
काठमाडौं । अमिलो जातको प्रजाति भोगटे, कतै भब्बु त कतै फोक्से पनि भन्ने गरिन्छ । सामान्यतया भोगटेको भित्रको अमिलो भागलाई खाएर बाँकी बाक्लो सेतो बोक्राको भागलाई धेरैले फाल्ने गर्छन् । तर, त्यही सेतो भागलाई स्वादिष्ट खानयोग्य क्यान्डी बनाएकी छिन कमलाले ।
गाउँघरमा उत्पादन हुने सबै वस्तुको बजारीकरण तथा औद्योगिकरण गरिएको हुँदैन । सामान्य प्रयोग गर्ने वा अरुलाई सित्तैमा बाँडीचुँडी गर्ने धेरै चलन हुन्छ । त्यस्तै असाध्यै कम मूल्यका वस्तुहरुलाई कमलाले व्यवसायिक रुप दिएकी छन् ।
यतिबेला उनले १५ वटा विभिन्न प्रकारका वस्तुहरुको उत्पादन गर्ने गर्छिन् । जसमा लप्सी, फर्सी, पिँडालु, भोगटे, हलुवावेद लगायतका विभिन्न परिकार रहेका छन् । ०७५ सालबाट शुर गरेको कमलाको पेशा अहिले एउटा उद्योगको रुपमा नै विकास भएको छ । जहाँ १० जना भन्दा धेरैले दैनिक रोजगारी पनि पाएका छन् ।
‘हामी महिलाहरु घरबाट त्यति बाहिर जान त पाउँदैनौ, त्यसैले फुर्सदको समयमा के गरौं भन्ने सोँच हुँदा सजिलो काम, जुन घर वरिपरी पाइने तरकारी फलफूल हुन्छन्, ती वस्तुहरु खेर पनि नजाने, आम्दानी पनि हुने, अरुलाई काम पनि दिन पाइने हिसाबले मैले यो काम गरेकी हुँ’, उनले भनिन् ।
कमलाले क्यान्डी र अचार जस्ता परिकारहरु आफ्ना बुवाआमा र सासु ससुराबाट सिकेकी हुन् । विवाहपछि कमलाले शुरुदेखि नै यो पेशा भने अंगालेकी होइनन् । विवाहपछिको केही वर्ष उनले केही वर्ष निर्यातजन्य उनका कपडा केही वर्ष बुन्ने काम गरिन् ।
०५२/५३ सालतिर शुरुमा अरुको ल्याएको अर्डरका आधारमा काम गर्न शुरु गरेकी कमलाले हस्तकलामा विस्तारै आँफैले कन्ट्याक्टमा लिएर अरुलाई समेत काम दिन लागेको अनुभव सुनाउँछिन् । हस्तकलाको काम उनले साथीहरुसँगबाट नै सिकेकी थिइन् ।
कमलाले घरमा नै बसेर हस्तकलाको काम गर्दा मासिक ७ हजार भन्दा धेरै पैसा आर्जन गरेको सुनाउँछिन् । जतिबेला उनको श्रीमानले पाँचतारे होटलमा काम गर्दा ३५ सय मात्रै कमाउने गर्दथे । उनी आफ्नो पेशाबाट खुसी नै थिइन्, तर गरिराखेको हस्तकला व्यवसाय पछि कन्ट्याक्ट छुटेपछि भने ५र७ वर्षको पेसा उनले बदल्न पुगिन् ।
हस्तकला पेशाबाट आर्जन गरेको कमाइले भने उनले व्यापार गर्ने योजना बुनेर काभ्रेबाट काठमाडौं झरिन् । ‘त्यही हस्तकलाको कमाईमा जम्मा भएको पैसाले चावहिलमा झण्डै २ लाख बराबरको कस्मेटिक पसल किनेँ’, उनले भनिन्, ‘तीन वर्ष जति त्यो पसल चलाउँदै गर्दा श्रीमान विदेश जानुभो अनि म पनि फेरि गाउँ नै फर्केर काम गर्न थालेँ ।’
कमलामा केही न केही काम गरिरहने बानी थियो । जसले गर्दा गाउँ फर्के पनि उनी त्यसै भने बस्न सकिनन् । ‘गाउँघरमा कर्कलो त्यसै खेर गइरहेको थियो, त्यसैलाई मस्यौरा बनाएर खाने खाऔं नखाने बेचौं भन्ने लाग्यो’, उनले भनिन् । ‘कर्कलोको कसैलाई पात, कसैलाई डाँठ त कसैलाई पिँडालुको मस्यौरा मन पर्छ’, उनले थपिन् ।

