राष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज करिब चार घन्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भोलि हुने राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘भोलि हुने राष्ट्रपतिको निर्वाचनको सन्दर्भलाई लिएर केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा झन्डै चार घन्टा छलफल भयो । बैठकले निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यकर्ता, सुभेच्छुक एवं जनताको भावनाबमोजिम पार्टीले निर्णय लिएको हो ।’ प्रवक्ता श्रेष्ठले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको भोट निर्णायक पनि नभएकाले तटस्थ बस्ने निर्णय लिएको उल्लेख गरे । भोलि हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । राष्ट्रपति निर्वाचनको मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने तय गरिएको छ ।
डेढ महिनामै मन्त्रीको घरमा दुई पटक चोरी
अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ । के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उहाँले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताए । ‘के–कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ’, प्रनाउ रिजालले भने, ‘हामीले अनुसन्धान थालेका छौँ ।’ छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको उनीहरूको भनाइ छ । ‘डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो’, छिमेकी शोभाखर पन्थीले भने, ‘यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन् ।’ रासस
आईएमई अटोमोटिभले १५ महिलालाई ब्याक हो लोडर चलाउने नि:शुल्क तालिम दिने
काठमाडाैं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियानको एक भागको रूपमा कम्पनीले १५ जना महिलालाई गाडी चलाउन नि:शुल्क तालिम दिने जनाएकाे छ । उक्त तालिमले महिलालाई ब्याक हो लोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न सहयोग गर्न र सम्बन्धित क्षेत्रमा रोजगारी सुरक्षित गर्न सहयोग गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले बताएकाे छ । मुख्य लक्ष्य भनेको महिलाहरूलाई बाधाहरू तोड्न र परम्परागत रूपमा पुरुष प्रधान क्षेत्रमा उनीहरूको पूर्ण क्षमता हासिल गर्न मद्दत गर्नु हो। आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले र्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न बताए । ‘निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ, यो नि:शुल्क तालिम प्रदान गरेर हामी महिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं,’ उनले भने । कम्पनीकाे अनुसार प्रशिक्षण कार्यक्रम सबै उमेर र पृष्ठभूमिका महिलाहरूको लागि खुला हुनेछ ।
आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ । यस्तो विवरण बुझाइसक्न पुस मसान्तसम्मको म्याद थपिएकोमा सो अवधिसम्म पनि केही करदाताले विवरण नबुझाएपछि विभागले छानबिन थालेको हो । कतिपय करदाताले आफ्नो कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण दाखिला गरेको, भन्सार तथ्याङ्क हेर्दा आयात–निर्यात गरेको पाइएको र त्यस्ता करदाताको नाममा अग्रीम कर कट्टीसमेत भएको देखिए पनि आयकरको विवरण भने नबुझाएको विभागले जनाएको छ । यसरी गत आर्थिक वर्ष २०७८/७९ मा कर लाग्ने कारोबार गरेको देखिए पनि हालसम्म आय विवरण र कर दाखिला नभएपछि त्यस्ता करदाताको विवरण सङ्कलनको काम भइरहेको विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले जानकारी दिए । ‘भ्याट, आशिकुडालगायतका तथ्याङ्क हेर्दा केही करदाताले आफ्नो कारोबारअनुसार आय विवरण र कर दाखिला गरेको देखिएन । गत वर्षको यही अवधिसम्मको तुलनामा यसवर्ष आय विवरण बुझाउने करदाताको सङ्ख्या निकै कम देखिएको छ । त्यस्ता करदाताबारे खोजबिन गर्न विभागले कर कार्यालयहरुलाई भनिसकेको छ’, प्याकुरेलले भने । कुन कर कार्यालयमा कति करदाताले यस्तो विवरण बुझाउन बाँकी छ भन्ने तथ्याङ्क संकलन भइरकेको पनि उनले जानकारी दिए । आयकर विवरण र कर दाखिला नगर्ने करदाताको वास्तविक संख्या भने अझै आइनसकेको विभागले जनाएको छ । त्यस्तै, आय विवरण र कर दायित्व फरकफारक नगर्ने करदाताको छानबिन तथा अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारबाही गर्ने पनि विभागले जनाएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा आयकर असुली निकै न्यून देखिएको छ । सरकारले पुस मसान्तसम्ममा एक खर्ब ५७ अर्ब २२ लाख १८ हजार बराबर आयकर उठाउने लक्ष्य राखेकोमा एक खर्ब १६ अर्ब ७९ करोड बराबर मात्रै असुली गरेको हो । जुन रकम यो अवधिका लागि राखिएको लक्ष्यको ७४ दशमलव तीन प्रतिशत बराबर हो । अहिले आयकर मात्र नभई समग्र आन्तरिक राजस्व नै प्रभावित भएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा अवधिसम्ममा समग्र सरकारी राजस्व संकलन लक्ष्यभन्दा निकै कम छ । विभागका अनुसार पुस मसान्तसम्म ६ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख आन्तरिक राजस्व उठाउने लक्ष्य रहेकोमा चार खर्ब ९० अर्ब चार करोड ३८ लाख बराबर मात्रै असुली भएको छ । जुन अर्धवार्षिक लक्ष्यको ७५ दशमलव २० प्रतिशत बराबर हो । अर्थात चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व संकलन लक्ष्यभन्दा २४ दशमलव ८० प्रतिशत बिन्दुले न्यून देखिएको छ । रासस
एनआईसी एशिया बैंकको २ घण्टा सेवा अवरुद्ध हुने
काठमाडौं । एनआईसी एशिया बैंकको २ घण्टा सेवा अवरुद्ध हुने भएको छ । बैंकको फागुन २५ गते बिहीबार बिहान २ घण्टा सेवा अवरुद्ध हुने भएको हो । बैंकको कार्ड कारोबारको स्विचिङ्ग सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टममा कार्ड नेटवर्क म्याण्डेट इनस्टलेसन कार्य गर्ने भएकाले बिहीबार बिहान २ बजेदेखि ४ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ । बैंकको डेबिट, क्रेडिट र डलर कार्डहरुबाट हुने कारोबारहरुका साथै एटिएम र पीओएस सेवा अवरुद्ध हुने बैंकले बताएको छ । उक्त समयमा आवश्यक कारोबारको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न बैंकले आग्रह गरेको छ । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ ।
‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधी जेभियर इन्टरनेशनल कलेजलाई
काठमाडौं । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधि जेभियर इन्टरनेशनल कलेजले जितेको छ । २६ फ्रेबअरीबाट सुरु भएको उक्त प्रतिस्पर्धामा विभिन्न २० कलेजले सहभागिता जनाएका थिए । प्रतियाेगिताका विजेता जेभियर इन्टरनेशनल कलेजले नगद ५० हजार जितेको छ । त्यस्तै, उपविजेता हेराल्ड कलेजले नगद २५ हजार जितेको छ । प्रतियाेगितामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड काठमाडौं कलेजका तेन्जिन शेर्पाले जितेका छन् भने उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेशनल कलेजका निर्पेश श्रेष्ठले पाएका छन् । यस्तै, उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेशनल कलेजका खेलाडी तेन्जिन भुटियाले जितेका छन् । प्रतियाेगिताको प्रायोजक होण्डा, हाइ कल्चर्ड, नेको इन्सुरेन्स लिमिटेड, ललितपुर हाइ, बयोधा हस्पिटल प्रा लि, द ग्रेट माया, लिजास क्याफे, हुप्स एण्ड मुभ्स र टाइटल प्रायोजक ग्लोबल रिच कन्स्लटेन्सी रहेको थियो ।
