डाक्टर बन्न हिडेकी पुजन प्राधिकरण हाँक्ने ‘प्लानमा’
काठमाडौं । काठमाडौंको एक मध्यमवर्गीय परिवारमा जन्मिएकी हुन् पुजन ढुंगेल । घरकी जेठी छोरीको रुपमा जन्म लिएकी ढुंगेल संयुक्त परिवारको परिवेशमा हुर्किइन् । बुबा एनआईडीसीमा जागिरे । आमा शिक्षिका । काठमाडौंकै रैथाने र परिवार नै शिक्षित भएकोले पुजनलाई शिक्षादिक्षाबाट कुनै बञ्चित हुन परेन । पुजनलाई पढ्न प्रोत्साहन र ठूलो भएपछि केही बन्न सानैदेखि प्रोत्साहन गर्नुहुन्थ्यो उनको बुवाआमाले । पुजनको स्कूलिङ ललितपुरको सानेपास्थित ज्ञानोदय बालबाटिका स्कूलबाट भयो । जहाँ उनले १० कक्षासम्मको शिक्षा हासिल गरिन् । वि.सं. २०५१ सालमा एसएलसी (हालको एसईई) पास गरिन् । अरुको नजरमा राम्रोमा गनिन्थिन् उनी । एसएलसी सकिएपछि पुजनलाई अब के गर्ने ? के पढ्ने ? भन्ने भयो । त्यतिबेलाका आम व्यक्तिको एउटै सपना हुन्थ्यो की डाक्टर बन्ने की त इञ्जिनियर । पुजनले भावी दिनमा डाक्टर बन्ने सपना बुनिन् र एसएलसीपछि उच्चतह अर्थात प्लसटुको शिक्षाको लागि उनले विज्ञान विषय रोजिन् । विज्ञानमा पनि माइक्रो बायोलोजी अर्थात सूक्ष्म जीवविज्ञानमा उनको रुची थियो । समय बित्दै गयो । प्लसटुपछि केही गर्नुपर्छ भन्ने जोश उनमा जाग्यो । र, एउटा गैर सरकारी संस्थामा आवद्ध भइन्, बर्ड कन्जरभेसन नेपाल (पंक्षी संरक्षण नेपाल)मा । ‘मलाई खाली समय यत्तिकै बस्न मन लाग्दैनथ्यो, आइएसस्सी सकिएपछि बर्ड कन्जरभेसन नेपालमा आवद्ध भएँ,’ उनले भनिन्- ‘मैले जबको रुपमा होइन स्वेच्छाले काम गरेकी हुँ ।’ उक्त संस्थामा पुजनले ६/७ महिना मात्रै काम गरिन् । त्यसपछि स्नातक (ब्याचलर) पढ्नको लागि उनी काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा पुगिन् । र, ब्याचलर अफ साइन्स (बीएससी)मा स्नातक गरिन् । अहिलेका युवाहरुमा विदेश जाने हुटहुटी बढी नै छ । त्यस्तै, पुजनलाई पनि त्यतिबेला बाहिर जाने खुब रहर थियो । तर, पछि उनको मुड बदलियो । र, बाहिर जाने योजनाबाट पछि हटिन् । वि.सं. २०५७ सालमा पुजनको स्नातकको पढाइ सकियो । स्नातकको पढाइ सकिएपछि उनको विवाहको कुरा आयो । वकिलसँग विवाह गरिन् । सो समयमा व्यवस्थापन संकायमा धेरैको आकर्षण थियो । डाक्टर बन्न विज्ञान विषय रोजेकी पुजनले एकाएक संकाय परिवर्तन गरेर व्यवस्थापन क्षेत्रमा गइन् । काठमाडौंको पुतलीसडकस्थित शंकरदेब क्याम्पसमा स्नातकोत्तरका लागि एमबिएसमा भर्ना भइन् । स्नातकोत्तर अध्ययन गर्दै गर्दा पुजनले जब करियरलाई पनि अघि बढाउने सोच बनाइन् । कामका लागि विभिन्न ठाउँमा प्रयास गरिन् । पत्रपत्रिका पढ्ने उनको रुची थियो । समाचार मात्रै होइन, जागिरको लागि विभिन्न कम्पनीले खुलाएका भ्याकेन्सीहरु पनि नछुटाई पढ्थिन् पुजन । र, विभिन्न ठाउँमा आवेदन पनि दिन्थिन् । एमबिएसको पढाइ पनि सकियो । जागिरकै लागि पुजनले धेरै चुनौतिको सामना गरिन् । संघर्ष गरिन् । जहाँ खुल्छ, त्यहिँ आवेदन दिइन् । लोकसेवादेखि नेपाल राष्ट्र बैंकसम्म काम गर्ने प्रयास गरिन् । तर, नाम निस्केन । ‘सबैतिर नाम पनि ननिस्किने, नेपाल राष्ट्र बैंकमा पनि दिएको थिएँ, नाम निस्केन, कतै नाम निस्किहाले पनि आफैलाई चित्त नबुझ्ने, त्यतिबेला सानो बच्चा पनि थियो, बाहिर जान सक्ने अवस्था थिएन, त्यस्तो जागिर गर्ने इच्छा लागेन,’ उनले आफ्नो विगत स्मरण गर्दै भनिन् । विभिन्न ठाउँमा जागिरका लागि आवदेन दिने, परीक्षा दिने शिलसिला रोकिएको थिएन । यही शिलसिलामा पुजनले एभरेष्ट बैंकमा पनि आवेदन दिइन् । नाम पनि निस्कियो । अब उनी बैंकर बनिन् । ‘बल्लबल्ल बैंकमा जागिर पाएको, खुशीको सीमा थिएन,’ उनले भनिन् । प्लसटु पछि एक संस्थामा आवद्ध रहेकी पुजनको वास्तविक जब करियर भने एभरेष्ट बैंकबाट शुरु भयो । वि.स २०६२ सालमा उनी बैंकमा ‘इन्ट्री लेभल’मा प्रवेश गरिन् । सबै सहकर्मीहरु परिवार जस्तो लाग्थ्यो उनलाई । बैंकमा काम गर्दागर्दै उनले पत्रिकामार्फत् बीमा समिति (अहिलेको बीमा प्राधिकरण)मा भ्याकेन्सी खुलेको थाहा पाइन् । ‘त्यतिखेर बीमा समिति कस्तो संस्था भन्ने थाहा नै थिएन, संस्था त के नाम नै सुनेको थिइनँ,’ विगत स्मरण गर्दै उनले भनिन्- ‘धेरै जनासँग सल्लाह गर्दा यो पनि एउटा नियामक हो, राष्ट्र बैंक जस्तो हो भन्ने थाहाँ पाएँ, र परीक्षा दिएँ, नाम पनि निस्कियो ।’ बीमा समितिमा नाम निस्किएपछि बल्ल-बल्ल जागिर पाएको एभरेष्ट बैंकसँगको सम्बन्ध एक वर्षमै छुटाउनु पर्ने बाध्यता आयो । अब उनको कामको सुरुवात बीमा समितिमा अधिकृत तहबाट भयो । किन छोड्नु भयो बैंकको जागिर ? हामीले प्रश्न गर्यौं । जवाफमा उनले भनिन्, ‘बीमा समिति पनि एउटा नियामक हो, स्कोप छ, बीमा बढ्दो मार्केट हो, र, सोचेँ यहाँ काम गरेर केही गर्न सकिन्छ, वेल स्टाब्लिस्ड ठाउँमा भन्दा ग्रुमिङ्ग क्षेत्रमा राम्रो हुन्छ भन्ने सोचेँ, र, पछि समितिमा काम गर्ने निर्णय गरेँ ।’ यसरी टुट्यो डाक्टर बन्ने इच्छा पुजनको पारिवारिक अवस्था मध्यम थियो । बुबा एनआईडीसीमा जागिरे । आमा शिक्षिका । घर काठमाडौंमैं । भाडा तिर्नुपर्ने समस्या थिएन । पुजनको दुई जना बहिनीहरु । एउटी बहिनी (प्रिति) । आर्टिटेक्ट इन्जिनियर, जो हाल न्यूओर्कमा बस्छिन् । कान्छी बहिनी (प्रतिभा) डाक्टर छिन् । पुजनको पनि डाक्टर बन्ने इच्छा थियो । त्यसैले विज्ञान विषय रोजिन् । कोचिङ्ग कक्षाहरु पढिन् । परीक्षाहरु दिइन् । कतै नाम निकाल्नै गाह्रो त कतै केही समस्या । ‘डाक्टर पढ्न धेरै शुल्क लाग्ने, त्यो बेलामा पैसा पुरै निकालेर एक जनालाई मात्रै पढाउन पनि सम्भव थिएन,’ मुख मलिन बनाउँदै पुजनले भनिन्, ‘त्यसले पनि डाक्टर बन्न बाधा पुग्यो ।’ हाल ढुंगेलको दुई जना छोराहरु छन् । जेठो छोराले प्लस टु सकेर चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्दैछन् भने कान्छो छोरा कक्षा ९ मा अध्ययनरत छन् । बीमा प्राधिकरणको फर्ष्ट लेडी एमबीएस पढेकी पुजनले बीमा समिति गएपछि एमपीए र एलएलबी पनि गरिन् । पुजन अहिले बीमा प्राधिकरणको पाँचौं बरियतामा छिन् । बीमा समितिमा प्रवेश गर्दा उनले यो स्थानमा पुग्छु भन्ने सोचेको नै थिइनन् । वि.सं. २०६३ सालमा अधिकृतबाट सहायक निर्देशक भइन् । सहायक निर्देशकबाट उपनिर्देशक र उपनिर्देशकबाट अहिले निर्देशक छिन् । वि.सं. २०७६ सालमा अर्थात १३ वर्षको अवधिमा उनी प्राधिकरणको पाँचौं बरियतामा पुगेकी छिन् । यो मात्रै कहाँ हो र ? उनी बीमा पाधिकरणको निर्देशक बन्ने पहिलो महिला हुन् । ‘म सहायक निर्देशकमा आउँदा पनि महिलामा पहिलो नै थिएँ,’ अहिले पनि निर्देशक छु, पहिलो नै हुँ,’ उनले गौरवका साथ भनिन् । त्यसैले पनि उनलाई डाक्टर भन्न नसकेकोमा रिग्रेट फिल हुँदैन । ‘नयाँ क्षेत्रमा गएर केही योगदान गर्न सकिएला । अध्ययन गरेर केही गर्छु भन्ने एउटा मोटिभेसन थियो ममा र प्रवेश गरेँ । त्योबेलामा यो लेभलसम्म पुग्छु भन्ने सोचमा थिइनँ, व्यक्तिगत रुपमा मेरो करियर ग्रोथमा म सन्तुष्टि नै छु, यो उमेरमा यो पोजिसनमा आउनु नराम्रो होइन भन्ने लाग्छ,’ उनले भनिन् । सँगैका साथीहरुलाई बीमा बुझाउन रमाइलो लाग्ने गरेको अनुभव सुनाइन् । ‘हुन त बैंकमै बसिरहेको भएपनि ठूलो पोजिसनमा पुग्थेँ होला, तर यहाँ आएर पनि पश्चाताप महशुस भएको छैन, नयाँ क्षेत्रमा केही गरियो भन्ने लाग्छ, अहिले कतिपय नयाँ निर्देशिकाहरु आउँछ, यसमा हामीले पनि काम गरेका थियौं भन्ने एउटा सन्तुष्टि हुने रहेछ,’ उनले सुनाइन् । विगतमा बीमा क्षेत्रमा मान्छेहरुको आकर्षण थिएन । पुजनलाई पनि त्यस्तै लाग्थ्यो । तर, अहिले यहाँ काम गर्न आउने इच्छुकहरुको भीड देख्दा, फर्म भर्न र इन्क्वायरी गर्न आउनेहरुलाई देख्दा उनी मनमनै हर्षित हुन्छिन् । पछिल्लो समय बीमा क्षेत्रको चार्म बढ्दो छ । १४ वर्षमा बीमा क्षेत्रमा प्रवेश हुनेहरुको संख्या बढ्दो क्रममा रहेको बीमा प्राधिकरणको मानव संसाधन विभाग समेत हेरिरहेकी पुजन बताउँछिन् । जीवनमा अघि बढ्न मानिसले चुनौतीहरु सामना गर्नु नै पर्छ । पुजनले पनि जागिर पाउनको लागि होस् या जागिर पाएपछि नै किन नहोस् । धेरै नै चुनौतिहरु सामना गरिन् । पुजन बीमा समितिमा आवद्ध भएको १४ वर्ष भयो । व्यक्तिगत रुपमा भने खासै चुनौति सामना नगरेकी उनले विकास नभएको बीमा क्षेत्रलाई चिनाउनु उनको लागि संस्थागत चुनौति थियो । ‘मान्छेहरुले चिन्दै नचिनेको क्षेत्रमा बीमा गराउन प्रोत्साहन गर्ने, विकसित गराउने भन्ने गाह्रै रहेछ, सर्वसाधारणदेखि सरकारसम्मका सबैलाई बुझाउनु पर्ने, ग्रुमिङ क्षेत्र भएकाले पनि धेरै चुनौति सामना गरियो,’ उनले सुरुवाति दिनहरु स्मरण गर्दै भनिन् । अब कार्यकारी निर्देशक मान्छे एकपछि अर्को सफलता हासिल गर्न चाहन्छ । संघर्षले सफलताका पाइँलाहरु डोर्याउन मद्दत पुग्छ । बीमा प्राधिकरणकी निर्देशक पुजन ढुङ्गेलको अबको लक्ष्य पनि कार्यकारी निर्देशक बन्ने हो । यसको लागि पनि थुप्रै मेहेनत गर्नु पर्ने उनको बुझाइ छ । ‘यसपछिको माथिल्लो पद कार्यकारी निर्देशक बाहेक अरु नभएको हुनाले पुग्न त पुगिन्छ, तर अब कति समय लाग्छ भन्ने मात्रै हो, र, पनि यसमा आशावादी नै छुँं,’ उनले भनिन् । प्राधिकरणको कार्यकारी निर्देशक बनेर बीमा क्षेत्रमै थप योगदान गर्ने र मान्छेलाई बुझाउन सक्ने उनको योजना छ । ‘घरमा शिक्षित महिला भयो भने बालबालिका मात्र नभई परिवार नै शिक्षित हुन्छ भन्ने छ, अहिलेको सेरोफेरोमा महिलालाई धेरै नै अवसर छन्, घरमै बसेर पनि काम गर्न सकिने वातावरण आइसकेको छ, अनलाइनबाटै जब, अनलाइनबाटै बिजनेस गर्ने, सेयर कारोबार गर्ने लगायतका धेरै नै विकल्पहरु छन्, आफूले इनोभेटिभ भएर गरियो भने गर्ने ठाउँ धेरै नै छन्,’ उनले भनिन् । अहिले पुजन बीमा सम्बन्धी विभिन्न अन्तक्र्रियामा सामेल हुन्छिन् । यो क्रममा पछिल्लो समय बीमाप्रति मान्छेको बुझाई आफूले अपेक्षा भन्दा बढी रहेको सुनाउँछिन् उनी । तर, पनि बीमा शिक्षामा काम गर्न धेरै नै बाँकी रहेको उनी बताउँछिन् । नियामकको संस्थामा आवद्ध त्यो पनि उच्च पदमा रहेकी पुजनले कम्पनीहरु नियमनको क्रममा विभिन्न कम्पनीका सीईओहरुसँग अन्तक्र्रिया गरिरहेकी हुन्छिन् । सबैसँग फ्यामिलियरसँगै एक किसिमको शिष्टाचार मेन्टेन गर्छिन् उनी । ‘हामी बीमा क्षेत्रको नियामक हो, एउटा राम्रो पब्लिक रिलेसन भएको कम्पनीको विरुद्ध लेख्नु पर्दा, निर्देशन दिनु पर्दा, थ्रेटको चुनौति हुने रहेछ,’ उनले थपिन्, ‘हुनत यो हाम्रो कर्तब्य नै हो, लेख्नु त परिहाल्यो, नियामक भएपछि त सहिलाई सही, गलतलाई गलत भन्नु धर्म नै हो, तर पनि हामीले कारवाही गर्छौं भनेर लेखिदिएपछि बजारमा उहाँहरुको छाप नराम्रो पर्छ नै ।’ तर, कानुनले भनेको काम गर्दा आजसम्म कोही कसैसँग डर नलागेको उनी बताउँछिन् । ‘अझै धेरै खुड्किलाहरु उक्लिनु छ, थप सफलता पाउनु छ, त्यसको लागि डेडिकेसन चाहिन्छ, भाग्यले साथ दिएर मात्रै हुन्छ भन्ने सोच पनि छ, तर त्योभन्दा पनि साच्चिकै मेहेनत गर्नुपर्छ जस्तो लाग्छ, कामप्रति डेडिकेटेड भइ कामलाई माया गर्नुपर्छ, त्यसपछि मात्रै सफलता पाइन्छ, सफलता पाएपछि आफूलाई छुट्टै मज्जा आउँछ,’ उनले भनिन् ।
सूचना प्रविधिको प्रयोग सामाजिक रुपान्तरणका लागि : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको सदुपयोगबाट राजनीतिक, सामाजिक र सास्कृतिक रूपान्तरण गर्ने समय आएको बताएकी छिन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सूचना प्रविधिमा महिला (डब्ल्यूआइआइटी) ले गरेको सूचना प्रविधि महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले बिज्ञानमा आएको परिवर्तनले समाज रूपान्तरणमा योगदान गर्नुपर्ने बताएकी हुन । समयको गतिसङ्गै बिज्ञान प्रविधिमा आएको परिवर्तनलाई नेपालमा सबैखाले विभेद अन्त्यमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले पछिल्लो समयमा यो क्षेत्रमा महिलाको उत्साहजनक सहभागिता बढेकोमा खुशी व्यक्त गरिन । सूचना तथा सन्चार प्रविधि क्षेत्रमा भएका नीतिगत व्यवस्थाहरुले सूचना सञ्चारको क्षेत्रमा भइरहेको तीब्र विकासको उपयोग गरी डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले परिकल्पना गरेको राष्ट्रिय लक्ष्य हासिल गर्न महिलाहरूले सक्रिय भूमिका खेल्नसक्ने कुरामा आधारहरु बढ्दै गएको उनले बताईन । विगतको जनयुद्धमा बन्दुक र बच्चा साथसाथै बोकेर महिलाले गणतन्त्र ल्याएको स्मरण गराउदै माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले भनिन्, ‘अब संविधान र कानुनले सुन्निश्चित गरेका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने बेला आएको छ ।’ आफूले मन्त्रालय सम्हालेपछि राजनीतिक र कानुनी साक्षरताका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति लिएको उल्लेख गर्दै उनले आगामी बजेटमार्फत यसलाई कार्यक्रमिक रुप दिने बताईन । प्रविधिको प्रयोगले महिलाको जीवन सहज बन्दै गएको उल्लेख गर्दै उनले प्रविधिकै दुरुपयोगबाट महिलाले आफ्नो जीवन गुमाउने अवस्था पनि कायमै रहेकाले प्रविधिको सदुपयोग र साइबर नैतिकतामा जोड दिनुपर्ने बताईन । सो क्रममा मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा योगदान गरेका १०१ जना महिलाको सफलताको कथा समेटिएको पुस्तक विमोचन समेत गरिन ।
पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचार निःशुल्क गर्छौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरुमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई विशेष कार्यक्रमको रुपमा निःशुल्क सेवा बिस्तार गर्ने बताएका छन् । बुधबार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाललले महिलाहरुमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रुपमा निःशुल्क सेवा बिस्तार गरिने बताए । उनले पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिने बताए । उनले महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख गरे । प्रधानमनत्री दाहालले सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गरिने पनि बताए । त्यसैगरी प्रधानमन्त्री दाहालले विदेशमा समस्यामा परेका नेपाली श्रमिक महिलाहरूका बारेमा राज्यले विशेष संयन्त्र निर्माण गर्दै उनीहरूको समस्या समाधान गर्ने बताए । निजी क्षेत्रमा कार्यरत महिलाहरुलाई समेत अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने नीतिलाई कडाईका साथ लागु गरिने उनले स्पष्ट पारे । उनले भने, ‘सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा बिस्तार गरिनेछ । साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ । त्यसैले यो विषय अन्ततः समृद्ध तथा आत्मनिर्भर नेपालको निर्माणसहित समाजवादोन्मुख राज्य स्थापनासँग अभिन्नरूपमा गाँसिएकोले संविधानले परिकल्पना गरेअनुरूप सामाजिक न्यायसहितको समृद्धिको दिशामा कटिवद्ध भएर लाग्ने संकल्प तपाई हामी सबैले लिनुपर्ने देखिन्छ ।’ प्रधानमन्त्री दाहालले सूचना, प्रविधिमा महिलाको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न महिलाकेन्द्रित प्रविधि तथा उपयोगको नीतिको विकास र यसका लागि राज्यका तर्फबाट लगानीमा जोड दिइने बताए । त्यस्तै शिशु स्याहार केन्द्रहरूको स्थापना, महिनावारी स्वास्थ्यमा सुधार, स्थानीय न्यायिक समितिहरूलाई महिलामैत्री बनाउने पनि उनले बताए । उनले भने, ‘पछिल्लो समयमा सूचना तथा प्रविधिमा भएको विकासले समाजका सबै तह र तप्का प्रभावित बनेका छन् । महिला अधिकारको प्रत्याभुतिका लागि सूचना तथा प्रविधिमा महिलाको पहुँच र स्वामित्व अनिवार्य मुद्दा बनेको छ । शिशु स्याहार केन्द्रहरूको स्थापना, महिनावारी स्वास्थ्यमा सुधार, स्थानीय न्यायिक समितिहरूलाई महिलामैत्री बनाउने, महिला उद्यमशीलता प्रवद्र्धनमा देखिएका कानूनी तथा अन्य व्यवहारिक जटिलता अन्त्यका लागि महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण, हिंसापीडित महिलाहरूलाई सुरक्षा, संरक्षण तथा रोजगारी स्थापना गर्ने गरी पुनस्र्थापना तथा रोजगार केन्द्र स्थापना गर्ने जस्ता कामहरू अघि बढाइनेछ ।’ प्रधानमन्त्री दाहालले महिला उद्यमशीलता प्रवद्र्धनमा देखिएका कानूनी र व्यवहारिक जटिलता अन्त्य गर्न महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण गर्ने बताए । त्यस्तै हिंसापीडित महिलाहरूलाई सुरक्षा, संरक्षण तथा रोजगारी स्थापना गर्ने गरी पुनस्र्थापना तथा रोजगार केन्द्र स्थापना गर्ने लगायतका काम अगाडी बढाइने उनको भनाई छ ।
आईएसम्म अध्ययन गरेका राई दम्पती व्यावसायिक कृषिमा रमाउँदै
