विद्यालयको पाठ्यक्रममा बीमा समावेश गर्न नगरपालिकाले पहल गर्ने : सुन्दरबजार नगरपालिका
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन ९ गते गण्डकी प्रदेश, लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले विद्यालयका पाठ्यक्रम तयार गर्दा बीमा विषयलाई समावेश गर्न नगरपालिकाले पहल गर्ने जानकारी दिए । प्रमुख कोइरालाले बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि बीमा कम्पनीहरु पनि अग्रसर हुनुपर्ने आवश्यकता औंल्याएका थिए । सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवानी केसीले नगरपालिकाको आगामी नीति तथा कार्यक्रममा बीमालाई समेत समावेश गरिने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी नीति तथा कार्यक्रम ल्याएर नागरिकका जीवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्ने व्यवस्था गर्न नगरपालिकासँग आग्रह गरे । नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेले संचालन गरेको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारी, जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
२७ करोड पुँजी र ३१ हजार सदस्य रहेको नवजीवन सहकारीको अवस्था के छ ?
काठमाडौं । पछिल्लो समय सहकारीहरु सकसमा छन् । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको समस्यासँगै सहकारीहरु पनि अहिले सकसमा छन् । विभिन्न सहकारीहरु बचतकर्ताको बचत फिर्ता दिन नसकेर बन्द नै भएको समाचारहरु पनि बाहिरिरहेका छन् । पछिल्लो समय मात्रै देशभर आफ्नो सेवा केन्द्रहरु विस्तार गरेर सदस्यहरु बढाइरहेको शिवशिखर बहुउद्देश्यी सहकारी समस्यामा छ । यो सहकारीले बचत प्रयाप्त पैसा नभएपछि कतिपय ठाउँका सेवा केन्द्र नै बन्द गरिसकेका छ भने सेयर सदस्यहरुले बचत असुलका लागि विभिन्न निकाय धाइरहेका छन् । सो सहकारीका सञ्चालक तथा कर्मचारी सम्पर्कविहिन छन् । यस सहकारीको धनगढी शाखा पनि बन्द भइसकेको छ । राम्रो सेवा दिइरहेको शिवशिखरमा एक्कासी समस्या उत्पन्न भएपछि धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था पनि सजग बनेको छ । नवजीवन सहकारीले मंगलबार पत्रकार सम्मेलन गरेर सदस्यहरुलाई संस्था स्वस्थ भन्दै विश्वस्त हुन सन्देश प्रवाह गरेको छ । लामो समयदेखि आफ्नो वित्तीय विवरण सार्वजनिक नगरेको यस सहकारीले मंगलबार सम्पूर्ण वित्तीय सूचकहरु पनि सार्वजनिक गरेको छ । नवजीवनका सेयर सदस्य संख्या ३१ हजार पाँच सय ८९ छन् । नवजीवनको सेयर पुँजी २७ करोड ७५ लाख २७ हजार, जगेडा कोष ३५ करोड १३ लाख ३५ हजार, अन्य कोष २३ करोड २१ लाख ९२ हजार तथा बाँकी ब्याज वाफत १८ करोड ८३ लाख ६० हजार रहेको भन्दै बचकर्ता, शेयरधनी तथा लगानीकर्तालाई विश्वस्त रहन आग्रह गरेको छ । नवजीवनको लगानीमा रहीरहेको रकम तीन अर्व ८८ करोड ८३ लाख ९१ हजार तथा निक्षेप (बचत संकलन) चार अर्व ३० करोड ४४ लाख ४१ हजार रहेकाले सहकारीमा त्यस्तो कुनै समस्या नभएको अध्यक्ष देवबहादुर बमले बताए । नवजीवनसँग नगद र बैंकमा गरी ९२ करोड ६९ लाख ९६ हजार तथा ३७ करोड ४४ लाख ३७ हजार रहेको बताइएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ३३ करोड ३९ लाख ३६ हजार खर्च भएको छ । नवजीवन सहकारीसँग ६ अर्व ३४ करोड चार लाख ९९ हजार कुल सम्पत्ति रहेको उल्लेख छ ।
