विकासन्युज

त्रास अनि आसमा लघुवित्तकर्मी

काठमाडौं । बंगलादेशमा जन्मिएको लघुवित्त नेपाली समाजमा सुरु भएको करिब तीन दशक भएको छ । नेपालको त्यो अत्यास लाग्दो गरिबी र सामाजिक विभेद न्यूनीकरणको लागि लघुवित्तको भूमिकालाई निषेधित गर्न सकिँदैन । मानव जीवनमा मानवीय स्वभाव तथा मानवीय आवश्यकता परिपूर्तिको लागि कर्जा तथा सापटी एक अभिन्न अंग जस्तै बनेको छ । जस्तै आर्थिक सफलताको लागि होस् वा व्यवसायिक सफलताको लागि, कर्जा लिनु बाध्यात्मक अवस्था छ । किनकी सम्पूर्ण मानिसहरुले व्यवसाय गर्न लाग्ने सबै रकम बचत गरेर राख्न सक्ने विषय होइन । मानव इतिहासको सुरुवाती चरण देखिनै हेर्ने हो भने कर्जा प्रवाह प्रणालीको फरक फरक रुपहरु देख्न सकिन्छ । सुरुवाती चरणमा आम मानिसलाई कर्जा आवश्यक पर्दा साहु माहाजनकोमा गएर घरजग्गा चल अचल सम्पत्ति बन्धक राखेर ऋण लिने अवस्था थियो जसमा चक्रवृत्ति व्याज प्रणाली थियो जसले गर्दा सावाको व्याज र व्याजको स्याजले धितो राखिएको सम्पत्ति बिरलै फिर्ता हुने गर्दथ्यो । ऊ बेलाको अशिक्षीत समाजमा वित्तीय साक्षरता हुने त कुरै भएन । अंकको पछाडी शून्ना थप्दै जाँदा त्यसले बन्धक राखिएको सम्पत्ति नै हडपिन्छ भन्ने ती निमुखा गरिब जनतालाई थाहा हुने कुरै भएन । समाज परिवर्तन हुँदै जाने क्रममा विस्तारै बैंकीङ्ग प्रणालीको विकास हुँदै गयो बैंकहरुको स्थापना हुँदै गए तर यी पनि धितो राख्न सक्ने र पहुँचवालाहरुका लागी मात्र काम लाग्ने र उपयोगी भयो । निमुखा गरिबको लागी यो प्रणाली पनि आकाशको फल जस्तै भयो । गरिबी न्युनीकरणको लागी पुनः विभिन्न बहसहरु सुरु हुन थाल्यो, जसका लागी एनजीयो नेपाल सरकारका विभिन्न औपचारिक तथा अनौपचारिक परियोजनाहरु मार्फत लघुबैंकिङ्ग प्रणालीको अभ्यास हुन थाले तर ती अभ्यासहरुले दीर्घकालीन रुपमा सफलता प्राप्त गर्ने देखिएन । फलस्वरुपः सुरु भयो लघुवित्त कार्यक्रम । नेपालको सन्दर्भमा लघुवित्तको इतिहासमा करिब तीन दशक लामो रहेको छ । चुलो चौकोमा मात्र सीमित महिलाहरुलाई वित्तीय साक्षरतासहित आर्थिक क्रियाकलाप मार्फत व्यवसायिक धारणमा विकास गराउनु नै लघुवित्तको प्रथम सफलता हो । यसैपनि विकट गाउँवस्तीमा बैंकिङ्ग कारोबार पुर्याउनु सहज विषय होइन । घामपानी धुवाधुलो केही कुराको प्रवाह नगरी विकट गाउँवस्तीमा जसको कुनै धितो राख्ने सम्पत्ति छैन जसलाई गाउँका हुनेखानेले एक रुपैयाँ पनि कर्जा पत्याउँदैन त्यस्ता वर्गको लागी लघुवित्त तीन दशकदेखि बिहानीको किरणझै झुल्किरहेको छ । बोल्न नजान्नेलाई बोल्न सिकायो पैसा नचिनेकालाई पैसा गन्दै व्यवसायबाट आम्दानी गर्दै पैसा गन्न सिकायो । भनिन्छ लघुवित्त महिला दिदीबहिनीहरुको माइती घर जस्तै हो किनकी गाउँका सोझा साझा दिदीबहिनीको दुःख पीडा मर्का बुझ्ने भनेकै लघुवित्तले हो । आजको नेपाली समाजमा कुनै गरिबले व्यवसाय गर्छु भन्दै गर्दा कुनै साहुमहाजनले कर्जा पत्याउनीवाला छैन तर हामी लघुवत्तकर्मीहरु भनिरहेका छौं की आउनुस् हे विकट तथा गाउँका दुरदराज गाउँवस्तीका गरिब आमा दिदीबहिनीहरु हामी तपाईंहरुको हातमा हात साथमासाथ दिएर तपाईंहरुको व्यवसायिक धारणालाई सफलताको शिखरमा