अर्थ मन्त्रालय भन्छ : कर्मचारीलाई तलब खुवाउन पनि समस्या आयो, मन्त्री नहुँदा झनै सकस
काठमाडौं । अर्थमन्त्रालयमा मन्त्री नहुँदा समस्या परेको मन्त्रालयका अधिकारीहरुले गुनासो गरेका छन् । गत फागुन १५ गते तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बाहिरिएपछि मन्त्रालय नेतृत्वविहीन हुँदा खर्चको व्यवस्थापन लगायतका महत्वपूर्ण निर्णय लिँदा सकस परेको मन्त्रालयका अधिकारीहरुले गुनासो गरेका हुन् । मन्त्रालय स्रोतका अनुसार अहिले मन्त्रालयमा मन्त्री नहुँदा खर्च व्यवस्थापनमा ठूलो समस्या देखिएको छ भने कर्मचारीलाई पनि तलब खुबाउन समस्या पर्ने अवस्था सिर्जना भइरहेको छ । ‘राजश्व संकलन कम हुँदा सरकारी कर्मचारीलाई समेत तलब खुवाउन नसक्ने अवस्था आइसक्यो, मन्त्री नहुँदा धेरै समस्या देखिन सुरु भैसकेको छ’, मन्त्रालय स्रोतले भन्यो, ‘अहिले संवेदनशिल अवस्थामा देश पुुगेको छ, राजश्व संकलन कम हुँदा सरकारको आम्दानीभन्दा खर्ब बढी भएको छ, त्यस्तो अवस्थामा सबै म्यानेज गर्ने नेतृत्व नै नभएपछि झन समस्या थपिएको छ ।’ स्रोतका अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा न्यून राजश्व संकलन हुँदा सरकारी स्रोतमा चाप देखिएको छ । ‘आन्तरिक ऋणको ब्याजको खर्च समेत बढेको छ, सरकारी कोषमा चाप परेको छ, वैैदेशिक सहायता आएको छैन, आन्तरिक ऋण भुक्तानीमा समेत समस्या छ, यस्तो बेलामा सक्षम नेतृत्वको आवश्यक हो, तर चाहिने बेलामा नै खालि भयो,’ स्रोतले भन्यो । डेढ खर्ब नोक्सानमा सरकारी कोष बिहीबारसम्म सरकारी कोष डेढ खर्ब बढी नोक्सानीमा रहेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारी कोष एक खर्ब ५५ अर्ब ५६ करोड १६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । बिहीबारसम्म सरकारको आम्दानी ६ खर्ब ५ अर्ब ६७ करोड २९ लाख रुपैयाँहुँदा खर्च ७ खर्ब ६१ अर्ब २३ करोड ४५ लाख रुपैयाँ पुगेको हो । सरकारले चालू वर्षको हालसम्म ५ खर्ब १० अर्ब ९४ करोड ७१ लाख रुपैयाँ कर, ५४ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ गैरकर, ४ अर्ब ८० करोड रुपैयाँ अनुदान र अन्य शीर्षकमा ३५ अर्ब १६ करोड रुपैयाँ प्राप्ती गरेको छ । खर्चतर्फ चालू शीर्षकमा पाँच खर्ब ९४ अर्ब ५२ करोड १९ लाख रुपैयाँ खर्च भएको छ । चालु आवमा सरकारले उक्त शीर्षकमा सरकारले ११ खर्ब ८३ अर्ब खर्च गर्ने लक्ष्य लिएको छ । यस्तै, विकास खर्चतर्फ तीन खर्ब ८० अर्ब खर्च गर्ने लक्ष्य रहेकोमा फागुन २६ गतेसम्म ८१ अर्ब ५५ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । वित्तिय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब विनियोजन भएकोमा हालसम्म ८५ अर्ब १५ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ । पछिल्लो समय देशको अर्थतन्त्रको विषयमा अर्थविददेखि सर्वसाधारणले समेत चासो देखाउन थालेका छन् । सरकारको आम्दानीभन्दा खर्च बढी भएपछि अर्थ मन्त्रालयले नै माताहतका सबै निकायको खर्च कटौति गर्न निर्देशन दिएपछिका विकसित घटनाक्रमहरुले धेरैलाई चिन्तित बनाएको छ । सरकारी कर्मचारीको तलब, निवृत्तभरण र सामाजिक सुरक्षा, रासायनिक मल आपूर्ति र विपद् व्यवस्थापनका