विकासन्युज

जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम सकिँदै

काठमाडाैं । जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ । विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन नसकेको थिएन । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नयाँपाटी नजिकै एउटा ठाउँमा झण्डै ५०/६० मिटरमा स्थानीयवासीसँगको विवादका कारण कालोपत्र गर्न बाँकी रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनका अनुसार केही समय पहिले कार्यरत कामदार र स्थानीयवासीबीच विवाद समेत भएको थियो । उनले भने, ‘त्यहाँको समस्या समाधान गर्न वडा कार्यालयले समन्वयका लागि पहल गरिरहेको छ । समााधन हुनासाथ कालोपत्र गर्न सकिन्छ ।’ सडक सम्पन्न हुँदै गर्दा स्थानीयवासीले बसपार्क माग गरेको सूचना अधिकारी जोशीले बताए । बजेट उपलब्ध भएमा बसपार्कसमेत निर्माण गरिने योजना रहेको उनले जानकारी दिए । यो खण्डमा तीनचार ठाउँमा पुल निर्माणका लागि माग भएको र आयोजनाले सरकारसँग बजेट माग गरेको उनले बताए । उनले भने, ‘सडक चौडा भए पनि पुल भएको ठाउँको सडक अघि साँघुरो रहेको छ ।’ विसं २०७२ मा सडकको केन्द्र भागबाट दुवैतर्फ ११/११ मिटर चौडा गर्ने गरी सो सडकको विस्तारका लागि ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म सडक विस्तार हुने नसकेका कारण सडक सरकारको उपलब्ध चौडाइमै निर्माण गर्ने निर्णय अघि बढाइएको थियो । यहाँ रहेका विद्युत्को पोल हटाउन र रुख हटाउन पनि लामो समय लागेको थियो । सडक निर्माण नसकिँदा स्थानीयवासीले लामो समयसम्म समस्या भोगेका थिए । रासस

कृषि सहकारीको समस्या समाधान गर्न अध्ययन

काठमाडौं । कृषि क्षेत्रका विज्ञहरूले कृषि सहकारीलाई उद्देश्यअनुरूप सञ्चालनका लागि प्रेरित गर्नुपर्ने बताएका छन् । राष्ट्रिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिका विविध अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको तेस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने आठ विभिन्न विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेको हो । गोष्ठीको अन्तिम दिन कृषि सहकारीको समस्या र भूमिहीन किसानको समस्यासम्बन्धी गरी दुई विषयमा प्रारम्भिक छलफल भएको थियो । आयोगका लागि प्रिज्म कन्सन्लटेन्सी प्रालिले ‘कृषि सहकारी सञ्चालनमा देखिएका समस्याको पहिचान गरी समाधानका उपायहरू’ बारे विस्तृत अध्ययन गर्दैछ । अध्ययन टोलीका नेता सुमन शेखर मानन्धरका अनुसार सहकारीका सात प्रमुख सिद्धान्तअनुरूप कृषि सहकारी सञ्चालन भए नभएको हेर्नु अध्ययनको मूल उद्देश्य हुनेछ । स्वैच्छिक र खुला सदस्यता, प्रजातान्त्रिक सदस्य नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा प्रशिक्षण र सूचना, सहकारीबीच सहकारिता र समुदायका लागि चिन्ता जस्ता सहकारीका आधारभूत मान्यता हुन् । समस्यामा परेका सहकारीले यिनै मान्यतालाई छोडेको उनले दिए । ‘कृषि सहकारीबाट किसानले सेवा सुविधा प्राप्त गर्न नसकेको जनगुनासो बारम्बार प्राप्त भइरहेकाले त्यहाँ देखिएका समस्या पहिचान गरी समाधानका उपायबारे विश्लेषणात्मक सुझाव दिन यो अध्यनन गरिन लागेको हो’, मानन्धरले भने । यसैगरी भूमिहिन किसानको जीविकोपार्जन सुधारका लागि उपयुक्त कृषि विकास कार्यक्रमका बारेमा गरिने अध्ययनले किसानको जीवनस्तरमा सुधार ल्याउन उपयुक्त कृषि कार्यक्रमबारे सुझाउने जानकारी पनि कार्यक्रममा दिइयो ग्रामीण युवा सरोकार केन्द्रले गर्ने यस्तो अध्ययनले भूमि व्यवस्थापन क्षेत्रमा देखापरेका समस्या, ती समस्याको सामाजिक, आर्थिकलगायत क्षेत्रमा देखापरेका असर र त्यसको उपायको पहिचान हुने अध्ययनकर्ता गोकर्ण अर्यालले बताए ।

विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित अभ्यास

काठमाडौं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले सुरक्षा योजनालाई अद्यावधिक गर्दै उच्चस्तरको समन्वयका साथ सेनालगायतका सरोकारवाला निकायबीच आ–आफ्नो भूमिकामा असरदाररूपले परिचालन हुन सकोस् भन्ने हेतुले उक्त अभ्यास सञ्चालन भएको जनाएको छ । अभ्यासमा सेनाका विभिन्न युनिट, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल वायुसेवा निगमलगायतका सरोकारवाला निकायहरूको समन्वय र सहभागिता रहेको रहेको निर्देशनालयले जनाएको छ । अभ्यासमा जहाज अवतरणदेखि सम्पूर्ण जिम्मेवार निकायसँग समन्वयका साथै अपहरण वा अवाञ्छित तत्वले विमान नियन्त्रणमा लिएको अवस्थामा सशस्त्र हस्तक्षेप र बन्धक उद्धारलगायतका गतिविधि समावेश गरिएको जानकारी दिइएको छ । रासस

