विकासन्युज

भक्तपुरको कुखुरा फार्ममा भेटियो बर्डफ्लु

काठमाडौं । भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित ३ वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ । रातोपाटीस्थत ३ फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । फार्ममा पालिएका कुखुरा धमाधम मर्न थाले पछि कुखुरामा गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेखिएको पशु विभागका चिकित्सक डा श्रीजा वाग्लेले जानकारी दिए । कुखुरामा बर्डफ्लु भेटिएपछि पशु चिकित्सक वाग्ले, पशु सेवा विभागका प्राविधिक आत्माराम शर्मा, चाँगुनारायण–८ का वडाध्यक्ष जनक खत्री, चाँगुनारायण नगरपालिका पशुपन्छी सेवा विकास शाखाका कर्मचारी र प्रहरीको टोली खटिएर फार्मका रहेका कुखुरा नष्ट गरिएको छ । तीनवटै फार्ममा रहेका १० हजार ४८० वटा कुखुरा, १ हजार ५० कुखुराका चल्ला, ४ हजार ५२३ वटा अण्डा र १ हजार ४७५ केजी दाना नष्ट गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

लघुवित्तको कर्जामा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको कर्जा प्रवाहमा कडाइ गरेको छ । अब कुनै बैंकबाट कर्जा लिइसकेका ऋणीले लघुवित्त कम्पनीबाट ऋण पाउने छैनन् । साथै एकभन्दा बढी लघुवित्त कम्पनीबाट पनि ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ‘बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटा मात्र वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी प्रवाह गर्नुपर्नेछ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । लघुवित्तबाट ऋण लिँदा अब ऋणीले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको स्वघोषणा गर्नुपर्नेछ । साथै, कर्जा सूचनाका आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको यकीन गर्नुपर्नेछ । तर यसअघि नै प्रवाह भइसकेको कर्जाको हकमा भने साविक बमोजिमको किस्ता भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । लघुवित्त कम्पनीको निक्षेप र बचतको ब्याजदरसम्बन्धी नयाँ व्यवस्था लागू गरिएको छ । ‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप र बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । लघुवित्त कम्पनीका विभिन्न कोष सम्बन्धी व्यवस्थामा पनि निर्देशिका मार्फत परिमार्जन गरिएको छ । वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गर्ने लघुवित्त संस्थाले त्योभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । यसअघि २० प्रतिशतभन्दा बढी लाभांश वितरणमा त्यस्तो लाभांशको ५० प्रतिशत बराबर जगेडा कोषमा राख्नुपर्ने व्यवस्था रहेको थियो । त्यस्तै, ग्राहक संरक्षण कोष सम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गर्ने लघुवित्त कम्पनीले २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत हुन आउने रकम ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने संस्थाले त्योभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशत र बैंक ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था ल्याइएको छ । लघुवित्त कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्थामा पनि परिमार्जन गरिएको छ । यसअघि लघुवित्त कम्पनीले आफ्नो खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै राष्ट्र बैंकले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गर्ने कम्पनीले १५ प्रतिशतभन्दा माथिको प्रस्ताविक लाभांशको १० प्रतिशत बराबर हुने रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि छुट्याउनुपर्ने जनाएको छ ।

पूर्व सचिव पुडासैनी कृषि विकास बैंकको अध्यक्षमा नियुक्त

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्व सचिव पुडासैनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले पूर्व राजस्व सचिव रामशरण पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो । बैंकको बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको सञ्चालक समिति सदस्य सन्जीव पौडेलले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार अर्थमन्त्रालले पुडासैनीलाई बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । पुडासैनी गत साउनमा सेवाबाट निवृत्त भएका थिए । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर उनी गत साउन २४ गते सेवानिवृत्त भएका हुन् । नेपालको अर्थतन्त्र सुधारमा पुडासैनीको ठूलो योगदान रहेको छ । २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत थिए । पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामति सेवामा ३३ वर्ष विताएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते सेवानिवृत्त भएका थिए ।