एनआईसी एशिया लघुवित्तको प्रभावकारी फिल्ड व्यस्थापन तालिम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्तको प्रभावकारी फिल्ड व्यस्थापन तालिम सम्पन्न गरेको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लुम्बिनी प्रदेश कार्यालयले प्रभावकारी फिल्ड व्यस्थापन तालिम सम्पन्न गरेको हाे । लुम्बिनी प्रदेश अन्तर्गतका शाखामा कार्यरत सम्पुर्ण फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । उक्त कार्यालयले चरणबद्ध रुपमा सो क्षेत्रका भुताहा, बोडगाउँ, डुमरा, हाकुई, बेथरी तथा हार्थोक आदि स्थानहरुमा उक्त तालिम सञ्चालन गरेको थियो । संस्थाका लुम्बिनी प्रदेश (क) प्रमुख अमर नाथ सेढाईंले संस्थाको शाखा कार्यालयहरुमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आईरहेका वित्तीय तथा गैरवित्तीय कार्यक्रमहरु संचालन गरिएको बताए । उनले संस्थाको नीति बमोजिम कसरी कार्यक्रम संचालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहक सदस्यमुखी सेवा प्रवाहमा जोड तथा ग्राहक सदस्यहरुलाई उनीहरुको वित्तीय कारोवार गर्न सक्ने क्षमता तथा व्यवसायको विश्लेष गर्ने बताए । संस्थाका लुम्बिनी प्रादेशिक कार्यालय (क) का प्रमुख अमर नाथ सेढाईं, उप प्रादेशिक कार्यालयका प्रमुखहरु लव सुदन सिंह तथा दिपक अधिकारी आदिले सहजीकरण गरेको उक्त तालिममा प्रदेश कार्यालय अन्तर्गतका १०३ जना फिल्ड कर्मचारीहरुको उपस्थिती रहेको थियो । यस्ता कार्यक्रम संचालनबाट संस्थाद्धारा संचालित वित्तीय तथा गैह्रवित्तीय कार्यक्रम तथा सेवाहरु सरल, सहज तथा उपलब्धीमुलक रुपमा प्रवाहमा हुनेमा संस्था विश्वस्त रहेको समेत प्रदेश प्रमुख सेढाईले बताए । कम्पनीले सातै प्रदेशका ७४ जिल्लाहरुमा शाखा खोली २८७ शाखाहरुमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।
रिडी पावरको अध्यक्ष बने सन्जिव न्यौपाने
काठमाडौं । रिडी पावरको अध्यक्षमा सन्जीव न्यौपाने नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले अध्यक्षमा न्यौपानेलाई नियुक्त गरेको हो । यसअघि अध्यक्ष रहेका गुरुप्रसाद न्यौपानेले राजिनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । सञ्जीव गुरू प्रसादका छाेरा हुन् । उनी लामाे समयदेखि जलविद्युत क्षेत्रकाे विकासमा सक्रिय छन् । उनले अपी पावरमा कार्यकारी निर्देशक तथा जनता बैंककाे सञ्चालककाे जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै, कम्पनीले स्वतन्त्र संचालकमा दिव्य कोइरालालाई नियुक्त गरेको हो ।
मलाई गोल्छा र ढकालको साथ छ, जित्नेमा ढुक्क छु : रामचन्द्र संघाई
काठमाडौैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले आफुले आगामी चैतमा हुने महासंघको निर्वाचनमा जित्नेमा ढुक्क रहेको बताएका छन् । उनले आफु वरिष्ठ उपाध्यक्षको उम्मेदवार रहेको र अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको पनि साथ रहेकोले जित्नेमा ढुक्क भएको बताएका हुन् । नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक सकेत रहेका उनले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । ‘मलाई उद्योगी–व्यवसायी साथीहरूले नै निर्वाचनमा उठ्नका लागि प्रेरित गरिरहनुभएको छ, हिजो म उपाध्यक्ष निर्वाचित हुँदाको टिम पनि मसँग छ, महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि मलाई सद्भाव छ, हिजो र आजको यो संयन्त्रका कारण पनि म बलियो छु भन्ने मलाई लाग्छ,’ उनले भने । यस्तै, उनले निर्वाचनका लागि आफु विभिन्न जिल्ला पुगेको बताउँदै व्यवसायीसँग तयारी पनि राम्रो भइरहको बताए । महासङ्घले तयार पारेको भिजन पेपरलाई नै कार्यान्वयन गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको उनले बताए ।
पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव सुरु
कञ्चनपुर। कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए। ‘विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटा हामीसँग छ, यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्न जरुरी छ’, उनले भने, ‘यसका लागि सबैले आ–आफ्नो तर्फबाट पर्यटन प्रवद्र्धनमा लाग्न जरुरी छ ।’ नगरप्रमुख पदम बोगटीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको बताए । ‘हाम्रो यहाँ थुप्रै पर्यटकीय गन्तव्य छन्, यसबाट हामीले पर्याप्त लाभ लिन सकेका छैनौँ’, उनले भने, ‘यो महोत्सवले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएको छु ।’ उनले यहाँ सुक्खा बन्दरगाह, महाकाली करिडोर, मझगाउँ विमानस्थल, दैजीछेला औद्योगिक क्षेत्रलगायतका ठूला योजना सञ्चालनमा आए यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने बताए । कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । ‘पर्यटकीयस्थलसम्म सहज आवतजावत र अन्य सुविधा सरकारले उपलब्ध गराउनुपर्छ’, उनले भने, ‘पर्यटकीय क्षेत्रमा निजी क्षेत्रले पनि लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्दछ ।’ उनले पर्यटक भित्र्याउन पर्यटन पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा निकुञ्ज भ्रमणसँगै पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल, संरक्षण र पर्यटनबारे माध्यमिक तह स्तरीय वक्तृत्वकला, कृष्णसार अवलोकन तथा आन्तरिक पर्यटन प्रवद्र्धनसम्बन्धी छलफललगायत कार्यक्रम सञ्चालन हुनेछन् । रासस
अष्ट्रेलियामा स्नातक गरेका विद्यार्थीले थप २ वर्षकाे पाेस्ट-स्टडी भिसा पाउने
काठमाडाै । अष्ट्रेलियामा स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीले २ वर्षकाे पाेस्ट-स्टडी भिसा पाउने भएका छन् । आगामी जुलाइ १ गतेदेखि स्नातक तह उत्तिर्ण गरेका अन्तर्राष्ट्रिय विद्यार्थीलाइ थप दुई वर्षको पोस्ट-अध्ययन कार्य अधिकार प्रदान गर्ने अष्ट्रेलिया सरकारले जनाएकाे छ । साथै ती अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि स्वीकार्य कार्य घण्टाको सीमा प्रति पन्ध्र