पुर्याउन मदत गर्नेछौं । र, यो हामीले विगत तीस वर्षदेखि गरिरहेका छौं । गरिबी न्युनीकरणमा लघुवित्तको महत्वपूर्ण भूमिकालाई नकार्न सकिँदैन । विकट गाउँवस्तीमा वित्तीय साक्षरता र वित्तीय सचेतना फैलाउने यिनै लघुवित्तकर्मीहरु हुन् । तर आज यिनै लघुवित्तकर्मीहरु माथी समाजमा अपमान जनक व्यवहार गर्न थालिएको छ । गाउँ गाउँमा अराजक झुन्डहरु बनाएर लघुवित्तकर्मीहरुलाई धम्क्याउने पिट्ने आधारहीन आरोपहरु लगाएर फसाउन खोज्ने, कालोमोसो दल्ने यस्ता गतिवधिहरु बढेको देखिन्छ । अझ राष्ट्रीय स्तरका समाचार माध्यमहरुले समेत आधारहीन समाचार सम्पे्रषण गर्नुले त झन् आलो घाउमा नुन छरे जस्तै भएको छ । गाउँ शहरका चोकचोक गल्ली गल्लीदेखि सदनमा समेत लघुवित्तले ठगे लघुवित्तकर्मी अपराधी हुन भन्ने सुनिन्छ तर कहाँ को र कसरी ठगिए त भन्दै तथ्य माग्दा तथ्य भने कसैले प्रस्तुत गर्न सक्दैनन् । भर्खरै मात्र एकजना बिदामा बसेको कर्मचारीलाई नचाहिँदो परिकल्पना नै गर्न नसकिने आरोप लगाएर बजारमा किनमेल गर्दै गर्दा दुई चार जना अराजक तत्व मिलेर पिटेको र उल्टै नभएको आरोप लगाएर हिरासतमा पुर्याएको घटना हामीले देख्यौं । यसमा हामीले एक निर्दोष लघुवित्तकर्मीलाई अनाहकमा फसाउँदै गर्दा राज्य पक्षले गरेको सहयोग पनि छर्लङ्गै देखियो । यसले हामी लघुवित्तकर्मीलाई झनै त्रास फैलाएको छ विकट गाउँ वस्तीमा गएर काम गर्नुपर्ने मनोबल खस्कीएको छ ज्यान नै मार्नेसम्मको धम्कीहरु त कति हो कति । यसरी ज्यानै मार्ने धम्की दिँदै गर्दा भोली तलमाथि भयो भने त्यसको जिम्मा कसले लिने हो ? २३ हजार लघुवित्तकर्मीको जिम्मा राज्य र कथित संघर्ष समितिले लिनुपर्दछ । यहाँ गरिब जनतालाई कर्जाको व्याज महंगो भयो जनता ठगिए भनेर आन्दोलन गरिएको होइन आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्नको लागी गाउँमा ३६ प्रतिशतमा मात्रै नभई मिटर व्याजमा समेत पैसा लगानी गरी आफ्नो कमाइ खाने धन्दा सुचारु गर्न नपाएकोले सोझा साझा जनतालाई भ्रमित पारेर कथित संघर्ष समिति बनाएर आफ्नो कमाइ खाने धन्दा सुरक्षित पार्न खोजिएको हामीलाई थाहा नै छ । लघुवित्तबाट पनि केही गल्ती नै भएको छैन भन्ने होइन भएका गल्तीहरुलाई सुधार गर्न सकिन्छ । तर सुधारको कुनै कुरै नगरी लघुवित्त संस्था खारेज नै हुनु पर्दछ भन्नु भनेको केही मान्छेहरुको यसमा स्वार्थ पक्कै लुकेको छ । तर हामी यसो हुन दिँदैनौं न गरीब जनताको आशा भरोसाको केन्द्र लघुवित्तलाई धरासाही हुन दिन्छौं न त गरीब जनतालाई भ्रमित हुन दिन्छौं । र। अर्को यिनीहरुका झुटको खेती सधैं टिक्नेवाला पनि छैन । भ्रमित जनतालाई वित्तीय साक्षरता मार्फत पुनः वित्तीय प्रणालीमा हामी फर्काउने नै छौं । कसैले त अपराधि होस् भन्दै आरोप लगाउँदैमा हामी लघुवित्तकर्मीलाई कही फरक पर्नेवाला पनि छैन । तपाईंका प्रहारहरुले हामी लघुवित्तकर्मीहरुलाई झन् नयाँ कुरा सिकाएको छ । यसले हामीलाई थप मजबुत बनाएको छ । तपाईंहरुका भ्रम त्रास र धम्कीलाई चिर्दै एकदिन ती गरिब निमुखा जनताको आगनीमा सुनौलो बिहानी ल्याउने आस अझैपनि हामीमा छ । (लेखक न्यौपाने उन्नति सहकार्य लघुवित्त संस्थामा आवद्ध छन् )