गाउँ फर्केपछि लामो समयसम्म उनले व्यवसायिक रुपमा नै मस्यौरा उत्पादनको काम गर्न थालिन् । घर वरिपरी भएका सबै विरुवाको घरायसी प्रयोजन मात्रै हुने गरेकोमा एकदिन आफ्नै महिला उद्यमी साथीको सुझावले उनको व्यवसायले नयाँ मोड लियो ।
‘निरु बैदार उहाँ फेसन डिजाइनिङ कोर्ष गराउनुहुन्छ अहिलेपनि, ‘यसलाई खाएर र बाँडेर मात्रै हुँदैन, विजनेस गर्नुपर्छ यस्तो सिप भएको मान्छेले’ भन्नुभो, उहाँकै सल्लाहमा फर्म पनि दर्ता गरेर काम गर्न शुरु गरेँ’, कमलाले भनिन् । त्यसपछि उनले गाउँघरमा नै पाइने कम मूल्य भएका खाद्य वस्तुहरुको विभिन्न परिकार बनाएर बेच्ने व्यवसायको शुरुवात गरिन् ।
यहि शिलशिलामा उनले महिला उद्यमी साथीकै संगतले ‘एन्टी आइसी आइडिया खोज’मा सहभागी भएर आइडिया स्टुडियोले सञ्चालन गर्ने आइडिया सिजन फाइभको जित्न सफल भइन् । काम गर्ने व्यवसायिक क्षेत्रको हिसाबले सामाजिक इम्प्याक्ट कार्यक्रममा पनि छनोट भइन् उनी ।
आइडिया स्टुडियोको विजेता भएपछि पाएको वर्कसप तालिमपछि उनले अहिले धेरै व्यवसायिक उत्पादन गर्न थालेकी छन् । उनले सिजन अनुसार फल्ने धेरै फलफुलको क्यान्डी बनाउने गर्छिन् । ‘मस्यौरा र हर्बल चिया बनाउँछु, ड्राइ फुड त सिजन अनुसारको बनाउँछु’, उनले भनिन्, ‘सिजनमा आरुबखडा, आरु, हलुवावेदको पनि बनाउँछु ।’
बजारमा मूल्य नभएका, बजारसम्म नपुग्ने र फलेर घरमै बस्ने वस्तुहरुलाई आफ्नो व्यवासायको निम्ति रोजेको उनले कमला बताउँछिन् । ‘मलाई सित्तैमा लैजान पनि भन्नुहुन्छ कतिपयले, तर मैले उचीत मूल्य दिएर खरिद गर्ने गर्छु’, उनले भनिन् । कमलाले कोरोना महामारीको समयसम्म मस्यौरा मात्रै गरेकी थिइन् । तर, महामारीको लकडाउनले उनलाई खानाको परिकारबारेमा युट्युबमा हेर्दै जाँदा क्यान्डीसम्म पुर्याएको थियो । नयाँ–नयाँ विषयमा खोज्न आँफूलाई मनपर्ने उनी बताउँछिन् ।
‘लकडाउन भएको बेलामा युट्युबमा हामीसँग भएका बोटबिरुवा के काम लाग्छ भनेर खोज्दा भोगटेको तितो बोक्रालाई मिठाई बनाउन सिकेँ’, उनले भनिन् । कमला मस्यौरा बनाउनको लागि गाउँमा पिँडालु लिन जाँदा भोगटे मानिसहरुले सित्तैमा दिने गरेकोमा उनले त्यसको सम्भावना देखेर त्यसको क्यान्डी बनाउने प्रयास गरेकी थिइन् । उनले अमिलो जातका सबै फलहरुको के–के परिकार बनाउन सकिन्छ भनेर पनि आँफूले प्रयास गरिसकेको बताउँछिन् ।
अहिलेसम्म उनले उत्पादन गरेका परिकारहरु धेरैले मन पराउने गरेका छन् । बच्चाबच्चीलाई गुलियो र ठूलालाई अमिलो पिरो स्वादका क्यान्डी उनले बजारमा ल्याएकी छिन् ।
३ हजार रुपैयाँको लगानीमा शुरु गरेको मस्यौराको व्यवसाय अहिले ६० लाख बराबरको कारोबारमा पुगेको छ । जसमा ड्राइफुड, क्यान्डी, तितौरा, मस्यौरा लगायतका उत्पादन रहेका छन् । औसतमा मासिक रुपमा झण्डै डेढ लाख बराबरको कमाई पुगेको कमलाको भनाइ छ ।
उनको व्यवसायमा परिवारका सबै सदस्यहरुले सहयोग गर्ने गर्छन् । श्रीमानले सम्पूर्ण आवश्यकताअनुसारको व्यवस्थापनमा सहयोग गर्ने गर्छन भने छोरीहरुले सामाजिक सञ्जालबाट मार्केटिङमा सहयोग गर्ने गर्छन् ।
