म्याग्दीमा २० वर्ष बाँझो रहेको जग्गामा सामूहिक आलु खेती
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन् । एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताए । उनका अनुसार, समूहमा आबद्ध १८ जनाले व्यावसायिक रूपमा सामूहिक आलु खेती गरिएको छ । यस वर्ष समूहले एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ । समूहले मरेनीसँगै पैरेनी र लमसुङमा समेत थप आलु खेती लगाउने तयारी गरेको जनाएको छ । मरेनीमा स्थानीयकै जग्गा भाडामा लिएर २० मुरी आलुको बीउ रोपिएको हो । गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रूपमा आलु खेती सुरु गरेका कृषक समूहले मरेनीमा मात्रै ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिए । ‘बाँझो जग्गामा आलु खेती गरिएपछि वर्षाैंदेखि बाँझो रहेको जग्गाको स्वरूप नै फेरिएको छ, यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलु खेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नेछ’, थापाले भने । गाउँपालिकाले चालु आर्थिक वर्षमा आलु पकेट कार्यक्रमको लागि १२ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकामा आवेदन पेस भएकामध्ये छनोट भएको वडा नम्बर २ को सो समूह र वडा नम्बर ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपन्छी कृषक समूहलाई छ/छ लाखको दरले बजेट परिचालन गरिने कृषि शाखाले जनाएको छ । सो करमबाट बाँझो जग्गामा खेती विस्तारका साथै मिनिटेलर, हलोलगायतका कृषि औजार सहयोग गरिने जनाइएको छ । रासस
‘कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन’
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ । एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचनाजस्तै लाग्छ । विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको नामको सहारा लिनुपर्ने अवस्था छ । उपमहानगरपालिकाकै ‘मुटु’ भागमा रहेको यो विद्यालय विसं २०५७ देखि सञ्चालनमा छ । विसं २०६६ देखि सरकारी मान्यता पाएर जेनतेन अहिलेसम्म सञ्चालनमै रहे पनि भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिँदा यहाँ विद्यार्थी जोगाउनसमेत धौधौ छ । विज्ञान विषयकी शिक्षिका सुनिताकुमारी चौधरीले विद्यालयको भौतिक सुधार हुन नसक्दा अहिले नजिकका अभिभावकले विकल्प खोज्न थालेको बताइन्। कक्षा कोठाको अभाव, सडकसँगै जोडिएर पनि घेरा पर्खाल नहुँदाको असुरक्षा, फोहरमैला जस्ता विभिन्न कारणले अहिले विद्यार्थी पाउन मुस्किल भएको उनले बताइन् । शिक्षिका पिंकी कुमारीले उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमै भएर पनि भौतिक संरचनाको अभावले विद्यार्थीलगायत शिक्षक, शिक्षिकालाई पठनपाठन गर्न निकै कठिनाइ भइरहेको गुनासो गरिन् । ‘एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ, त्यो समय अर्को साथीले पढाउने कुरा पनि भएन’, उनले भनिन्, ‘यस्तो समस्या वर्षौंदेखि छ, विद्यार्थी र हामी पनि निरास छौँ, समयको बर्बादी र गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ ।’ विद्यालयका प्रधानाध्यापक विन्देश्वर दासले पनि यसरी पढाउन थालेको वर्षौं भएको जानकारी दिए । ‘एउटै कक्षामा फरक फरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन थालिएको वर्षौं भइसक्यो, के गर्नु बाध्यता यस्तै छ’, उनले भने, ‘विद्यालयको आम्दानी छैन, अरुलाई भवन बनाएर सहयोग गरिदिन भनेको वर्षौं भइसक्यो तर कसैले सुनेनन्, अब त थाकी सके ।’ कुनै बेला एउटै कक्षामा दुईसयसम्म विद्यार्थी हुने यस विद्यालयमा अहिले छ वटा कक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्या जोड्दा करिब एक सय मात्रै छ । तर, ती सबै विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुँदैनन् । तथ्याङ्कअनुसार विद्यालयमा कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा १२, कक्षा ४ मा ६ र कक्षा ५ मा नौ जना विद्यार्थी भर्ना छन् । शिशु कक्षामा भने ४० विद्यार्थी रहेको विद्यालयको अभिलेखमा देखिन्छ । यहाँ दुई स्थायी, दुई राहत र तीन बाल विकासलाई पढाउने जनशक्ति तथा दुई सहयोगी गरी आठ जना कर्मचारी छन् । नजिकै मुस्लिम धर्मावलम्बीको बसोबास रहेकाले यस विद्यालयमा भर्ना हुने कूल विद्यार्थीमध्ये पाँच÷सात जनाबाहेक सबै सोही समुदायका बालबालिका छन् । कक्षा ५ मा अध्ययनरत छात्र अरमान अन्सारीले अर्को कक्षासँग बसेर पढ्नुपर्दा सबैभन्दा दुःख लाग्ने गरेको बताए । उनले एउटा सरले पढाएको बेला अर्को कक्षाको विद्यार्थी पर्खेर बस्नुपर्ने वा समय बिताउन कक्षा छोडेर अन्तै जानुपर्ने कारण आफूहरुलाई स्कूल आउन मन नै नलाग्ने गरेको सुनाए। त्यसैगरी कक्षा ४ मा अध्ययनरत सृष्टिकुमारी चौधरीले गरिबीका कारण आफू श्री राष्ट्रिय प्राविमा पढ्न बाध्य भएको बताइन् । ‘हुनेखाने साथीहरु विद्यालय छोडेर अन्तै पढ्न गइसके तर हामी चाहिँ गरिबीको कारणले यही पढिरहेका छौँ’, सृष्टिले मलिन मुद्रामा भनिन्, ‘हाम्रा लागि त कोही पनि रहेन छ, विद्यालय राम्रो भए त राम्ररी पढ्न पाइन्थ्यो, भविष्य पनि राम्रो बन्थ्यो होला तर अहिले त विकल्प नभएर यहाँ आउनुपरेको छ ।’ विसं २०६६ मा विद्यालयले सरकारी स्वीकृति पाएसँगै जिम्मेवारी सुरु गरेका प्रधानाध्यापक यादवले विद्यालयको यही दूरावस्थाका कारण प्रतिवर्ष विद्यार्थीको सङ्ख्या घट्दै गएको बताए । ‘गरिब पढ्ने स्कूल भनेर पो हो कि, कसैले यहाँको अवस्था सुधार्न सहयोग गर्दैनन्, यसले विद्यार्थी त घटिरहेकै छन्, सँगसँगै उपमहानगरमै यस्तो अवस्थाको विद्यालय भन्ने गरिन्छ’, प्रअ यादवले भने । यो विद्यालयको अवस्थाका बारेमा वडा र उपमहानगरपालिकाको नेतृत्वलाई पनि जानकारी छ तर सुधारका लागि भने ठोस् पहल भएको छैन । उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो कार्यकाल सुरु भएको छोटो समयमै आफूले विद्यालयको अवस्था सुधारका लागि पहल सुरु गरिसकेको बताए । सुरुमा पाँच लाख दिने कुरा भएको र आफ्नो कार्यकालमा विद्यालयको मुहार फेर्ने गरी काम हुने उनले प्रतिबद्धता जनाए। त्यसैगरी वडा नं ८ का अध्यक्ष दिनेशकुमार सिंहले पनि विद्यालयको भौतिक संरचना सुधारका साथै त्यहाँ वरपरको वातावरण पनि विद्यालयमैत्री बनाउन जरुरी रहेकाले सोहीअनुसार सुधारका विषयमा छलफल भइरहेको बताए । उनले विद्यालयलाई विद्यालयजस्तै बनाउने गरी काम हुने धारणा राखे । विसं २०६७ सम्म कक्षा १ को पढाइ हुने यस विद्यालयमा शैक्षिक सत्र २०६७ मा कक्षा २, विसं २०७२ मा कक्षा ३ र २०७३ मा कक्षा ४ र चालु शैक्षिक सत्रदेखि कक्षा पाँचसम्मको पढाइ हुन्छ । प्रधानाध्यापक यादवले आफूले स्थानीय, प्रदेश र केन्द्र सरकारले विद्यालयको अवस्था सुधारमा सहयोग गरे उर्दु शिक्षक र अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरी विद्यार्थीको आकर्षण बढाउने योजना रहेको बताए । रासस
पर्यटन प्रवद्र्धन गर्न हरित पार्क निर्माण
