विदेशको तुलनामा नेपालमा ब्याजवृद्धि न्यून, यस्तो छ चार देशको ब्याजदर

<p>काठमाडौं । पछिल्लो समय उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएको भन्दै आन्दोलित छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढी भएको भन्दै व्यापार व्यवसायमा पनि समस्या परेको उनीहरुको गुनासो छ । उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउन माग गर्दै विभिन्न निकायमा धाइरहेका पनि छन् । बैंकिङ्ग क्षेत्रमा तरलता अभाव हुँदा ब्याजदर बढाउनु परेको बैंकरहरु [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएको भन्दै आन्दोलित छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढी भएको भन्दै व्यापार व्यवसायमा पनि समस्या परेको उनीहरुको गुनासो छ ।

उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउन माग गर्दै विभिन्न निकायमा धाइरहेका पनि छन् । बैंकिङ्ग क्षेत्रमा तरलता अभाव हुँदा ब्याजदर बढाउनु परेको बैंकरहरु बताउँदै आएका छन् । केही उद्योगी व्यवसायीहरुले सडक आन्दोलन पनि गरिरहेका छन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सिथिल अर्थतन्त्र रुस र यूक्रेनबीच भएको युद्धका कारण पनि थप समस्यामा पर्यो । बजारमा वस्तुको मूल्यवृद्धि उच्च भएपछि लागत बढ्न पुग्यो । बैंकको ब्याजदर घटाउन चौतर्फी दबाव दिएपनि विश्वका अन्य देशहरुको तुलनामा नेपालको ब्याजदर खासै वृद्धि नभएको बैंकरहरु बताउँदै आएका छन् ।

नेपालमा ५ वर्षको अवधिमा ३५ प्रतिशतसम्म ब्याजदर बढेको तथ्यांकले देखाउँछ । सन् २०१९ मा नेपालमा बैंकको निक्षेपमा ९ प्रतिशत ब्याजदर थियो । जुन अहिले बढेर १२ प्रतिशतसम्म रहेको छ । जुन ५ वर्षको अवधिमा ३३ प्रतिशत मात्रै बढेको हो । अन्य देशको तुलनामा नेपालको ब्याजदर सस्तो रहेको बैंकरहरु बताउँछन् ।

नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष बसन्त लम्सालले अमेरिका, बेलायत लगायतका देशमा ब्याजदर बढेको तर नेपालमा सस्तो रहेको बताए । ‘अमेरिकामा कुनै बेला १ प्रतिशत ब्याजदर थियो भने अहिले ४÷५ प्रतिशत पुगेको छ, बेलायतमा ब्याजदर बढेको छ, नेपालको ब्याजदर अन्य देशको तुलनामा कम हो,’ उनले भने ।

विश्वका विभिन्न देशको ब्याजदर हेर्ने हो भने ६ वर्षको इतिहासमा ब्याज दोब्बरले बढेको छ । अमेरिका, बेलायत, यूरोप र भारतको ब्याजदरको अवस्था हेर्ने हो भने दोब्बरले बढेको छ ।

अमेरिकामा एक वर्षको अवधिमा ब्याजदर ८५० प्रतिशत बढेको छ । अमेरिकाको केन्द्रिय बैंकको तथ्याङ्क अनुसार जनवरी २०२२ देखि हालसम्म गरी एक वर्षको अवधिमा ८५० प्रतिशत ब्याजदर बढेको हो । जनवरी २०२२ मा ०.५ प्रतिशत ब्याजदर कायम थियो । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार हाल अमेरिकामा ४.७५ प्रतिशत ब्याजदर पुगेको छ । जुन अक्टोबर २००७ यताकै सबैभन्दा बढी हो ।

अमेरिकामा ५ वर्ष अघि अर्थात् सन् २०१९ मा २.५ प्रतिशत ब्याजदर थियो । केन्द्रिय बैंकले घटाउँदै सन् २०२० मा १.५ प्रतिशत र २०२१ मा ०.५ प्रतिशत झारेको थियो । तर, सन् २०२२ को जनवरीदेखि लगातार आठौं पटक ब्याजदर बढाएको हो ।