लागि अनुमानभन्दा खर्च बढी भएको भन्दै अर्थ मन्त्रालयले नै चालू खर्चको भार थपिएको बताइएको छ । गत माघ १७ गते एक सूचना जारी गर्दै मन्त्रालयले कोभिड १९ को प्रभाव, युक्रेन–रसियाको युद्ध तथा अन्य बाह्य कारणहरुबाट विश्वव्यापी रुपमा आपूर्ति श्रृखलामा परेको प्रतिकुल प्रभाव र बाह क्षेत्रमा परेको चाप व्यवस्थापनका कारण देशभित्रको आर्थिक गतिविधिमा संकुचन आएको धेरैको बुझाइ छ । आर्थिक गतिविधिमा संकुचन हुँदा चालू आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन नभएको, बजेटरी सहायता समयमा प्राप्त नभएको, आन्तरिक ऋणको व्याजदर बढ्नुका साथै नेपाली मुद्रा अमेरिकी डलरसँग कमजोर हुँदा वैदेशिक ऋणको सावाँ तथा ब्याज भुक्तानी गर्न विनियोजन गरिएको रकम अपर्याप्त भएको अर्थमन्त्रालयले बताएको छ । यस्तै, चालू आर्थिक वर्षमा रावश्व संकलन कम हुँदा प्रदेश तथा स्थानीय तहको अनिवार्य दायित्वको व्यवस्थापन गर्न समेत थप स्रोत व्यवस्थापन गर्नुपर्ने देखिएको अर्थले यसअघि नै जारी गरेको विज्ञप्तीमा उल्लेख छ । अर्थले नै सबै स्रोत सन्तोषजनक नहुँदा सरकारी कर्मचारी र अन्य चालू खर्च धान्न नै मुस्किल पर्न सक्ने संकेत गरिसकेको छ । अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भने मन्त्रालयले गर्ने नियमित काममा कुनै समस्या नभएपनि ठूलो निर्णय लिन भने समस्या भएको बताए । ‘अहिले हामी आगामी आर्थिक वर्षको २०८०/८१ को लागि बजेट निर्माणको तयारीमा छौँ, राजश्व परमर्श समिति गठन भैसकेको छ, बजेट निर्माणको आर्थिक विधेयक सम्बन्धी काम त्यहीबाट हुन्छ, मन्त्रालयहरुलाई राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ तोकेको छ’ उनल भने, ‘त्यहीअनुसार मन्त्रालयले बजेटको सिलिङ बनाएर पेश गर्ने हो, सबै मन्त्रालयबाट रिफारिस आएपछि नेतृत्वको आवश्यक पर्छ, त्यतिबेलासम्म मन्त्रीज्यू आइसक्नुहोला, अहिले मन्त्रीनहुँदा काम नै रोकियो भन्ने अवस्था आइसकेको छैन ।’ उनले आवश्यक पर्दा प्रधानमन्त्रीसमक्ष फाइलहरु पठाएर काम हुने गरेको छ । अहिले अर्थमन्त्रालयको नेतृत्व पनि स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गरिरहेका छन् ।
स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण गरिँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्न लागिएको छ । उनले देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गरिने बताए । यस्तै, निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने तय भएको छ । रासस
उन्नति सहकार्य लघुवित्तका सेयरधनीको हात खाली, लाभांश नपाउने
काठमाडौं । यो वर्ष उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीको हात खाली हुने भएको हो । फागुन २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, उक्त बैठकले उक्त आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यस्तै, अघिल्लो आवमा संस्थाले सेयरधनीलाई १७.८१ प्रतिशत बोनस सेयर वितरण गरको थियो ।
पर्वतको सातु युरोप अमेरिकामा लोकप्रिय, प्रतिकिलो चार सय रुपैयाँ मात्रै
