सुरू भयो होली, हनुमानढोकामा ठड्याइयो चीर
काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सोमबार तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् । आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ । चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होलदी पर्व शुरु भएको मानिने बताए । यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको मनाइँदैछ ।
तेश्रो पटक संशोधन भयो बीमा कम्पनी मर्जर सम्बन्धी निर्देशिका, नयाँ के के थपिए ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ लाई तेश्रो पटक संशोधन गरेको छ । माघ १८ गते संशोधन भएको उक्त निर्देशिका तत्काल लागू हुने छ । संशोधित निर्देशिकामा अधिकांश बुदा तथा व्यवस्थाहरु थपिएका छन् भने केही व्यवस्थाहरु संशोधन भएर आएका छन् । जसमा बीमा कम्पनीको कुनै व्यक्ति वा समूहको १५ प्रतिशत सेयर स्वामित्व हुन नपाइने व्यवस्था गरिएको छ । । प्राधिकरणले गाभ्ने गाभिने अघि बीमकको कायम रहेको सेयर स्वामित्व १५ प्रतिशतभन्दा बढी हुन गएमा सो सेयरलाई सीमाभित्र ल्याउनको लागि २ वर्षको समयसीमा दिने निर्देशिकामा प्रष्ट भनेको छ । त्यस्तै, कम्पनी मर्ज तथा एक्वायर हुनुभन्दा अघि बहाल रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को हकमा कुलिङ्ग पिरियड लागू नहुने व्यवस्था छ । त्यस्तै, मर्जपछि बन्ने कम्पनीमा सीईओको नियुक्ति तोकिएको अवधिभित्र नभएमा औचित्यताको आधारमा थप समय दिन सकिने छ । बीमक गाभिएकै कारण गाभ्ने बीमकको सञ्चालक समितिमा प्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृति लिएर थप सञ्चालकको व्यवस्था गर्न सकिने छ । गाभ्ने, गाभिने तथा प्राप्ति हुनुभन्दा अघि कम्पनीमा संलग्न रहेका संचालकको हकमा कार्यकाल गणना गर्दा गाभ्ने, गाभिने तथा प्राप्ति पश्चात स्थापना हुने कम्पनीमा सञ्चालकको रुपमा नियुक्त भएका निजको लागि पहिलो कार्यकाल मानिने छ । जुन नयाँ व्यवस्था हो । गाभ्ने, गाभिने प्रक्रियामा कुनै बीमकको संस्थापक सेयर प्रतिशत अन्य गाभ्ने, गाभिने बीमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नपर्ने अवस्थामा बिक्री गर्न पाउने बन्देज अवधि (लकिङ पिरियड) पाँच वर्ष नपुगे तापनि उपयुक्तता जाँच (फिट एण्ड प्रोपर टेष्ट) गरी बिक्री गर्न स्वीकृति दिन सकिने छ । त्यस्तै, कुनै संस्थापकले धारण गरेको संस्थापक शेयर साझेदारीमा रहेको रहेछ भने साझेदारी छुट्याउने प्रयोजनका लागि कारोबार गर्न बन्देज अवधि (लकिङ पिरियड) नपुगे तापनि बिक्री वा अन्य किसिमले हक हस्तान्तरण गर्न स्वीकृति दिन सकिने व्यवस्थालाई थप गरिएको छ । त्यसैगरी, कुनै संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बीमक मर्जरमा जाने भएमा कारोबार गर्न बन्देज अवधि (लकिङ पिरियड) भित्र पर्ने भए तापनि अन्य व्यक्ति वा संस्थाको नाममा बिक्री गर्न वा अन्य कुनै किसिमले हस्तान्तरण गर्न स्वीकृति दिन सकिनेछ । यो नयाँ व्यवस्था हो । यो निर्देशिका अनुसार गाभ्ने, गाभिने कार्य पछिको एकीकृत रुपमा बीमाङ्कीको प्रतिवेदन पेश गर्न थप छ महिना समय प्रदान गर्न सकिनेछ । गाभ्ने, गाभिनेमध्ये कुनै बीमकको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा सञ्चालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था भएमा सो हटाउन एक वर्षको समय प्रदान गर्न सकिने बताइएको छ । सञ्चालकको तोकिएको कार्यकाल समाप्त भै निर्वाचन गर्नुपर्ने अवस्था भए तापनि गाभिएर वा प्राप्ति पश्चात् प्रचलित कानूनबमोजिम पुनः निर्वाचन नभएसम्मको अवधिको लागि संचालक पदमा बहाल रहने अवधि थप दिन सकिने व्यवस्था छ । एक्विजिशन तथा मर्जरबाट कम्पनीको शाखा कार्यालय थपघट तथा मिलान गर्नपर्ने भएमा बढीमा एक वर्षको समय प्रदान गर्न सकिनेछ । गाभ्ने, गाभिने प्रक्रियामा कुनै बीमकको संस्थापक सेयर प्रतिशत अन्य गाभ्ने, गाभिने बीमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नपर्ने अवस्थामा बिक्री गर्न पाउने बन्देज अवधि (लकिङ पिरियड) पाँच वर्ष नपुगे तापनि उपयुक्तता जाँच (फिट एण्ड प्रोपर टेष्ट) गरी बिक्री गर्न स्वीकृति दिन सकिने व्यवस्था छ । यसमा कुनै संस्थापकले धारण गरेको संस्थापक सेयर साझेदारीमा रहेको खण्डमा भने साझेदारी छुट्याउने प्रयोजनका लागि कारोबार गर्न बन्देज अवधि (लकिङ पिरियड) नपुगे तापनि बिक्री वा अन्य किसिमले हक हस्तान्तरण गर्न स्वीकृति दिन सकिने नयाँ व्यवस्था थप गरिएको छ । त्यस्तै, कुनै संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बीमक मर्जरमा जाने भएमा कारोबार गर्न बन्देज अवधि (लकिङ पिरियड) भित्र पर्ने भए तापनि अन्य व्यक्ति वा संस्थाको नाममा बिक्री गर्न वा अन्य कुनै किसिमले हस्तान्तरण गर्न स्वीकृति दिन सकिने नयाँ व्यवस्था छ । मर्जरपछिको एकीकृत रुपमा बीमाङ्कीको प्रतिवेदन पेश गर्न थप ६ महिना समय प्रदान गर्न सकिने छ । गाभ्ने, गाभिनेमध्ये कुनै कम्पनीको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा संचालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था भएमा सो हटाउन एक वर्षको समय दिइने छ । सञ्चालकको तोकिएको कार्यकाल समाप्त भै निर्वाचन गर्नुपर्ने अवस्था भए तापनि गाभिएर वा प्राप्ति पश्चात् प्रचलित कानूनबमोजिम पुनः निर्वाचन नभएसम्मको अवधिको लागि संचालक पदमा बहाल रहने अवधि थप दिन सकिनेछ । मर्जरपछि बनेको कम्पनीको अभिकर्तालाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनको लागि ६ महिना समय दिइने छ । एक्विजिशन तथा मर्जरपश्चात कार्यालय स्थापना र यान्त्रिकिकरण गर्दा भएको खर्चलाई व्यवस्थापन खर्चमा एक वर्षसम्म समावेश नगरिने गरी छुट दिन सकिने संशोधित निर्देशिकामा भनिएको छ । साथै, मर्जरपछि स्थापना हुने कम्पनीले वित्तीय विवरणमा नाफा नोक्सान हिसाब अन्तर्गत बाँडफाँडको लागि उपलब्ध रकममध्येबाट महाविपत्ति कोषमा छुट्याउनु पर्ने रकममा तीन आर्थिक वर्षसम्म ५० प्रतिशत छुट दिन सकिने व्यवस्था छ ।
आँबुखैरेनीदेखि छिम्केश्वरीसम्म सडक कालोपत्रको तयारी
दमौली । महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी गरिएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ । सम्झौताअनुसारको ७५ प्रतिशत काम सकिएको र कालापत्रे गरेपछि सबै काम पूरा हुने साइड इञ्चार्ज शिव रिजालले जानकारी दिए । उक्त सडकखण्डमा यही फागुन २० गतेबाट कालोपत्र सुरु गर्ने तयारी गरिएको छ । तीन इञ्च बाक्लो कालोपत्र रहने सडकमा चितवनको जुगेडीबाट उपकरण ल्याएर काम सुरु गरिने उनले बताए । ‘चैत महिनाभित्रै काम सम्पन्न गर्ने गरी तयारी थालेका छौँ’, उनले भने । यसअघि एक हजार दुई मिटर खण्ड कालोपत्र भइसकेको छ । कूल १६ किमी सडकको बाँकी खण्ड कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट आठ करोड ४७ लाख रुपैयाँ र सङ्घ सरकारबाट समपूरक कोषअन्तर्गत आठ करोड ४७ लाख बजेट विनियोजन भएको छ । सडक कालोपत्रको काम काठमाडौँस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ । छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक कच्ची हुँदा पनि छिम्केश्वरीमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेकामा सडक कालोपत्रपछि भक्तजनको सङ्ख्या थप बढ्ने बताए । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी माई मन्दिर समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटरको उचाइमा अवस्थित छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुनःनिर्माण गरेको छ । छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५/७६ मा ४१ लाख ६३ हजार सात सय छ रुपैयाँको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६/७७ मा ३५ लाख ९९ हजार एक सय ४१ रुपैयाँको लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ । छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबाससमेत सञ्चालनमा छ । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरबास सञ्चालन गर्दै आएका छन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिइन् । हिलेखर्कमा रहेको दुई घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । रासस