दिनमा ४० घण्टाबाट ४८ घण्टामा बढाइने जनाइएकाे छ । नयाँ व्यवस्थाले अन्तर्राष्ट्रिय उच्च शिक्षा स्नातकहरूलाई उनीहरूको लागि थप दुई वर्ष दिने अष्ट्रेलियन सरकारले जनाएकाे छ । याे सुविधाकाे विस्तार क्षेत्रीय क्षेत्रमा अध्ययन गर्ने, बस्ने र काम गर्ने योग्य विद्यार्थीहरूको लागि विद्यमानमा उनीहरुले पाएकाे अतिरिक्त एक देखि दुई वर्षको काम गर्न पाउने अधिकारमा पनि थप भएकाे सरकारले अष्ट्रेलिया सरकारकाे शिक्षा विभागले जनाएकाे छ ।
गाह्रो परेको बेला ऋण लिएर अहिले तिर्दिन भन्न मिल्दैन : उपाध्यक्ष संघाई
रामचन्द्र सङ्घई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुन् । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ । गएको करिब दुई दशक यतादेखि नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यका रूपमा रहेका संघाई वर्तमान उपाध्यक्ष हुन् । उनी महासङ्घको अघिल्लो अधिवेशनमा निर्वाचित भएका थिए । हाल महासङ्घको रोजगारदाता परिषद्को सभापतिसमेत रहेका संघाईसँग नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी चैत अन्तिम साता हुने आसन्न निर्वाचन र नेपालको वर्तमान अर्थतन्त्रमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश : अर्थतन्त्रका सूचकाङ्कहरू सन्तोषजनक छैनन् । यद्यपि नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्दा सुधारको बाटोमा हो कि जस्तो देखिन्छ । यहाँको विश्लेषणमा हाम्रो अर्थतन्त्र कस्तो अवस्थामा छ ? समग्र अर्थतन्त्रको अवस्था राम्रै छ । पछिल्लो समय अर्थतन्त्रले राम्रो बाटो लागेको महसुस मैले गरेको छु । विदेशी विनिमय सञ्चिति पनि अहिले बढेको अवस्थामा छ । कुनै पनि अर्थतन्त्रमा जब शिथिलता आउँछ त्यो एकैपटक ह्वात्तै बढ्ने अवस्था हुँदैन । विस्तारै सुधार हुँदै जान्छ । हाम्रो अवस्था पनि त्यस्तै छ । विस्तारै सुध्रिँदै गएको देखिएको छ । पछिल्लो समय उद्योगी–व्यापारीलाई बैंकको चर्को ब्याजदरले समस्या भएको देखिन्छ । तर यसको पनि केही निकास निस्किएला भन्नेमा म ढुक्क छु । अर्थतन्त्र सुधारको बाटोमा कसरी जान सक्यो भन्ने लाग्छ ? नयाँ सरकार बनेपछि केही सकारात्मक ऊर्जा पलाएको देखिएको हो । जनता र उद्योगी व्यवसायीमा उत्साह थपिएको पनि देखिएको हाम्रो अनुभव छ । त्यसले पनि काम गरेको हुनसक्छ । सरकारले पनि निजी क्षेत्रसँग मिलेर काम गर्ने भनेर विश्वास दिलाएको छ । सरकारले समस्या भए ल्याउन र समाधानका लागि प्रयास गर्ने विषयमा विश्वास दिलाएको पनि छ । त्यसैकारणले पनि अर्थतन्त्रमा उत्साह थपिएको हुनसक्छ । लगानीमैत्री वातावरणको विश्वास भएपछि अर्थतन्त्र चलायमान हुन्छ । जुन स्वभाविक हो । अब यस्तो लगानीमैत्री वातावरण निर्माणका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्छ । नेपाल उद्योग वाणिज्य महासङ्घ त यस्तो वातावरण निर्माणमा लागेकै छ । पछिल्लो समय उद्योगी–व्यापारी चर्को ब्याज भयो भनेर आन्दोलनमा छन् । केही व्यापारीले त ब्याज नतिर्ने घोषणासमेत गरिसकेका छन् । यसलाई कसरी लिनुहुन्छ ? म बैंकको सञ्चालक पनि