तीन लघुवित्तको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार तीन लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार मंगलबार आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो । आँधीखोला लघुवित्तको सेयर मूल्य ९५ रुपैयाँ, आदर्श लघुवित्तको १३७.५० रुपैयाँ र आदर्श लघुवित्तको १०२.९० रुपैयाँले सेयर मूल्य बढेर सर्किट लागेको हो । नेप्सेको अनुसार आज सेयर बजार ३.८१ अंकले घटेर २०१९।७३ विन्दुमा पुगेको छ । आज ३९ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य ८ अङ्कले ओरालो लागेर तीन सय ८१ दशमलव ९३ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहको सेयरमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । कारोबारका आधारमा युनिभर्सल पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको सात करोड ५५ लाख ११ हजार पाँच सय ८४ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट छ करोड ५० लाख ६९ हजार नौ सय ८९, सानिमा माई हाइड्रोपावर छ करोड ४६ लाख १३ हजार नौ सय ७७, नेपाल पूर्वाधार बैंक तीन करोड ७६ लाख २४ हजार पाँच सय ७६ र हिमालयन डिस्टिलरी तीन करोड ४४ लाख ६० हजार आठ सय १९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । यस्तै, सिद्धार्थ इन्स्योरेन्स छ दशमलव १४, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच दशमलव ७६ प्रतिशतले कमाएका छन् । त्यस्तै, प्रिमियर इन्स्योरेन्स तीन दशमलव ८५, राप्ती हाइड्रो तीन दशमलव ८४, सामलिङ पावर तीन दशमलव ७९, तारागाँउ रिजेन्सी होटल तीन दशमलव ७८, स्वाभिमान लघुवित्तका लगानीकर्ताले तीन दशमलव २९ प्रतिशतले गुमाएका छन् ।
गड्डाचौकीबाट छ महिनामा ७ करोडको तरकारी आयात
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा सात करोड रुपैयाँ भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन् । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट सात करोड ६५ लाख ४४ हजार रुपैयाँको तरकारी आयात गरिएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रव विकले चालु आर्थिक वर्षको हालसम्म ८० करोड रुपैयाँको सामान आयात भएको जानकारी दिए । ‘गत वर्ष एक अर्ब १२ करोडको सामान यहाँबाट भित्रिएको थियो’, उनले भने, ‘अहिले आयात घटेको अवस्था छ ।’ भन्सार कार्यालयका अनुसार यहाँबाट आलु, प्याज, गोलभेडा, काउली, मुला, गाजर लगायतका तरकारी आयात हुने गरेको छ । कूल ६ महिनामा तीन हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । त्यसैगरी भन्सारबाट तीन करोड ३० लाख रुपैयाँको दाल भारतबाट भित्रिएको छ । यहाँबाट मसुर, मास, मटर, चना लगायतको दाल आयात भएको छ । कञ्चनपुर भन्सार कार्यालयका कम्प्युटर अपरेटर भुषण गिरीले यहाँबाट चालु आर्थिक वर्षको ६ महिनामा तीन करोड ६८ लाख रुपैयाँको फलफूल गड्डाचौकीबाट भित्रिएको छ । गिरीका अनुसार यहाँबाट सबैभन्दा बढी केरा, मेवा, अङ्गुर, स्याउ, सुन्तला र अनार लगायतको फलफुल भारतबाट आयात हुँदै आएको छ । त्यसैगरी भारतबाट चामल, दाल लगायतका खाद्यान्नसमेत आयात हुने गर्छ । यहाँबाट एक करोड ७८ लाख रुपैयाँ बराबरको उक्त खाद्य सामग्री भित्रिएको छ । कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भारतबाट तरकारी आयात घटेको बताए । ‘स्थानीय उत्पादनका कुनै समस्या देखिएन भने आयात घट्छ’, अध्यक्ष सोनारले भने, ‘उत्पादन बढ्दा आयातमा कमी आउँछ ।’ स्वदेशमै तरकारी खेती बढिरेहको भए पनि व्यावसायिक रुपमा आवद्ध किसानलाई सरकारले अनुदान सहयोग बढाउनुपर्ने बताए । ‘दश/ पन्ध्र वर्ष पहिले तरकारीमा हामी ८० प्रतिशत आश्रित थियौँ’, उनले भने, ‘अहिले दश/पन्ध प्रतिशत मात्रै आयात हुन्छ की भन्ने छ ।’ रासस
