पत्रकार हुँदै प्राधिकरणको प्रमुख बनेकी जानुकाको कथा

<p>काठमाडौं । पहिला–पहिला गाउँ घरमा बुढापाकाले भन्ने गर्थे ‘छोरी बढे अरूलाई छोरा बढे आफूलाई’ । यो गलत मनसायका कारण छोरीलाई विभेद गरिन्थ्यो । र, छोरीको विवाह कम उमेरमा नै गर्ने प्रचलन बाक्लो थियो । अहिले यो प्रचलन हटिसकेको छ । छोराले मात्र होइन, छोरीले पनि समाजमा ठूलो योगदान गरिरहेका छन् त्यस्ता धेरै उदाहरणहरु छन् । [&hellip;]</p>

काठमाडौं । पहिला–पहिला गाउँ घरमा बुढापाकाले भन्ने गर्थे ‘छोरी बढे अरूलाई छोरा बढे आफूलाई’ । यो गलत मनसायका कारण छोरीलाई विभेद गरिन्थ्यो । र, छोरीको विवाह कम उमेरमा नै गर्ने प्रचलन बाक्लो थियो । अहिले यो प्रचलन हटिसकेको छ ।

छोराले मात्र होइन, छोरीले पनि समाजमा ठूलो योगदान गरिरहेका छन् त्यस्ता धेरै उदाहरणहरु छन् । सरकारी उच्च पदमा बसेर राम्रो काम गर्न सक्छ है भनेर देखाउन धेरै महिलाहरु सफल भएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल पनि एक अग्रणी र उच्च तहमा बसेर काम गरिरहेकी मध्येमा पर्छन् । उनले प्राधिकरणको जिम्मा सम्हालेको करिब २ वर्ष भयो ।

जानुकाको जन्म झापा जिल्लाको मेची नगरपालिका वडा नम्बर २ मा भएको हो । मध्यम परिवारमा जन्मिएकी जानुका घरकी कान्छो छोरी हुन् । उनले एसएलसी र १२ कक्षा सम्मको अध्ययन झापाबाट नै पुरा गरिन् । मानविकी संकाय पढेकी उनी एक सामान्य विद्यार्थी नै हुन् ।

घर परिवारले स्नातक तह पनि घर नजिकैको कलेजमा पढ्न सल्लाह नदिएका होइनन् । प्लस टु परीक्षा दिएकी छोरीको विवाह गरिदिने उनको आमाबुवाको योजना थियो । तर, जानुकालाई भने चाँडै विवाह गर्ने इच्छा थिएन ।

‘मलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मानसिकता सानैदेखि थियो, आमाबुवाको विवाहको प्रस्तावलाई अस्वीकार गर्दै काठमाडौं आएँ, पछि घरको मान्छेले पनि विवाहको लागि प्रेसर दिन पनि छोड्नु भयो,’ उनले आफ्नो विगत स्मरण गर्दै सुनाइन् ।

गाउँबाट काठमाडौं आउँदा जानुका १९ वर्षकी थिइन् । उनले त्रिचन्द्र क्याम्पसमा स्नातक तह अन्तर्गत समाजशास्त्र विषय लिएर पढ्न थालिन् । काठमाडौंमा कहिले आफन्त त कहिले साथीहरूसँग डेरा लिएर बस्थिन् उनी । ‘विद्यार्थी जीवनमा धेरै समस्या भोगियो, पैसा नभएर भोक भोकै बसेको कति दिनहरु अझैं पनि याद आउँछ,’ संघर्षका ती दिनहरु सम्झिँदै उनले भनिन् ।

त्रिचन्द्र क्याम्पसमा पढ्दै गर्दा जानुकालाई कलाकार सन्तोष पन्तको सिरियल ‘हिजो आजको कुरा’मा खेल्ने अवसर मिल्यो । उनले सो सिरियलमा छोरीको भूमिकामा ८ वटा भागसम्म खेलिन् ।

‘घरबेटी दिदी त्यही सिरियलमा काम गर्नु हुन्थ्यो, मलाई पनि त्यहाँ एक दिन हेर्नको लागि लैजानु भयो, त्यहाँ आर्यन फेसको मान्छे चाहिएको रहेछ, कथाले मागे अनुसार मेरो फेसले मेल खायो, र मलाई कालाकार सन्तोष पन्तले सोध्नु भयो,‘ सिरियल खेल्छौ ? मैले इन्कार गरेँ, उनले त्यो सम्वाद स्मरण गर्दै भन्नि, ‘घरबेटी दिदीले आएको अवसर नगुमाउ, खेल भनेर प्रोत्साहन गरेपछि मैले हिजो आजको कुरा भन्ने सिरियलमा २ महिना जति काम गरेँ ।’

जानुकालाई सिरियलबाट दुई महिनापछि एक हजार रुपैयाँ प्राप्त भयो । सो रकमले एक महिनाको घर भाडा तिर्न पुगेको उनी बताउँछिन् । समय अनुकूल नयाँ काम गर्नु नै उनको उद्देश्य हो । हिजो आजको कुरालाई छाडेर पढाइसँगै गैर सरकारी संस्था (एनजीओ) मा काम गर्न थालिन् । द्वन्दकालीन अवस्थामा एनजीओमा काम गर्न धेरै जोखिम पनि मोलेको उनले सुनाइन् ।

जानुकालाई एनजीओमा काम गर्दा धेरै ठाउँमा घुम्ने तथा बुझ्ने अवसर मिल्यो । ती दिनका जानुकासँग तिता मिठा अनुभव आझैं ताजै छन् । ती सेरोफेरोमा रहेर उनले लेख पनि लेख्ने गर्थिन् । स्नातक पढ्दै गर्दा उनले विभिन्न कम्पनीहरुमा काम पनि गरिन् ।

