विकासन्युज

मुक्तिनाथ विकास बैंकले धितोमा रहेको जग्गासहित सवारी बेच्दै

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको विरगंज र हेम्जा शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी प्रेम शंकर साह कलवार, जमानीकर्ता शारदा देवी कलवारीन र विकास कुमार गुप्ताले बैंकमा लिएको ऋण वापत राखिएको धितो लिलामी गर्ने भएको हो । बैंकले जग्गाधनी शारदा देवी कलवारीनको नाममा दर्ता रहेको विश्रामपुर ९ स्थित कित्ता नम्बर ६३५ को ०–०–३ क्षेत्रफल जग्गा र प्रेम शंकर साह कलवारको नाममा दर्ता रहेको कित्ता नम्बर १६७ को ०–११–१० र कित्ता नम्बर १३४ को ०–०–५ क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । बैंकले सन् २०१८ मा बनेको ना ८ ख २५०१ नम्बर र ना ८ ख २५०० नम्बरको भाडा ट्रक बिक्रीमा राखिएको हो । यस्तै, बैंकले हेम्जा शाखा कार्यालयबाट ऋणी भरत बहादुर बि.क.को जग्गा बिक्री गर्ने भएको हो । बैंकले बि.क.को नाममा रहेको सल्यान ७ कास्कीमा रहेको कित्ता नम्बर ८४१ को ०–९–०–० क्षेत्रफल, कित्ता नम्बर ८४७ को २–४–०–० क्षेत्रफल, उदेनढुङ्गा १ तनहुँमा रहेको कित्ता नम्बर ४२०२ को ०–०–०–१ । कित्ता नम्बर ४२०४ को ०–४–०–३ क्षेत्रफल भएको घरजग्गा बिक्रीमा राखेको हो ।

ग्लोबल आइएमई बैंकका २ वटा शाखा कार्यालय गाभिने

काठमाडौं । ग्लोबल आइएमई बैंकका शाखा कार्यालय गाभिने भएका छन् । ग्लोबल आइएमई बैंक र साविकको बैंक अफ काठमाण्डू मर्जर भएपश्चात् एकै स्थानमा सञ्चालनमा रहेका शाखा कार्यालय गाभिने भएका हुन् । शाखा कार्यालयहरु समायोजन र स्थानान्तरण भई फागुन २८ देखि एकिकृत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । साथै साविकका शाखा कार्यालयमा रहेका ग्राहकका खाताहरु स्थानान्तरण भएको शाखा कार्यालयमा स्थानान्तरण गरी सेवा सुचारु रहनेछन् । साविक बैंक अफ काठमाण्डूको सुन्दरबजार नगरपालिका ७ मा रहेको शाखा कार्यालय गाभिएपश्चात् मिलनचोक सुन्दरबजार नगरपालिका ६ लमजुङ्गबाट सञ्चालन हुनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको अनमनगरमा संचालनमा रहेको शाखा कार्यालय पनि गाभिएको छ ।

नेपाल इन्स्योरेन्सको बोनस खातामा, दशमलब पछिको अंकलाई १ सेयरमा परिणत गर्दा शुल्क लाग्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्न सुरु गरेको छ । इन्स्योरेन्स कम्पनीको गत पुस २२ गते सम्पन्न ७४ औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरेको हो । इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरिएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२११ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । साथै हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ । बोनस जारी गर्दा हुन आउने दशमलब पछिको अंकलाई १ सेयरमा परिणत गर्दा लाग्ने शुल्क सेयरधनीहरु स्वयंले नै भुक्तानी गर्नुपर्ने कपनीले बताएको छ । उक्त शुल्क बैंक खातामा जम्मा गरेपछि मात्र हितग्राही खातामा सेयर जम्मा गरिने कम्पनीले जनाएको हो । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

बीमा दावी भुक्तानी बाहेक तिर्नुपर्ने रकम छैन : राष्ट्रिय बीमा कम्पनी

काठमाडौं । राष्ट्रि बीमा कम्पनीले हालसम्म परेका दावी भुक्तानी गर्नुपर्ने रकम बाहेक तिर्नुपर्ने बाँकी रकम नरहेको बताएको छ । कम्पनीले कारोबारको क्रममा रहेका बीमा दावी बाहेक कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको बताएको हो । साथै कम्पनीले यदि कुनै व्यक्ति तथा संघसस्थाको गत असार मसान्तसम्मको रकम भुक्तानी हुन बाँकी रहेको छ भने ३५ दिनभित्र जानकारी गराउन भनेको छ । ‘कम्पनीले आफ्नो कारोबारको क्रममा बीमा दावी भुक्तानी गर्नुपर्ने रकम बाहेक कुनै पनि रकम भुक्तानी गर्न बाँकी बक्यौता राखेको छैन, कुनै व्यक्ति, संघ, संस्थाको बीमा दावी बाहेक कुनै रकम भुक्तानी गर्न बाँकी भए सम्कर्प गर्नुहोला,’ कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ । २०७९ असार मसान्तसम्मको बाँकी रहेको रकम ३५ दिन भित्र के कति र के बापतको रकम भुक्तानी हुन बाँकी रहेको हो सोको सक्कलै प्रमाण कागजात सहित केन्द्रीय कार्यालय काठमाडौंमा भुक्तानी माग गर्न आउन कम्पनीले आग्रह गरेको हो । तोकिएको म्यादभित्र भुक्तानीको लागि नआए, रीत नपुगी आएमा भुक्तानी नहुने र भविष्यमा समेत यस्तो माग दावी उपर कुनै कारवाही नहुने कम्पनीले बताएको छ ।

नेप्सेमा २ लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार विभिन्न २ वटा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै सेयर मूल्यमा बोनस समायोजन गरेको हो । डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले समायोजन पश्चात् लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ७४४.५५ रुपैयाँ कायम गरेको छ । बिहीबार लघुवित्तको सेयर अन्तिम कारोबार ८१९ रुपैयाँमा भएको थियो । सपोर्ट लघुवित्तको ११ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले समायोजन पश्चात् लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ९९०.९९ रुपैयाँ कायम गरेको छ । बिहीबार लघुवित्तको सेयर अन्तिम कारोबार १ हजार १ सय रुपैयाँमा भएको थियो ।

ऋण लिँदा आकर्षक ‘अफर’, असुल्दा ३६ प्रतिशतसम्म ब्याज

काठमाडौं । मिटरब्याजबाट पीडितहरूले मधेस प्रदेश राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् । बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गर्दै आएको भन्दै जनकपुरधाममा मिटरब्याजबाट पीडितले मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका हुन् । विभिन्न प्रलोभन देखाएर महिलाहरूको समूह गठन गरेर आर्थिक शोषण गर्दै आएको भन्दै मिटरब्याज विरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा पीडितहरूले प्रदर्शन गरेका हुन् । ऋण लिँदा आकर्षक ‘अफर’ भन्ने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरी सञ्चालक रातारात करोडपति बनेको उनीहरूको आरोप छ । गाउँ, बस्ती र सहरबजार जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा बचतका नाममा रकम लुटेर आफू मोटाउने र समुदायलाई कङ्गाल बनाउने गरेकाले आन्दोलनमा उत्रिनुपरेको पीडितहरूकोे भनाइ छ । ऋण मिनाहाको मागसहित आन्दोलनमा उत्रिएका पीडितहरूले आज स्थानीय रङ्गभूमि मैदानबाट प्लेकार्डसहित विरोध प्रदर्शन गर्दै जिल्ला अदालत, उच्च अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका छन् । प्रदर्शनमा सहभागीले सुदखोरहरूलाई गिरफ्तार गर, तमसुक व्यवस्था खारेज गर, मिटरब्याजीको सम्पत्ति छानबिन गर, पीडितको सम्पत्ति फिर्ता गर, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गरलगायतका नारा लगाएका छन् ।

