विकासन्युज

नेप्सेमा २ कम्पनीको बोनस सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । प्राइम लाइफ इन्स्योरेनस र बुटवल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । प्राइम लाइफको १३ प्रतिशत बोनस वापतको ३६ लाख १३ हजार ५००.२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनस वापतको १६ लाख २७ हजार ३७८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद गरी कूल १२.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल बन्द गर्छु, बैंकहरुलाई लिलामीका सूचना निकाल्न दिन्नँ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाल बन्द गर्ने घोषणा गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलनको आयेजना गर्दै चैत्र २४ गतेदेखि अनिश्चितकालका लागि नेपाल बन्द गर्ने घोषणा गरेका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको ज्यादती विरुद्ध नेपाल बन्द गर्ने बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्थाको ज्यादतीकाविरुद्ध नेपाल बन्द गर्छौं, यो अभिायनमा कुनै तोडफोड हुँदैन, बैंकहरुले लिलामीका लागि ३५ दिने सूचना तत्काल निकाल्नु पर्छ,’ उनले भने । प्रसाईंले बैंक तथा वित्तीय संस्थाले दिएको समस्याबारे जानकारी लिन वेबसाइट र एप पनि बनाएका छन् । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान २०७९ लाई अझै विज्ञान तथा प्रविधिमैत्री बनाउने उदेश्यले वेबसाइट र एप बनाएको बताएका छन् । उनले आन्दोलनका क्रममा हरेक शनिवार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्बासीहरु, सर्वहारा वर्गहरु, फुटपाथमा व्यापार गर्नेहरु भेला पारेर माईतीघर मण्डलाबाट जुलुस ल्याई बानेश्वर चोकमा कोणसभा गर्ने पनि बताएका छन् ।

विशेष अदालतद्वारा पूर्वमन्त्रीसहित ७ जनालाई जरिवाना र कैद सजायको फैसला

काठमाडौं । विशेष अदालतले समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी हानी नोक्शानी पु¥याइ भ्रष्टाचार गरेको ठहर गर्दै  पूर्वमन्त्रीसहित ७ जनालाई जरिवाना र कैद सजायको फैसला गरेको छ । विशेष अदालतले तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने, प्रमोद मेहता, कुञ्ज विहारीप्रसाद चौधरी, हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र रविन्द्र कुमारले बदनियतपूर्वक समाज कल्याण परिषद्लाई २० करोड ७१ लाख ३४ हजार ८३० रुपैयाँ हानी नोक्शानी पु¥याएको पुष्टि भएको भन्दै कैद र जरिवानासँगै बिगो समेत असुल उपर गर्ने फैसला गरेको हो । न्यौपाने, मेहता, चौधरी र कुमारलाई भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम सजाय हुने साथै चौधरीको मृत्यु भइसकेकाले निजबाट बिगो मात्र असुल उपर गर्ने फैसला भएको विशेष अदालतका उप–रजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए । फैसला अनुसार बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा नै बिगो र थप ६ महिना कैद गरिने भएको छ । त्यस्तै मेहतालाई ८ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगो र थप ६ महिना जरिवाना हुने उल्लेख गरिएको छ । त्यसैगरी चौधरीलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगोको फैसला गरिएको छ । न्यौपानेलाई ८ वर्ष कैद, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो तोकिएको छ भने शर्मा, कर्ण र कुमारलाई पनि ८ वर्ष कैदका साथै २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो रकम तोकिएको छ । कुमारलाई थप ६ महिना कैद गरिने पनि उल्लेख गरिएको छ । अर्का प्रतिवादी रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरीवाना र त्यति नै बिगो समेत असुल उपर गर्ने ठहर भएको छ । त्यस्तै टेकबहादुर गुरुङलाई भने मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४०१ रुपैयाँ ८० पैसा जरिवाना गरिने उल्लेख गरिएको छ । सो बिगो भने माथि उल्लेखित कसुरदारहरुबाट असुल उपर गरिने विशेष अदालतका उप–रजिष्टार भट्टराईले जानकारी दिए ।