ढोरपाटन । बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो । पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी पार्क निर्माण गरिएको छ । पार्कले सल्यान र सुखौरासँगै अन्य पर्यटकीय गन्तव्यलाई जोड्ने छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश र गाउँपालिकाले विनियोजन गरेको ८ लाख रुपैयाँले पार्क निर्माण गरेको बरेङ गाउँपालिका–५ सुखौराका अध्यक्ष अम्मरबहादुर सेर्बजाले जानकारी दिए । १ हजार ७०० मिटरको उचाईमा रहेको यो पार्क पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको हुँदा पालिकाले यसलाई प्राथमिकतामा राखेर काम गरेको उनले बताए । यहाँ प्रतिक्षालय, घेराबार र खानेपानीको व्यवस्थापन गरिसकेको भन्दै अब शौचालय निर्माणसँगै बोट बिरुवा लगाउने कार्य बाँकी रहेको अध्यक्ष सेर्बुजाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले यो ठाउँ पालिकाको महत्वपूर्ण क्षेत्र रहेको र पर्यटकीय सम्भावना बोकेको हुँदा पर्यटन पूर्वाधारस्वरुप हरित पार्कको सुरुआत गरेको बताए । उनले यहाँ पार्कसँगै अन्य पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्ने बताए । अध्यक्ष शर्माले सुखौरा र सल्यान गाउँमा आलु, सिमीलगायत स्थानीय अर्गानिक वस्तु उत्पादन हुने भन्दै बाहिरबाट आउने पर्यटकलाई एक दिन गाउँमै बस्ने वातावरण तयार गर्ने र उत्पादित वस्तुलाई कोसेलीका रुपमा प्रवद्र्धन गर्ने उल्लेख गरे । गाउँपालिकाले पार्कसँगै वडा नम्बर–३ स्थित बाटाकाचौरको सत्यवती मन्दिर, भैँसेखोला र छहरेखोला झरनाको प्रवद्र्धन गरिरहेको अध्यक्ष शर्माको भनाइ छ । रासस
नाडेप लघुवित्तले डाक्यो साधारणसभा, के-के छन् एजेण्डा ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आठौं बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त सञ्चालक समितीको फागुन १० गते बसेको बैठकले चैत ८ गते नौविसे धादिङमा बिहान ११ बजे वार्षिक साधारसभा बोलाएको हो । लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । लघुवित्तले साधारणसभा प्रयोजनको लागि फागुन २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।
लाभांश बिना नेशनल हाईड्रोपावरको साधारणसभा आह्वान
काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनीले २६ औं बार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितीको फागुन १० गते बसेको बैठकले चैत ३ गते डेलिस ओपेरा रेष्टो एण्ड ब्याङ्क्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजे वार्षिक साधारसभा बोलाएको हो । कम्पनीले लाभांश बिना नै आफ्नो वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।
यी २ लघुवित्तको सेयर खरिद गरे लाभांश पाइने
काठमाडौं । बिहीबार विभिन्न २ लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिभिल लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन ११ गते अन्तिम दिन हो । यी २ लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन १२ गते शुक्रबार र फागुन १३ गते शनिबार परेको हुँदा कारोबार नहुने भएकाले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त र साधारणसभामा सहभागी हुन पाउनेछन् । सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ११ औँ बार्षिक साधारणसभा फागुन २९ बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर काठमांडौमा बिहान ११ बजे बोलाएको छ । यस्तै, सबैको लघुवित्तले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद गरी कूल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले छैठौं बार्षिक साधारणसभा फागुन २६ गते मस्र्याङ्दी रिभर रिसोर्ट, बन्दिपुर तनहुँमा बिहान १० बजे बोलाएको छ ।
आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्ताका लागि आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ३ हजार ३८० कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरि बाँडफाँट गरिसकेको छ । बाँकी ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई, १० हजार १७० कित्ता सामूहिक लगानी कोषलाई र १ लाख ६९ हजार ७५५ कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । घुवित्तको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै मरोेसेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तलाई केयर रेटिङ्ग नेपालले केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
बञ्चरे डाँडामा ‘क्यापिङ्’ लागि माटो पाउन कठिन
काठमाडौं । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरे डाँडामा ‘क्यापिङ’ (फोहर राखेपछि उक्त फोहरलाई छोप्ने काम) को लागि माटो पाउन कठिन भएको छ । विगत सात महनादेखि काठमाडौं उपत्यकाको फोहर उक्त स्थानमा विसर्जन हुँदै आएको छ । उक्त स्थानमा फोहर राखेपछि त्यसको थप व्यवस्थापनका लागि माटो आवश्यक पर्छ । फोहरलाई खुला छोड्न पाइँदैन । त्यसलाई हरेक दिन छोप्नुपर्छ । यसरी छोप्नका लागि माटोको उपलब्ध गर्न कठिन भएको छ । माटो व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले तोकेको स्थानबाट ल्याउँदा स्थानीय वन उपभोक्ता समितिको अवरोधका लागि समस्या भएको हो । कामपाको प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा राखिएको फोहरलाई व्यवस्थापन गर्नका लागि दैनिक ५० टन माटोको आवश्यकता पर्छ । दैनिक रुपमा नै माटो धेरै आवश्यक पर्छ हाल व्यवस्थापनका लागि माटो ल्याउने स्थान अलि टाढा छ । उक्त स्थानबाट माटो निकाल्न पनि समस्या छ सधैं यसरीले ल्याउन मिल्ले अवस्था नभएको प्रवक्ता मानन्धरले बताए । हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाको ५ सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा २ सय गाडीले फोहर ओसार्ने गरेका छन् । उपत्यकाको फोहर दैनिकरूपमा उक्त स्थानमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिँदै आएको हो । विगत सात महिनादेखि ‘सेल वान’मा मात्रै फोहरको व्यवस्थापनको काम हुँदा लेवल मिलाउन अलि समस्या भएको भन्दै कामपाले ‘सेल टु’मा पनि फोहर व्यवस्थापनको लागि सहज गरिदिन सहरी विकास मन्त्रालयसँग कामपाले आग्रहसमेत गरेको छ । ‘सेल वान’मा फोहरको थुप्रो बढी भइसकेकाले ‘सेल टु’ पनि प्रयोगमा ल्याउन सके फोहर व्यवस्थापनमा सहज हुने कामपाको भनाइ छ । अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा ‘सेल वान’मा मात्रै फोहर व्यवस्थापन गर्नुपर्दा लिचड व्यवस्थापनमा पनि समस्या भएको प्रवक्ता मानन्धरको भनाइ छ । अहिले फोहरबाट निष्कने तरल पदार्थ (लिचड) रहने स्थान पनि भरिएको कारण समस्या भएको कामपाको भनाइ छ । गत साउन महिनादेखि स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि उपत्यकाबाट सबै किसिमको फोहर अन्तिम विसर्जन स्थानमा लानुपर्ने बाध्यताको कारण छोटो समयमानै लिचड राख्ने स्थान भरीएको बताइएको छ । कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहर वर्गीकरण गरी ल्याइन्छ । केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ । ‘कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ, त्यसबारे कामपाले केन्द्र सरकारसँग छलफल गरिरहेको छ, स्थान प्राप्त हुन बित्तिकै स्रोतमा नै फोहरको वर्गीकरण गरी प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ,’ प्रमुख श्रेष्ठले भने । विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ । ऐनमा फोहरलाई स्रोतमै छुट्ट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ ।