विकासन्युज

मनाइयो डिजिटल लर्निङडे, प्रविधि मैत्री सिकाइमा सरोकारवालाको जोड

काठमाडौं । एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उदेश्यले बिहीबार ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रमको आयोजना गर्दै डिजिटल लर्निङडे मनाएको हो । एडचेञ्ज नेपालकी अध्यक्ष डा राजेश्वरी मल्लको सभापतित्वमा सुरू भएको कार्यक्रमको प्रमुख अतिथिमा सांसद तथा नेपाली कांग्रेसका नेता एनपी साउदको उपस्थिति रहेको थियो । यस्तै विशेष अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, खुला विश्वविद्यालयकी उप कुलपति प्राडा सिलु मानन्धर बज्राचार्य र सुदूरपश्चिम प्रदेश सभाका सदस्य पदम शाहीको सहभागीता रहेको थियो । कार्यक्रममा अतिथिको रूपमा प्याबसनका अध्यक्ष डीके ढुंगाना, प्याब्सका सह(अध्यक्ष सुवास न्यौपाने, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्राडा बाल चन्द्र लुइटेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवास ढकाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्द प्रसाद अर्याल लगायतका शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । होटल हिमालय, कुपण्डोलमा आयोजना भएको कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल सेसन र आइडिया पिचिङको भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले डिजिटल लर्निङ, साक्षरता र शिक्षकको क्षमता अभिवृद्धिमा जोड दिएका थिए । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै एडचेन्ज नेपालका संस्थापक सदस्य विकेश महर्जनले गुणस्तरीय शिक्षा र डिजिटल शिक्षालाई प्रवर्द्धन गर्न एडचेन्ज नेपाल संस्था स्थापना गरेको अवगत गराएका थिए । डिजिटल शिक्षाका लागि राज्य अगाडि आउनुपर्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि एनपी साउदले डिजिटल शिक्षाका लागि संसद र सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए । त्यस्तै प्याबसनका अध्यक्ष डीके ढुंगानाले शिक्षाको महत्वपूर्ण भागको रूपमा डिजिटल शिक्षा भइसकेको बताए । कार्यक्रममा बोल्दै पूर्व मन्त्री गणेश शाहले शिक्षामा सरकारले लगानी गर्नुपर्नेमा जोड दिए । ‘शिक्षामा लगानी गरे मात्र देश समृद्ध हुन्छ,’ उनले भने, ‘यसका साथै अब डिजिटल लर्निङ डेको ओनरसीप सरकारले पनि लिनुपर्छ । डिजिटल शिक्षाको इकोसिस्टम विकासमा जोड दिनुपर्छ ।’ कार्यक्रममा मुख्य वक्ताको रूपमा रहेका काठमाडौं विश्वविद्यालयका डिन प्राडा बालचन्द्र लुइटेलले एआई धेरै परिस्कृत भएको जानकारी दिदै अब क्रियटिभ र समस्या केन्द्रित सिकाइ हुनुपर्ने बताए । नेपाल खुला विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर डा भोजराज घिमिरेले डिजिटल शिक्षामा भएका प्रयास, चुनौती र गर्नुपर्ने कामको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा प्यानल डिस्कसन समेत भएको थियो । सेसनमा वक्ताको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवास ढकाल, शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक गोविन्द प्रसाद अर्याल, युनेस्को नेपालका शिक्षा शाखा प्रमुख डा धुर्व राज रेग्मी, प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र नागार्जुन नगरपालिकाकी उप मेयर सुशिला अधिकारीको उपस्थिति रहेको थियो । सेसनलाई आईसिटी फाउन्डेसन नेपालका सहसंस्थापक तथा नलेज म्यानेजमेन्ट विज्ञ हेमपाल श्रेष्ठले सहजीकरण गरेका थिए । प्यानल डिसकसन सेसनमा उप सचिव ढकालले डिजिटल लर्निङका लागि सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । डिजिटल लर्निङको सिस्टम केन्द्रिकृत हुनुपर्ने र कन्टेन्ट लोकलाइज हुनुपर्ने उनको भनाइ छ । यस्तै अर्का वक्ता गोविन्द अर्यालले केन्द्रले गरेका कामको बारे जानकारी दिदै विविध कारणले डिजिटल लर्निङको क्षेत्रमा जति गर्नुपर्ने काम हो, त्यति गर्न नसकेको स्वीकार गरे । यस्तै डा धुर्व राज रेग्मीले दुर्गम क्षेत्रमा लर्निङ र टिचिङ क्यापासिटीको ग्याप रहेको जानकारी दिए । त्यसैगरी सेसनमा बोल्दै प्याबसनका सुवास न्यौपानेले डिजिटल बिनाको शिक्षा कल्पना गर्न नसकिने बताए । यस्तै उप मयेर अधिकारीले डिजिटल लर्निङका लागि सबैको सहकार्य, समन्वय र सहअस्तित्वको भावानासहित अगाडि बढ्नुपर्ने बताइन् । कार्यक्रममा शिक्षकहरूले टिचिङ अभ्यासको बारेमा नयाँ नयाँ आइडियाहरु प्रस्तुत गरेका थिए । एडचेञ्ज नेपालले आयोजना गरेको कार्यक्रममा निमा एकेडेमी, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, मेन्टर ल्याब, लर्डबुद्ध एजुकेसन फाउन्डेसन, अपग्राड, कोडिङगल, वर्ल्ड भिजन, सेभ द चिल्ड्रेन, चाइल्ड फण्ड, चाइल्ड सेफ नेट, एन प्याबसन, एपेक्स लाइफ स्कुल, लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल, काठमाडौं विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयको सहकार्य रहेको थियो ।