मगर दिवसमा निसीखोला गाउँपालिकामा आज सार्वजनिक बिदा

ढोरपाटन । निसीखोला गाउँपालिकाले फागुन १५ गते अर्थात् मगर दिवसका दिन सार्वजनिक बिदा दिएको छ। गाउँकार्यपालिकाको निर्णयानुसार मगर दिवसमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दले जानकारी दिए। मगरहरुको बाहुल्यता रहेको निसीखोलामा यस वर्ष पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय भएको हो। मगर समुदायले बारम्बार सार्वजनिक बिदाको माग गर्दै आएको र राष्ट्रिय दिवसका रुपमा यसलाई मनाउने थालिएको फागुन १५ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए। ‘पहिले सार्वजनिक बिदा दिइएको थिएन, मगर दिवसलाई भव्य रुपमा मनाउने गरिएको छ, यहाँ धेरै समुदायको बसोबास छ, हामीहरूले सबैको संस्कार संस्कृतिलाई समान रुपले हेर्नुपर्छ भन्ने लागेर सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ’, अध्यक्ष  घर्ती मगरले भने। नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै सङ्घको स्थापना दिवसका अवसरमा फागुन १५ गते सोमबार आफ्नो मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । चारवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता रहेको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएका हुन् । ‘सोमबार यहाँका सरकारी कार्यालय, शैक्षिक सङ्घसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौँ’, पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना अर्थात् नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत विभिन्न कार्यक्रमहरु हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दैछन् । मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । विभिन्न कारणले लोपोन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने मगर समुदायले विश्वास लिएको छ । रासस  

काभ्रेपलाञ्चोकको १९ भूमिहीन परिवारलाई लालपुर्जा दिने तयारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ । जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी १९ परिवारलाई लालपुर्जा दिइने भएको हो । आयोगको तत्कालीन काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक जिल्ला समितिको धुलिखेलस्थित कार्यालयले विसं २०५२ मा गरेको निर्णयका आधारमा १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको आयोगका जिल्ला सदस्य रामबहादुर तामाङले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा निर्णय गरिएका एक सय २७ भूमिहीन परिवारलाई यसअघि नै लालपुर्जा दिइसकिएको छ । हाल बाँकी रहेका १९ परिवारलाई निर्णयाअनुसार लालपुर्जा दिन मालपोत कार्यालयले श्रेस्ता भिडाउने काम गरिरहेको छ । कार्यालयले १९ मध्ये छ जनाको जमिनको श्रेस्ताबारे आयोगको कार्यालयसँग थप कागजात मागेको उनले बताए ।’सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ, केही हप्ताभित्र जिल्लाका १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा प्रदान गर्दैछौँ’, उनले भने । काभ्रेका भूमिहीन परिवारले विसं २०५२ मा गरेको निर्णयका आधारमा दिइएको परिमाणको जमिन भोगचलन गर्दै आएका थिए । ‘म २०५२ सालदेखि मलाई दिने भनिएको १९ रोपनी जमिनमा घरसमेत बनाई भोगचलन गर्दै आएको छु, अहिले लालपुर्जा पाउने आशामा बसेको छु’, मण्डनदेउपुर नगरपालिका–४ का सङ्गेसिं तामाङले भने । सरकारले आयोगलाई भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड तोक्ने, स्थानीय तहबाट लगत सङ्कलनको लागि आवश्यक कार्यविधि र ढाँचा तयार गरी स्वीकृत गर्ने, तिनको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम स्थानीयतमार्फत गर्ने, सम्बन्धित मालपोत कार्यालयसँग समन्वय गरी सम्बन्धित नापी कार्यालयबाट जग्गा नापजाँच गरी नक्सा श्रेस्ता तयार गर्ने गराउने अधिकार दिएको छ । सरकारले करिब तीन दशकअघि आयोग गठन गरेको थियो । सरकारले आयोगमार्फत पटकपटक भूमिहीनबारे लगत सङ्कलन कार्यको आह्वान गरेपछि काभ्रेपलाञ्चोकको छ नगर र सात गाउँपालिकाका करिब तीन हजारले जिल्लास्थित आयोगको कार्यालयबाट फारम लगेको जनाइएको छ । रासस

यस्तो छ आजको मौसम

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पहाडी भेगमा आंशिक बदली रही प्रदेश नं १, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आगामी फागुन १६ गते पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेको छ ।

पल शाहले उच्च अदालतबाट पाए सफाइ, भोलि जेल मुक्त हुँदै

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई सफाइ दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालतले सफाइ दिएको छ । कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिने फैसला गरेको हो । यसअघि जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय र १० लाख क्षतिपूर्तिको फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । अदालतबाट सफाइ पाएसँग शाह भोलि जेलबाट छुट्ने भएका छन् । १७ वर्षिय एक गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो तर जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।

प्रधानमन्त्रीले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री पौड्यालको भ्रमण रोकेका हुन । पौड्याल आइतबार साँझ संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिने जाने तयारीमा थिईन । तर प्रधानमन्त्रीको निर्देशनपछि उक्त भ्रमण रोकिएको परराष्ट्रमन्त्री पौड्यालले बताईन । ‘म जेनेभा जाने तयारीमा थिए, अन्तिम समयमा प्रधानमन्त्री ज्यूको निर्देशनपछि रोकियो’, उनले भनिन । परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण रोकेर प्रचण्डले एमालेलाई सरकार छाड्न सन्देश दिएको बताईएको छ ।