अर्थ मन्त्रालय काँग्रेसले लिएर वर्तमान चुनौतिको समाधान गर्नुपर्ने व्यवसायीको माग
काठमाडौं । उद्योगी व्यवसायीहरुले मुलुकको बिग्रँदो अर्थतन्त्र र अर्थनीति सही नभएको गुनासो गरेका छन् । मंगलबार नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला र गगन थापाले बोलाएको छलफलमा अधिकांश उद्योगी व्यवसायीहरुले मुलुकको अर्थतन्त्र र सरकारको मौद्रिक नीतिको विषयमा गुनासो गरेका हुन् । उद्योगी व्यवसायीहरुले राजनीतिक अस्थिरता र स्थिर मौद्रिक नीति नहुँदा अर्थतन्त्रमा संकट पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उद्योगी व्यवसायीहरुले संकटपूर्ण अर्थतन्त्रको समाधान गर्न नेपाली काँग्रेसले अग्रणी भुमिका खेल्न सुझाव दिए । व्यवसायीहरुले नेपाली काँग्रेसले अर्थ मन्त्रालय सम्हाल्दै गर्दा वर्तमान अर्थतन्त्रको चुनौति समाधान गरी उद्योग व्यवसाय गर्न सहजिकरण गर्न सुझाव दिए । छलफलमा अधिकांश व्यवसायीहरुले नेपाली काँग्रेसले अर्थमन्त्री पाएपछि सबैभन्दा पहिला बैंकको उच्च ब्याजदर नियन्त्रण गर्न सुझाव दिए । उनीहरुले मुलुकको अर्थतन्त्र इतिहासकै खराब अवस्थामा आएको भन्दै उद्योगी व्यवसायीहरु बाच्न नसक्ने अवस्था समेत नभएको बताए । व्यवसायीहरुले सरकारले उद्योग व्यवसाय बढाएर राजश्वमा वृद्धि गर्न लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए । छलफलमा बोल्दै उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तनको आवश्यकता रहेको बताए । उनले निजी क्षेत्रले मुलुकमा उत्पादन अभिवृद्धिदेखि रोजगारी सिर्जनासम्म योगदान गर्दा समेत राज्यको दृष्टिकोण सकारात्मक नभएको गुनासो गरे । उनले उद्योगी,व्यवसायीले नाफा गर्नु पाप हो ? भन्दै प्रश्न गरे । मुरारकाले सरकारको नीतिको कारण उद्योगीहरु उद्योग छाडेर व्यापारतिर सिफ्ट भइरहेको बताउँदै किन व्यापारमा सिफ्ट भए भन्ने विषय राज्यले खोजि गर्न आवश्यक रहेको बताए । उनले उद्योगबाट राज्यले अतिरिक्त आम्दानी लिएर ठूलो फाइदा लिने तर, कतिपय प्रशासनिक कारण र नियम कानूनले गर्दा उद्योगमा धेरै समस्या रहेको बताए । उनले प्रशासनिक र कानूनी समस्याकै कारण नेपालमा उद्योग गर्दा लागत बढ्दा उद्योगीलाई निरुत्साहित बनाएको बताए । उनले सरकारले उद्योग स्थापना गर्दा लाग्ने लागत शुल्क संरक्षण नदिने हो भने एउटा पनि उद्योग सञ्चालन गर्नसक्ने अवस्था नभएको बताए । उनले देशमा उद्योग सञ्चालन गर्न सहज वातावरण नभएको भन्दै उद्योग दर्ताका लागि कोठामा छिर्नकै लागि प्रवेश शुल्क लगाइदिएको बताए । उनले १० करोड पुँजीको उद्योग छ भने २ लाख दर्ता शुल्क लाग्ने र १ अर्ब पुँजीको भए २० लाख रुपैयाँ लाग्ने बताए । मुरारकाले उद्योगीले आफ्नो पैसाले जग्गा किन्नुपर्ने तर, त्यो उद्योग कुनै कारणले चल्न सकेन भने जग्गा राज्यलाई बुझाउने व्यवस्था रहेको बताए । उनले सरकारका अन्तरमन्त्रालय समन्वय नभएको गुनासो गरे । उनले अहिले भएका ऐन, नियम, कानूनहरु उद्योगलाई कसरी रोक्ने भन्ने मात्रै रहेको बताए । उनले उद्योगीले आफ्नो