मौसम अनुसार काम प्रकृति र चाप पनि फरक–फरक हुने कमला बताउँछिन् । ‘मंसिरदेखि फागुन चैतसम्म संकलन र भण्डारण पनि गर्नुपर्ने हुन्छ, वर्षा मौसममा वर्षे फलफुलको काम हुन्छ’, उनले भनिन् ।
हिउँदको समयमा मस्यौरा बनाउने, सुकाउने र बिक्री गर्ने काम हुन्छ भने अन्य अमिलो जन्य जातका फलफुलहरु संकलन विभिन्न परिकार बनाउने काम हुन्छ । बनेका परिकारहरु वर्षैभरि नै बिक्री हुन्छन् ।
कमलाले आफ्नै घरमा चलाएको फर्ममा आफ्नो स्थानीय क्षेत्रका महिलाहरुलाई नै काम दिएकी छन् । केहीले मासिक रुपमा र केहीले दैनिक रुपमा काम गरेका छन् । जहाँ ५ जनाले मासिक रुपमा नै काम गरेका छन भने दैनिक रुपमा १२ जनाले काम गरेका छन् । काम अनुसार कहिले धेरै कहिले थोरै पनि हुने गर्ने उनी बताउँछन् । उनले काम गर्नेहरुलाई क्षमता र रुची अनुसारका विभिन्न काम दिएकी छन् । जहाँ कसैले पकाउने, कसैले प्याकेजिङ गर्ने, कसैले सुकाउने जस्ता कामहरु गर्ने गर्छन् ।

कमलाले काम गर्नेहरुलाई ८ हजार देखि १५ हजार सम्मको तलब दिने गरेको बताउँछिन् । ‘आठ हजारदेखि १५ हजारसम्म तलब छ, धेरै जान्नेहरुलाई १५ हजार सम्म पनि छ, कलेज जाने बहिनीहरु छन्, उनीहरु ११ बजे आउँछन्, उनीहरुलाई आठ हजारदेखि माथि छ’, उनले बताइन् । तलब बाहेक चिया र खाजाको व्यवस्थाको भने पैसा लाग्दैन । कामदारको प्रशंसा गर्दै उनले कामदारहरुले कामको प्रकृति हेरेर लामोसमयसम्म पनि गर्ने गरेको उनको भनाइ छ ।
कमलाले उत्पादन गर्ने खानेकुराको धेरै माग स्थानीय स्तरमा नै हुने गर्छ । त्यस्तै केही अन्तर्राष्ट्रिय जगतमा बसेका नेपालीको अर्डरमा जान्छ भने केही नेपाली बजारमा पुर्याउने गरेको उनी बताउँछिन् । त्यसैले प्याकेजिङमा पनि उनले मागका आधारमा गर्ने गर्छिन् । ‘गाउँघरका ग्राहकको लागि मैले १० देखि २० रुपैयाँको पनि प्याकेजिङ पनि गर्नुपर्छ, यो लेबलको बढी जान्छ’, उनले भनिन्, ‘मिनिमार्ट र बिगमार्टहरुमा जाने प्याकेजिङ छुट्टै गर्नुपर्छ ।’ विदेशमा बसेकाहरुले माग गरेको परिमाणको आधारमा प्याकेजिङ गर्ने गरेको उनको भनाइ छ ।
श्रीमानले पछिल्लो समयमा होटेल क्षेत्र र फर्निचर उद्योगमा लगानी गरेका छन् । तर कमलाको व्यवसायले राम्रो आकार लिँदै गएपछि श्रीमानले पनि व्यवसायमा समय दिने गरेको उनी बताउँछिन् । व्यवसायको शुरुवात गर्दा विभिन्न ठाउँमा गएर फलफूल भएका ठाउँमा गएर सम्बन्ध बनाउने काम गरेको तर, पछिल्लो समयमा अर्डरकै आधारमा घरमा नै आउने गरेको उनी बताउँछिन् ।
शुरुमा पूर्ण रुपमा परम्परागत शैलीमा सञ्चालन गरिएको उद्यममा अब कमलाले ब्राण्डिङ गर्दै गुणस्तरीय बनाउनका लागि प्रविधिको पनि प्रयोग गर्दै छिन् । अब सबै मौसममा वस्तुहरुलाई सुकाउनको लागि ड्राई मेशिन ल्याउने तयारी गरेको उनले बताइन् । जसले गर्दा सबै मौसममा खाद्य वस्तुहरुलाई सुकाउन सकिने उनको भनाइ छ ।