निर्माण सामग्री ढुवानी समस्याले म्याग्दीको अस्पताल भवन अलपत्र
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ । निर्माण सकिनुपर्ने समयमा एक चौथाइ मात्र निर्माण भएको छ । भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवनको काम एक वर्षयता नभएको स्थानीयवासी देवेन्द्रबहादुर थापाले गुनासो गरे । भवन बनाउन लागि विसं २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले चार करोड ७९ लाख ४० हजार तीन सय ३४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । पाँच शय्या क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माण कम्पनीका प्रतिनिधिलाई रोकिएको भवन निर्माण अघि बढाउन ताकेता गरिएको बताए । आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । समयमै भवन नबन्दा अस्पताल सञ्चालनको तयारी प्रभावित बनेको वडाध्यक्ष अशोक खत्रीले बताए। ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान डिपिसीको काम गरेको छ । हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको अस्पताल भवनको २०८० जेठसम्म म्याद थपिएको धौलागिरि गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सवइन्जिनियर लोकेन्द्रबहादुर रावलका अनुसार, निर्माण कम्पनीले गाउँपालिकाबाट १९ प्रतिशत ९२ लाख ५० हजार रकम भुक्तानी लगेको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार ताकममा भवन निर्माण हुन लागेको हो । रासस
जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम सकिँदै
काठमाडाैं । जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ । विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन नसकेको थिएन । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नयाँपाटी नजिकै एउटा ठाउँमा झण्डै ५०/६० मिटरमा स्थानीयवासीसँगको विवादका कारण कालोपत्र गर्न बाँकी रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनका अनुसार केही समय पहिले कार्यरत कामदार र स्थानीयवासीबीच विवाद समेत भएको थियो । उनले भने, ‘त्यहाँको समस्या समाधान गर्न वडा कार्यालयले समन्वयका लागि पहल गरिरहेको छ । समााधन हुनासाथ कालोपत्र गर्न सकिन्छ ।’ सडक सम्पन्न हुँदै गर्दा स्थानीयवासीले बसपार्क माग गरेको सूचना अधिकारी जोशीले बताए । बजेट उपलब्ध भएमा बसपार्कसमेत निर्माण गरिने योजना रहेको उनले जानकारी दिए । यो खण्डमा तीनचार ठाउँमा पुल निर्माणका लागि माग भएको र आयोजनाले सरकारसँग बजेट माग गरेको उनले बताए । उनले भने, ‘सडक चौडा भए पनि पुल भएको ठाउँको सडक अघि साँघुरो रहेको छ ।’ विसं २०७२ मा सडकको केन्द्र भागबाट दुवैतर्फ ११/११ मिटर चौडा गर्ने गरी सो सडकको विस्तारका लागि ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म सडक विस्तार हुने नसकेका कारण सडक सरकारको उपलब्ध चौडाइमै निर्माण गर्ने निर्णय अघि बढाइएको थियो । यहाँ रहेका विद्युत्को पोल हटाउन र रुख हटाउन पनि लामो समय लागेको थियो । सडक निर्माण नसकिँदा स्थानीयवासीले लामो समयसम्म समस्या भोगेका थिए । रासस
कृषि सहकारीको समस्या समाधान गर्न अध्ययन
काठमाडौं । कृषि क्षेत्रका विज्ञहरूले कृषि सहकारीलाई उद्देश्यअनुरूप सञ्चालनका लागि प्रेरित गर्नुपर्ने बताएका छन् । राष्ट्रिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिका विविध अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको तेस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने आठ विभिन्न विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेको हो । गोष्ठीको अन्तिम दिन कृषि सहकारीको समस्या र भूमिहीन किसानको समस्यासम्बन्धी गरी दुई विषयमा प्रारम्भिक छलफल भएको थियो । आयोगका लागि प्रिज्म कन्सन्लटेन्सी प्रालिले ‘कृषि सहकारी सञ्चालनमा देखिएका समस्याको पहिचान गरी समाधानका उपायहरू’ बारे विस्तृत अध्ययन