वैवाहिक जीवनपछिको नयाँ मोड

स्नातक तहसम्मको पढाइ पुरा गरेर जानुकाले स्नातकोत्तरको पढाइ सुरु गरिन् । स्नातक पास गरेपछि उनलाई विवाहको प्रस्ताव आयो । उनले गुल्मीका विनोद प्रसाईँसँग विवाह गरिन् । विवाहपछि उनले एनजीओको काममा बिराम लगाइन् ।

उनका श्रीमान सञ्चार माध्यमसँगै गीत संगित क्षेत्रमा पनि काम गर्थे । पछि श्रीमान र श्रीमति मिलेर आफ्नै मिडियो सञ्चालन गर्ने योजना बनाए । नवनारी नामक म्यागेजिन सञ्चालन गरेर उनले सञ्चार क्षेत्रमा प्रवेश गरिन् । अहिले पनि उक्त म्यागेजिन सञ्चालनमा छ । सो म्यागेजिनको सम्पादकको भूमिकामा उनले पनि काम गरिन् । उनले सो म्यागेजिनमा १३ वर्ष काम गरेको सुनाउँछिन् ।

उनका श्रीमान् प्रसाईँको मुन इञ्जिनियरिङ कन्सलटेन्सी छ । जानुकाले पनि नवनारीसँगै उक्त कन्सलटेन्सी पनि सम्हालिन् । अहिले जानुकाका एक छोरा एक छोरी छन् । छोरी कक्षा ८ मा पढ्छिन् भने छोरा नर्सरीमा पढ्छन् ।

धेरै महिलाहरू विवाह गरेपछि घरायसी काममा व्यस्त हुन्छन् । वैवाहिक जीवन पछाडि कामलाई छाडेर घरायसी काममा महिला व्यस्त भएका उदाहरण धेरै छन् । तर, जानुकालाई वैवाहिक जीवनले बाहिरको काम गर्न रोकेन । घर परिवारबाट उनलाई झन् प्रोत्साहन मिलिरह्यो । र जानुकालाई प्रोत्साहनले थप उत्साह थप्यो । उनले केही गीतहरु पनि लेख्छिन् ।

‘कामले सफलता निर्धारण गर्छ’

तपाईं हामी सबैलाई सोधिने प्रश्न हो, भविष्यमा के बन्ने लक्ष्य छ ? धेरैको जबाफमा भन्छन्, ‘व्यापारी, पाइलट, इञ्जिनियर, शिक्षक, सरकारी । तर, जानुकाले भने भविश्यमा यो बन्ने भनेर कहिल्यै योजना बनाइनन् ।

‘म लक्ष्य नबनाउने मान्छे, धेरै लक्ष्य बनायो भने निराशा (फ्रस्टेशन) भइन्छ, समय अनुसार आफै लक्ष्य सिर्जना हुँदै जान्छ, लक्ष्य बनाए अनुसार उपलब्धि हासिल गर्न सकिएन भने त्यो बेला समस्या हुन्छ, हिँड्दै जाँदा बाटो बन्दै जाने हो, म चाहिँ हिँड्दै जाँदा बाटो बनाउनेमा परेँ,’ उनले सुनाइन् ।

जानुकाले यहाँसम्म आइपुग्छु भनेर कहिल्यै सोचकी पनि थिइनन् । काम गर्दै जाँदा जताबाट अवसर आयो त्यतै मोडिइन् उनी । जानुका भन्छिन् ‘सफलता ज्ञान र कामले दिलाउँछ ।’ जानुकालाई पेशामा भने इन्जिनियर मन पर्ने । आफ्नै श्रीमानको कन्सलटेन्सी भएकोले पनि धेरै कुरा त्यहाँबाट सिकेको उनी बताउँछिन् ।

त्यसपछि बनिन् प्राधिकरणको प्रमुख

उनी अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा कार्यरत छिन् । । तर, उनलाई प्राधिकरणको प्रमुखभन्दा अघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष हुन मन थियो । उनले सो पदको लागि प्रतिस्पर्धा पनि गरिन् । नाम पनि एक नम्बरमा निकालिन् । एक नम्बरमा नाम निकाले पनि काम गर्न भने नपाएको गुनासो उनी गर्छिन् ।

त्यसको केही समयपछि नै काठमाडौं उपत्यका विकास प्राधिकरण विकास आयुक्तको लागि आवेदन खुल्यो । ‘श्रीमानको कन्सल्टेन्सीमा काम गरेको भएर पनि मलाई इञ्जिनियरिङ विषयमा धेरै ज्ञान भइसकेको थियो, प्राधिकरणमा काम गर्न सक्छु भन्ने विश्वास थियो, आवेदन दिएँ, नाम पनि निस्कियो,’ खुसी हुँदै उनले भनिन् ।

वि.सं. २०७७ वैशाखबाट प्राधिकरणको विकास आयुक्तको जिम्मेवारी सम्हालेकी उनी अहिलेसम्म सन्तोषजनक काम गरेको बताउँछिन् ।

‘म यहाँ नियुक्त भएर आएपछि दुई वटा राम्रो काम गरेर देखाउन पाइयोस् भन्ने छ, नयाँ नगरलाई स्वीकृत गराइ एक लाख रोपनीमा मात्र भए पनि काम गर्न सकियोस् र प्लटिङलाई निरुत्साहित गर्नको लागि थुप्रै ल्यान्ड पुलिङ आयोजना सञ्चालन गर्न पाइयोस्, साना तिना काम भइरहेको छ,’ उनले भनिन् ।

Share News