पर्वत । विभिन्न अन्न भुटेर-पिसेर बनाइने सातु सामान्य खाजाका रूपमा लिइने गरिन्छ । पहिले-पहिले लामो यात्रामा हिँड्दा बाटामा खानका लागि सातु बनाएर लगिन्थ्यो । बालबालिका र वृद्धवृद्धाका लागि खाजाको रूपमा यो प्रयोग गरिन्थ्यो । त्यही सातु अहिले विदेश निर्यात गर्न थालिएको छ । पर्वतको फलेबास नगरपालिका-४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन गरेको सातु युरोप, अमेरिका निर्यात गर्न थालेको हो । गाउँघरमा आयातित जङ्क फुडको प्रयोग बढ्दै जाँदा अन्नपातको प्रयोग घट्दै गएको छ । सरकारले नै बजेटको व्यवस्था गरेर सामुदायिक विद्यालयमा दिवा खाजामा जङ्क फुड निषेध गरेको छ । स्थानीयस्तरमा उत्पादित वस्तुबाट बनाइएको सातु विदेश निर्यात हुन थालेपछि उद्यमी र कृषक हर्षित भएका छन् । मकै, भटमास, गहुँ, जौँलगायत अन्न प्रशोधन गरी तयार पारेको सातु विभिन्न मुलुकमा निर्यात गर्दै आएको उद्यमी थानेश्वर भुसालले बताए । उनले एक दशकदेखि लप्सीको अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डीजस्ता परिकार विभिन्न मुलुकमा निर्यात गर्दै आएका थिए । तिनै देशबाट मकै, भट्टको परिकारसमेत माग भएपछि ‘पोसिलो सातु’ नाम दिएर उत्पादन थालेपछि यसले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको हो । ‘पहिला विदेश बस्ने नेपालीले कोसेलीका रूपमा लैजान्थे,’ उनले भने, ‘त्यो देखेर त्यहाँका नेपाली सुपरमार्केटमा यसको माग भएपछि लप्सी, अदुवा र अमलाका परिकारसँगै सातु पनि पठाउन थालेको हुँ ।’ नेपालका लघुउद्यम र उत्पादित वस्तुको बारेमा अध्ययन गर्न आएका विदेशी नागरिकले भुसालको उद्योगमै आएर काम सिक्ने र यहाँको उत्पादन बिक्रीका लागि त्यहाँ लैजाने गरेको उनले बताए । ‘यस वर्ष पनि तीन विदेशीले काम सिकेर सातु, अचारलगायत प्याकेजिङ गरी बिक्रीका लागि लगेका छन्,’ उनले भने । जर्मनी, क्यानडा, चीन, अमेरिका, भारतलगायत मुलुकबाट उद्योगमा काम सिक्न र अध्ययनका लागि आउने गरेका छन् । हालसम्म उनले क्यानडा, अष्ट्रेलिया र अमेरिकामा सातु व्यावसायिकरूपमै पठाएका छन् । स्थानीय र विदेशी बजारमा एउटै मूल्यमा सातु बिक्री हुने गरेको छ । ‘फरक मूल्य राखेको छैन,’ भुसालले भने, ‘बजारमा स्थापित हुन एउटै मूल्य राखेको हुँ ।’ उनले प्रतिकिलो चार सय रुपैयाँ राखेका छन् । उद्यमी भुसालले गाउँकै किसानले उत्पादन गरेको मकै, भटमास, फापर, केराउलगायत मिश्रणबाट पोसिलो खाजा उत्पादन सुरु गरेको पाँच वर्ष भएको छ । उनले उत्पादन गरेको सातु सुरुका दुई वर्ष जिल्लाका विभिन्न खाद्य पसल, हुँदै विगत तीन वर्षयता देशबाहिर निर्यात हुन थालेको हो । उनले मुडिकुवामा २२ वर्षदेखि पर्वत खाद्य प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । अहिले उद्योगले लप्सी, अमला, बेसार, अदुवा, मकै, फापर, कोदो, गहुँ, भटमासलगायतबाट दुई दर्जन बढी परिकार उत्पादन गर्दै आएको छ । अर्ग्यानिक उत्पादनसँगै त्यस्तै अनाजबाट उत्पादित खाजाको माग भइरहेकाले सातु बनाएर बिक्री गर्न थालेको भुसालले बताए । गाउँमा माग नभए पनि बजार र वैदेशिक रोजगारीमा जानेले यस्तो परिकारको माग गर्ने गरेका उनको भनाइ छ । ‘गाउँमा सुरु-सुरुमा यस्तो सातु घरघरै हुन्छ, के तमासा गरेको भनेर पनि जिस्क्याए,’ उनले भने, ‘मैले बनाउन छोडिन, अहिले विस्तारै बजार क्षेत्र र गाउँमा पनि खोज्न थालेका छन् ।’ गत वर्ष एक टन सातु विदेश निर्यात गरेको उनको भनाइ छ । भुसालले यस वर्ष झन्डै पाँच टन सातु उत्पादन गर्ने तयारी गरेका छन् । गाउँमै सञ्चालित उद्योगमा मकै, गहुँ, भटमास, चनालगायतका उत्पादनले उचित मूल्य पाउन थालेपछि किसान दङ्ग छन् । ‘अहिले मकैको मूल्य राम्रै छ,’ फलेवास-६ की चन्द्रकला भुसालले भनिन्, ‘मुडिकुवामा सातु उद्योग खुलेपछि हामीले मकैको ग्रेडिङ गरेर बिक्री गर्न थालेका छौं ।’ गाउँमा प्रतिपाथी एक सय रुपैयाँमा बिक्री नहुने मकै हाल एक सय ५० देखि दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ । सातुमा उपयोग हुने चना, काजु, बदामलगायत केही अन्न भने जिल्लाबाहिरबाट मगाउनुपरेको भुसालले बताइन् । भुसाललाई सातु बनाउने मेसिन गण्डकी प्रदेश सरकारले अनुदानमा उपलब्ध गराएको हो । उनले उत्पादन गरेको सातु हाल नजिकको कुश्मा बजारमा खाद्य पसल, पर्वत अस्पतालमा सञ्चालित पोषणगृह तथा पोखरालगायत बजारमा समेत माग भइरहेको छ । गाउँघरमा उत्पादित अर्ग्यानिक पौष्टिक अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र वृद्धवृद्धाले उद्योगमा उत्पादित सातु स्वास्थ्यका लागि पनि लाभदायक हुने स्वास्थ्यकर्मी बताउँछन् । मकै, भटमासलगायतका परिकारबाट बनेको हुनाले ग्यास्ट्रिक, अम्लियपन हुने, अपच हुनेलगायतको समस्या समाधान मात्रै नभएर पौष्टिकतामा समेत सातु उत्कृष्ट परिकार भएको फलेवासका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटा बताउँछन् । रासस
२५० सीसीका मोटरहेड बाइक किन्दा ४० हजारसम्म नगद छुट, मूल्य पाँच लाखसम्म
काठमाडौं । बाइक चढ्नु एउटा वर्गको लागि आवश्यकता हो भने अर्को वर्गको लागि ‘प्यासन’ पनि हो । पछिल्लो समयका युवा पुस्तामा बाइकप्रतिको क्रेज बढ्दै गएको देखिन्छ । युवाहरुको बाइकप्रतिको आकर्षणलाई ध्यानमा राखेर ‘मोटरहेड’ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले अफ र अन रोडका विभिन्न आकर्षक मोडेलका बाइकहरु बजारमा ल्याएको छ । मोटरहेडले विशेष गरी डर्टका विभिन्न सेगमेन्टका बाइकहरू बिक्री गर्ने गर्छ । नेपालको दुई पांग्रे बाइक बजारमा कम्पनीले छुट्टै पहिचान बनाउने प्रयत्न गरिरहेको छ । जसमा सफलता पनि प्राप्त हुँदै गएको दाबी कम्पनीको छ । अहिले बजारमा प्रिमियम गुणस्तर र सुविधासहितका मोटरहेडका २५० सीसीका पेट्रोलियम बाइकको माग उच्च रहेको पनि कम्पनीले जनाएको छ । पछिल्लो समयमा ‘मोटरहेड’ लाई नेपाली बाटो सुहाउँदो बाइकको रुपमा चिन्ने गरिएको छ । कम्पनीकी स्वरुम इन्चार्ज संगिता कम्पनीसँग अहिले विभिन्न नामक ६ सेगमेन्टका बाइक उपलब्ध रहेको बताउँछिन् । उनका अनुसार बजारमा अहिले मोटरहेडका २५० सीसीको ४ वटा, २०० सीसीको एक वटा र १५० सीसीको एक वटा गरी जम्मा ६ वटा मोडलका बाइक उपलब्ध छन् । अहिले मोटरहेडले आफ्नो बाइकमा ग्राहकहरुलाई लक्षित गरेर स्टक किल्यरेन्स अफर पनि ल्याएको छ । ‘अफरमा मोटरहेडका दुई पांग्रे सवारीको खरिदमा २५ देखि ४० हजार रुपैयाँसम्म नगद छुट पाइन्छ’, महर्जनले भनिन् । क्लियरेन्स अफरमा नगद छुट मात्रै होइन, कम्पनीले बाइक