विदेशको तुलनामा नेपालमा ब्याजवृद्धि न्यून, यस्तो छ चार देशको ब्याजदर

काठमाडौं । पछिल्लो समय उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएको भन्दै आन्दोलित छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढी भएको भन्दै व्यापार व्यवसायमा पनि समस्या परेको उनीहरुको गुनासो छ । उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउन माग गर्दै विभिन्न निकायमा धाइरहेका पनि छन् । बैंकिङ्ग क्षेत्रमा तरलता अभाव हुँदा ब्याजदर बढाउनु परेको बैंकरहरु बताउँदै आएका छन् । केही उद्योगी व्यवसायीहरुले सडक आन्दोलन पनि गरिरहेका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सिथिल अर्थतन्त्र रुस र यूक्रेनबीच भएको युद्धका कारण पनि थप समस्यामा पर्यो । बजारमा वस्तुको मूल्यवृद्धि उच्च भएपछि लागत बढ्न पुग्यो । बैंकको ब्याजदर घटाउन चौतर्फी दबाव दिएपनि विश्वका अन्य देशहरुको तुलनामा नेपालको ब्याजदर खासै वृद्धि नभएको बैंकरहरु बताउँदै आएका छन् । नेपालमा ५ वर्षको अवधिमा ३५ प्रतिशतसम्म ब्याजदर बढेको तथ्यांकले देखाउँछ । सन् २०१९ मा नेपालमा बैंकको निक्षेपमा ९ प्रतिशत ब्याजदर थियो । जुन अहिले बढेर १२ प्रतिशतसम्म रहेको छ । जुन ५ वर्षको अवधिमा ३३ प्रतिशत मात्रै बढेको हो । अन्य देशको तुलनामा नेपालको ब्याजदर सस्तो रहेको बैंकरहरु बताउँछन् । नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष बसन्त लम्सालले अमेरिका, बेलायत लगायतका देशमा ब्याजदर बढेको तर नेपालमा सस्तो रहेको बताए । ‘अमेरिकामा कुनै बेला १ प्रतिशत ब्याजदर थियो भने अहिले ४÷५ प्रतिशत पुगेको छ, बेलायतमा ब्याजदर बढेको छ, नेपालको ब्याजदर अन्य देशको तुलनामा कम हो,’ उनले भने । विश्वका विभिन्न देशको ब्याजदर हेर्ने हो भने ६ वर्षको इतिहासमा ब्याज दोब्बरले बढेको छ । अमेरिका, बेलायत, यूरोप र भारतको ब्याजदरको अवस्था हेर्ने हो भने दोब्बरले बढेको छ । अमेरिकामा एक वर्षको अवधिमा ब्याजदर ८५० प्रतिशत बढेको छ । अमेरिकाको केन्द्रिय बैंकको तथ्याङ्क अनुसार जनवरी २०२२ देखि हालसम्म गरी एक वर्षको अवधिमा ८५० प्रतिशत ब्याजदर बढेको हो । जनवरी २०२२ मा ०.५ प्रतिशत ब्याजदर कायम थियो । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार हाल अमेरिकामा ४.७५ प्रतिशत ब्याजदर पुगेको छ । जुन अक्टोबर २००७ यताकै सबैभन्दा बढी हो । अमेरिकामा ५ वर्ष अघि अर्थात् सन् २०१९ मा २.५ प्रतिशत ब्याजदर थियो । केन्द्रिय बैंकले घटाउँदै सन् २०२० मा १.५ प्रतिशत र २०२१ मा ०.५ प्रतिशत झारेको थियो । तर, सन् २०२२ को जनवरीदेखि लगातार आठौं पटक ब्याजदर बढाएको हो । बेलायतमा एक वर्षको अवधिमा ९ सय प्रतिशत ब्याजदर बढेको छ । बैंक अफ इङ्गल्याण्डको तथ्याङ्क अनुसार जनवरी २०२२ मा बेलायतको ब्याजदर ०.४ प्रतिशत कायम थियो । जुन ९ सय प्रतिशत बढेर हाल ४ प्रतिशत ब्याजदर पुगेको बैंक अफ इङ्गल्याण्डले जनाएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा ०.८ प्रतिशत ब्याजदर कायम थियो । बैंकले ब्याजदर घटाएर सन् २०२१ मा ०.२ प्रतिशतमा झारेको थियो । तर, २०२२ को सुरुवातदेखि भने बढाउँदै हालसम्म कै उच्च ब्याजदर पुर्याएको हो । यूरोपमा ब्याजदर ३ प्रतिशत पुगेको छ । कुनै बेला ऋणात्मक रहेको ब्याजदर मार्च २०२३ मा पुग्दा ३ प्रतिशत पुगेको हो ।यूरोपियन केन्द्रीय बैंकको तथ्याङ्क अनुसार जनवरी २०२२ मा ब्याजदर शुन्य थियो । तर, एक वर्षको अवधिमा आइपुग्दा बढेर ३ प्रतिशत पुर्याएको हो । सन् २०१९, २०२० र २०२१ मा पनि यूरोपमा शून्य ब्याजदर थियो । सन् २०१४ बाट सन् २०२२ सम्म ऋणात्मक नीति अपनाउँदै आएको थियो । यसअघि निपेक्षकर्ताहरुले युरोपियन बैंकमा निपेक्ष जम्मा गर्दा बैंकलाई ०.५ प्रतिशत बुझाउनु पथ्र्याे । अब निक्षेपकर्ताले बैंकमा पैसा जम्मा गरे भने ३ प्रतिशत पाउन थालेका हुन् । भारतमा एक वर्षको अवधिमा ६३ प्रतिशत ब्याजदर बढेको छ । सन् २०२२ को जनवरीमा ४ प्रतिशत ब्याजदर रहेकोमा सन् २०२३ मार्चसम्म आईपुग्दा६३ प्रतिशत बढेर ६.५ प्रतिशत ब्याजदर पुगेको हो । रिजर्भ बैंक अफ इण्डियाका अनुसार सन् २०१९ मा ६.५ प्रतिशत ब्याजदर थियो । यस्तै, सन् २०२० मा ५.२ प्रतिशत र सन् २०२१ मा ४ प्रतिशत ब्याजदर कायम थियो । अर्थविद् डा.अच्युत वाग्ले नेपालको ब्याजदर विश्वकै सबैभन्दा उच्च ब्याजदर भएको बताउँछन् । हाल वाणिज्य बैंकको कूल लागत २० प्रतिशत र लघुवित्तको लागत २५ प्रतिशत पुगेको उनको भनाइ छ । राज्यको उद्यमशिलता प्रवद्र्धन गर्ने नीति नभएको र आफ्नै विनिमय दर नहुँदा ब्याजदर उच्च हुने गरेको उनले बताए । ‘वाणिज्य बैंकको कूल लागत २० प्रतिशत र लघुवित्तको २५ प्रतिशत पुगेको छ, संसारको उच्च ब्याजदर हुने मुलुकमा नेपाल पर्छ, नेपालको ब्याजदर संसारको सबैभन्दा धेरै ब्याजदर भएको देशमा पर्छ,’ उनले भने । उनका अनुसार नेपालमा सट्टेबाजीमा लगानी बढेको छ । जग्गा, सेयर बजार, सुनको सट्टेबाजी बजार बढेको र पछिल्लो समय ब्यापार पनि सट्टेबाजीमा सञ्चालन हुन थालेको उनले बताए । उद्यम गरेर ब्यापार गरेको भए ब्याजदर नबढ्ने उनको तर्क छ । विश्वमा खाद्य संकट र इन्धनको मूल्य बढेका कारण ब्याजदर बढेको उनको भनाइ छ । वस्तु उत्पादन लागत बढेकाले ब्याजदर बढ्न पुगेको उनको बुझाइ छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