हो र उद्योगी–व्यापारी पनि हो । मलाई पनि बैंकको ब्याजका कारण समस्या छ । तर ब्याज नै तिर्दैनौँ भन्न त भएन नि । आफूलाई गाह्रो–साह्रो परेका बेलामा ऋण लिने तर अहिले आएर तिर्दिन भन्नु राम्रो होइन । यसमा केही सहजीकरणका लागि प्रयास गर्न सकिन्छ । खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको हो । अब कसरी अघि बढ्ने त ? निकासका बाटाहरू अनेक हुन सक्छन् । तर तिनको समीक्षा र सहजीकरणको बाटो नै अघि बढ्नुपर्छ । उद्योगी–व्यवसायीले कर्जाको ब्याजदर एकल अङ्कमा झर्नुपर्छ भनिरहेका छन् । यसलाई यहाँले कसरी लिनुभएको छ ? खुला बजार नीतिअनुसार हामीले नै हिजोका दिनमा ब्याजको दर स्थिर हुनुहुँदैन भनेका हौँ । ब्याज कहिले घट्छ र कहिले बढ्छ । स्थिर ब्याज हुँदा १२ प्रतिशतमा लिएको कर्जाको ब्याजदर आठ प्रतिशतमा हुँदा ऋणीले त्यसको सुविधा लिन पाउँदैनन् । फेरि नेपालमा मात्रै ब्याजदर बढेको होइन अमेरिका, बेलायतलगायतका देशमा पनि अहिले ब्याजदर बढेको छ । हामी निक्षेपकर्ता पनि हौँ, त्यसबाट पनि हामीले ब्याजदर पाइरहेका छौँ । निक्षेपकर्ताले बढी ब्याज र ऋणीले कम ब्याज पाऊ भन्ने हुन्छ । बजारमा माग र आपूर्तिका हिसाबले चल्ने भएकाले ब्याजदर घटबढ हुनुलाई अस्वभाविक मान्नु हुँदैन । बैंक पनि नेपाल राष्ट्र बैंकको नियमअनुसार चल्नुपर्छ । बैंकिङ क्षेत्र आजका दिनमा सबैभन्दा पारदर्शी क्षेत्रका रूपमा लिन सकिन्छ । यसका पनि आफ्ना समस्या हुन सक्छन् तर निदान नै ननिस्किने समस्या भने होइनन् भनेर सम्बद्ध सबै पक्षले बुझ्नुपर्दछ । हाम्रो रेमिट्यान्सले धानेको अर्थतन्त्र छ । रेमिट्यान्स कम हुँदा अर्थतन्त्रमा समस्या देखिन्छ । केही समयअघि पनि यो देखियो । यस्तो अवस्थामा अर्थतन्त्रको स्वास्थ्य राम्रो बनाउनका लागि के गर्नुपर्छ भन्ने लाग्छ ? हाम्रोमा नीति अस्थिर हुने अवस्था छ । पहिलो कुरा त हामीकहाँ नीति आउन नै ढिला हुन्छ । आएपछि पनि कार्यान्वयनको काममा अझ ढिलाइ हुने अवस्था पनि छ । खासमा हामीलाई यसले पनि फरक पार्छ । अर्थतन्त्रको स्वास्थ्य दीर्घकालीन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुको विकल्प छैन । रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानी गर्ने वातावरण बनाउनुपर्छ । निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले निर्यातजन्य उद्योगका लागि आठ प्रतिशतको छुटको नीति लिएको छ, जुन सकारात्मक छ । तर यसको कार्यान्वयन छिटो र प्रभावकारी हुनु जरुरी छ । आठ प्रतिशत छुट प्राप्त रकम वस्तु निर्यात गरेको वर्ष दिनपछि मात्र पाइन्छ । यो झन्झटिलो छ । यो नीति पुनरावलोकन गरेर महिना दिनभित्रै छुट प्राप्त रकम फिर्ता पाउने व्यवस्था हुनुपर्छ । नीति ल्याउँदा नै कार्यान्वयनको पक्षमा पनि विशेष जोड दिनुपर्छ । दक्ष जनशक्ति उत्पादन गर्न सक्ने हो भने विदेशबाट श्रमिक ल्याउनुपर्ने अवस्था हुँदैन । यसमा पनि केन्द्रित हुनु जरुरी छ । नेपाल उद्योग वाणिज्य महासङ्घले वर्तमान कार्यसमिति आएपछि भिजन पेपर सन् २०३० ल्याएको छ । यसमा एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने भनेको थियो । त्यसका लागि केही नीतिगत सुधारको पनि कुरा उठान गरेको थियो । यसको कार्यान्वयन कुन अवस्थामा पुगेको छ ? अनुमोदन गरिसकेको छ । सरकारले पनि कार्यान्वयनका लागि सहयोग गर्ने भनेको छ । ‘पोलिसी रिफर्म’का लागि सरकार प्रतिबद्ध छ । अहिले सरकार नयाँ आएको छ । सरकारसँग यस विषयमा कार्यान्वयनका लागि सहकार्य जारी रहेको छ । सरकार र महासङ्घका साथै सरोकारवाला निकायबीच काम भइरहेको छ । हामी सरकार र सम्बद्ध सरोकारवालासँगको आपसी समन्वय र सहकार्यमा छौँ र मलाई लाग्छ सो भिजन पेपरका कार्यक्रमहरूको कार्यान्वयन गरी पूरा गर्नका लागि हामी पनि प्रयत्तरत छौँ । तपाइँ महासङ्घको रोजगारदाता परिषद् सभापतिका रूपमा रहेर पनि एक कार्यकाल काम गर्नुभयो । यस अवधिमा के–कस्ता काम गर्नुभयो ? रोजगारदाता परिषद्मा रहँदा मैले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउनका लागि सकारात्मक भूमिका निर्वाह गरेको छु । महासङ्घ, ट्रेड युनियन र सरकारबीच सकारात्मक भूमिका खेल्दै प्राप्त गरेको नतिजालाई मैले ठूलो उपलब्धि मानेको छु । यसबाट श्रमिकहरू पनि निकै खुसी छन् भने रोजगारदाता पनि खुसी छन् । त्यसबाहेक यसबीचमा हड्ताल र आन्दोलनलाई न्यूनीकरण गर्ने प्रयासमा पनि म सफल भएको छु । ट्रेड युनियनलाई पनि बिना कुनै कारण हडताल नगर्नका लागि सहमतिमा ल्याएको छु । अहिले रोजगारदाता, श्रमिक र सरकारका बीचमा यो विषयमा एक प्रकारको सुमधुर सम्बन्ध विकास भएर अघि बढेको महसुस मैले गरेको छु । वास्तवमा नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि पनि यो आवश्यक थियो भन्ने मलाई लाग्दछ । सोहीअनुरुप मैले नै पहल गरेर अघि बढ्यौँ र हामी सफल पनि भयौँ भन्ने लाग्दछ । रोजगारदाता परिषद्को सभापतिका रूपमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न सभा–सम्मेलनमा भाग लिएर मैले निरन्तर श्रमिकका हितका विषयमा आवाज उठाएको छु । मलाई लाग्छ नेपालका व्यवसायी एवं श्रम क्षेत्रका समग्र साथीहरूले पनि यसको मूल्याङ्कन गर्नु नै भएको होला । महासङ्घको आगामी कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सोच बनाउनुभएको हो ? अहिले हामी तीन जना उपाध्यक्ष छौँ । साथीहरूको पनि यो आकाङ्क्षा होला भन्ने लाग्दछ । मेरो पनि महासङ्घको नेतृत्वमा जाने आकाङ्क्षा छ नै । एक कार्यकाल वरिष्ठ उपाध्यक्ष भएपछि स्वतः अध्यक्ष हुने व्यवस्था विधानमा भएकाले यस्तो हुनु स्वभाविक पनि हो । आगामी कार्यकालका लागि मैले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको छु । यसअघि पनि मलाई साथीहरूले नै उपाध्यक्षमा उठ्न प्रेरित गर्नुभएको हो । उहाँहरूको माग र दबाबमा नै म उठेँ र निर्वाचित पनि भएँ । मलाई त्यतिबेला उम्मेदवारीका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालजीले प्रेरित गर्नुभयो उहाँको टिमबाट नै उपाध्यक्षको उम्मेदवार बनेको हो । अघिल्लो अधिवेशनमा पनि मलाई उद्योगी–व्यवासायी साथीहरूले विश्वास गरेरै निर्वाचित गरेर पठाउनुभएको हो । यसपटक पनि मलाई