सिबिआईएलको नाम परिवर्तन, राखियो सिटिजन्स क्यापिटल

काठमाडौं । सिबिआईएल क्यापिटलको नाम परिवर्तन भएको छ । चौथौ विशेष साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्दै सिटिजन्स क्यापिटल लिमिटेड राखेको छ । नयाँ नामसंगै नयाँ ढंगले ग्राहकवर्गमा विषेश योजनाहरु सहित प्रस्तुत हुन कम्पनीले बताएको छ । क्यापिटलका नयाँ योजनाहरुमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुलाई आइपीओ भरिदिने विशेष पिएमएस सेवा, डाक्टर पेशामा आवद्ध तथा अन्य पेशारक्षेत्रबाट सेवा निवृत व्यक्तित्वहरुलाई लक्षित गरी विभिन्न योजना साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने रहेका छन् । कम्पनीले नाम परिवर्तनको उपलक्षमा सो सेवा लिन चाहने पहिलो ५० ग्राहकहरुलाई वार्षिक संचालन शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिएको छ । क्यापिटलले विगत ७ वर्ष देखि सामूहिक लगानी कोष तथा लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेसन, धितोपत्र प्रत्याभूतिका साथै परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ । हाल कम्पनीले दुई अर्बभन्दा बढीको लागानी व्यवस्थापन तथा सिटिजन्स बैंक लगायका अन्य कम्पनीहरुलाई सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउदै आईरहेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ कार्यरत छन् ।

साढे ७ वर्षपछि शीतल निवासबाट बाहिरिन् विद्यादेवी भण्डारी (फोटोफिचर)

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी साढे ७ वर्षपछि शीतल निवासबाट बाहिरिएकी छन् । दुई कार्यकाल पूरा गरी सोमबार उनी शीतल निवासबाट बाहिरिएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै शीतल निवासबाट बाहिरिएकी हुन् । निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर विदाइ गरेका छन् । बुढानीलकण्ठस्थित निजी निवासमा मर्मतको क्रममा भएकाले उनी आज बालुवाटारस्थित छोरीको निवासमा गएको बताइएको छ । ‍ ‍