किन्दा हेलमेट पनि निःशुल्क दिन्छ । मोटरहेडका बाइक किन्दा नाम सारी खर्च र एक वर्षसम्मको सडक कर पनि कम्पनीले नै बेहोर्ने महर्जनले बताउँछिन् । ग्राहकहरुलाई सजिलो होस भनेर कम्पनीले विभिन्न मोडलका बाइकको नाम तथा फिचर र मूल्यलाई आफ्नै वेबसाइटमै राख्दिएको छ । जसले गर्दा मोटरहेड ब्राण्ड मन पराउने ग्राहकहरुले सबै अनलाइन माध्यमबाट नै सबै विषय बुझेर बाइक किन्ने निर्णय गर्न सक्छन् । स्पोर्ट २५० मोटरहेड कम्पनीले बिक्री गर्दै आइरहेको मध्ये अधिकांशको रोजाइमा पर्ने बाइक हो ‘स्पोर्ट २५०’ । आकर्षक विशेषता र स्मार्ट लुक्स भएकाले पनि यो बाइकमा धेरै युवाहरुको आकर्षण रहेको देखिन्छ । २५० सीसी डिसप्लेसमेन्ट रहेको यस बाइक २ वटा भर्सनमा उपलब्ध छ । एउटा डर्ट र अर्काे मोटाड (रोड) भर्सनमा उपलब्ध रहेको संगिता महर्जनले बताइन् । उनका अनुसार अफ-रोड टायर डर्टको ४ लाख ३० हजार र रोड भर्सनका बाइक ४ लाख ३५ हजार रुपैयाँ पर्छ । यी दुई बाइकमा टायरको मात्र फरक छ । एउटामा डर्ट टायर र अर्कोमा मोटाड टायर जडान भएको छ । कम्पनीका अनुसार यो बाइक ब्लु र रेड दुई कलरमा पाउन सकिन्छ । स्पोर्ट २५० मा २५० सीसीको इनर ब्यालेन्सर इन्जिन रहेको छ, जुन इन्जिनले १९ बीएचपी पावर तथा ६ हजार ५ सय आरपीएममा २० एमएम टर्क उत्पादन गर्दछ । यो बाइकमा ६ स्पिडको गियरवक्स दिइएको छ । बाइकमा ७ लिटर इन्धन अट्ने ट्याङ्कीको जडान गरिएको छ । ३० किलोमिटर प्रतिलिटर माइलेज दिने पनि बताइएको छ । बाइकमा हाइड्रोलिक डिस्क ब्रेक सिस्टम छ । स्क्रयाम्बल २५० मोटरहेडको स्क्र्याम्बल २५० लामो यात्राको लागि सबैभन्दा बढी उपयुक्त मानिन्छ । यस बाइकको डिस्पलेसमेन्ट २५० सीसी रहेको छ । बाइकमा कूलिङ सिस्टम ओयल-कूल्ड रहेको छ । प्रतिघण्टा १२० किलोमिटरको टप स्पिडमा बाइकमा चढेर यात्रा गर्न सकिन्छ । बाइकमा यूयसपी चार्ज पोर्टहरू पनि दिएको छ । जसको प्रयोग गरेर लङ रुटमा यात्रा गर्दा फोन चार्जको सुविधा लिन सकिन्छ । स्क्र्याम्बल २५० मा १४ लिटर इन्धन अटाउँछ । बाइकको ग्राउन्ड क्लियरेन्स २७० मिलिमिटर रहेको छ । उक्त बाइकमा सेल्फस्टार्ट बटन छ । बाइकको पिक पावर १९ बीएचपीको हर्ज पावर र ८००० आरपीएम रहेको छ । ओयल कूल्ड इन्जिन रहेको यस बाइको मूल्य ४ लाख ९५ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । एक्स-टोर्क २५० मोटरहेडका अन्य मोडल जस्तै २५० सीसी सेगमेन्टमा रुचाइएको मोडल हो ‘एक्स-टोर्क २५०’ । यस बाइकमा पनि सुविधा सम्पन्न फिचरहरू समावेश छन् । त्यसैले पनि होला यस बाइकलाई अधिकांशले रुचाएको पाइन्छ । कम्पनीले अहिले एक्स-टोर्क २५० लाई ३ लाख ९० हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । एक्स-टोर्क २५० मोडलको यस बाइकले २५० सीसीको डिस्पलेसमेन्ट दिन्छ । यो बाइकको इन्जिनमा ५ स्पिड गियरबक्स ट्रान्समिसन रहेको छ । बाइकलाई प्रतिघण्टा १२० किलोमिटर टप स्पिडमा कुदाउन सकिन्छ । एक्स-टोर्क २५० ले २० बीएचपीको पावर र १९ एनएम टर्क उत्पादन गर्छ । एभरेजमा यो बाइकले ३० देखि ३५ सम्मको माइलेज दिन्छ । एक्स-टोर्क २५० को कर्ब तौल १२२ किलो रहेको यो बाइक दुई वटा भर्सनमा पाइन्छ । बाइकको ग्राउन्ड