काठमाडौं । नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्र । कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएका थिए । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, निर्वाचन आयोगका आयुक्तहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । आज सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले पार्टीको संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेता यादव बारा २ बाट निर्वाचित भएका थिए । सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति भएको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

अरुण ३ जलविद्युत परियोजनाको उच्चस्तरीय भ्रमण, ६१.२ प्रतिशत काम सम्पन्न

काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो–प्यासिफिक) एने–म्यारी ट्रेवेलियनले अरुण ३ जलविद्युत परियोजनाको अनुगमन गरेकी छिन् । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको परियोजनाको विद्युत गृह स्थल तथा ट्रान्सफर्मर वेको अवलोकन गरेकी हुन् । उनले नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धी हासिल गर्नेतर्फ मुखरित रहेको भन्दै खुसी व्यक्त गरिन् । उनले नेपालले जलविद्युत उत्पादनमा नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका रहेकोमा प्रसंशा गरिन् । अरुण–३ जलविद्युत परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको छ । परियोजनाको उत्पादन तर्फको हालसम्म भौतिक प्रगति करिब ६१.२ प्रतिशत सम्पन्न भएको छ । विकासकर्ता स्वयंले परियोजना विद्युत गृहदेखि भारतको सीतामढीसम्म ४ सय केभी क्षमताको कुल २५३ किमी लामो अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको छ । सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय महत्वका पूर्वाधार परियोजनामा सार्वजनिक–निजी साझेदारीमा लगानी जुटाउने तथा विकास गर्ने नोडल एजेन्सीको रूपमा रहेको लगानी बोर्डको क्षमता विकास र संस्थागत सुदृढीकरणमा विगत लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको बेलायत सरकारले प्राविधिक सहयोगलाई निरन्तरता दिने उल्लेख गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण–३ जलिवद्युत परियोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा रहेको बताए । लगानी बोर्डले कोभिड १९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्न आवश्यक सबै सहजीकरण गरेको उनको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठूला जलविद्युत परियोजनाहरूले विद्युतको माग सम्बोधन हुने बताए । साथै, उनले क्षेत्रीय विद्युत व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरूबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए ।