तारा एयर दुर्घटना : जाँचबुझ आयोगले औल्यायो ८ गल्ती

काठमाडौं । तारा एयरको दुर्घटना जाँच गर्न बनेको आयोगले विभिन्न ८ गल्ती औल्याएको छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयर दुर्घटनामा परेको थियो । उक्त दुर्घटना पछि छानबीनका लागि गठन भएको समितिले चालक दलको त्रुटिका कारण दुर्घटना भएको औल्याएको हो । आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा चालक दलको गल्ति औल्याएको हो। प्रतिवेदन अनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘एयरक्राफ्ट अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ बन्द (अफ) गरिएको उल्लेख छ । पाइलटको असावधानिका कारढ दुर्घटना भएको उल्लेख छ। यस्तै, उपलब्ध स्रोतको न्यून उपयोग गरेको तथा न्यूनअनुभवी कोपाइलट हुँदा दुर्घटना भएको समितिको निष्कर्ष निकालेको छ । दुर्घटना जाँच आयोगले प्रचलित कानून त अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम अमेरिकाको नेशनल ट्रान्सपोट सेफ्टी बोर्ड समेतको सहयोगमा विस्तृत जाँचबुझ गरि मस्यौदा अन्तिम प्रतिवेदन तयार पारिएको जनाएको छ । तारा एयरको जहाज जेठ १५ गते बिहान १० बजेतिर पोखराबाट जोमसोमका लागि उडान भर्ने क्रममा मुस्ताङको सानुशरेमा दुर्घटना भएको थियो। जहाज दुर्घटनामा दुई जना जर्मन नागरिक, चारजना भारतीय, १३ जना नेपाली यात्रुसहित चालक दलका ३ सदस्य सबैको निधन भएको थियो । जाँचबुझ आयोगमा वरिष्ठ एरोनेटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमन, क्याप्टेन दीपुराज ज्वार्चन, बरिष्ठ मेन्टेनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, बरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सदस्यसचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका थिए ।

अब बैंकका ऋणीले लघुवित्तबाट कर्जा नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई लघुवित्तले कर्जा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो निर्णय गरेको हो। लघुवित्तबाट ऋण लिने ग्राहकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट कर्जा लिएको हुन नहुने निर्देशिकामा उल्लेख छ । नयाँ व्यवस्था अनुसार लघुवित्त संस्थाले एक भन्दा बढी ऋणीलाई कर्जा लगानी गर्न पनि नपाउने भएको छ । ग्रामीण क्षेत्रका ग्राहकले धेरै लघुवित्तबाट ऋण लिएर समस्यामा परेको देखिएपछि राष्ट्र बैंकले लघुवित्तको ऋण प्रवाहमा पनि कडाई गरेको हो ।  

१५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न लघुवित्तलाई कडाई, ७ लाखभन्दा बढी ऋण पनि दिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुहरुको लाभांश वितरणमा कडाइ गरेको छ । बुधबार लघुवित्तहरुलाई एकिकृत निर्देशनमा जारी गर्दै राष्ट्र बैंकले लाभांश वितरणमा कडाई गरेकाे हाे । नयाँ व्यवस्था अनुसार लघुवित्तहरुले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने छ । यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश नगद वा बोनस वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो । यस्तै, लघुवित्त संस्थाहरुले एकै व्यक्तिलाई ७ लाख रुपैयाँभन्दा बढी ऋण दिन नपाउने भएका छन् ।

एनआईसी एशिया लघुवित्तले कर्मचारीलाई दियो प्रभावकारी फिल्ड व्यस्थापन तालिम

काठमाडौं । एनआईसी एशिया लघुवित्तको फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । लघुवित्तको मधेश प्रदेश कार्यालयले प्रदेश अन्तर्गतका शाखामा कार्यरत कर्मचारीकाे लागि उक्त तालिम सम्पन्न गरेकाे हाे । कार्यालयले चरणबद्ध रुपमा सो क्षेत्रका जितपुर, लालबन्दी, बर्दिबास, चोहर्वा, तथा रुपनी आदि स्थानहरुमा उक्त तालिम सञ्चालन गरेको थियो । तालिममा प्रादेशिक कार्यालय अन्तर्गतका १०४ जना फिल्ड कर्मचारीहरुको उपस्थिती रहेको थियो । संस्थाको कर्पोरेट कार्यालयका चिफ अपरेसन एण्ड सपोर्ट ईकोसिष्टम राजेन्द्र न्यौपाने, मधेश प्रादेशिक कार्यालयका प्रमुख विजय यादव, उप-प्रादेशिक कार्यालयका प्रमुखहरु चन्दन कुमार शाह तथा ढाल प्रसाद तिमिल्सिना आदिले सहजीकरण गरेका थिए ।  

आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको तयारी तीव्र (फोटोफिचर) 

काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो भोलिबाट भृकुटीमण्डपमा सुरु हुँदै छ । भोलिबाट सुरु हुने एक्स्पोको लागि विभिन्न कम्पनीहरूलाई आफ्नो स्टल सजाउन भ्याइनभ्याइ छ । स्टल बनाउन तथा सजाउनमा श्रमिकहरू निकै व्यस्त देखिन्छन् । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको तयारी पनि लगभग पुरा भइसकेको छ । भृकुटीमण्डपमा सुरु हुने उक्त एक्स्पो फागुन  १४ गतेसम्म सञ्चालन हुने छ । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोसँगै नेपाल हाउजीङ्ग एण्ड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एण्ड कन्सट्रकसन अन्तराष्ट्रिय एक्स्पो पनि हुँदैछ । उक्त प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा ब्राण्डहरुका २०० भन्दा बढी स्टल रहने आयोजक टिमले बताएको छ । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले पनि सो एक्स्पो हुन लागेको हो । प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, प्रि–फ्याब संरचना, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिंग उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदि देख्न पाइने छ ।