रविसँग चुनाव लड्ने उम्मेद्वारको चुनावी एजेण्डा : प्रतिमहिना १० हजार वृद्धभत्ता दिने

काठमाडौं । चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचनको तयारी थालिएको छ । चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचनको तयारी थालिएको हो । बैशाख १० गते उपचुनाव हुने मिति तय भइसकेको छ । उपचुनावको समय नजिकिएसँगै उम्मेदवारहरुले पनि चुनावी प्रचारप्रसार थालेका छन् सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने नै उम्मेद्वार बन्ने भएका छन् भने अन्य राजनीतिक दलबाट उम्मेदवार को भनेर निक्र्यौल भइसकेको छैन । सो क्षेत्रबाट स्वतन्त्रबाट प्रा.डा मोजराज बगाले उम्मेद्वार बन्ने भएका छन् । उनले चुनावी प्रचारप्रसार पनि थालिसकेका छन् । उनले आफुलाई निर्वाचित गरेको खण्डमा विभिन्न ११ वटा काम गर्ने भन्दै एजेण्डाहरु बनाएका छन् । उनको चुनावी घोषणापत्रमा प्रतिमहिना १० हजार रुपैयाँ वृद्धभत्ता उपलब्ध गराउनेदेखि निःशुल्क स्वास्थयबीमा प्रदान गर्ने विषय उल्लेख गरेका छन् । यस्तो छ उनको चुनावी घोषणापत्र

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शपथ लिएका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई ३३ हजार आठ सय दुई मतभार ल्याउँदै पराजित गर्दै विजयी भएका थिए ।

ललितपुरको युलेन्स स्कुलको दोस्रो युनिट काठमाडौंको बाँसबारीमा

काठमाडौं । ललितपुरको युलेन्स स्कुलले आफ्नो दोस्रो युनिट काठमाडौंको बाँसबारीमा सुरु गरेको छ। गत शनिबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले सो युनिटको उद्घाटन गरेकी थिइन् । बाँसबारीमा रहेको उक्त युनिटमा कक्षा १ देखि ८ सम्म यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने स्कुलले जनाएको छ । सन् २००६ बाट ललितपुरको खुमलटारबाट सञ्चालन हुँदै आएको युलेन्समा अभिभावक, कर्मचारी र युलेन्स फाउन्डेसन लगायत सबैको मेहनतका कारण दोस्रो युनिट सञ्चालन गर्न सफल भएको राणाले बताएकी थिइन् । उद्घाटन कार्यक्रममा अतिथिको रुपमा सहभागी भएका चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गुणस्तीय शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए। काठमाडौंको उत्तरी क्षेत्रलाई मध्यनजर गर्दै दोस्रो युनिट सञ्चालनमा ल्याएको स्कुलले जनाएको छ । युलेन्स एजुकेशन फाउण्डेशनका अध्यक्ष सोम पनेरुले लामो समयदेखि नेपालमा गुणस्तरीय शिक्षाको सबैको पहुँच दिलाउने उदेश्यले सञ्चालन भएको युलेन्स स्कुलको दोस्रो युनिट सुरु हुनु सफलता भएको बताएका थिए । परोपकारी गाइ र मरियम युलेन्स दम्पतीले नेपालको गुणस्तरीय शिक्षामा पुहुँच दिलाउने उदेश्यले सन् २००६ मा निश्चित रकम आर्थिक सहयोग गरेर सो स्कुल को शूरुवात भएको थियो । युलेन्स गैरनाफामुलुक स्कुल हो।