‘नो डिपोजिट’ अभियानले बैंकहरूको निक्षेप प्रभावित

काठमाडौं । ‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले सङ्घर्ष चर्काएपछि धनगढीका बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन कार्य प्रभावित भएको छ । चर्को ब्याजदर बढाएको भन्दै विरोधमा केही दिनदेखि दबाबमूलक सङ्घर्ष गरिरहेका व्यापारीले बिहीबार नो डिपोजिट भन्दै बैंकमा पैसा जम्मा नगरेपछि निक्षेप सङ्कलन प्रभावित भएको हो । ब्याजदर घटाउनुपर्ने मागसहित सङ्घर्ष गरिरहेका व्यापारीले बुधबार नेपाल राष्ट्र बैंक धनगढी शाखा घेराउसमेत गरेका थिए । बैंकहरूले ब्याजदर चर्को लगाएको व्यापारीको भनाइ छ । चर्को ब्याजदरले व्यापारीमात्र नभई आम सर्वसाधारणसमेत समस्यामा पर्न थालेको उनीहरूको दाबी छ । रकम निक्षेप र भुक्तानी गर्न दैनिक भीड देखिने धनगढीका बैंकहरूमा छिटपुट सेवाग्राहीमात्र देखिएका थिए । सुदूरपश्चिम प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घले व्यापारीको सङ्घर्षमा ऐक्यबद्धता जनाएका छन् । नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रबन्धक विनोद लेखकले पछिल्लो ३–४ महिनादेखि देशको आर्थिक अवस्थामा भइरहेको सुधारसँगै ब्याजदर पनि केही कम हुँदै गएको अवस्थामा चर्को ब्याजदर भयो भन्ने तर्क असान्दर्भिक रहेको बताए । ‘बैंकको कस्ट उच्च हुन पुग्दा विगतमा बैंकको कर्जामा ब्याजदर पनि केही बढेको थियो, उनले भने, ‘हाल चर्को ब्याजदर छ भन्न मिल्दैन ।’ बैंक तथा वित्तीय संस्थाको आधार दर र प्रिमियमका आधारमा ब्याजदर तोक्ने गरिन्छ । औसत निक्षेपमा दिएको ब्याज र औसत कर्जामा लिइने ब्याज स्प्रेडदर (अन्तर दर) ४ प्रतिशतभन्दा बढी हुन नहुने नेपाल राष्ट्र बैंकको नीति छ । धनगढीस्थित एनआइसी एसिया बैंकका प्रबन्धक जीवन शाहीले देशमा आर्थिक तरलताले समस्या निम्त्याइरहेको बताए । ‘व्यापार छैन, महँगी बढेको छ, बैंकको कस्ट उच्च छ, एक वर्षदेखि नै ब्याजदर बढेको हो, अहिले उच्च पुगेको मात्र हो,’ उनले भने । मुद्दतिको ब्याजदर नघटेसम्म एक अङ्कको ब्याजदर पुर्याउन सकिने अवस्था नरहेको उनले बताए । मुद्दती खातामा ११ देखि १२ प्रतिशतसम्म ब्याजदर छ । कर्जामा बढीमा साढे १५ प्रतिशतसम्म ब्याजदर तोकिएको जनाइएको छ ।

मालपोत कार्यालय महोत्तरीबाट घुस रकमसहित नायब सुब्बा र लेखनदास पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले बिहीबार दिउँसो महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी) लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका लेखापढी व्यवसायी शुभासचन्द्र लालकर्ण रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायब उपरीक्षक सुभास राईले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट प्रहरी नायब उपरीक्षक राई नेतृत्वमा खटिगएको अख्तियारको टोलीले नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो । नासु रामकृष्णले कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग मुद्दा फैसलाका लागि ९ हजार रुपैयाँ लिई लेखापढी व्यवसायी सुभासचन्द्रलाई मालपोत कार्यालय अगाडि नै सञ्चालनमा रहेको सुभास भू–सेवा केन्द्र जलेश्वर–२, महोत्तरीमा राख्न दिँदै गरेको अवस्थामा दुवै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई बरामद रकमसहित आवश्यक मुचुल्का, खानतलासी, पक्राउ पुर्जी र पीडितको फाइल मागेर आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा लगिएको छ ।