समृद्धि फाइनान्सद्धारा ह्वील चियर वितरण
काठमाडौं । समृद्धि फाइनान्सले ह्वील चियर वितरण कार्यक्रम सम्पन्न गरेको छ । समृद्धि फाइनान्सले आज संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत ह्वील चियर वितरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा गरिएको थियो । कार्यक्रममा फाइनान्सको तर्फबाट सञ्चालक विनोद कुमार सुवेदी र प्रमुख सञ्चालन अधिकृत चुुडामणी खनालको उपस्थिति रहेको थियो भने रोटरी क्लब अफ महाबौद्धका अध्यक्ष बत्स शाक्यको उपस्थिति रहेको थियो । समय समयमा संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाले यहि फाल्गुण महिनामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी समेत फाइनान्सको प्रमुख सञ्चालन अधिकृतबाट प्राप्त भयो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।
लघुवित्त क्षेत्रका समस्या समाधानका लागि सरकारी प्रयास सार्वजनिक गर्न माग
काठमाडाैं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या समाधान गर्न सरकारले चालेका कदमबारे सार्वजनिक जानकारी गराउनु पर्नेमा संसद्मा कुरा उठेको छ । सांसद रेखा यादवले आजको बैठकमा लघुवित्त क्षेत्रका समस्याबारे अर्थ मन्त्रालयले जवाफ दिनुपर्ने बताएकी हुन् । ‘अहिले लघुवित्तका समस्या बाहिरिरहेका छन् । यसबारे अर्थमन्त्रालय किन मौन छ ? समस्या समाधानका लागि के–कस्ता प्रावधान गरिएको छ ? हामी संसद्मा प्रश्न मात्रै गर्न वा समस्या मात्रै सुनाउन बसेका होइनौँ । मन्त्रालयको जवाफ पनि चाहिन्छ,’ उनले भनिन् । संसद्को यसअघिका बैठकमा पनि लघुवित्तका समस्याबारे कुरा उठे पनि त्यसको जवाफ पाउन नसकिकेको पनि सांसद यादवले बताए । ‘शून्य समयमा संसद्मा पटकपटक यो कुरा आएको छ तर जवाफ आएको छैन । अर्थमन्त्रालयले लघुवित्तका घटना व्यवस्थापनका लागि के योजना बनाएको छ त्यो सार्वजनिक गरियोस्,’ उनले भनिन् । लघुवित्त संस्थाले कर्जा असुलीमा ज्याजती गरेको भन्दै ऋणीहरु पछिल्लो केही समयदेखि आन्दोलित छन् । चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुव्र्यवहारलगायत कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणी सङ्गठित भएर आन्दोलन गरिरहेका छन् । मुलुक सङ्घीय शासन प्रणाली गइसके पनि सङ्घीयताको अनुभूति भने हुन नसकेको सांसद यादवको भनाइ थियो । ‘प्रदेशले अधिकार नपाइरहेको अवस्था छ । कतै केन्द्रबाट शोषित भएर उकुसमुकुस त भइरहेका छैनन् ?’ उनले भनिन् । सङ्घले प्रदेशलाई पनि प्रहरी र निजामती कर्मचारी भर्ना गर्न अधिकार दिएको छ तर त्यसमा पनि काम हुन नसकेको सांसद यादवको भनाइ थियो । रासस
सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा
काठमाडौं । सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कस्ता बिदामा कार्यालय खोल्ने भन्ने तोक्न बाँकी रहेको उनले बताइन् । बिदाका दिन कुन कार्यालय खोल्ने भन्ने विषयलाई मन्त्रिपरिषद्को प्रशासनिक समितिले टुङ्गो लगाउने छ । त्यस्ता बिदा र कार्यालयका नाम छिट्टै तोकिने उनले जानकारी दिइन् । अबदेखि त्यस्ता कार्यालय सार्वजनिक बिदा घोषणा भए पनि खुल्नेछन् । ‘सार्वजनिक बिदा घोषणा भएका दिन पनि त्यस्ता कार्यालय भने खुला रहनेछन् । बिदाका दिन कुनकुन कार्यालय खोल्ने भन्ने समितिले सूचीकृत गर्नेछ’, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् । बिदाका दिन र कार्यालयका नाम सूचीकृत भएपछि सार्वजनिक हुने उनको भनाइ छ । ‘जनताको सेवा प्रवाहका निम्ति महत्त्वपूर्ण ठानिएका मन्त्रालय, निकायले बिदाका दिन पनि काम गर्ने निर्णय भएको छ’, उनले भनिन् । कर्मचारीलाई सट्टा बिदा दिएर भए पनि कार्यालय सञ्चालन गरिनेछ ।