खोटाङ । लामो समयदेखि काठमाडौंको सिनामङ्गलमा ‘होटल कल्पवृक्ष’ सञ्चालन गरी राम्रो आम्दानी गरिरहेको खोटाङ दिक्तेलका सुमन राईको परिवारलाई विसं २०७२ को भूकम्प गाउँ फर्कने बाहना बन्यो । भूकम्पको धक्का व्यवसायमा पनि पर्यो । त्यसैकारण भूकम्पपछि गाउँ फर्किएका राई दम्पतीलाई फेरि काठमाडौं पस्ने रहर जागेन । ‘होटलबाट मासिक औसतमा लाख रुपैयाँ आम्दानी हुन्थ्यो’, राईले भने, ‘तर भूकम्पका कारण गाउँ फर्किएपछि फेरि काठमाडौं जान मन लागेन, बरु यतै केही गरौँ भन्ने सोच बन्यो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपाका सुमन र श्रीमति सविताको परिवारले काठमाडौंमा नौ वर्ष बिताएपछि यतिबेला भने गाउँमै व्यावसायिक कृषिमा रमाइरहेको छ । ‘काठमाडौं जानुको उद्देश्य छोराछोरीलाई सुविधा सम्पन्न विद्यालयमै पढाऔँ भन्ने पनि थियो, होटल पनि चलायौँ, तर भूकम्पले हामीलाई गाउँ फर्कन प्रेरित गर्यो’, सुमन राईले भने । हाल यो दम्पतीले बुइपास्थित छिप्तीमा ‘यलम्बर नमुना कृषि फार्म’ दर्ता गरी कागती खेतीका साथै पशुपालनमा रमाइरहेको छ । करिब २० लाख रुपैयाँ लगानीबाट सुरु भए पनि हाल फार्ममा करिब एक करोड रुपैयाँँ लगानी भइसकेको छ । कुल ७२ रोपनीमा कागती खेती सुरु गरेका राई दम्पतीले अहिले यसबाट आम्दानी लिन थालिसकेका छन् । छिप्तीमा रहेको खाली जमिनमा राई दम्पतीले उन्नत जातका एक हजार एक सय बोट कागतीका बिरुवा रोपेका छन् । यस वर्षदेखि थप २५ रोपनी क्षेत्रफलमा कागतीको नयाँ विरुवा रोप्ने समेत उनीहरुको तयारी छ । कागतीसँगै लिची र कफीको समेत व्यावसायिक खेती उनीहरुले सुुरु गरिसकेका छन् । तीन वर्षअघि २२ रोपनीमा क्षेत्रफलमा रोप्नुभएको लिचीले उत्पादन दिन सुरु गरिसकेको छ । राई दम्पतीले कागती खेतीमा कामदारका रुपमा गासबासको व्यवस्थासहित मासिक १५ हजार रुपैयाँ तलबमा एक दम्पती राखेका छन् । ‘निरन्तरको कामका लागि हामीसँगै एक जना दम्पती हुनुहुन्छ भने आवश्यक परेको खण्डमा थप कामदार पनि ल्याउछौँ’, सुमन राईले भने । राई दम्पतीले कागती प्रतिकेजी एक सय ५० देखि दुई सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । ‘कागतीले उत्पादन दिन थालेको पहिलो वर्ष एक हजार दुई सय केजी बिक्री गर्यौँ’, सुमनले भने, ‘यसवर्ष उत्पादन अझ राम्रो छ, तर कति फलेको छ भन्ने टिपिसकेपछि मात्र थाहा हुन्छ ।’ राई दम्पतीको कागती बगानमा यतिबेला केही बोटमा फूल फुलेका छन् भने केहीमा कागती टिप्न अझै बाँकी छ । दुईजना कर्मचारी फल टिप्न, गोडमेल गर्न र पानी तथा मल हाल्नमै व्यस्त छन् । दिक्तेल बहुमुखी क्याम्पसबाट आईएसम्म अध्ययन गरेका राई दम्पतीले उत्पादन गरेका कागती दिक्तेल बजार र काठमाडौंमा पुग्ने गरेको छ । राई दम्पतीले कागती खेती मात्रै होइन, व्यावसायिकरुपमा राँगा, सुङ्गुर र बाख्रासमेत पालेका छन् । ‘यस वर्ष चार हजार कफीका बिरुवा रोप्ने तयारी छ’, हिमाली कफी उत्पादक किसान समूहका अध्यक्षसमेत रहेका सुमनले भने, ‘छिप्तीका सबै घरमा कफी उत्पादन गर्ने उद्देश्यले यसवर्ष २५ हजारभन्दा बढी कफीको बिरुवासमेत उत्पादन गरिएको छ ।’ एकजनाले मात्र उत्पादन गरेर आम्दानी लिन सम्भव नभएकाले १५ घरधुरी आवद्ध भएको उनको भनाइ छ । ‘सबैले उत्पादन गरियो भने कम्तीमा एउटा सानो उद्योग सञ्चालन गर्न सकिन्छ’, उनले भने, ‘प्रशोधन नगरी बेच्दा बजार अभाव हुन्छ । थोरै उत्पदन बाहिर पुर्याउन सकिन्न । त्यसैले सबै घर मिलेर उत्पादन गर्ने उद्देश्यका साथ यसपटक निःशुल्क बिरुवा वितरण गर्ने तयारी गरेका छौँ ।’ एक छोरा र एक छोरीका बुबआमा सुमन र सविताले सन्तानलाई भने काठमाडौंमै राखेर अध्यापन गराइरहेका छन् । छोरी स्मारिक बीबीए अध्ययनरत छन् भने छोरा सुरनजङ राई पढाइ सकेर रोजगारीका लागि बाहिर जाने तयारीमा छन् । एक हजार एक सय ३७ घरधुरी रहेको बुइपाका स्थानीय लिची, कागती, चिया खेती तथा बङ्गुर, कुखुरा, बाख्रा एवम् भैँसीपालन व्यवसायमा आवद्ध छन् । कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बुइपाका सबै सामुदायिक वनमा व्यवसायिकरुपमा कफी र एभोकाडो खेती गर्ने तयारी गरिएको वडा नं १४ का वडाध्यक्ष दिनेश राईले बताए । कृषिलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले व्यावसायिक कृषि पेसा अपनाउने किसानलाई अनुदान दिने व्यवस्था गरेको छ । कूल १५ वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेटक्षेत्र निर्धारण गरेर कृषिमा लगानी गर्ने नगरसभाबाटै नीति तथा कार्यक्रम पारित गरेको छ । रासस