सेखुवा–चखेवाभञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

खोटाङ । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले गरेको निरीक्षणमा ठाउँ–ठाउँमा कम गुणस्तरको सब–वेस तयारी अवस्थामा राखिएको र ढलानमा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएको हो । सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) लामो सडकखण्ड ३२ करोडको लागतमा कालोपत्र गर्ने जिम्मा कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठमाडौंले पाएकामा निर्माण सुरु गरेको सात वर्षसम्म काम अलपत्र बनेको थियो । कजवे निर्माणका क्रममा मापदण्ड विपरीत बालुवा प्रयोग गरिएको भेटिएको समन्वय समिति प्रमुख राईले बताए । ‘निर्माण कम्पनीलाई कम गुणस्तरको निर्माण सामग्री हटाउन तथा माटो मिसिएको बालुवा प्रयोग गरेर निर्माण गरिएको स्ट्रक्चर भत्काएर पुनः गुणस्तरीय बालुवा प्रयोग गर्न निर्देशन दिइएको छ’, उनले भने, ‘निर्माण कम्पनीलाई स्ट्यान्डर्ड स्पेसिफिकेसन फर रोड एन्ड ब्रिज वर्कस्, २०७३ अनुसार गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न कागजसमेत गराइएको छ ।’ विसं २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरी उक्त निर्माण कम्पनीले विसं २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रका लागि सम्झौता गरे पनि सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद विसं २०७७ पुस १३, दोस्रो म्याद विसं २०७८ असार १३ र तेस्रोपल्ट थप भएको म्याद विसं २०७८ फागुन ३० गते सकिसकेको थियोे । नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनअन्तर्गत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएकामा निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रको काम सम्पन्न हुने अवस्था नदेखिएको समन्वय प्रमुख राईले बताए । ढिलासुस्ती भएपछि मध्यपहाडी लोकमार्ग योजनाको कार्यालयले ठेक्का तोड्न गत मङ्सिर १८ गते सडक विभागसमक्ष सिफारिस गरेपछि काम गरेको ठेकेदार कम्पनीले चैत पहिलो सातादेखि डिबिएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो तर ठेकेदारले आफ्नो ‘सेड्युल’ अनुसार काम नगरेको उनले जानकारी गराए । छिमेकी जिल्ला भोजपुरका बासिन्दाले समेत राजधानी काठमाडौं आवतजावतमा प्रयोग गर्ने उक्त सडक कालोपत्रको काम ठेकेदारले अलपत्र पारेपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालयले ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरेको थियो । उक्त कार्यालयले ठेक्का तोड्न सिफारिस गरेको केही समयपछि खोटाङको साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईको रोहवरमा मैनाचुली निर्माण सेवा कम्पनीका प्रतिनिधि मदनकुमार अधिकारीले कार्यतालिका बनाएर बाँकी काम आगामी असार मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । यसैबीच मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको पङ्खुखोला पुल निर्माणको काम रोकिएको छ । म्याद नाघेको वर्षौं बितेपछि निर्माणको काम सुरु भएको पङ्खुखोला पक्की पुलको काम पुनः रोकिएको हो । पङ्खु खोलामा अबुटमेन्ट र लिफ्ट ढलान गरिएकामा हाल निर्माणस्थलमा निर्माण सामग्री डण्डी, गिट्टी, बालुवा र सिमेन्ट नदेखिएकाले निर्माण कार्य रोकिएको पाइएको जिसस प्रमुख राईले बताउनुभयो । निर्माण कम्पनीलाई तत्काल आवश्यक निर्माण सामग्री ल्याएर उक्त निर्माणाधीन पक्की पुलको काम पुनः गर्न निर्देशन दिइएको बताइएको छ । रासस

पिएनजीमाथि नेपालको सानदार जित, ७ ओेभरमै जित्यो खेल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मानेपालले पिएनजीमाथि सानदार जित हासिल गरेको छ । नेपालले ७.४ ओभरमै पिएनजीमाथि जित हासिल गरेको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७.४ ओभरमा लक्ष्य भेट्टायो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे । २१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । त्यस्तै कुशल मल्लले १२ रन बनाए । पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै १०० रन बनायो ।