान्ति फैलाउने गरेमा पहिलो पटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रो पटकमा रु १५ हजार जरिवाना गर्ने र प्रहरी प्रशासनलाई जिम्मा लगाउने नियम बनाइएको छ । रासस
मानव बेचबिखन गर्न वीरगञ्ज नाकाको प्रयोग बढ्दो
पर्सा । पछिल्लो समय पर्साको वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराईदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न सहरमा पु¥याउने गरेको पाइएको छ । पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी पछिल्लो तथ्याङ्कअनुसार पछिल्लो छ महिनाको अवधिमा ७३ जनाको भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुस मसान्तसम्ममा भारतको विभिन्न स्थानबाट ५९ महिला र १४ बालिकाको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । आव २०७८/७९ मा पर्सा प्रहरीले भारतको विभिन्न सहरबाट एक सय ११ महिला, ४१ बालिका र ३८ बालकको उद्धार गरेको थियो । आव २०७७/७८ मा ८५ महिला, २२ बालिका र एक बालकको उद्धार गरिएको गिरीले बताए । आव २०७८/७९ मा एक सय आठ महिला, एक सय ३३ बालिका, ४५ बालक र चार ज्येष्ठ नागरिक पर्साबाट हराएको उजुरी दर्ता भएकामा एक सय पाँच महिला, एक सय आठ बालिका, ४३ बालक र तीन ज्येष्ठ नागरिक फेला परेका प्रहरीले जनाएको छ । आव २०७७/७८ मा वीरगञ्ज नाका हुँदै पर्सामा ६५ महिला, ३१ बालक, ९३ बालिका र सात ज्येष्ठ नागरिक हराएका प्रहरीमा उजुरी परेको थियो । तीमध्ये ६१ महिला, २९ बालक, ९० बालिका र सात ज्येष्ठ नागरिक फेला परेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बेचबिखनमा परेका बालबालिका, किशोरकिशोरी तथा महिलाको उद्धारमा कठिनाइ हुने गरेको मानव उद्धारमा सक्रिय संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुश्वाहाले बताए । ‘दुवै देशको ऐन प्रभावकारी नभएकाले उद्धारमा कठिनाइ भइरहेको छ’, उनले भने । संरक्षण नेपालका पारस प्रसादले चालु आवको छ महिनामा ३७ बालक र १८ बालिकाको भारतका विभिन्न सङ्घ संस्था प्रहरीसित समन्वय गरी उद्धार गरिएको जानकारी दिए । भारतको मोतीहारीस्थित जिल्ला बालसंरक्षण कार्यालयकी सहायक निर्देशक ममता झाले बालबालिका, किशोरी तथा महिलालाई विभिन्न बाहाना तथा प्रलोभनमा पारेर भारतका विभिन्न स्थानमा पु¥याउने गरिएको पाइएको बताए । ‘उद्धारमा दुवै देशको नीतिनियम तथा ऐन बाधक बन्ने गरेको छ’, उनले भने । रासस
शिक्षा क्षेत्रमा अहिलेको बजेट पर्याप्त छैन : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले शिक्षा क्षेत्रका लागि अहिले विनियोजन हुँदै आएको बजेट पर्याप्त नभएको बताएका छन् । गोरखा सदरमुकाममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको सातौँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रको विकासका लागि बजेट पर्याप्त नभएको बताएका हुन् । ‘शिक्षालाई विकास र समृद्धिको मुख्य कडी मान्ने तर शिक्षा क्षेत्रमा लगानी बढाउन तयार नहुने यो अन्तरविरोधलाई कायम राखेर हाम्रो समृद्धिको लक्ष्य पूरा हुन सक्दैन’, उप्रधानमन्त्री श्रेष्ठले भने, ‘बरु रेल बनाउने कार्य केही समय रोके हुन्छ तर मुख्य जग शिक्षालाई उन्नत बनाउन एकीकृत योजना चाहिन्छ, त्यसका निम्ति साधन स्रोतको पनि व्यवस्था गर्नुपर्छ ।’ उनले अहिलेको लगानी असाध्यै अपूर्ण रहेको भन्दै शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरे देश बन्न नसक्ने बताए । ‘सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सकेमात्र शिक्षा क्षेत्रलाई समाजवादको दिशामा अगाडि बढाउन सकिन्छ’, उप्रधानमन्त्री श्रेष्ठले भने, ‘देश रुपान्तरणमा शिक्षा क्षेत्रको विकास महत्वपूर्ण पाटो हो ।’ उनले विदेसिएका युवाहरुलाई स्वदेश फर्काउनका लागि समृद्ध नेपाल निर्माण गर्नसक्नुपर्ने बताए । शिक्षा क्षेत्रको विकासका लागि शिक्षकलाई प्रविधिमैत्री बनाउँदै उनीहरुको क्षमता विकासमा जोड दिनुपर्ने आवश्यकता रहेको उपप्रधानमन्त्री श्रेष्ठले औँल्याए । उप्रधानमन्त्री श्रेष्ठले शिक्षकहरुले नेपालको राजनीति परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रंशसासमेत गरे । उनले अहिलेको मुख्य काम सामाजिक न्यायसहितको समृद्धि भएको भन्दै समृद्धिको लक्ष्य प्राप्तिका लागि शिक्षा क्षेत्रको आमूल परिवर्तन पहिलो आवश्यकता रहेको बताए । ‘भोलि तपाइँहरुले शिक्षा क्षेत्रको आफ्नो भूमिका छोडेर समाजको अरू भूमिकामा जाँदा क्रान्तिकारी आन्दोलन इतिहास तथा योगदानलाई बिर्सन मिल्दैन’, उनले भने, ‘तर अहिले सक्रिय राजनीतिक नेताभन्दा मुख्य भूमिका चाहीँ शिक्षा क्षेत्रको आमूल परिवर्तन गर्ने नेता हुनु जरुरी छ ।’