७९ वर्षमा राष्ट्रपति बनेका रामचन्द्र पौडेलको यस्तो छ जीवनी

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) छन् । मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेलको स्थायी बसोबास व्यास–८ बेलथुम्की तनहुँ हो भने हालको ठेगाना काठमाडौं–१६ बोहोराटार बालाजु हो । उनले शास्त्री (संस्कृत साहित्य, २०२४), स्नातकोत्तर (नेपाली साहित्य २०२७) शिक्षा लिएका छन् । विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गरेका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दैगर्दा विसं २०१७ जेठ–असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौं अधिवेशनमा प्रतिनिधि भएका थिए । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरीे प्रधानमन्त्री बिपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका हुन् । नन्दीरात्रि माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनले नन्दीरात्रि मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष, रानीपोखरी मावि विद्यार्थी सङ्घको अध्यक्ष, जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व गरेका थिए । उनी विसं २०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको हैसियतमा २०१९–२०२० सालमा उपत्यका आन्दोलनमा र २०२०–२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा उनी गिरफ्तार भएका थिए । कांग्रेस तनहुँको सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६)को जिम्मेवारी सम्हाल्नुभएका नेता पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित कांग्रेस तनहुँ समितिको संयोजक २०३७, कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख २०४० र विसं २०४३ मा कांगेस केन्द्रीय सदस्य भएका थिए । कांगेस केन्द्रीय महामन्त्री (२०६२–२०६४), कांगेस केन्द्रीय उपसभापति (२०६४–२०७२), कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) भएका पौडेल २०७२ सालमा कांग्रेसको केन्द्रीय कार्यवाहक सभापति भएका थिए । भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं २०१८ मा काठमाडौंबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोगेका पौडेल विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार हुनुका साथै त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनका क्रममा राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका थिए । उहाँ २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४, २०७० मा लगातार प्रतिनिधिसभा निर्वाचन र संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । निर्वाचनपछि पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, विसं २०४९ मा कृषिमन्त्री भएका उनी २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । पौडेल २०५६ साल र त्यसपछि उपप्रधान तथा सूचना/सञ्चार मन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधान तथा गृहमन्त्री हुनुका साथै शान्ति समितिको संयोजक (२०६१–२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३–२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४–२०७०) को जिम्मेवारी सम्हालेका थिए । पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’को सम्मान– सन् २०२०) लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् । उनका नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५, नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद २०७५, कृषिक्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग २०७९, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास (माघ १९ को काण्डपछि)लगायत दर्जनौँ पुस्तक तथा विभिन्न विषयमा पत्रपत्रिका तथा अनलाइनमा समसामयिक लेख रचना प्रकाशित छन् । विसं २०२५ मा बिपी कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि तत्कालीन विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल जानु भई अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिएका थिए । त्यहाँ बिपीसँग पौडेलको पहिलो भेट भएको थियो । त्यसबेला बिपीले पौडेलसँगै जेलमा रहेका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेटेका थिए । राजनीतिक जीवनमा विसं २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका उनी समाजवादी चिन्तक र प्रयोगकर्ता तथा स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी हुनुका साथै स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याताको विशेष पहिचान बनाएका छन् । कांगे्रसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रूपमा परिचित उनले पार्टीका तत्कालीन सभापति बिपी कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैँ मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह गरेका थिए । यसैगरी सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका उनी विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुन् । पौडेलले नेपालका सबै जिल्ला तथा भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशको भ्रमण गरेका छन् । रासस