गर्दैछ । अध्ययन टोलीका नेता सुमन शेखर मानन्धरका अनुसार सहकारीका सात प्रमुख सिद्धान्तअनुरूप कृषि सहकारी सञ्चालन भए नभएको हेर्नु अध्ययनको मूल उद्देश्य हुनेछ । स्वैच्छिक र खुला सदस्यता, प्रजातान्त्रिक सदस्य नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा प्रशिक्षण र सूचना, सहकारीबीच सहकारिता र समुदायका लागि चिन्ता जस्ता सहकारीका आधारभूत मान्यता हुन् । समस्यामा परेका सहकारीले यिनै मान्यतालाई छोडेको उनले दिए । ‘कृषि सहकारीबाट किसानले सेवा सुविधा प्राप्त गर्न नसकेको जनगुनासो बारम्बार प्राप्त भइरहेकाले त्यहाँ देखिएका समस्या पहिचान गरी समाधानका उपायबारे विश्लेषणात्मक सुझाव दिन यो अध्यनन गरिन लागेको हो’, मानन्धरले भने । यसैगरी भूमिहिन किसानको जीविकोपार्जन सुधारका लागि उपयुक्त कृषि विकास कार्यक्रमका बारेमा गरिने अध्ययनले किसानको जीवनस्तरमा सुधार ल्याउन उपयुक्त कृषि कार्यक्रमबारे सुझाउने जानकारी पनि कार्यक्रममा दिइयो ग्रामीण युवा सरोकार केन्द्रले गर्ने यस्तो अध्ययनले भूमि व्यवस्थापन क्षेत्रमा देखापरेका समस्या, ती समस्याको सामाजिक, आर्थिकलगायत क्षेत्रमा देखापरेका असर र त्यसको उपायको पहिचान हुने अध्ययनकर्ता गोकर्ण अर्यालले बताए ।
विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित अभ्यास
काठमाडौं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले सुरक्षा योजनालाई अद्यावधिक गर्दै उच्चस्तरको समन्वयका साथ सेनालगायतका सरोकारवाला निकायबीच आ–आफ्नो भूमिकामा असरदाररूपले परिचालन हुन सकोस् भन्ने हेतुले उक्त अभ्यास सञ्चालन भएको जनाएको छ । अभ्यासमा सेनाका विभिन्न युनिट, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल वायुसेवा निगमलगायतका सरोकारवाला निकायहरूको समन्वय र सहभागिता रहेको रहेको निर्देशनालयले जनाएको छ । अभ्यासमा जहाज अवतरणदेखि सम्पूर्ण जिम्मेवार निकायसँग समन्वयका साथै अपहरण वा अवाञ्छित तत्वले विमान नियन्त्रणमा लिएको अवस्थामा सशस्त्र हस्तक्षेप र बन्धक उद्धारलगायतका गतिविधि समावेश गरिएको जानकारी दिइएको छ । रासस
मगर दिवसमा निसीखोला गाउँपालिकामा आज सार्वजनिक बिदा
ढोरपाटन । निसीखोला गाउँपालिकाले फागुन १५ गते अर्थात् मगर दिवसका दिन सार्वजनिक बिदा दिएको छ। गाउँकार्यपालिकाको निर्णयानुसार मगर दिवसमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दले जानकारी दिए। मगरहरुको बाहुल्यता रहेको निसीखोलामा यस वर्ष पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय भएको हो। मगर समुदायले बारम्बार सार्वजनिक बिदाको माग गर्दै आएको र राष्ट्रिय दिवसका रुपमा यसलाई मनाउने थालिएको फागुन १५ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए। ‘पहिले सार्वजनिक बिदा दिइएको थिएन, मगर दिवसलाई भव्य रुपमा मनाउने गरिएको छ, यहाँ धेरै समुदायको बसोबास छ, हामीहरूले सबैको संस्कार संस्कृतिलाई समान रुपले हेर्नुपर्छ भन्ने लागेर सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ’, अध्यक्ष घर्ती मगरले भने। नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै सङ्घको स्थापना दिवसका अवसरमा फागुन १५ गते सोमबार आफ्नो मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । चारवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता रहेको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएका हुन् । ‘सोमबार यहाँका सरकारी कार्यालय, शैक्षिक सङ्घसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौँ’, पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना अर्थात् नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत विभिन्न कार्यक्रमहरु हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दैछन् । मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । विभिन्न कारणले लोपोन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने मगर समुदायले विश्वास लिएको छ । रासस