पर्यटकीय गन्तव्य बन्दै स्याङ्जाको बाँगेकोट

स्याङ्जा । सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट आठ किलोमिटरको दूरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ । नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो स्थल यहाँको प्राचीनताको जीवन्त उदाहरण हो । प्रकृति र संस्कृतिले विविधतापूर्ण यो स्थल हिमाली एवं पहाडी दृश्यावलोकनका लागि महत्वपूर्ण रहेको स्थानीय पूर्णवीर गुरुङ बताउँछन् । फेदीखोला गाउँपालिका–५ मा रहेको यस स्थल पुग्न विभिन्न मार्ग प्रयोगल गर्न सकिन्छ । खड्केटारी पञ्चासे ग्रामीण सडकको छेउमा बाँगे मैदान पुग्नुअघि बाँगेकोट छ । बाँगे गाउँमा रहेको रङ्गुवा, बाँगेथुम कालाभैरवलाई प्राचीनकालदेखि बाँगेकोटका रूपमा लिने गरिएको हो । कोटको दक्षिण भागका रङ्गुवावासीले यसलाई रङ्गुवाकोट भन्दछन् । पूर्वी भाग भाटखोला, आरुखर्क र फेदीखोलाका बासिन्दाले बाँगेकोट नै भन्दै आएको बाँगे पोखरा सामुदायिक मिलन चौतारीका कोषाध्यक्ष एवं बृहत् फेदीखोला पोखरा सम्पर्क समाजका सदस्य राजकुमार क्षेत्रीले बताए। उत्तर–पश्चिम भागका बाँगे, बाङ्सिङ, सरादीसम्मका बासिन्दाले पनि यसलाई बाँगेकोट नै भन्ने गरेका छन् । बाँगेकोट नजिकैको घिमिरे गाउँ यहाँको प्राचीन बस्ती हो । परापूर्वकालदेख नै सुरक्षाका दृष्टिले अग्लो पर्खालले घेरिएको यस कोटको बीचमा भैरवस्थान र पुजारी घर छ भने पर्खाल बाहिर बलि दिने मौलो छ । यो कोट आरुखर्कका रजौटाले बनाएको भन्ने किंवदन्ती छ । प्राचीनकालमा आफ्नो भरणपोषणका लागि माना चामल र बिर्ता जग्गाका मोहीबाट उठेको रकम बुझाउन जम्मा हुने यो ठाउँबाट कटुवालले खबर प्रसारण गर्ने (घोक हाल्ने) र ज्योतिषीले भविष्यवाणी गर्ने गरेको बूढापाका बताउँछन् । वर्षको दुईपटक बडादशैँ र चैतेदशैँमा धुमधामसँग पूजा जात्रा हुने यस कोटमा रङ्गुवा, बाँगे र भाटखोलाका तालुकदार मुखियाबाट बलि दिने पाठो, रागो र माना घिउ ल्याउने प्रचलन थियो । पहिले–पहिले नुवाकोट कालाभैरव मन्दिरमा झैँ रङ्गुवा बाँगेथुम कालाभैरव स्थानमा पनि तिमल्सिना थरका बाहुन पुजारी राख्ने प्रचलन रहेकामा अहिले भने दुवै स्थानमा पुजारी यही थरको हुनुपर्ने भन्ने कुनै अनिवार्य छैन । दशैँको फूलपातीमा रङ्गुवाली तिमल्सिनाका घरबाट फूलपाती, आरुखर्के रजौटाका दरबारबाट दहीको ठेकी लगिने चलन रहेकामा फूलपाती यथावत नै ल्याइने चलन छ । प्रत्येक जातजातिका भूमिका रहने गरेको यहाँ नवमीका दिनमा अरियाँले दमाईबाट बाजागाजा, रङ्गुवाली विश्वकर्माबाट हातहतियारमा साँध लगाउने तथा स्थानीय सार्कीबाट बलिको राँगो लैजाने, सफा गर्ने चलन रहेको थियो । पछिल्ला समयमा सबै मिलेर कोटको संरक्षण र रेखदेख गर्ने गरेका छन् । बाँगेकोटमा हाल नवनिर्मित मन्दिर, भवन तथा पर्खाल एवं घना रुखवृक्ष छन्, बिर्ताप्रथाको उन्मूलन र तालुकदार परम्पराको खारेजी भएपछि अक्षयकोष स्थापनाबाट पनि यस कोटको विकासमा योगदान पुगेको छ । कोटमा रहेका पुराना खुँडा र खुकुरीले यहाँको प्राचीनतालाई झल्काउने गरेको छ । धार्मिक, प्राकृतिक र पर्यटकीय आकर्षणको केन्द्र बाँगेकोटको विकासलाई फेदीखोला गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए। ‘हामी गाउँपासिलकाभित्रका धार्मिक एवं ऐतिहासिक स्थललाई संरक्षण र विकाससँगै प्रवद्र्धन गर्ने गरेका छौँ’,उनले भने, ‘बाँगेकोटको इतिहास तथा महत्वलाई जीवन्त राख्न गाउँपालिकाको स्थानीय पाठ्यक्रममा पनि यस स्थललाई समेटिएको छ ।’ विसं२०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुरातत्व विभागको सहयोगमा निर्माण भइरहेको छ । बाँगेकोटको महत्वलाई उजागर गर्न स्थानीय युवाको सक्रियतामा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रवद्र्धनात्मक कार्यक्रम जारी छन् । हाइकिङका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आगामी फागुन २७ गते बाँगेकोटमा हाइकिङ गराउन लागेको उक्त संस्थाका संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।

चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित

बागलुङ । विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धवलागिरि अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सकमात्रै कार्यरत छन् । एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अमित ढुङ्गाना र डा अभिशेष वाग्ले मात्रै कार्यरत छन् । दरबन्दीका चिकित्सक नआउँदा छात्रवृत्ति र करारका चिकित्सकको सहयोगमा बिरामीको उपचार भइरहेको धवलागिरिमा पछिल्लो समय छात्रवृत्ति र करारका चिकित्सकसमेत आउन नमान्दा उपचार सेवा प्रभावित भएको छ । चिकित्सक अभावमा धवलागिरिमा डेढ महिनादेखि अत्यावश्यक प्रसूति सेवा प्रभावित बन्दै आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा सामान्य ओपिडी सेवामात्रै सञ्चालनमा ल्याइए पनि गर्भवतीको जटिल समस्या र शल्यक्रियाका लागि पोखरा सिफारिस गर्न अस्पताल बाध्य छ । प्रसूति विभागमात्रै होइन, चिकित्सक अभावमा बालरोग विभाग, नाक, कान तथा घाँटी रोग विभाग र छाला रोग विभाग बन्द अवस्थामा छ । अस्पतालमा अहिले चिकित्सक अभावमा ओपिडीदेखि इमर्जेन्सी तथा आइसीयूसम्मको सेवामा प्रभाव पारेको धवलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा ढुङ्गानाले बताए । “एक हप्ताअघिमात्रै गण्डकी प्रदेश सरकारले करारका दुई मेडिकल अधिकृत पठाएको छ, अहिले तत्कालका लागि स्त्रीरोग विशेषज्ञ र बालरोग विशेषज्ञसहित चिकित्सकको आवश्यकता छ, अभावका बीच अस्पतालको अन्य सेवा निरन्तररूपमा चले पनि प्रसूति विभाग, बालरोग तथा नाक, कान घाँटीरोग विभाग सञ्चालनमा कठिनाइ छ ।” डा ढुङ्गानाले भने, ‘छात्रवृत्तिका चिकित्सकको भरमा चल्दै आएको अस्पतालमा लामो समयदेखि दरबन्दीका चिकित्सक आउन सकेका छैनन्, छात्रवृत्तिका चिकित्सकको समयावधि सकिएपछि फर्कनुहुन्छ, कोरोना त्रासमा थपिएका करारका चिकित्सकको करार नवीकरण भएन, दरबन्दीका चार मेडिकल अधिकृत अध्ययन बिदामा हुनुहुन्छ ।’ तत्कालै चार विशेषज्ञ र चार मेडिकल अधिकृत नभएसम्म अस्पतालका सबै विभाग सञ्चालन गर्न कठिन हुने उनले बताए । केही महिनाअघिसम्म छात्रवृत्तितर्फका ११ विशेषज्ञ चिकित्सक कार्यरत रहेको उक्त अस्पतालमा अहिले पाँच जनामात्रै विशेषज्ञ छन् । अस्पतालमा करार र छात्रवृत्तितर्फका गरी जम्मा छ र दरबन्दीका दुई १३ चिकित्सक कार्यरत रहेको धवलागिरिका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए। ‘तेइस जनाको दरबन्दी रहेको अस्पतालमा जम्मा १३ चिकित्सक छन्, दरबन्दीका जम्मा दुईजना हुनुहुन्छ, अहिले अस्पतालमा सघन उपचारकक्ष, बाल सघन उपचारकक्षलगायत मानसिक रोग विभागसहित धेरै सेवा थपिएका छन्’, उनले भने, ‘दरबन्दी अनुसारका मात्रैले समेत नथेग्ने अस्पतालमा अहिले चिकित्सकको अभाव छ, दैनिक ओपिडी शाखामा मात्रै अहिले चार सय बिरामी आउँछन्, अस्पतालको भौतिक पूर्वाधारसमेत धेरै बन्यो, तर अस्पतालमा दरबन्दीका चिकित्सक ल्याउनै सकिएन ।’ चिकित्सक अभावबारे स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारलाई पत्राचार गरिएको छ । छात्रवृत्तिका चिकित्सक समयावधि पुगेर फर्कनु र दरबन्दीका चिकित्सक अध्ययन बिदामा बस्दा समस्या भएको हो । रासस

कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले लिए शपथ

काठमाडौं । कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार बैंक सञ्चालक समितिका अध्यक्ष पुडासैनीलाई सपथ गराएका हुन् । नवनियुक्त अध्यक्ष निजामति सेवामा लामो अवधिसम्म कार्यरत रहि राजश्व सचिवबाट अनिवार्य अवकास पाएका हुन् । पुडासैनीसँग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा काम गरेको अनुभव समेत रहेको छ । उक्त शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर निलम ढुगांना तिम्सिना र बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्तीप्रसाद सापकोटा, कृषि विकास बैंकका संचालक समिति सदस्य सुमन दाहाल, विनोद कुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलको उपस्थिति थियो ।