क्लियरेन्स ३१० मिलिमिटर रहेको छ । यस बाइमा १२ लिटर पेट्रोल अटाउँछ । डर्ट बाइक भएकाले राइडरको सेप्टीको लागि एक्स-टोर्क २५० उपयुक्त हुने पनि कम्पनीले बताएको छ । सो बाइकमा राइड-बाई-वायर, मल्टिमोड ट्रयाक्सन कन्ट्रोल, सुपेरियर मोनोक्रस सस्पेन्सन जस्ता टप क्लास फिचरहरू उपलब्ध रहेका छन् । टेक्कन आर २५० टेक्कन आर २५० बाइक नेपालको सबै भूभागको लागि सुहाउँदो बाइक मानिन्छ । सो बाइकमा फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिक अप र पावर रहेको छ । आर-२५० को अधिकतम गति १२० किलोमिटर प्रतिघण्टा रहने कम्पनीले जनाएको छ । टेकन आरको लम्बाई २१४५ एमएम, चौडाई ८५० एमएम, उचाई ११७५ एमएम, १३९० एमएम ह्वीलवेस र २६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । टेकन आर-२५० मा २२३ सीसीको इनर व्यालेन्सर इन्जिन रहेको छ, जुन इन्जिनले ८ हजार आरपीएममा १६.७६ बीएचपी पावर तथा ६ हजार ५ सय आरपीएममा १७ एमएम टर्क उत्पादन गर्दछ । सो बाइकमा ६ स्पिडको गियरबक्स दिइएको छ । उक्त बाइकमा १४ लिटर प्रेटोल अट्ने ट्यांकी रहेको यस बाइककोे तौल १३२ केजी हुन्छ । मोटरहेड टेक्कन आर २५० मा अल डिजिटल इन्स्टयुमेन्ट प्यानल, डबल डिस्कब्रेक, कडा च्यासीस, आधुनिक ग्राफिक्स, स्टाइलीस हेडलाईट, स्लीक सेप इन्डिकेटर, इनबिल्ट लेगगार्ड लगायतका फिचर्सहरु सामाबेश गरीएको छ । साथै यस बाइकमा ठूलो टायर दिइएको छ र सबै लाइटमा एलइडी प्रयोग गरिएको छ । टेकन आर-२५० बाइकको शुरुवाती नेपाली बजार मूल्य ४ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । नेपालमा यो बाइक ग्रे हवाइट र ग्रे गरी दुई वटा कलरमा किन्न पाइन्छ । एमएच १५० आर मोटरहेडको अन्य मोडल जस्तै १५० सीसी सेगमेन्टमा अन्तर्गत अधिकतम रुचाइएको मोडल हो एमएच १५० आर । बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । जसले १४ बीएचपी पावर र १३ एनएम टर्क जेनेरेट गर्छ । एमएच १५० आरमा आधुनिक प्रविधिको ग्राफिक्स भएको बाइक हो । डर्ट बाइकमा नयाँ अनुभव लिन चाहने ग्राहकलाई यो बाइक उपयुक्त हुन सक्छ । कम्पनीले नेपालमा यस बाइकको मूल्य ३ लाख १० हजार रुपैयाँ निर्धारण गरेको छ । एमएच १५० आरमा इन्जिन र अन्य प्राविधिक कुराहरू समेत अपग्रेड भएर अपग्रेडेड एमएच १५० आर आएको हो । कम्पनीले एमएच १५० आर सेमि डर्ट भर्सनमा उपलब्ध रहेको बताएको छ । यो बाइकलाई अफरोड र सहरी क्षेत्रमा मज्जाले कुदाउन सकिने कम्पनीको भनाइ छ । सो बाइक नेपाली बजारमा रातो कलरमा उपलब्ध छ ।
जहाजको इन्जिनमा आगो लागेपछि क्यानले रोक्यो श्री एयरलाइन्सका सबै उडान
फाइल फाेटाे काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सम्पूर्ण उडान ग्राउण्डेड गरेको छ । बिहीबार बसेको क्यान बैठकले अर्काे निर्णय शुक्रबारदेखि लागु हुनेगरी अर्काे निर्णय नहुँदासम्म श्री एयरलाइन्सका सम्पूर्ण उडान ग्राउण्डेड गर्ने निर्णय गरेको हो । बिहीबार बिहान काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो । बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो । कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ । तर उडानका दौरान एक इन्जिन फेल हुनु गम्भीर उडान सुरक्षा इस्यु मानिन्छ । यहीकारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ । क्यानले यसअघि कर्मचारीलाई सेवासुविधा नदिएको भन्दै गुण एयरका सम्पूर्ण उडान ग्राउण्डेड गरेको छ । गत फागुन ८ गतेदेखि ग्राउण्डेड गरिएको जहाज अझै सञ्चालन हुन सकेको छैन् ।