पीडा सुनाउन जाने ठाउँ नभएको भन्दै अब बन्ने सरकारले त्यो ठाउँ दिनुपर्ने बताए । उनले बनेका कतिपय ऐन पनि कार्यान्वयनमा नआएका र कतिपय सान्दर्भिक नहुँदा उद्योगी–व्यवसायीले धेरै दुःख पाइरहेको बताए । उनले आयकर ऐनको दफा ५७ को पनि मनपरी व्याख्या भइरहेको बताए । उनले भने, ‘उद्योगबाट राज्यलाई ठूलो फाइदा हुन्छ । राज्यले अतिरिक्त आम्दानी गर्न पाउँछ । तर, कतिपय प्रशासनिक कारण र नियम कानूनले गर्दा धेरै समस्या छ । १० करोड पुँजीको उद्योग छ भने २ लाख दर्ता शुल्क लाग्ला । १ अर्ब पुँजीको छ भने २० लाख रुपैयाँ लाग्ला । तर, सुनेको कुरा गर्ने वा सच्याउने उहाँहरुसँग अधिकार नै छैन । कति बेला त्यो ऐन ल्याइयो ? त्यसबेला जमिन्दारी प्रथा थियो । त्यसलाई हटाउनका लागि यो ऐन ल्याइएको थियो । हामी त जमिन्दार होइन । उद्योग गर्नुपर्छ । उद्योगका लागि जग्गा किन्नैपर्छ । न राज्यले हामीलाई जग्गा दिएको छ ।’ त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णुकुमार अग्रवालले व्यापार व्यवसाय ४० प्रतिशतले गिरावट आएको भन्दै अर्थतन्त्रमा आशा गर्न सकिने ठाउँ नै नभएको बताए । उनले करिव ९० प्रतिशत उद्योगीले लगानीको योजना पछाडि धकेलेको बताए । उनले सहकारीको पैसा सबै जग्गा र सेयर बजारमा जाँदा ठूलो समस्या निम्तिएको बताए । अध्यक्ष अग्रवालले कोभिड महामारी पुनःउत्थानका लागि चालिएका कदमको प्रभाव अहिले देखिएको बताए । उनले व्यवसायीहरुलाई सरकारले कडा एन्टिबायोटिक दिएकाले त्यसैको साइड एफेक्ट अहिले देखिएको बताए । उनले एक वर्षअघि नै राजश्व कम हुने, मागको सङ्कुचन हुनेबारे हामी जानकारी सरकारलाई दिएपनि त्यसतर्फ ध्यान नदिएको गुनासो गरे । उनले अहिले आन्तरिक उत्पादनमा मात्र नभइ समग्र आपूर्ति श्रृङ्खलामा नै समस्या देखिएको बताए । उनले वर्तमान समस्या समाधानको लागि उद्योगी व्यवसायी, अर्थमन्त्री, गभर्नर र बैंक बसेर छलफल गरी ब्याजदर घटाउन आवश्यक रहेको बताए । त्यस्तै, कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अर्थतन्त्र इतिहासकै खराब अवस्थामा रहेको बताए । उनले प्रेडिक्टेबल इकोनोमिक पोलिसी नै नभएको देशमा लगानी बढ्न नसक्ने भन्दै राजनीतिक पार्टीहरुले आफ्नो आर्थिक नीति स्पष्ट गर्न जरुरी रहेको बताए । उनले सरकारले विकास निर्माण र उत्पादन मुलुक क्षेत्रमा भन्दा पनि सित्तैमा मानिसहरुलाई सामाजिक सुरक्षाको नाममा पैसा बाँडेर बसेको बताए । उनले ३ करोड जनसख्या भएको देशमा निजी क्षेत्रको एउटा कम्पनीले १० जनालाई रोजगारी दिन नसक्ने अवस्था नरहेको बताए । उनले सामाजिक सुरक्षाको लागि बजेटको ३१ प्रतिशत रकम एकै ठाउँमा बजेट राख्ने हो भने मुलुकको अर्थतन्त्र एक दिन सखाप हुने बताए । उनले नेपालमा १७ वटा कानून व्यवसायीहरुले पढ्नु पर्ने र २१ वटा कानूनले थुन्न मिल्ने रहेको भन्दै व्यवसायीले सबै कानून बढ्दा उद्योग खोल्न नसक्ने बताए । शर्माले संविधानसँग बाझिने गरी कतिपय कानून निर्माण गरिने र कानूनमै नभएका कुरा नियमावलीमा ल्याएर दुःख दिइने गरेको गुनासो गरे । महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रका समस्याबारे राजनीतिक दल र नेताहरू गम्भीर हुन नसकेको बताए । उनले अर्थतन्त्रको बाटो के हो भन्नेमा पार्टीहरू आफैं स्पष्ट हुन नसकेको आरोप लगाए । उनले वर्तमान अर्थतन्त्रका चुनौति र समस्या सुधारका योजना बनाएर सरकारले काम गर्न आवश्यक रहेको बताए । उनले राष्ट्र बैंक मौद्रिक नीति र सरकारको आर्थिक नीतिको कारण मुलुकको अर्थतन्त्र अरालो लाग्ने परिस्थिति आएको दाबी गरे । उनले वर्तमान सरकार अर्थतन्त्रको पुनारावलोनमा जान नसके पनि बैंकिङ नीति परिमार्जनमा जानुपर्ने बताए । उनले बैंकहरुले जोखिम व्यवस्थापनको आधारमा ब्याज लिएर भएको पुँजीमा रमाइरहेको बताए । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले सरकारले अवैधानिक कारोबार गर्ने समूहसँग डराएर एडीएस प्रणाली लागू गर्न रोक लगाइएको गुनासो गरे । उनले राजश्व प्रणालीमा जोडिएको मोबाइल कारोबार रोकेर सरकारले चोरी पैठारी भएका आएका मोबाइल कारोबारलाई प्रश्रय दिइरहेको बताए । उनले सरकारले एमडिएमएस प्रणाली लागू गर्न रोक लगाएको चार महिनामा २७ लाख मोवाइलहरु चोरी पैठारी भएको बताए । उनले त्यो तथ्याङ्क दुरसञ्चार प्राधिकरणको डाटाले देखाएको बताए । उनले अहिले काठमाडौंको न्युरोड लगायत नेपालभर चोरी पैठारीमा मोबाइलहरु खुलेआम रुपमा बिक्रीवितरण भइरहेको बताए । उनले वर्तमान सरकारले तत्काल एमडिएमएस प्रणाली रोक्ने नभएर लागू गर्न माग गरे । उनले सरकारले व्यापार व्यवसायमा बैंकको उच्च ब्याजदरको कारण समस्यामा परेको भन्दै तत्काल ब्याजदर कम हुन आवश्यक रहेको बताए । छलफल कार्यक्रममा सहभागि उद्योगी व्यवसायीहरुले आर्थिक विषयमा वृहत छलफल जरुरी भएकाले सबै पार्टीमा आर्थिक विषयमा बहस गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुले सरकारले आर्थिक नीति तथा मौद्रिक नीति व्यवसायीहरुको हीतमा परिमार्जन गर्नसके अर्थतन्त्र लयमा आउने सुझाव दिएका छन् । उनीहरुले अब बन्ने सरकारमा अर्थमन्त्री काँग्रेसले लिएर संकटपूर्ण अर्थतन्त्र चलायमान गर्न सुझाव दिए । व्यवसायीहरुले काँग्रेसले अर्थतन्त्र बुझ्न र वर्तमान समस्या समाधान गर्न सक्ने व्यक्ति अर्थमन्त्री बनाउन समेत सुझाव दिएका छन् ।
नबिल बैंकले धितोमा रहेको जग्गासहित ७ वटा सवारी बेच्दै
काठमाडौं । नबिल बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको नारायणगढ र सीमरा शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । बैंकको सिमरा शाखा, जीतपुरबाट जीतनी देवी चौधरीले ऋणवापत राखिएको धितो लिलामी गर्ने भएको हो । चौधरीको नाममा रहेको बाराको साविक डुमरवाना गाविस ४ मा रहेको कित्ता नम्बर १३५४, १६८७ र १६८८ को क्रमशः ०–२–०–०, ०–०–१४–२ र ०–०–७–० विघा जग्गा बिक्रीमा राखेको हो । यस्तै, नारायणगढ (कमलनगर) शाखा, चितवन शाखाबाट देउराली ढुवानी सेवाका सञ्चालक अर्जुन राहादी मगरले लिएको ऋण वापतको सवारी र जग्गा बिक्री गर्ने भएको हो । बैंकले ना ८ ख ८६०५ नम्बरको टाटा टिप्पर बिक्री गर्नेछ । साथै, नवलपरासीको साविक बेनिमणिपुर २ मा रहेको कित्ता नम्बर ३१७३ को १–६–१–० विघा जग्गा बिक्री गर्नेछ । यस्तै, सोही शाखाबाट श्री जखडी ढुवानी सेवा प्रालिका सञ्चालक तथा जमानीकर्ता विनोद जिसी, सोप बहादुर पछाई क्षेत्री, सरीता देवी पछाई क्षेत्री, जीवन पछाई, शंकर पछाई र गंगाराम चौधरीले धितो वापत राखेको सवारी र जग्गा बिक्री गर्ने भएको हो । बैंकले सोप बहादुर पछाई क्षेत्रीको नाममा रहेको नवलपरासी साविक धुरकोट गाविस १ मा रहेको कित्ता नम्बर ५०५ को ६०७३.८४ वगमिटरको जग्गा र उक्त जग्गामा निर्मित घरहरु समेत लिलामीमा बिक्री गर्ने भएको हो । यस्तै, बैंकले लु २ ख ४४११, लु २ ख ४४१२, ग २ ख ७६५, ग २ ख ७६६, ग २ ख ७६७ र ग २ ख ७६८ नम्बरको टाटा टिप्पर बिक्रीमा राखेको हो ।