पत्रकार हुँदै प्राधिकरणको प्रमुख बनेकी जानुकाको कथा
काठमाडौं । पहिला–पहिला गाउँ घरमा बुढापाकाले भन्ने गर्थे ‘छोरी बढे अरूलाई छोरा बढे आफूलाई’ । यो गलत मनसायका कारण छोरीलाई विभेद गरिन्थ्यो । र, छोरीको विवाह कम उमेरमा नै गर्ने प्रचलन बाक्लो थियो । अहिले यो प्रचलन हटिसकेको छ । छोराले मात्र होइन, छोरीले पनि समाजमा ठूलो योगदान गरिरहेका छन् त्यस्ता धेरै उदाहरणहरु छन् । सरकारी उच्च पदमा बसेर राम्रो काम गर्न सक्छ है भनेर देखाउन धेरै महिलाहरु सफल भएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल पनि एक अग्रणी र उच्च तहमा बसेर काम गरिरहेकी मध्येमा पर्छन् । उनले प्राधिकरणको जिम्मा सम्हालेको करिब २ वर्ष भयो । जानुकाको जन्म झापा जिल्लाको मेची नगरपालिका वडा नम्बर २ मा भएको हो । मध्यम परिवारमा जन्मिएकी जानुका घरकी कान्छो छोरी हुन् । उनले एसएलसी र १२ कक्षा सम्मको अध्ययन झापाबाट नै पुरा गरिन् । मानविकी संकाय पढेकी उनी एक सामान्य विद्यार्थी नै हुन् । घर परिवारले स्नातक तह पनि घर नजिकैको कलेजमा पढ्न सल्लाह नदिएका होइनन् । प्लस टु परीक्षा दिएकी छोरीको विवाह गरिदिने उनको आमाबुवाको योजना थियो । तर, जानुकालाई भने चाँडै विवाह गर्ने इच्छा थिएन । ‘मलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मानसिकता सानैदेखि थियो, आमाबुवाको विवाहको प्रस्तावलाई अस्वीकार गर्दै काठमाडौं आएँ, पछि घरको मान्छेले पनि विवाहको लागि प्रेसर दिन पनि छोड्नु भयो,’ उनले आफ्नो विगत स्मरण गर्दै सुनाइन् । गाउँबाट काठमाडौं आउँदा जानुका १९ वर्षकी थिइन् । उनले त्रिचन्द्र क्याम्पसमा स्नातक तह अन्तर्गत समाजशास्त्र विषय लिएर पढ्न थालिन् । काठमाडौंमा कहिले आफन्त त कहिले साथीहरूसँग डेरा लिएर बस्थिन् उनी । ‘विद्यार्थी जीवनमा धेरै समस्या भोगियो, पैसा नभएर भोक भोकै बसेको कति दिनहरु अझैं पनि याद आउँछ,’ संघर्षका ती दिनहरु सम्झिँदै उनले भनिन् । त्रिचन्द्र क्याम्पसमा पढ्दै गर्दा जानुकालाई कलाकार सन्तोष पन्तको सिरियल ‘हिजो आजको कुरा’मा खेल्ने अवसर मिल्यो । उनले सो सिरियलमा छोरीको भूमिकामा ८ वटा भागसम्म खेलिन् । ‘घरबेटी दिदी त्यही सिरियलमा काम गर्नु हुन्थ्यो, मलाई पनि त्यहाँ एक दिन हेर्नको लागि लैजानु भयो, त्यहाँ आर्यन फेसको मान्छे चाहिएको रहेछ, कथाले मागे अनुसार मेरो फेसले मेल खायो, र मलाई कालाकार सन्तोष पन्तले सोध्नु भयो,‘ सिरियल खेल्छौ ? मैले इन्कार गरेँ, उनले त्यो सम्वाद स्मरण गर्दै भन्नि, ‘घरबेटी दिदीले आएको अवसर नगुमाउ, खेल भनेर प्रोत्साहन गरेपछि मैले हिजो आजको कुरा भन्ने सिरियलमा २ महिना जति काम गरेँ ।’ जानुकालाई सिरियलबाट दुई महिनापछि एक हजार रुपैयाँ प्राप्त भयो । सो रकमले एक महिनाको घर भाडा तिर्न पुगेको उनी बताउँछिन् । समय अनुकूल नयाँ काम गर्नु नै उनको उद्देश्य हो । हिजो आजको कुरालाई छाडेर पढाइसँगै गैर सरकारी संस्था (एनजीओ) मा काम गर्न थालिन् । द्वन्दकालीन अवस्थामा एनजीओमा काम गर्न धेरै जोखिम पनि मोलेको उनले सुनाइन् । जानुकालाई एनजीओमा काम गर्दा धेरै ठाउँमा घुम्ने तथा बुझ्ने अवसर मिल्यो । ती दिनका जानुकासँग तिता मिठा अनुभव आझैं ताजै छन् । ती सेरोफेरोमा रहेर उनले लेख पनि लेख्ने गर्थिन् । स्नातक पढ्दै गर्दा उनले विभिन्न कम्पनीहरुमा काम पनि गरिन् । वैवाहिक जीवनपछिको नयाँ मोड स्नातक तहसम्मको पढाइ पुरा गरेर जानुकाले स्नातकोत्तरको पढाइ सुरु गरिन् । स्नातक पास गरेपछि उनलाई विवाहको प्रस्ताव आयो । उनले गुल्मीका विनोद प्रसाईँसँग विवाह गरिन् । विवाहपछि उनले एनजीओको काममा बिराम लगाइन् । उनका श्रीमान सञ्चार माध्यमसँगै गीत संगित क्षेत्रमा पनि काम गर्थे । पछि श्रीमान र श्रीमति मिलेर आफ्नै मिडियो सञ्चालन गर्ने योजना बनाए । नवनारी नामक