ललितपुरको सडक तत्काल निर्माण गर्न सांसद तोसिमा कार्कीको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोशिमा कार्कीले ललितपुर जिल्लामा सडकको खराब अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले राजधानीमा रहेरपनि ललितपुर जिल्लामा राज्यको दृष्टिमा नपरेको र हेपिएको अवस्थामा रहेको बताइन् । उनले ललितपुरमा पानी परे हिलो र घाम लागे धुलोको अवस्थामा सडकहरू रहेको उल्लेख गर्दै भनिन्,‘सडकमा पानी हाले चिप्लेर लड्ने नहाले धुलोले दम खोकी ल्याउने मेरो क्षेत्रको हविगत छ । नख्खु भैसेपाटी सडक निर्माणको काम कहिले टुङ्गो लाग्छ । चुनीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र छ, सातदोबाटो चापागाउँ कान्ति राजपथ मुआब्जाको कारण रोकिएको छ । सडक विभाग वा काठमाडौं खानेपानी लिमिटेढले काम गर्न नसक्नु कसको स्वार्थ हो ? राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्रै होइन अपराधपनि हो ।’ उनले आफ्नो क्षेत्रका जनता वायु प्रदूर्षणबाट र सडक दुर्घटनाबाट ग्रसित रहेको भन्दै काममा ढिलासुस्ती रोक्न र छिटो काम गराउन भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
चार करोड ३४ लाख माछा र भुरा बिक्री
हेटौँडा । हेटौँडाको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्रले चालु आर्थिक वर्षको हालसम्म चार करोड ३४ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गरेको छ । मकवानपुरस्थित कार्यालयका अनुसार किसानको मागबमोजिम विगतको तुलनामा माछाको भुरा उत्पादन र बिक्री बढ्दै गएको हो । प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाका भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा कार्यालयमा भएका पोखरी मर्मत तथा सुधार गरिएपछि यस वर्ष माछा र भुराको उत्पादन वृद्धि भएको हो । कार्यालय प्रमुख सरोज यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निर्माणलाई निरन्तरता दिइएको जानकारी दिए । कार्यालयको हातामा रहेको माछा फार्मबाट सात जातका विकासे माछाको भुरा बिक्री गरिन्छ । उनका अनुसार हाल थप दुई जातका स्थानीय तथा लोपोन्मुख सहर र गर्दीजातका रङ्गीन कोइकार्प माछा प्रजनन तथा बिक्रीको तयारीमा छन् । कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारीस्तरबाट सिफारिस गरिएका स्वदेशी रहु, नैनी र माकुर माछा तथा विदेशी कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प र ग्रप्स कार्प गरी जम्मा सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री गरिएको छ । आथिक वर्ष २०७६/०७७ देखि वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी माछा र भुरा बिक्रीबाट कार्यालयको राजस्व बढ्दै गएको छ । एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन पनि सुरु गरिएको र आठओटा जीर्ण अवस्थामा रहेका पोखरी मर्मत गरी सञ्चालनमा ल्याइएको छ । मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाको नमूना तथा लिभफिस म्युजियम स्थापना गरी सञ्चालन गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिए । आर्थिक वर्ष २०७५/७६ देखि प्राकृतिक जलाशयमा जातीय विविधतासम्बन्धी अनुसन्धानका क्रममा स्यार्फुताल, राप्ती, वाग्मती, सामरी, बकैया, अरुण, कोसी तथा कर्णाली नदीका साथै बेगनास ताललगायत नदी र तालमा माछाको विविधतासम्बन्धी जाँच तथा अभिलेख गरिएको छ । यसबाट ४५ प्रजातिका माछाका नमूना सङ्कलन गरिनाका साथै पानीको गुणस्तरसमेत