बेलायतमा एक वर्षको अवधिमा ९ सय प्रतिशत ब्याजदर बढेको छ । बैंक अफ इङ्गल्याण्डको तथ्याङ्क अनुसार जनवरी २०२२ मा बेलायतको ब्याजदर ०.४ प्रतिशत कायम थियो । जुन ९ सय प्रतिशत बढेर हाल ४ प्रतिशत ब्याजदर पुगेको बैंक अफ इङ्गल्याण्डले जनाएको छ ।

तथ्याङ्क अनुसार सन् २०१९ मा ०.८ प्रतिशत ब्याजदर कायम थियो । बैंकले ब्याजदर घटाएर सन् २०२१ मा ०.२ प्रतिशतमा झारेको थियो । तर, २०२२ को सुरुवातदेखि भने बढाउँदै हालसम्म कै उच्च ब्याजदर पुर्याएको हो ।

यूरोपमा ब्याजदर ३ प्रतिशत पुगेको छ । कुनै बेला ऋणात्मक रहेको ब्याजदर मार्च २०२३ मा पुग्दा ३ प्रतिशत पुगेको हो ।यूरोपियन केन्द्रीय बैंकको तथ्याङ्क अनुसार जनवरी २०२२ मा ब्याजदर शुन्य थियो । तर, एक वर्षको अवधिमा आइपुग्दा बढेर ३ प्रतिशत पुर्याएको हो ।

सन् २०१९, २०२० र २०२१ मा पनि यूरोपमा शून्य ब्याजदर थियो । सन् २०१४ बाट सन् २०२२ सम्म ऋणात्मक नीति अपनाउँदै आएको थियो । यसअघि निपेक्षकर्ताहरुले युरोपियन बैंकमा निपेक्ष जम्मा गर्दा बैंकलाई ०.५ प्रतिशत बुझाउनु पथ्र्याे । अब निक्षेपकर्ताले बैंकमा पैसा जम्मा गरे भने ३ प्रतिशत पाउन थालेका हुन् ।

भारतमा एक वर्षको अवधिमा ६३ प्रतिशत ब्याजदर बढेको छ । सन् २०२२ को जनवरीमा ४ प्रतिशत ब्याजदर रहेकोमा सन् २०२३ मार्चसम्म आईपुग्दा६३ प्रतिशत बढेर ६.५ प्रतिशत ब्याजदर पुगेको हो । रिजर्भ बैंक अफ इण्डियाका अनुसार सन् २०१९ मा ६.५ प्रतिशत ब्याजदर थियो । यस्तै, सन् २०२० मा ५.२ प्रतिशत र सन् २०२१ मा ४ प्रतिशत ब्याजदर कायम थियो ।

अर्थविद् डा.अच्युत वाग्ले नेपालको ब्याजदर विश्वकै सबैभन्दा उच्च ब्याजदर भएको बताउँछन् । हाल वाणिज्य बैंकको कूल लागत २० प्रतिशत र लघुवित्तको लागत २५ प्रतिशत पुगेको उनको भनाइ छ । राज्यको उद्यमशिलता प्रवद्र्धन गर्ने नीति नभएको र आफ्नै विनिमय दर नहुँदा ब्याजदर उच्च हुने गरेको उनले बताए ।

‘वाणिज्य बैंकको कूल लागत २० प्रतिशत र लघुवित्तको २५ प्रतिशत पुगेको छ, संसारको उच्च ब्याजदर हुने मुलुकमा नेपाल पर्छ, नेपालको ब्याजदर संसारको सबैभन्दा धेरै ब्याजदर भएको देशमा पर्छ,’ उनले भने ।

उनका अनुसार नेपालमा सट्टेबाजीमा लगानी बढेको छ । जग्गा, सेयर बजार, सुनको सट्टेबाजी बजार बढेको र पछिल्लो समय ब्यापार पनि सट्टेबाजीमा सञ्चालन हुन थालेको उनले बताए । उद्यम गरेर ब्यापार गरेको भए ब्याजदर नबढ्ने उनको तर्क छ ।

विश्वमा खाद्य संकट र इन्धनको मूल्य बढेका कारण ब्याजदर बढेको उनको भनाइ छ । वस्तु उत्पादन लागत बढेकाले ब्याजदर बढ्न पुगेको उनको बुझाइ छ ।

Share News