धुमधाम पूजापाठ गरेर हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार धुमधामका साथ पूजा गरेर दुई बैंकबीच एकीकृत कारोबार सुरु भएको हो । हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले पूजा गरेर एकीकृत कारोबार सुरु गरेका हुन् । शुक्रबार हिमालयन बैंकको केन्द्रिय कार्यालय कमलादीमा पूजापाठ गर्दै श्रेष्ठले एकीकृत कारोबार गरेका हुन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आजदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ बनेका छन् । साथै फैशल एन लालनी, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बनेका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बनेका छन् ।

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

हेटौँडा । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ । उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिए । बाँकी कोइला आउने क्रममा रहेको छ । कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए ।

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

रामपुर  । हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहेका छन्, तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उनलाई व्यस्तताको अनुभूति छैन । पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थालेका हुन् । कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो । भारतीय सेनामा करिब २४ वर्ष काम गरेका थापाले सन् २०२१ मा अवकाश लिएपछि आफ्नै पुख्र्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थालेका हुन् । उनले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताए । थापाले करिब नौ महिनाअघि उक्त  व्यवसायमा हात हालेका हुन् । गाउँको भिरालो जमिनमा व्यवस्थित तारजालीले चारैतिर बारबन्देज गरेर दीर्घकालीनरूपमा सञ्चालन गर्ने अठोटका साथ उनी हिजोआज व्यवसायमा व्यस्त छन् । स्थानीय जातका पाँच सय कुखुरा र एक सय ७५ कालिजबाट व्यवसाय सुरु गरेका थापाले करिब नौ महिनामा राम्रै आम्दानी गरेका छन् । हाल स्थानीय जातको कुखुरा प्रतिकिलो भाले आठ सय रुपैयाँ, पोथी सात सय रुपैयाँ र कालिज एउटाको दुई हजार पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ । बजार भाउ राम्रो, स्थानीयस्तरमा पनि धेरैले स्थानीय जातको कुखुरा, कालिज खोज्ने भएकाले मागअनुसार पुर्याउन नसकिएको उनको भनाइ छ । थापाले कालिजका लागि भिरालो रुख, बिरुवासहितको चारैतिर तारजालीले घेरिएको खुला संरचना तयार पारेका छन् । यसले चरनका लागि, खेल्न, डुल्न धेरै सजिलो परेपछि छिटो बिक्री गर्न लायकको हुने उनी बताउछन् । ‘स्थानीय कुखुरा, कालिज झट्ट नपाइने हुँदा माग बढ्दो छ, ग्राहकको मागलाई ध्यानमा राखेर व्यवसायलाई बढाउने सोच बनाएको छु’, उनले भने, ‘कालिज, स्थानीय कुखुरामा ग्राहकको सौख बढी रहेकाले ठूलो सङ्ख्यामा पालेर यस क्षेत्रको बजार धान्ने लक्ष्य लिएर व्यवसायमा लागेको छु ।’ महँगो भए पनि हिजोआज कालिजमा धेरैको आकर्षण बढ्दै गएकाले बुटवलबाट चल्ला ल्याएर फार्ममा हुर्काएर बिक्री गर्दा राम्रो कमाइ भएको थापा बताउछन्। उनले एउटा कालिजको चल्ला तीन सय ८० रुपैयाँमा खरिद गरेर ल्याए । घरमै लगेर बिक्री गर्ने सुविधाले उनलाई ग्राहकको माग धान्न मुश्किल भएको छ । थापाले रामपुर क्षेत्रका ग्राहकको मागलाई पुर्याउने गरी तीन हजार पाँच सय कालिज पाल्ने तयारीसहित फार्म व्यवस्थित गर्दै छन् । ‘स्थानीय उत्पादनमा फरक स्वाद पाइने र स्वास्थ्यका लागि राम्रो हुने भएकाले हिजोआज स्थानीय कुखुरा, कालिज खरिद गर्ने धेरै छन्, व्यावसायिक फार्म कम छन्, गाउँको जग्गाको सदुपयोग, व्यवसायबाट आम्दानी हुने, समय बिताउने माध्यम गज्जब लागिरहेछ’, उनले भने। यस व्यवसायसँगै सौखका रूपमा खरायो, लौकाट पनि पालेका छन् । फार्ममा हाल नौवटा ठूला र १० साना खरायो र छवटा बाख्रा छन् । समथर भागदेखि माथिल्लो बस्ती हावापानी उपयुक्त हुने भएकाले गाउँमै व्यावसायिकरूपमा कुखुरा र कालिजपालनमा लागेको थापाले बताए । कुखुराको तुलनामा रोग कम लाग्ने र दाना कम चाहिने भएकाले कालिजबाट धेरै कमाउन सकिने उनले अनुभव बटुलेका छन् । अब कालिजलाई थप गरेर यस क्षेत्रलाई कालिज हबका रूपमा विस्तार गर्ने योजना छ । पन्ध्र दिनको चल्ला हुर्काएपछि चल्ला हुर्काउन कठिनाइ नपर्ने उनको भनाइ छ । यस व्यवसायमा करिब रु आठ लाखको लगानी परेको छ । यस क्षेत्रमा नयाँ व्यवसाय भएकाले अवलोकन जाने, खरिद गर्न जानेको चहलपहल छ । कुखुराको अण्डाबाट चल्ला निस्कन १८ देखि २२ दिन, कालिजको २५ देखि २६ दिनको समय लाग्दछ । चल्ला निस्केको करिब छदेखि सात महिनामा बेच्न लायकको हुने हुँदा पनि राम्रोसँग पालनपोषण गरे छिटो फाइदा दिन सकिने व्यवसायी थापाले बताए । वर्षैदेखि बाउबाजेले भोगचलन गर्दै आएका गाउँका पाखापखेरा छाडेर सहर पस्ने क्रम बढ्दो रहेको अवस्थामा थापाले गाउँमै बसेर गरेको यस व्यवसाय सबैका लागि उदाहरणीय बनेको समाजसेवी सन्दीप राना बताउछन् । उनी भन्छन्, ‘युवा विदेश जाने, घरपरिवारका सदस्य सहरबजार आसपासमा गाउँ छाडेर कोठा भाडामा बस्ने चलन बढ्दो छ, यसले गाउँ पछिल्लो समय रित्तिँदै गएको छ, गाउँको रमणीय वातावरणमा बसेर पशुपक्षीपालन, तरकारी खेती, होमस्टे (घरबास) सञ्चालन गरेर महिनामा लाखौँ कमाउन सक्ने प्रशस्त आधार छन् ।’ रानाले गाउँका जग्गा सदुपयोग गरी केही नयाँ उद्यम, व्यवसाय गरेर आयआर्जन बढाउन युवालाई उत्प्रेरित गर्दै आएका छन् । विकासको नयाँ योजना बनाएर काम गरियो भने गाउँ छाडेर अन्यत्र बसाइँ गएका स्थानीय पुनः आफ्नै पुख्र्यौली थलोमा फर्कने राना बताउछन् । रासस

लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशीलयुक्त राखिने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अवलम्बन गरेको छ ।विश्वविद्यालयको १४औं सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय परिसरलाई पञ्चशील राख्ने नीति लिएको छ । विश्वविद्यालयअन्तर्गत हुने औपचारिक सभा–समारोह तथा बैठकमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य राख्ने निर्णय पनि गरिएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले बुद्ध बन्दना र बुद्धमूर्तिलाई अनिवार्य गरेको हो । बौद्ध विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवद्र्धनका लागि सभा–समारोहमा बुद्ध वचनको प्रार्थना र बुद्धमूर्ति अनिवार्य गरेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका निमित्त उपकूलपति एवं रजिस्ट्रार डा. तिलकराम आचार्यको अध्यक्षतामा बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयका सम्पूर्ण निकाय तथा विश्वविद्यालयसँगको सहकार्य वा सहयोगमा हुने जुनसुकै औपचारिक सभा, समारोह, बैठकमा बुद्ध बन्दना वाचन अनिवार्य गरेको हो । सभा–समारोहस्थलको अग्रभागमा बुद्धमूर्ति अनिवार्य राख्ने निर्णय समेत विश्वविद्यालयले गरेको छ । बौद्ध विश्वविद्यालयमा हाल बौद्ध दर्शनमा रहेर स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालनमा छन् । स्नातकोत्तर तहमा बौद्ध दर्शनका विविध कार्यक्रम सञ्चालनमा छन् ।