साथीहरूले विश्वासका साथ तपाईँ नै वरिष्ठ उपाध्यक्ष हुनुपर्छ भनिरहनुभएको छ । यसपटक टिमलाई मैले अझ बलियो बनाएको छु । वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा यहाँका एजेण्डा के–कस्ता छन् ? पहिलो विषय त महासङ्घले तयार पारेको भिजन पेपरलाई नै कार्यान्वयन गर्ने मेरो एजेण्डा छ । यो पूर्णरूपमा कार्यान्वयन हुनसक्यो भने मुलुकको अर्थतन्त्र निकै राम्रो अवस्थामा आउनेछ । यो कार्यान्वयन भए अर्थतन्त्रका सबैखाले सूचकाङ्कहरूमा निकै राम्रो सुधार देख्न पनि सकिनेछ भन्नेमा हामी विश्वस्त छौँ । त्यसबाहेक जिल्ला, एशोसिएटलगायतका साथीहरूसँगको सम्पर्क बढाएर उहाँहरूको समस्या सुन्ने र समाधान गर्नेमा म प्रतिबद्ध हुनेछु । उहाँहरूको निराशालाई उत्साहमा परिणत गर्नेछु । अहिलेसम्म जति पनि जिल्लाका साथीहरूसँग भेट गरेको छु । उहाँहरू भेटपछि निकै खुसी हुनुभएको छ । यसले मेरो आत्मविश्वास बढेको पनि छ । साथै यसअघिका पूर्वअध्यक्षहरूले जसरी महासङ्घलाई यहाँसम्म ल्याउनुभएको छ, त्यसलाई अझ बढी सुदृढीकरण गर्दै अघि बढाउने र महासङ्घलाई अझ उचाइमा पु¥याउनेमा म लागिपर्नेछु । साथै नेपालमा लगानीमैत्री वातावरण निर्माणमा सहयोग गर्नेछु भने सरकार, निजी क्षेत्र, श्रमिक र नागरिकबीचको समन्वयका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछु । मुलुकको अर्थतन्त्र कमजोर भएसँगै मुलुकका उद्योगी–व्यवसायी साथीहरूका समस्या पनि निकै छन् । जस्तो कि म जिल्लातिर जाँदा होस् या यहीँ पनि साथीहरूसँगका भेटमा उहाँहरूले व्यक्त गर्ने गर्नुुहुन्छ विभिन्न समस्याहरू हाम्रो क्षेत्रमा छन् । ती समस्याको समाधानमा म पूर्णरूपमा लाग्नेछु र उद्योगी–व्यवसायी साथीहरूलाई सहयोगको भूमिका निर्वाह गर्नेछु । यहाँले निर्वाचन जित्ने आधारहरु के छन् त ? मैले माथि नै भनेँ नि मलाई उद्योगी–व्यवसायी साथीहरूले नै निर्वाचनमा उठ्नका लागि प्रेरित गरिरहनुभएको छ । हिजो म उपाध्यक्ष निर्वाचित हुँदाको टिम पनि मसँग छ । महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि मलाई सद्भाव रहेको छ । हिजो र आजको यो संयन्त्रका कारण पनि म बलियो छु भन्ने मलाई लाग्दछ । यस निर्वाचनका लागि म विभिन्न जिल्ला पुगेको छु । व्यवसायी साथीहरूसँग तयारी पनि राम्रो गरिरहेको छु । एक कार्यकाल उपाध्यक्षका रूपमा काम गर्दा मैले राम्रै काम गरेँ भन्ने नै लागेको छ । हामीले हाम्रो आफ्नो समूहबाट दर्जनौँ कम्पनीमार्फत १८ हजारभन्दा बढीलाई रोजगारी दिन सकेका छौँ । सबैका समस्या पनि बुझेको छु र त्यसलाई समाधान गर्नका लागि पनि मसँग केही योजना छन् । ती योजना कार्यान्वयनका लागि म वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनु आवश्यक छ । मलाई निर्वाचनमा उठ्नका लागि साथीहरूको माग र दबाब दुवै रहेको छ । उहाँहरूले मलाई वरिष्ठ उपाध्यक्षमा उठ्न भनिरहनुभएको छ त्यसैले मैले उम्मेदवारी दिने निर्णय गरिसकेको छु । हेरौँ, मुलुकका सबै उद्योगी– व्यवसायी साथीहरूको सहयोग र सद्भावका कारण परिणाम मेरै पक्षमा आउँछ भन्नेमा म ढुक्क पनि छु । रासस