सहकारीमा सकारात्मक प्रवृत्ति प्रवद्र्धन गरौँ : डा रेग्मी
धनगढी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा स्थापित रहिआएकाले यसको प्रवद्र्धन गर्नु जरुरी भएको बताएका छन् । धनगढीस्थित नवजीवन सहकारी संस्थाका पदाधिकारीसँगको अन्तक्रियामा उनले सहकारीको समन्यायिक विकासमार्फत देशमा आर्थिक–सामाजिक रुपान्तरण गर्ने क्षमता बढाउनुपर्ने बताए । सचिव रेग्मीले सहकारीका मूलभूत आदर्श र सिद्धान्तको व्यवहारिक प्रयोग एवं कानुनको परिपालना गर्ने परिपाटीको विकास तथा स्वअनुशासन परिपालना हुनसकेमा सामाजिक ऊर्जाका रूपमा रहेको यस क्षेत्रमा सुशासनको आयाममा समेत सकारात्मक सन्देश प्रवाह हुने धारणा राखे । देशको सवल अर्थतन्त्र निर्माण गर्न सहकारी अभियानलाई प्रभावकारीरूपले सञ्चालन गर्न सबै सरोकारवालाको सहकार्य अनिवार्य भएको उल्लेख गर्दै उनले सहकारीमा सकारात्मक प्रवृत्तिको प्रवद्र्धन र नकारात्मक प्रवृत्तिको नियन्त्रण गर्न जरुरी रहेको विचार प्रकट गरे। नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले अहिले संस्थाले दैनिक रु एक करोडको हाराहारीमा बचत सङ्कलन गर्नुका साथै किसानको हकहितमा कर्जा प्रवाह बचत सुरक्षा सुनिश्चित गरेको बताए। सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएकाले नवजीवन सहकारीले २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारसमेत प्राप्त गरेको थियो । रासस
करोडौँ लागतमा बनेको बसपार्क प्रयोगविहीन
ढोरपाटन । बागलुङमा धमाधम बजार विस्तार भइरहेका छन् । बढ्दो सहरीकरणका कारण बजार क्षेत्रमा यातायातका साधनको चाप पनि उस्तै छ । कुश्मिसेरा, बुर्तिबाङ, बरेङ, गलकोट, बडिगाडलगायत ठाउँ सडकले जोडिएपछि बजारले ठूलो रुप लिँदै छ । ती क्षेत्रमा बसपार्कको आवश्यकता बढ्दै गएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारमा पनि बसपार्कको आवश्यकता खड्किएको वर्षौँदेखि हो । त्यही आवश्यकतालाई मध्यनजर गरी नयाँ आधुनिक बसपार्क बन्यो । बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको दुई वर्ष बित्नै लाग्दा पनि कहिले सञ्चालनमा आउँछ भन्ने निश्चित छैन । अघिल्लो वर्ष असारमा बसपार्क निर्माण भएको थियो । बसपार्कसँगै यहाँ सुविधासम्पन्न टर्मिनल भवन बनेको छ । बसपार्क सञ्चालनमा नआउँदा यहाँ बनेका संरचना जीर्ण बन्दैछ । तर बसपार्क सञ्चालनमा ल्याउने स्पष्ट खाका बागलुङ नगरपालिकाले अझै बनाउन सकेको छैन । बजार क्षेत्रमा बढ्दो सवारी चापले गर्दा दुर्घटना जोखिम उत्तिकै बढेको छ । बसपार्क छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीयले माग गर्दै आए पनि सम्बन्धित निकायले सुनेको छैन । बसपार्क सञ्चालनमा आए बागलुङ बजारको सौन्दर्यता बढ्ने देखिन्छ । जग्गादाता र बागलुङ नगरपालिकाबीच भएको सहमति कार्यान्वयन नहुँदा अहिलेसम्म बसपार्क सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ । बसपार्क सञ्चालनमा आउनुअघि सम्झौता कार्यान्वयन गर्नुपर्ने स्थानीय गोविन्दबहादुर जिसीको भनाइ छ । स्थानीयले बागलुङ नगरपालिकासँग १२ बुँदे सम्झौता गरी ५२ रोपनी जग्गा निःशुल्क दिएका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ । नगरपालिकासँगको सम्झौतामा उनीहरूले बसपार्क निर्माण गर्न जग्गा दिएवापत त्यस क्षेत्रमा बाँकी रहेको ३५ रोपनी जग्गालाई घडेरी बनाइदिनुपर्ने, बाटोको निकास दिनुपर्नेलगायतका १२ बुँदे सम्झौता भएको थियो । जिसी भन्छन्, ‘यो बसपार्क निर्माणका लागि हामी विसं २०५९ देखि नै लागेका हौँ, जग्गा व्यवस्थापन गर्न धेरै समय लाग्यो, धेरै समयपछि बसपार्क पनि निर्माण भयो, अब सञ्चालनमा आउँछ भन्ने अपेक्षा थियो, तर अहिलेसम्म संरचना बने पनि बस चल्न सकेका छैनन्, नगरपालिकाले सम्झौता कार्यान्वयन नगर्दा अहिले यो परिस्थिति सिर्जना भएको छ ।’ जिसीले बसपार्क सञ्चालन गर्न स्थानीयले कुनै पनि अवरोध नगरेको बताए । नगरपालिकाले काम गर्न नसक्दा यो समस्या भएको उनको भनाइ छ । बसपार्क बनेर बाँकी रहेको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने उनी बताउँछन् । संरचना बने पनि यत्तिकै रहिरहनु दुःखद् भएको जिसीको भनाइ छ । स्थानीय सन्तोष जिसीले सम्झौता कार्यान्वयन गर्न नसक्दा बसपार्क सञ्चालनमा आउन नसकेको बताए । उनले नगरपालिकाले जग्गा फिर्ता नगरिदिँदा आफूहरूले जग्गामा अन्नबाली उब्जाउ गर्न नपाएको, जग्गा धितो राखेर अन्य व्यवसाय गर्न नपाएको, छोराछोरी तथा आफन्तलाई पढाउन नसकेकोलगायतका समस्या भोग्नुपरेको गुनासो पोखे । ‘बसपार्क बनेपछि यस क्षेत्रका जनतालाई सुविधा होला, बजार व्यवस्थित होला भन्ने लागेर जग्गा दिएका थियौँ, पालिकाले सम्झौता कार्यान्वयन नगर्दा हामी स्थानीयवासी ठूलो समस्यामा परेका छौँ’, उनले भने, ‘बसपार्क पुग्ने सडक साढे चार मिटर भनिएको थियो छ मिटर बनाएको छ, सबैतिरबाट स्थानीय नै मारमा पर्ने स्थिति आउँदा पनि बसपार्क सञ्चालन गर्न दिएका थियौँ ।’ बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बसपार्क सञ्चालनका विषयमा लामो समयदेखि छलफल भइरहेको बताए । बसपार्क निर्माणका सन्दर्भमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा परेकाले नगरपालिकालाई काम गर्न केही असहज भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । बसपार्क सञ्चालनमा नआउँदा नगरले बर्सेनि ब्याजका रूपमा करोडौँ गुमाएकाले छिट्टै सञ्चालनमा ल्याउने उनी बताउँछन् । बसपार्क नगर विकास कोषको आठ करोड ७० लाख ऋण लगानीमा निर्माण गरिएको थियो । बसपार्कको आशिष फेवा जेभीले निर्माणको ठेक्का लिएर काम गरेको थियो । आधुनिक बसपार्कसँगै यहाँ टर्मिनल, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेजसमेत निर्माण गरिएको छ । यहाँ ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउने छन् । रासस
१७ बीमा कम्पनीका कर्मचारीलाई ३५ करोड बोनस, कुनले बढाए, कुनले घटाए ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई कूल ३५ करोड ७ लाख रुपैयाँ बराबरको बोनस छुट्याएका छन् । सञ्चालित १८ निर्जीवन बीमा कम्पनीमध्ये १७ वटा कम्पनीले चालु आवको ६ महिनामै ३५ करोड रुपैयाँ बढी बोनस कर्मचारीको लागि प्रोभिजन गरेका हुन् । नेशनल इन्स्योरेन्स बाहेक अन्य कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार उक्त बोनस रकम अघिल्लो वर्षको तुलनामा १४.३० प्रतिशतले बढी हो । १७ वटा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा ३० करोड ६५ लाख रुपैयाँ बराबरको बोनस वितरण गरेका थिए । यो बोनस सम्बन्धित कम्पनीको वार्षिक साधारण सभाले पास गरेपछि मात्रै कर्मचारीहरुलाई वितरण गरिने व्यवस्था छ । उक्त तथ्यांकअनुसार सबैभन्दा बढी बोनस राष्ट्रिय बीमा कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । सो कम्पनीका कर्मचारीलाई ३ करोड ७४ लाख रुपैयाँ बराबरको बोनस व्यवस्था गरिएको छ । जुन अघिल्लो वर्षको पुस मसान्तसम्मको तुलनामा ८४.०३ प्रतिशतले बढी हो । अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनीका कर्मचारीले २ करोड ३ लाख रुपैयाँ बराबरको बोनस पाएका थिए । त्यस्तै, कर्मचारीलाई बढी बोनसको व्यवस्था गर्ने कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स रहेको दोश्रोमा छ । गत आवको पुससम्ममा ३ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस व्यवस्था गरेको कम्पनीले चालु आवको पुससम्ममा ३ करोड ३६ लाख रुपैयाँ व्यवस्था गरेको छ । जुन ३.४० प्रतिशतले घटी हो । त्यसैगरी, तेश्रोमा नेको, चौथोमा सगरमाथा र पाँचौं सूचीमा प्रिमियर इन्स्योरेन्स रहेका छन् । चालु आवमा नेकोले २ करोड ९४ लाख, सगरमाथाले २ करोड ८४ लाख र प्रिमियर इन्स्योरेन्सले २ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस छुट्याएका छन् । गत आवमा भने क्रमशः २ करोड १४ लाख, २ करोड ८२ लाख र २ करोड १३ लाख रुपैयाँ छुट्याइको छ । सबैभन्दा कम बोनस छुट्याउनेमा प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । इन्स्योरेन्सले चालु आवको ६ महिनामा कर्मचारीलाई ६३ लाख ७८ हजार रुपैयाँ बराबरको बोनस छुट्याएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३६.