नमस्ते पेबाट यती एयरलाइन्सको टिकट काट्दा ३०० रुपैयाँ क्यासब्याक हुने
काठमाडौं । नमस्ते पेबाट यती एअरलाइन्सको उडान टिकट खरिदमा ३०० रुपैयाँ क्यासब्याक हुने भएको छ । नमस्ते पेले फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकहरूलाई यती एअरलाइन्सको उडान टिकट मा विभिन्न अफरहरु ल्याएको हो । नमस्ते पेबाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले ‘यफयलवाइ ३००’ प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा ३०० रुपैयाँको फ्ल्याट क्यासब्याक पाइनेछ। साथै, प्रत्येक हप्ता एक जना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा १०० प्रतिशत क्यासब्याक पाउने कम्पनीले जनाएको छ। नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत सुपथ मुल्यमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू एकतर्फी र राउन्ड ट्रिप खरिद गर्न सकिनेछ। नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको कम्पनीले जानएको छ ।
गुहेश्वरी मर्चेन्टका अध्यक्षले लिए सपथ
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष युवराज भण्डारीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा गुणकर भट्टले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार बैंक सञ्चालक समितिका अध्यक्ष भण्डारीलाई सपथ गराएका हुन् । गत माघ २७ गते सम्पन्न फाइनान्सको २१ औं वार्षिक साधारण सभा तथा सञ्चालक समितिको निर्वाचनबाट संस्थापक सेयरधनीमा डा. रेश्मा श्रेष्ठ, युवराज भण्डारी, दिपेश गोर्खाली तथा सर्वसासधारण सेयरधनीबाट सुजन प्रधान, सजीना अमात्य श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । शुक्रबार बसेको कम्पनीको २४८ औं सञ्चालक समितिको बैठकले सञ्चालक समिति अध्यक्षमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नबनियुक्त अध्यक्ष भण्डारीले राष्ट्र बैंकबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।
हिमपात नहुँदा भोकमरीको जोखिम
बझाङ । सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन् । मंसिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य संकट होला भन्ने चिन्ताले उनलाई सताउन थालेको छ । जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । बुढा भन्छन्, ‘यो समयमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत गराहरू गहुँमय हुन्थे । तोरी पनि रहरलाग्दो हुन्थ्यो । यस वर्ष भने खराप समय भयो ।’ सुर्मामा एकपटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो । ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेशा (खाद्यान्न) गर्नु पर्दैथ्यो । ‘हाम्रो ठाउँ हिमाल भए पनि राम्रो उब्जनी हुन्थ्यो’, बुढा भन्छन्, ‘बर्खे बाली पनि राम्रै उत्पादन हुन्छ । हिउँदमा भने आकाशकै भर पर्नुपर्छ । मंसिरको महिनादेखि आकाश हेर्न लागेका हौँ । आजसम्म न पानी, न हिउँ परेको छ ।’ सदाबहार हरियाली भइरहने रूखहरू पनि सुक्न थालेको सुर्मा–४ का श्याम बोहराले बताए । ‘हिउँ पर्छ कि भनेर हामीले सुर्मादेवीलाई गुहा¥यौँ । बिहान बेलुकाको पूजामा हिउँकै बर माग्यौँ’, बोहरा भन्छन् । गत महिना हिमपात भयो तर सुर्माका अग्ला डाँडाकाँडाभन्दा तल आएन । पानी पनि प¥यो तर, जमिनको धुलो पनि नमरेको उनको भनाइ छ । फागुनको दोस्रो सातासम्म पनि पानी नपरेपछि खडेरीले यस वर्षको हिउँदे बाली राम्रो नहुने बताउँदै बोहरा भन्छन्, ‘उम्रेको बाली पनि सबै सुकिसक्यो । अब हिमपात भए वनस्पतिका लागि मात्रै काम लाग्छ ।’ दौलीचौर माविभन्दा पछाडिको जिउलोमा कृषि ज्ञान केन्द्रले कृषकलाई आलु लगाउन सुझाव दिएको थियो । ‘कृषिले हिउँदे आलु लगाउनका लागि जमिन बाँझो छोड्नु भनेको थियो,’ राजेन्द्रबहादुर बुढाले भने, ‘सिँचाइसहित आलुको बीउ दिने भनेपछि जमिन बाँझो छोड्यौँ । त्यसै ठाउँमा प्रदेशले पनि सिँचाइ पोखरी दिने भनेपछि ज्ञान केन्द्र पछि हट्यो । त्यसपछि मङ्सिरमा गहुँ छ¥यौँ । अहिले सिँचाइ नहुँदा सुकेर मर्न लागेको छ ।’ ज्ञान केन्द्रबाट अनुगमन गर्न गएको टोलीले सिँचाइ पोखरी दिने तयारी गरेको तर प्रदेश योजना आएपछि सानो जिउलोमा दुईवटा योजना नदिने भन्दै ज्ञान केन्द्रले अर्को गाउँका लागि सिँचाइ पोखरी सारेको उनी बताउँछन् । ‘सुदूरपश्चिम प्रदेशले दिएको योजना दुई लाख रूपैयाँको हो’, बुढाले भने, ‘त्यो ट्याङ्कीबाट दुई गणा खेतलाई पनि सिचाँइ पुग्दैन ।’ उनका अनुसार गत वर्ष दौलीगाडले नहर बगाएपछि सिँचाइ पूरै अवरूद्ध भएको थियो । दौलीगाडमा नहरको बाँध बनाउनकै लागि एक करोडभन्दा बढी रकम लाग्ने बताइएको छ । यहाँ सिँचाइको योजना नथपिए जिउलो बाँझै रहने चिन्ता किसानमा बढेको छ । सुर्मा गाउँपालिकाले पालिकाभर उत्पादन बढाउने भन्दै यस वर्ष ४० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो । दौलुके बारसेचार र स्वर्गद्वारी प्रजातिको गहुँको बीउ कृषकको मागअनुसार पाँचवटै वडाका किसानलाई वितरण गरेको पालिकाले जनाएको छ । सुर्मा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार हिमपात नहुँदा यसपटक सबै लगानी खेर जाने देखिएको छ । ‘सुर्मामा १० हेक्टर जमिनबाहेक सबै आकासेपानीकै भरमा छ’, उनले भने, ‘नहर बनेका ठाउँमा पनि खोलामा पानीको बहाब नहुँदा सुकेको छ ।’ जोशीका अनुसार यस वर्ष ८० प्रतिशत बाली सुक्ने अनुमान गरिएको छ । ‘डोरीमा करिब ५० रोपनी, भुरामा १० रापनी, ४ नम्बरको माथिल्लो गाउँमा ६० रोपनी बराबरको जमिनमा लगाएको बाली ९० प्रतिशत सुकिसकेको छ ।’ हिमाली जिल्लाकै हिमाली उर्बर जमिन भएको ठाउँमा हिमपात नहुँदा यसपटक निकै सास्ती खेप्नुपर्ने उनले बताए । गत वर्ष सुर्मामा दौलुके बारसेचार जातको ५० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो । त्यसमा एक कट्टा हुने ठाउँमा तीन कट्ठासम्म पनि उत्पादन भएको थियो । ‘गत वर्ष गहुँको एकै बालामा मुठ्ठी बराबर फलेको थियो’, उनले भने । जोशीका अनुसार सुर्मेलीले आयस्रोतका रूपमा जडीबुटीलाई मानेका थिए । हिमपात नभएपछि हिमालमा पनि जडिबुटीसमेत नपाइने गरेको उनले बताए । ‘हिउँ नपरे हिमाल पनि रित्तै हुन्छ । जडीबुटी पाइँदैन । न खेतीपाती न जडीबुटी भएपछि स्वतःनै भोकमरी हुने भयो’, उनले भने । यता कृषि ज्ञान केन्द्र बझाङका अनुसार उत्पादन नभएको सबै ठाउँमा खाद्य अभाव हुने गरेको छ । केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, ‘तल्लो तटीय क्षेत्रबाहेकका ठाउँमा दशकयता नै उत्पादन घटिरहेको छ । एघार हजार हेक्टर गहुँ उत्पादन भइरहेकामा यस वर्ष भने झण्डै ३० प्रतिशत उत्पादन घट्ने देखिन्छ ।’ विष्टका अनुसार बझाङमा ४० प्रतिशत सिञ्चित जमिन छ भने ६० प्रतिशत असिञ्चित जमिन छ । त्यसमध्ये पनि आकासे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ३० प्रतिशत घट्ने र तल्लो भागमा पाँच/सात प्रतिशत उत्पादन घट्ने अनुमान गरेको उनले बताए । रासस
पूर्वराजालाई माेदीकाे चेतावनी : आफ्नो ठाउँमा बस्नुस्
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् । आज नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठीक ठाउँमा बस्न चेतावनी दिए । उनले एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न चेतावनी दिए । देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उनले देश पश्चगमनतर्फ नफर्कने बताए । मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको उनले बताए । मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरूले सम्मानपूर्वक नै ठीक ठाउँमा बस्न आग्रह गरेको स्पष्ट पारे । उनले आफूहरूले देशलाई ठीक दिशा दिइरहेको भन्दै देशलाई खल्बल्याउनेहरूलाई खबरदारी गर्नुपर्ने बताए । मन्त्री मोदीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए । उनले देशको राजनीतिक अवस्था परिवर्तनका निम्ति पत्रकारहरूको ठूलो योगदान रहेको भन्दै प्रशंसा समेत गरे ।
‘सामाजिक रुपान्तरणको विश्वासिलो माध्यम सहकारी’