उत्तर–दक्षिण करिडोरका २ दर्जन पुल बन्नै बाँकी
काठमाडाैं । उत्तर–दक्षिण करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि यहाँका धेरै पुलको निर्माण सुरु हुनै बाँकी छ । कालीगण्डकी करिडोरमा १५, कोसी करिडोरमा चार र कर्णाली करिडोरमा पाँच पुल निर्माणमा जान बाँकी रहेको हो । कोसी करिडोरमा दुई पुल सम्पन्न भइसकेको र दुई निर्माणाधीन रहेको आयोजनाले जनाएको छ । बरुण नदीमा ७० मिटर लम्बाइको पुल निर्माणाधीन रहेको छ । त्योभन्दा माथि चार पुलको डिजाइन भइसकेको उत्तर–दक्षिण करिडोर आयोजनाका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘अझै पनि चार पुल ठेक्कामा जान बाँकी रहेको छ ।’ कालीगण्डकी करिडोरमा हालसम्म पाँच पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । जम्मा १२ पुल निर्माणाधीन भए पनि तीमध्ये धेरै सम्पन्न हुने चरणमा रहेको प्रमुख खड्काले जानकारी दिए । निर्माणाधीन पुल ६०/७० मिटर लम्बाइसम्मका रहेको उनले बताए । चालू आवमा दुई पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको उनले जानकारी दिए । चौध पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच सकियो भने अरूमा काम भइरहेको छ । उनले भने, ‘समग्रमा १५ पुल ठेक्का लगाउन बाँकी रहेको छ ।’ प्रगतिका हिसाबले सबैभन्दा पछि रहेको कर्णाली करिडोरमा जम्मा पुलसँगै विभिन्न कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । सानासाना खोल्सामा कल्भर्ट बनाउनुपर्ने रहेको आयोजना प्रमुख खड्काले बताए । उनले भने, ‘कतै ठेक्का लगाएर निर्माणाधीन छन् भने थप कल्भर्टका लागि ठेक्का आह्वान गरिएको छ ।’ कर्णाली करिडोरमा जम्मा १४ पुल रहेकामा नौ असार मसान्तमा ठेक्का लागेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए । गत आव र त्योभन्दा पहिले निर्माण सुरु भएका पाँचवटा पुल निर्माणाधीन रहेका छन् । उनले भने, ‘अझै चार–पाँचवटा डिजाइनमा जान बाँकी छ र सर्बे डिजाइन भइरहेको छ ।’ रासस
लक्ष्मी-सनराइज मर्जर : अध्यक्ष र सीईओ लक्ष्मीले पाउने, कर्मचारीको हैसियत बराबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले २ साता अघि दुवै बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो । लक्ष्मी बैंकका सञ्चालक मनिष थापाले सैद्धान्तिक सहमति पाइसकेकोले जति सक्दो छिटो एकीकृत कारोबार गर्ने किसिमले काम भइरहेको बताए । अर्थमन्त्रालयका अर्थ सचिव परिवतर्न भएका कारण राष्ट्र बैंकले स्वीकृति दिन ढिला गरेको थियो । राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव परिवर्तन भएका कारण सैद्धान्तिक सहमति आउन ढिला भएको उनको भनाइ छ । मर्जर कमिटीका सदस्य समेत रहेका सञ्चालक थापाका अनुसार बैंकमा कार्यरत कर्मचारी संयोजन, बैंकको आइटि सिस्टम र शाखा कार्यालयको एकीकरणका लागि दुवै बैंकका सम्बन्धित विभागका प्रमुखहरुको मर्जर कमिटीमा प्रतिवेदन पेश गर्ने तयारी छ । तथापि, कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने प्रारम्भिक छलफल भएको छ । ‘एक डेढ महिनाभित्रमा सबै खाका आउँछ, ५ प्रतिशतभन्दा बढी फरक आएपछि सोही अनुसार गर्ने प्रारम्भिक सम्झौता भएको छ, दुइटै बैंकको सिस्टम एउटै प्रकृतिको छ, त्यसैले पनि डीडीए रिपोर्टमा धेरै फेरबदल नआउनेमा हामी विश्वस्त छौं,’ उनले भने । मर्जरपश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने प्रारम्भिक सहमति भएको बताइएको छ ।