विकासन्युज

राष्ट्रपतिका लागि आज मतदान हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं । आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हँुदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा बौद्धिक र परिपक्क छवी बनाउनुभएका नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । वि.सं. २०६२÷६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र २ पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र कायम गरिएको छ । विगतमा जस्तै मुलुकका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारबीचको प्रतिस्पर्धालाई महत्वकासाथ हेरिएको छ । पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।

मोदी ईनर्जीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिन पाउँछ ?

काठमाडौं । मोदी ईनर्जीले आज फागुन २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका ३ र ८, मोदी गाउँपालिका २, ५ र ६ का स्थानिय बासिन्दाहरुका लागि बिक्री खुला गरेको हो । साथै, १० प्रतिशत अर्थात् ४ करोड ३५ लाख रुपैयाँको ४ लाख ३५ हजार कित्ता सेयर विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ८७ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ । तर, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखियो : कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन् । बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा उनले यस्ताे बताएका हुन् । ‘मुलुकको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा सहकारीलाई स्वीकार गरिएपनि त्यो व्यवहारमा देखिएन, अर्थतन्त्रमा सहकारीको ठ्याक्कै योगदान कति हो ? कहाँ कति सहयोग पुगेको छ ?,’ उनले भने । सहकारी संघ संस्थाहरुले समेत बैंकले जस्तै घरजग्गामा, धितोपत्र बजारमा लगानी गर्दा समस्या आएको उनी बताउँछन् । ‘सहकारीको लगानीको प्राथमकिता प्राप्त क्षेत्र कुन हो ? सहकारीको मूल्य मान्यता बचतकर्तालाई झन् गरिब बनाउने भन्ने त होइन होला । कहाँ लगानी गर्दा सुरक्षित र अझ बढी उत्पादन मुखि हुन्छ संस्थाले त्यतातिर सोच्ने हो’, उनले भने ।    

पर्यटन उद्यमी अभिषेक विक्रम शाह सम्मानित

काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई ‘नेपाल सम्मान २०७९’ बाट सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मान २०७९ प्रदान गरेका हुन् । सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित ‘नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९’ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवद्र्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । उनी दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध रही काम गर्दै आएका छन् । हाल बेष्ट रिसोर्ट नेपालका निर्देशक शाह यसअघि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक थिए । नेपालको होटल तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत शाहले यस क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

ग्लोबल आइएमई बैंकले विभिन्न कम्पनीका आधा दर्जन गाडी बेच्दै, छानीछानी किन्न पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले बैकिङ्ग सम्पत्तिका रुपमा रहेका विभिन्न मोडलका ७ वटा सवारी साधन लिलाम बिक्री गर्ने भएको हो । बैंकको मुख्य कार्यालयमा रहेका सवारी साधन जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । उक्त सवारी साधन खरिद गर्न ईच्छुक व्यक्ति र फर्म÷कम्पनी तथा संघ संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको हो । बैंकको उत्तरढोका शाखाको पार्किङ्गमा रहेको बा १२ च ९२१० नम्बरको टाटा सुमो, ब ७ च ७३६८ नम्बरको हुण्डाई स्यान्ट्रो र बा ९ च ९१०७ नम्बरको टाटा पिकअप बिक्री गर्ने भएको हो । यस्तै, बैंकको कमलादी शाखामा राखिएको बा ८ च ६७५७ नम्बरको सन्नि निशान र बा ८ च १५४७ नम्बरको टोयोटा क्याम्रे कार पनि बिक्री गर्ने भएको हो । यस्तै, बैंकको बागलुङ शाखाको पार्किङमा रहेको बा १० च ८४३२ नम्बरको महिन्द्रा बोलेरो र जनकपुरमा रहेको बा ९ च ४३७० नम्बरको मारुती सुजुकी वागोनर सवारी बिक्री गर्ने भएको हो ।

राष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज करिब चार घन्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भोलि हुने राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘भोलि हुने राष्ट्रपतिको निर्वाचनको सन्दर्भलाई लिएर केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा झन्डै चार घन्टा छलफल भयो । बैठकले निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यकर्ता, सुभेच्छुक एवं जनताको भावनाबमोजिम पार्टीले निर्णय लिएको हो ।’ प्रवक्ता श्रेष्ठले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको भोट निर्णायक पनि नभएकाले तटस्थ बस्ने निर्णय लिएको उल्लेख गरे । भोलि हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । राष्ट्रपति निर्वाचनको मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने तय गरिएको छ ।

डेढ महिनामै मन्त्रीको घरमा दुई पटक चोरी

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ । के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उहाँले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताए । ‘के–कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ’, प्रनाउ रिजालले भने, ‘हामीले अनुसन्धान थालेका छौँ ।’ छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको उनीहरूको भनाइ छ । ‘डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो’, छिमेकी शोभाखर पन्थीले भने, ‘यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन् ।’ रासस

आईएमई अटोमोटिभले १५ महिलालाई ब्याक हो लोडर चलाउने नि:शुल्क तालिम दिने

काठमाडाैं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियानको एक भागको रूपमा कम्पनीले १५ जना महिलालाई गाडी चलाउन नि:शुल्क तालिम दिने जनाएकाे छ । उक्त तालिमले महिलालाई ब्याक हो लोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न सहयोग गर्न र सम्बन्धित क्षेत्रमा रोजगारी सुरक्षित गर्न सहयोग गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले बताएकाे छ । मुख्य लक्ष्य भनेको महिलाहरूलाई बाधाहरू तोड्न र परम्परागत रूपमा पुरुष प्रधान क्षेत्रमा उनीहरूको पूर्ण क्षमता हासिल गर्न मद्दत गर्नु हो। आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले र्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न बताए । ‘निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ, यो नि:शुल्क तालिम प्रदान गरेर हामी महिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं,’ उनले भने । कम्पनीकाे अनुसार प्रशिक्षण कार्यक्रम सबै उमेर र पृष्ठभूमिका महिलाहरूको लागि खुला हुनेछ ।