अनुसन्धान गरिएको कार्यालयले जनाएको छ । ग्रासकार्प माछाको आहारका लागि पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका नेपियर वर्षीम, केरा, सुडान, जौँलगायतलाई दानाका रुपमा व्यवस्था गरिएको छ । आहारमा लाग्ने लागतको पनि तुलनात्मक अध्ययन भइरहको छ । कार्यालयले जलीय विविधता एवं प्रवद्र्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम गर्दै आएको छ । यसका लागि खोला नालामा स्थानीय जातका भुरा छाड्ने, जनचेतनामूलक होर्डिङ बोर्ड, गोष्ठी सभालगायत कार्यक्रम गर्दै आएको छ । काठमाडौँ तथा स्थानीय बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उद्देश्यले २०२४ सालमा उक्त फार्म स्थापना भएको थियो । कार्यालयअन्तर्गत ४७ दशमलव नौ हेक्टर क्षेत्रफलमा माछा पोखरी छ । रासस
सरकारले तोक्यो गहुँको समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय
काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको जानकारी गराएकी हुन । उनका अनुसार सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ३३१ रुपैयाँ निर्धारण गरेको हो । सरकारले चालू आर्थिक वर्ष ०७९/८० का लागि प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ निर्धारण गरेको थियो । यसअघि आर्थिक वर्ष ०७८/७९ का लागि यस्तो मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ र ०७७/७८ का लागि ३ हजार १५ रुपैयाँ समर्थन मूल्य थियो । बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । यस्ता छन् निर्णय ः [pdf id=391068]
पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसदको माग
काठमाडौं । भैरहवा विमानस्थल सञ्चालन गरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसद वासुदेव घिमिरेले माग गरेका छन् । शुक्रवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन् । उनले विमानस्थल निर्माण भएको एक वर्ष पूरा हुँदा समेत पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताए । उनले समय अघि हप्ताको दुईवटा उडान भएपनि अहिले बन्द भएको बताए । उनले भैरहवा विमानस्थल सञ्चालनमा भारतले अनुमति नदिएकाले उडान हुन नसकेको सञ्चारमाध्यममा आएकाले त्यो सम्बन्धमा सम्बन्धित मन्त्रालयले संसद्लाई स्पष्ट जानकारी दिन माग गरे । उनले विमानस्थल निर्माणसँगै निजी क्षेत्रले पर्यटन क्षेत्रमा ४० अर्ब बढी लगानी संकटमा परेको बताए ।
एभरेष्ट बैंकद्वारा टौखेल ललितपुरमा सोलार बस स्टयान्डको उद्घाटन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ३ को टौखेलमा सोलार बस स्ट्यान्ड संचालनमा ल्याएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो वडा संगको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्टयान्डको उद्घाटन गरेको हो । उक्त सोलार बस स्टयान्डको उदघाटन ललितपुर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सानु राज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका छन् । सो कार्यक्रममा बैंकका नायब महाप्रबन्धक गौरव कुमारका साथै बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका टौखेल शाखाका शाखा प्रबन्धक प्रितम कर्माचार्य लगायत अन्य विशिष्ट व्याक्तिहरुको उपस्थिति रहेको थियो । सो उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले नवनिर्मित सोलार बस स्टयान्डले ललितपुर महानगरपालिका वडा नं. ३ टौखलका स्थानिय बासन्दालाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकसित गर्न उक्त बस स्टयान्डले थप मद्दत गर्ने कुराको विश्वास व्यक्त गरे ।