मर्जरपश्चात् लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल बैंकको अध्यक्ष र सीईओ अजय बहादुर शाह बन्नेछन् । ‘लक्ष्मी बैंकले अध्यक्ष र सीईओ पाउने मौखिक सहमति भएको छ, सोही अनुसार मात्रै बैंकले मर्जर सम्झौता गरेको हो,’ थापाले भने । राष्ट्र बैंकले ३ महिनाभित्र मर्जर सम्पन्न गर्न समय सीमा तोकेको छ । सोही अनुसार जेठ मसान्तसम्म दुवै बैंकले एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छन् । यदि जेठमा मर्जर सम्पन्न नभएमा साउनमा मात्रै एकीकृत कारोबार हुने उनको भनाइ छ । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा। मनिष थापा र स्वति रुङ्गटा र सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल छन् । लक्ष्मी र सनराइज बैंकको सेयर स्वाप रेसियो १ः१ अनुपातमा हुने बताइएको छ । तर, दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिट (डीडीए) रिपोर्टमा ५ प्रतिशतभन्दा बढी आएमा सोही अनुसार कायम हुने उल्लेख छ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
प्रिमियममा युनियनलाई उछिन्दै सूर्यज्योति, आइएमई लाइफ आक्रामक
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा ८३ अर्ब ३९ करोड रुपैयाँ संकलन गरेका छन् । सञ्चालनमा रहेका १८ जीवन बीमा कम्पनीले साउनदेखि माघ महिनासम्ममा सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५७ प्रतिशतल बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा ८१ अर्ब ३० करोड रुपैयाँ बराबरको जीवन बीमा प्रिमियम संकलन गरेका थिए । १८ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सको अग्रता कायमै रहेको छ । इन्स्योरेन्सले ७ महिनामा २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको तुलनामा २.६६ प्रतिशतले बढी हो । त्यस्तै, दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, तेश्रोमा नेशनल लाइफ र चौथोमा राष्ट्रिय बीमा संस्थान रहेका छन् । यी तीन वटै कम्पनीको बीमाशुल्क क्रमशः ४.८४, १३.७५, ०.८६ र १.२४ प्रतिशतले बढेको हो । त्यसैगरी, हालै दुई कम्पनी मर्ज भइ बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स पाँचौं स्थानमा पर्न सफल भएको छ । कम्पनीले कूल ४ अर्ब ८६ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन साविकका सूर्य लाइफ र ज्योति लाइफले गत वर्ष संकलन गरेको बीमाशुल्कको तुलनामा १.२४ प्रतिशतले बढी हो । साविकका दुई कम्पनीले २०७८ माघसम्ममा कूल ४ अबए ८० करोड रुपैयाँ प्रिमियम उठाएका थिए । बिजनेश ग्रोथको आधारमा हेर्ने हो भने आइएमई लाइफ इन्स्योरेन्स आक्रामक देखिएको छ । एक वर्षको अवधिमा कम्पनीले २२.०७ प्रतिशतले आफ्नो व्यवसाय बढाउन सफल भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । कम्पनीले चालु आवको ७ महिनामा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९० करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो । गत वर्षको तुलनामा व्यवसाय घटाउनेको सूचीमा ६ कम्पनी छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार युनियन लाइफ, मेट लाइफ, प्राइम लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र गुराँस लाइफ रहेका छन् । यीमध्ये पनि प्राइम लाइफको सबैभन्दा बढी प्रतिशत अर्थात ११.२५ प्रतिशतले बीमाशुल्क आर्जन घटेको छ । गत माघमा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको प्राइम लाइफले चालु आवको माघमा २ अर्ब ६३ करोड रुपैयाँ संकलन गरेको छ । यता सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेको सूचीमा सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले ७ महिनामा ८९ करोड ५१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन गत आवको तुलनामा भने ९.२५ प्र्रतिशतले बढी हो ।