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी अभियानलाई आर्थिक सामाजिक रुपान्तरणको विश्वासिलो आधारका रुपमा अघि बढाउन सहकारीको दीर्घकालीन रणनीतिमा जोड दिएको छ । सहकारी अभियन्तासँगको अन्तक्र्रियामा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्रलाई सुसंस्कृत, मर्यादित र कानूनको परिपालनामा अब्बल बनाउन कोसिस भइरहेको बताए । उनले भने ‘देशको अर्थतन्त्रको एउटा खम्बाको रुपमाा रहेको सहकारी संविधानले परिकल्पना गरेको समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न, दिगो विकास लक्ष्य हासिल गर्न र बहुआयामिक गरिबी सूचकको सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने सामथ्र्य रहेको छ ।’ नयाँ सोच र सुसंस्कृत परिपाटीका साथ सहकारी अभियान अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले समुदायमा आधारित विकासको मूल मुद्दामा केन्द्रित सहकारी संस्था समन्यायिक विकासमार्फत देशमा आर्थिक सामाजिक रुपान्तरण गर्ने क्षमताले युक्त र भरोसायुक्त क्षेत्र रहेको बताए । सो अवसरमा सहभागी वक्ताले सहकारीमा नकारात्मक प्रवृत्तिको नियन्त्रणका लागि अनुशासन र कानुनको परिपालना गरेका सहकारीलाई प्रोत्साहन अहिलेको आवश्यकता रहेको रहेको बताए । केही सहकारी संस्थामा देखिएको विकृतिले सारा सहकारी आरोपित हुने स्थितिको अन्त्य गर्न सहकारी संस्थाका सङ्घ महासङ्घ सक्रिय हुनुपर्ने सो अवसरमा सुझाव दिइयो । रासस
कन्काई नगरपालिकाको डिजिटल भुक्तानी आइएमई पेबाट गर्न सकिने
काठमाडौं । आइएमई पे र कन्काई नगरपालिकाबीच समझदारी भएको छ । समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पेले गर्नेछ । नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ । भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवद्र्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम संचालन गरेको थियो ।
नेपाल टेलिकममा काम गर्ने अवसर, यी १३ पदका लागि माग्यो कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । नेपाल टेलिकमले विभिन्न १३ पदका लागि ७३ जना कर्मचारी माग गरेको छ । कम्पनीले जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले उपप्रबन्धकमा १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, कम्पनीले वरिष्ठ इन्जिनियर पदमा २ जना, वरिष्ठ लेखा अधिकृतमा १ जना, टेलिकम इन्जिनियर पद (इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन) मा १० जना, टेलिकम इन्जिनियर (कम्प्युटर) पदमा ५ जना, टेलिमक इन्जिनियर (इलेक्ट्रिकल) पदमा ३ जना र सिभिल इन्जिनियरमा १ जना कर्मचारीको माग गरेको छ । त्यसैगरी, कम्पनीले सहायक लेखा अधिकृत पदमा ४ जना, सहायक प्रशासनिक अधिकृत पदमा ३ जना, सहायक व्यापार अधिकृत ४ जना, टेक्निसियन पदमा ११ जना, सहायक पदमा ११ जना र जुनियर टेक्निसियन पदमा १७ जना कर्मचारी माग गरेको छ । कम्पनीले महिला, आदिवासी जनाजाती, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रलाई समावेश गरेर विभिन्न पदमा कर्मचारी माग गरेको हो । टेलिकमअनुसार ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान
काठमाडौं । युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गर्दै युद्ध रोक्न आह्वान गरिएको राष्ट्रसङ्घीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बिहीबार भएको आकस्मिक विशेष साधारणसभामा भाग लिँदै नेपालले युक्रेनका पक्षमा मतदान गरेको हो । राष्ट्रसङ्घको कूल एक सय ९३ देशमध्ये एक सय ४१ देशले युक्रेनका पक्षमा मतदान गरेका थिए । साधारणसभाले पारित गरेको प्रस्तावमा रुसलाई सैन्य फिर्ता गर्न आग्रह गर्दै युद्ध रोक्न अपिल गरिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रमुख राजदूत अमृत राईले भने, ‘युक्रेनका पक्षमा मतदान भन्नुको अर्थ नेपाल युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता र सम्प्रभुताको पक्षमा उभिएको हो । हामीले प्रस्तावका पक्षमा संवाद र कूटनीतिमा जोड दिँदै युक्रेनमा शान्ति स्थापनाको मार्ग पहिल्याउन अनुरोध गरेका हौँ ।’ रुसले एक वर्षअघिदेखि युक्रेनमा आक्रमण गरेकाले विश्वव्यापीरुपमा आपूर्तिमा समस्या हुनाका साथै खाद्य असुरक्षा र मुद्रास्फीति वृद्धिका कारण गरिबी बढेकामा राष्ट्रसङ्घले चिन्ता व्यक्त गर्दै आएको छ । सन् २०२२ फेबु्रअरी २४ मा रुसले युक्रेनमाथि अमानवीयरुपमा आक्रमण गरेको थियो । यसमा हजारौँको हताहती भएको बताइए पनि कतिले ज्यान गुमाए भन्ने यकीन तथ्याङ्क भने छैन । राष्ट्रसङ्घको प्रस्तावका विपक्षमा मतदान गर्ने देशमा बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुवा, रसिया र सिरिया छन् । रासस