रित्तिए गाउँ, भरिए बजार
ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला-ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए । स्थानीय तह बनेसँगै गाउँ-गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ । निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयत ठाउँ बजारमा परिणत हुँदै गएका छन् । गाउँमा विकासले गति लिए पनि सहर जाने क्रम रोकिएको छैन् । गाउँ रित्तिँदै तर बजार भरिँदै गएका तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले बताए । ‘अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ,’ उनले भने । तमानखोलाबाट बुर्तिबाङ झर्नेको सङ्ख्या बढी छ । योसँगै पोखरा, काठमाडौं, बुटवललगायत सहर बसाइँसराइ गर्ने अत्यधिक छन् । बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा बुढामगर बताउँछन् । ‘बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो, हुनेखाने सब सहर बजार जान थालेका छन्,’ अध्यक्ष बुढामगरले भने । निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजार बसाइँसराइ गर्नेको सङ्ख्या बढेको छ । बागलुङमा सबैभन्दा बढी गलकोट बसाइँसराइ रहेका गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी बताउँछन् । उनी भन्छन्, ‘गाउँमा विकास भइरहेकै छ, तर पनि बसाइँसराइ कम भएको छैन् ।’ गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँका घर जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको सङ्ख्या घट्दै गएको गलकोट-७ का विष्णु थापाले बताए । बसाइँसराइले गाउँ रित्तिदा उत्पादनमा कमी आएको छ । धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन् । गाउँ उराठ बन्दै गएका छन् । रासस
नेपाल एसबिआई बैंकले एटिएम मेसिनसहित स्थीर सम्पत्ति बेच्दै
काठमाडौं । नेपाल एसबिआई बैंकले गैह्र बैंकिङ्ग (स्थीर) सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो । बैंकको काठमाडौं महानगरपालिका २८ कमलादीमा रहेका पुराना सामान तथा स्थिर सम्पत्तिहरु जे जस्तो अबस्थामा छन् सोही अवस्थामा शिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्ने भएको हो । उक्त सम्पत्तिहरु खरिद गर्न इच्छुक व्यक्ति, वित्तीय संस्था, कम्पनी वा फर्महरुले बैंकको प्रधान कार्यालयको सामान्य सेवा विभागमा सम्पर्क गर्नुपर्नेछ । बैंकले एक थान ३२० केभीए साइलेन्ट डिजेल जेनेरटर, एक थान ट्रान्सफर्मर, एक÷एक थान एकाउन्ट ओपनिङ, डेबिट कार्ड प्रिन्टिङ र २ थान चेक डिपोजिट किओस्क र एटिएम मेसिन २ थान बिक्री गर्ने भएको हो । कति मुल्यमा खरिद गर्न चाहेको हो सोको व्यहोरा स्पष्ट बुझिने गरी बोलपत्र पेश गर्नुपर्नेछ । खरिद गर्न चाहेको प्रत्येक सामानको छुट्टा–छुट्टै रकम अंकित गनुपर्नेछ र प्रत्येक सामानको छुट्टा छुट्टै रकम अंकित बोलपत्र पेश गर्न सकिनेछ ।