९६ प्रतिशतले घटी हो । जुन गत आवको पुससम्ममा एक करोड १ लाख रुपैयाँ बोनस कर्मचारीलाई छुट्याइएको थियो । गत आवको पुसको तुलनामा चालु आवमा तीन कम्पनीले कर्मचारी बोनस घटाएका छन् । शिखरले ३.४० प्रतिशत, ओरियन्टलले ३४.१४ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सले ३६.९३ प्रतिशतले कर्मचारी बोनस घटाएका छन् । चालु आवको कर्मचारी बोनस व्यवस्थामा छुट्याइएको रकम भने प्रोभिजनिङ मात्रै गरिएको हो । यो नै वास्तविक हो भन्ने हुँदैन । सम्बन्धित कम्पनीहरुको वार्षिक साधारण सभाले पारित गरेको वित्तीय विवरणमा कर्मचारी बोनस व्यवस्थामा छुट्याइएको रकम भने वास्तविक हुने एक जानकारले बताए । र, उक्त रकम सम्बन्धित कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई वितरण गर्ने छन् । कम्पनीहरुको नाफा बढेसँगै कर्मचारीहरुले पाउने बोनस पनि बढ्छ । कम्पनीहरुले कूल बोनसको १० प्रतिशत रकम कर्मचारीलाई छुट्याउनु पर्ने व्यवस्था छ । बोनस ऐन अनुसार कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र कर्मचारीलाई वितरण गरिसक्नु पर्ने प्रावधान छ । सामान्यतय कम्पनीहरुले वार्षिक साधारण सभा सम्पन्न भएको दिनमा कर्मचारीहरुलाई बोनस वितरण गर्ने गरेको बीमाका जानकारले बताए ।
आत्मनिर्भर लघुवित्तको आईपीओमा ८ जनालाई ११ कित्ता सेयर
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तले बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ फागुन ८ गते बाँडफाँट गरेको हो । लघुवित्तले माघ १६ गतेदेखि फागुन २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० हजार ३३८ कित्ता सेयर निष्काशन गरेको थियो । लघुवित्तको आईपओमा २ हजार ३३ जना आवेदन दिएका थिए । रितपूर्वक आवेदन परेका आवेदकलाई १० कित्ताका दरले २० हजार ३३० कित्ता सेयर बाँडफाँट गरिएको हो । बाँकी रहेको ८ कित्तालाई १० कित्ताभन्दा बढि आवेदन दिने ८ जनालाई वितरण गरिएको छ । ८ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् । लघुवित्तको आईपीओ नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेभसाइट र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको वेभसाइट ष्उयचभकगति।अमकअ।अयm।लउ बाट हेर्न सकिन्छ ।
डा रुइतलाई बहराइनमा १० लाख डलरको ‘इसा अवार्ड’ प्रदान
काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन् । बहराइनमा आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्र्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिए । उनका अनुसार बहराइनका राजा अल खालिफाले डा. रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्र्डसहित सम्मानपत्र प्रदान गरेका हुन् । ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्र्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्र्ड दिने घोषणा गरेको थियो । उक्त अवार्डका लागि १४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम ६ व्यक्ति तथा संस्थाको सूचीमा परेर उनी छनोट भएका हुन् । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ । डा.रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गरेका छन् । उनले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएका छन् ।
कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा हुँदैन : पूर्वगभर्नर क्षेत्री