म्यागेजिन सञ्चालन गरेर उनले सञ्चार क्षेत्रमा प्रवेश गरिन् । अहिले पनि उक्त म्यागेजिन सञ्चालनमा छ । सो म्यागेजिनको सम्पादकको भूमिकामा उनले पनि काम गरिन् । उनले सो म्यागेजिनमा १३ वर्ष काम गरेको सुनाउँछिन् । उनका श्रीमान् प्रसाईँको मुन इञ्जिनियरिङ कन्सलटेन्सी छ । जानुकाले पनि नवनारीसँगै उक्त कन्सलटेन्सी पनि सम्हालिन् । अहिले जानुकाका एक छोरा एक छोरी छन् । छोरी कक्षा ८ मा पढ्छिन् भने छोरा नर्सरीमा पढ्छन् । धेरै महिलाहरू विवाह गरेपछि घरायसी काममा व्यस्त हुन्छन् । वैवाहिक जीवन पछाडि कामलाई छाडेर घरायसी काममा महिला व्यस्त भएका उदाहरण धेरै छन् । तर, जानुकालाई वैवाहिक जीवनले बाहिरको काम गर्न रोकेन । घर परिवारबाट उनलाई झन् प्रोत्साहन मिलिरह्यो । र जानुकालाई प्रोत्साहनले थप उत्साह थप्यो । उनले केही गीतहरु पनि लेख्छिन् । ‘कामले सफलता निर्धारण गर्छ’ तपाईं हामी सबैलाई सोधिने प्रश्न हो, भविष्यमा के बन्ने लक्ष्य छ ? धेरैको जबाफमा भन्छन्, ‘व्यापारी, पाइलट, इञ्जिनियर, शिक्षक, सरकारी । तर, जानुकाले भने भविश्यमा यो बन्ने भनेर कहिल्यै योजना बनाइनन् । ‘म लक्ष्य नबनाउने मान्छे, धेरै लक्ष्य बनायो भने निराशा (फ्रस्टेशन) भइन्छ, समय अनुसार आफै लक्ष्य सिर्जना हुँदै जान्छ, लक्ष्य बनाए अनुसार उपलब्धि हासिल गर्न सकिएन भने त्यो बेला समस्या हुन्छ, हिँड्दै जाँदा बाटो बन्दै जाने हो, म चाहिँ हिँड्दै जाँदा बाटो बनाउनेमा परेँ,’ उनले सुनाइन् । जानुकाले यहाँसम्म आइपुग्छु भनेर कहिल्यै सोचकी पनि थिइनन् । काम गर्दै जाँदा जताबाट अवसर आयो त्यतै मोडिइन् उनी । जानुका भन्छिन् ‘सफलता ज्ञान र कामले दिलाउँछ ।’ जानुकालाई पेशामा भने इन्जिनियर मन पर्ने । आफ्नै श्रीमानको कन्सलटेन्सी भएकोले पनि धेरै कुरा त्यहाँबाट सिकेको उनी बताउँछिन् । त्यसपछि बनिन् प्राधिकरणको प्रमुख उनी अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा कार्यरत छिन् । । तर, उनलाई प्राधिकरणको प्रमुखभन्दा अघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष हुन मन थियो । उनले सो पदको लागि प्रतिस्पर्धा पनि गरिन् । नाम पनि एक नम्बरमा निकालिन् । एक नम्बरमा नाम निकाले पनि काम गर्न भने नपाएको गुनासो उनी गर्छिन् । त्यसको केही समयपछि नै काठमाडौं उपत्यका विकास प्राधिकरण विकास आयुक्तको लागि आवेदन खुल्यो । ‘श्रीमानको कन्सल्टेन्सीमा काम गरेको भएर पनि मलाई इञ्जिनियरिङ विषयमा धेरै ज्ञान भइसकेको थियो, प्राधिकरणमा काम गर्न सक्छु भन्ने विश्वास थियो, आवेदन दिएँ, नाम पनि निस्कियो,’ खुसी हुँदै उनले भनिन् । वि.सं. २०७७ वैशाखबाट प्राधिकरणको विकास आयुक्तको जिम्मेवारी सम्हालेकी उनी अहिलेसम्म सन्तोषजनक काम गरेको बताउँछिन् । ‘म यहाँ नियुक्त भएर आएपछि दुई वटा राम्रो काम गरेर देखाउन पाइयोस् भन्ने छ, नयाँ नगरलाई स्वीकृत गराइ एक लाख रोपनीमा मात्र भए पनि काम गर्न सकियोस् र प्लटिङलाई निरुत्साहित गर्नको लागि थुप्रै ल्यान्ड पुलिङ आयोजना सञ्चालन गर्न पाइयोस्, साना तिना काम भइरहेको छ,’ उनले भनिन् ।
कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा हुन्छ : मन्त्री मोदी
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामति कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तक्रियामा उनले कर्मचारीको सरुवाकै विषयमा धेरै ध्यान केन्द्रित गर्दा अरु काम प्राथमिकतामा पर्न नसकेकाले व्यवस्थित सरुवा प्रणाली स्थापित गर्ने गृहकार्य भइरहेको जानकारी दिए । विसं २०७५ माघदेखि संसद्मा विचाराधीन रहेको निजामति सेवा विधेयक छिट्टै पारित गर्ने गरी काम अघि बढाइएको उनको भनाइ छ । ‘विधेयकमा मन्त्रालयको दृष्टिकोण दिइसकेका छौँ, कर्मचारी प्रशासन अब तहगत प्रणालीमा चल्ने भएको छ, कर्मचारी ६० वर्षे उमेर हदसम्म सेवामा बहाल रहने भएका छन्’, उनले भने । उनले दुर्गम क्षेत्रमा काम गर्नेको कार्य सम्पादनसम्बन्धी छुट्टै व्यवस्था गरिने र आगामी पिँढीका लागि सुशासन कायम गराउन निजामती सेवा विधेयकमा राम्रा व्यवस्था गरिएको उनको भनाइ छ । देशभरका दुई सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकामा आफू मन्त्री नियुक्त भई आएपछि ९० जनालाई सरुवा गरी पठाएको जानकारी पनि कार्यक्रममा उनले गराए । निजामति अस्पतालमा सुधार गर्ने विषयलाई पनि आफूले प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री मोदीको भनाइ छ । मन्त्रालयले निजामति अस्पताललाई सातै प्रदेशमा विस्तार गर्ने, राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, राष्ट्रिय व्यक्तित्व, शिक्षक र सहिद एवं बेपत्ता परिवारका सदस्यलाई पनि निजामति अस्पतालमा छुटमा उपचार गर्ने व्यवस्थाका लागि गृहकार्य भइरहेको जानकारी उनले बताए । मन्त्रालयको पुनःसंरचना गरी कर्मचारी प्रशासनलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने योजनालाई पनि प्राथमिकतामा राखिएको कार्यक्रममा जानकारी गराइएको थियो । मन्त्रालयलाई चुस्त रुपमा अघि बढाउन सबैबाट सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता मन्त्री मोदीको थियो । रासस
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख कित्ता सेयर बेच्दै, क-कसले किन्न पाउँछन् ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरु र तत्तकालिन मेगा बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको गरी कूल २ लाख ७७६ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले विद्यमान संस्थापक सेयरधनी रत्न बहादुर थापाको नाममा रहेको २७ हजार ६८९ कित्ता, जगदिश लाल बैद्यको १३ हजार १९८ कित्ता र शान्ता कुमारी पोखरेलको १३ हजार ८४६ कित्ता गरी कूल ५४ हजार ७३३ कित्ता सेयर बिक्री गर्ने जनाएको छ । बैंकले रत्न बहादुर थापाको नाममा रहेको सेयर सिता थापाले खरिद गर्ने भएकी छिन् । यस्तै, जगदिश लाल बैद्यको नाममा रहेको सेयर निरज लाल बैद्य र सरोज बैद्यले समान ६ हजार ५९९ कित्ता सेयर खरिद गर्ने भएका हुन् । यस्तै, शान्ता कुमारी पोखरेलको नाममा रहेको सेयर जगदिशचन्द्र पोखरेलले खरिद गर्ने बैंकले जनाएको छ । यस्तै, तत्कालिन मेगा बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४६ हजार ४३ कित्ता सेयर पनि बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । यसअघि बैंकले संस्थापक सेयरधनीहरुलाई बिक्रीमा राखेको भएपनि आवेदन नपरेपछि सर्वसाधारण लगानीकर्ताले ७ दिन भित्र आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनी बुधराज भुजेलको नाममा रहेको १६ हजार ९३१ कित्ता, रोशन श्रेष्ठको १३ हजार ६३० कित्ता, हरिहर उप्रेतीको ५ हजार कित्ता, परशुराम रिजालको ३६ हजार ५० कित्ता, चिज कुमारी गुरूङ्गको २ हजार ५९७ कित्ता, हरि प्रसाद अर्यालको ४२ हजार २५० सय कित्ता र गणेश कार्कीको २९ हजार ५८५ कित्ता सेयर बिक्रीमा राखेको हो ।
मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट
काठमाडौं । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको थियो । नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए । उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अण्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उनले बताए । ‘पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ’, उनले भने । निर्देशनालयले यसअघि विच्छाइएको पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनःपरीक्षण गरिने उनको भनाइ छ । ‘अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ’, उनले भने । नयाँ पाइप परीक्षणको क्रममा हुँदा हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ । उपत्यकामा झण्डै एक सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ । पहिलो कम परिमाणमा पानी वितरण हुने गरेको तर मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पाइपमा समस्या भएको हो । नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौँमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ । सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो । मेलम्चीको पानीको वितरण दुई वर्ष पहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ । रासस