मूर्ति चोरी भएको ५० वर्षपछि पुनः निर्माण सुरु भयो पशुपति क्षेत्रको ब्रह्मय मन्दिर
काठमाडौं । ५० वर्षअघि नै मूर्ति चोरी भएपछि जीर्ण बनेको पशुपति क्षेत्रको ब्रह्माको मन्दिर पुनः निर्माण भइरहेको छ । पशुपति क्षेत्रको जयवागेश्वरीमा रहेको मन्दिर काठमाडौँ महानगरपालिकाबाट प्राप्त ४० लाखको लागतमा पुनःनिर्माण भइरहेको हो । चोरी भएको मूर्ति भेटेर गौशालास्थित महानगरीय प्रहरी वृत्तमा राखिएको महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । मन्दिर पुनःनिर्माण सकिएपछि मूर्तिलाई मन्दिरमा राखेर पुनः प्राणप्रतिष्ठा गरिने भएको छ । मन्दिर पुनःनिर्माणका लागि उत्खनन गर्दा अर्को घरले मन्दिरको जग्गा मिचेको भेटिएको पनि उनले सुनाए । नेपालमै ब्रह्माको मन्दिर अन्यत्र भएको जानकारी नभएको महानगरपालिकाको सम्पदा एवं संस्कृति समितिको संयोजकसमेत रहनुभएका वडाध्यक्ष सङ्गतले बताए । मुलुककै दुर्लभ मूर्ति ५० वर्षदेखि प्रहरी कार्यालयमा रहेकाले मन्दिर बनाएर पुनःस्थापित गर्ने अभियानमा लागिएको वडा कार्यालयले जनाएको छ । विसं २०२२ को नापीमा मन्दिर क्षेत्रमा घर थिएन । विसं २०४२ मा भने घर बनिसकेको नापीका क्रममा भेटिएको थियो । घरधनी मन्दिरको जग्गा छोड्न तयार भएपछि मन्दिरले चर्चेका जग्गा खुला छोडिने भएको छ । ब्रह्मा मन्दिरको क्षेत्र पहिले सात आना भएकामा अहिले डेढ आनामा खुम्चिएकाले खोजबिन गरिनुपर्ने भन्दै स्थानीयवासीले माग गर्दै आएका छन् । रासस
सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : कुलमान
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए । उनले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट विद्युत बढी हुने उल्लेख गरे । उनले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए । ‘नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेकोमा पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको छ, सन् २०४२/४३ सम्ममा २० हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान छ,’ उनले भने । उनले ११ हजार मेगावट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका भन्दै करिव ७ हजार मेगावटको पीपीए भइसकेको बताए । त्यस्तै, निर्देशक घिसिङले जलविद्युत उत्पादनको लागि १.२ मिलियन डलर लगानी प्रतिवद्धता भइसकेको बताए । उनले एजीम बैंकबाट ७ सय मिलियन,जाइकाले १४० मिलियन,विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रविद्धता आएको उल्लेख गरे । यद्यपि जलविद्युत उत्पादनको लागि नयाँनयाँ प्रोजेक्टहरु बनाउनको लागि अहिले प्राप्त भएको लगानी प्रतिवद्धताले मात्रै अपुग हुने उनी बताउँछन् । ‘सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव छैन त्यसैले प्राधिकरण जलविद्युत उत्पादनको लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको छ,’ उनले भने ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता बिहीबारबाट लागू हुँदै
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ । स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिनसक्ने र तत्पश्चात आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो । आयोगको निर्णयबमोजिम उक्त आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्ठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागु हुनेछ ।