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न नहुने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आयोजित वित्तीय साक्षरता कार्यक्रममा उनले कसैले भन्दैमा कर्जा मिनाहा नहुने बताएका हुन् । पूर्वगभर्नर क्षेत्रीले बैंकिङ्ग क्षेत्रमा तरलताको समस्या देखिएको अवस्थामा पनि लघुवित्त संस्थाले ब्याजदर वृद्धि नगरी सेवा प्रदान गर्नु सकारात्मक कार्य भएको टिप्पणी गरे । उनले ऋणीले जुन प्रयोजनका लागि काम गर्ने हो भनेर ऋण लिएका छन् सोही प्रयोजनअनुसार काम गर्ने हो भने ऋण तिर्न र किस्ता बुझाउन समस्या नहुने बताए । ‘कर्जाको सही सदुपयोग हुने अवस्था आउने हो भने धेरै समस्या नै आउँदैन, कर्जाको उचित सदुपयोग गर्नेतर्फ ऋण लगानी गर्ने संस्था र ऋणी दुवै सचेत हुनुपर्छ,’ उनले भने । उनले लद्युवित्तका ग्राहक सदस्यलाई कर्जाको सही सदुपयोग गर्न अनुरोध गर्दै कर्जा दुरुपयोग गर्दा लगानी डुब्ने अवस्था आउने बत । त्यसबाट सदस्यले कठिनाइ तथा कानूनी झमेला बेहोर्नुपर्ने भन्दै उनले सचेत हुनुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश कार्यालयका उपनिर्देशक नविना ढकालले लघुवित्तले ग्रामीण अर्थतन्त्र उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कर्जाको किस्ता नतिर्ने भनी लघुवित्त विरुद्धको सङ्घर्ष समितिको पछाडि नलाग्न ग्राहक सदस्यलाई आग्रह गरे । उनले आफ्नो कारोबार नबिगारिकन अनुशासित सदस्यका रूपमा आफूलाई परिचित गराउन लाग्नुपर्ने भन्दै लघुवित्तले नीति विपरीत कार्य गरे कानूनी उपचार खोज्न सुझाव दिए ।
नेशनल लाईफ इन्स्योरेन्स ३६ औं वर्षमा प्रवेश
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स ३६ औं वर्षमा प्रवेश गरेको छ । नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ फागुन १० गतेदेखि ३५ वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको हो । यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रमका साथै देशभरका ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेकाे छ । साथै, कम्पनीले कर्मचारीहरुबीच विभिन्न खेलकुद कार्यक्रम पनि सम्पन्न गरेकाे छ । ३५ वर्ष अघि अर्थात् २०४४ साल फागुन १० गते नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीका नामबाट आफ्नो जीवन तथा निर्जीवन व्यवसाय सुरु गरेको थियो । तर, बीमा समिति (हाल बीमा प्राधिकरण)ले २०६३ सालमा जीवन र निर्जीवन बीमा व्यवसायका लागि छुट्टाछुट्टै बीमा कम्पनी हुनुपर्ने व्यवस्था गरेपछि नेशनल लाइफले जीवन बीमा व्यवसाय मात्रै गर्दै आएको छ । स्थापनाकालमा कम्पनीको पूँजी २ करोड रुपैयाँ थियो । साढे ३ दशकभन्दा लामो इतिहास बोकेको कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख रुपैयाँ पुगेको छ । कम्पनीमा ६५ प्रतिशत संस्थापक सेयरधनीहरु र ३५ प्रतिशत सर्वसाधारण सेयरधनीहरुको स्वामित्व रहेको छ । कम्पनीमा राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत र नेपाली संस्थापकहरुको हिस्सा ५५ प्रतिशत लगानी रहेको छ । कम्पनीमा विदेशी लगानीकर्ताको सेयर स्वामित्व १ प्रतिशत रहेको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्ममा कम्पनीमा ३७६ जना कर्मचारी कार्यरत रहेका छन् । कम्पनीको सञ्चालक समिति अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले कम्पनीको नेतृत्व गर्दै आएका छन् ।
दोस्रो बजारभन्दा महँगोमा सेयर बेच्दै नबिल बैंक
काठमाडौं । नबिल बैंकले दोस्रो बजारभन्दा महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्रीमा राखेको हो । नेप्सेमा पछिल्लो पटक नबिल बैंकको संस्थापक सेयर प्रतिकित्ता ४७४ रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बुधबार बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम ४७५ रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कायम रहेकोभन्दा प्रतिकित्ता १ रुपैयाँ महँगोमा बैंकले सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ । बैंकले संस्थापक सेयरधनी तथा कम्पनीको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले फागुन १० गतेदेखि फागुन २५ गतेसम्म विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको छ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । बैंकको उक्त सेयरमा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।