काठमाडौं । पछिल्लो समय सहकारीहरु सकसमा छन् । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको समस्यासँगै सहकारीहरु पनि अहिले सकसमा छन् । विभिन्न सहकारीहरु बचतकर्ताको बचत फिर्ता दिन नसकेर बन्द नै भएको समाचारहरु पनि बाहिरिरहेका छन् ।
पछिल्लो समय मात्रै देशभर आफ्नो सेवा केन्द्रहरु विस्तार गरेर सदस्यहरु बढाइरहेको शिवशिखर बहुउद्देश्यी सहकारी समस्यामा छ ।
यो सहकारीले बचत प्रयाप्त पैसा नभएपछि कतिपय ठाउँका सेवा केन्द्र नै बन्द गरिसकेका छ भने सेयर सदस्यहरुले बचत असुलका लागि विभिन्न निकाय धाइरहेका छन् । सो सहकारीका सञ्चालक तथा कर्मचारी सम्पर्कविहिन छन् । यस सहकारीको धनगढी शाखा पनि बन्द भइसकेको छ ।
राम्रो सेवा दिइरहेको शिवशिखरमा एक्कासी समस्या उत्पन्न भएपछि धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था पनि सजग बनेको छ । नवजीवन सहकारीले मंगलबार पत्रकार सम्मेलन गरेर सदस्यहरुलाई संस्था स्वस्थ भन्दै विश्वस्त हुन सन्देश प्रवाह गरेको छ ।
लामो समयदेखि आफ्नो वित्तीय विवरण सार्वजनिक नगरेको यस सहकारीले मंगलबार सम्पूर्ण वित्तीय सूचकहरु पनि सार्वजनिक गरेको छ । नवजीवनका सेयर सदस्य संख्या ३१ हजार पाँच सय ८९ छन् । नवजीवनको सेयर पुँजी २७ करोड ७५ लाख २७ हजार, जगेडा कोष ३५ करोड १३ लाख ३५ हजार, अन्य कोष २३ करोड २१ लाख ९२ हजार तथा बाँकी ब्याज वाफत १८ करोड ८३ लाख ६० हजार रहेको भन्दै बचकर्ता, शेयरधनी तथा लगानीकर्तालाई विश्वस्त रहन आग्रह गरेको छ ।
नवजीवनको लगानीमा रहीरहेको रकम तीन अर्व ८८ करोड ८३ लाख ९१ हजार तथा निक्षेप (बचत संकलन) चार अर्व ३० करोड ४४ लाख ४१ हजार रहेकाले सहकारीमा त्यस्तो कुनै समस्या नभएको अध्यक्ष देवबहादुर बमले बताए ।
नवजीवनसँग नगद र बैंकमा गरी ९२ करोड ६९ लाख ९६ हजार तथा ३७ करोड ४४ लाख ३७ हजार रहेको बताइएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ३३ करोड ३९ लाख ३६ हजार खर्च भएको छ । नवजीवन सहकारीसँग ६ अर्व ३४ करोड चार लाख ९९ हजार कुल सम्पत्ति रहेको उल्लेख छ ।