एसएमएल इसुजुको कमर्शियल गाडीहरुको फ्रि सर्भिस क्याम्प सुरु
काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस्ले सएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प सुरु भएको छ । फागुन २९ गते सोमबारबाट सुरु भएको क्याम्प चैत ६ गतेसम्म संचालन हुनेछ । काठमाडौंको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरबाट कम्पनीले निःशुल्क सर्भिस क्याम्प संचालन गरेको हो । यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा पनि १०० प्रतिशत छुट, बिशिष्टिकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशत सम्मको छुट, लुब्रिकेन्टहरुमा १५ प्रतिशत छुट, स्पेयर पार्टसहरुमा ५० प्रतिशतसम्मको छुट र विशेष गिफ्टहरु पाउने कम्पनीले बताएको छ । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरि आएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्शियल भेहिकलस्ले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिँदै आएको छ । एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ ।
एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारी भइरहेको बताए । ‘कुन-कुन मन्त्रालय लिने र क-कस्लाई मन्त्री बनाउने बिषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ’, उनले भने, ‘उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छाैँ ।’ नेपाली कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब-करिब सहमति भएको उनको भनाइ थियो । ‘कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन’, सांसद रिजालले भने, ‘पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन ।’ आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिका लागि तीनजनाको उम्मेदवारी परे पनि अन्तिम समयसम्ममा एकजना उम्मेदवारमा सहमति हुने जिकिर गर्दै उनले यस विषयमा गठबन्धन आवद्ध दलबीच प्रयास भइरहेको बताए । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल तटस्थ भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्दै नेता रिजालले राष्ट्रपति पौडेलबाट प्रजातन्त्रको स्थायित्व र संविधानको रक्षा हुने उल्लेख गरे ।
मनोहर दास मूलको अध्यक्षतामा यस्तो बन्यो सगरमाथा लुम्बिनीको सञ्चालक समिति
काठमाडौं । दुई निर्जीवन बीमा कम्पनी मर्जपश्चात बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति गठन भएको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले औपचारिक रुपमा एकीकृत कारोबार शुरु गर्नुअघि सञ्चालक समिति गठन गरेका हुन् । सोमबार बिहान बसेको दुबै कम्पनीको सञ्चालक समितिको बैठकले नयाँ सञ्चालक समिति गठन गरेको हो । जसको अध्यक्षमा मनोहर दास मूल नियुक्त भएका छन् । उनी साविकको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष समेत रहेका थिए । अध्यक्ष मूलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ समेत लिइसकेका छन् । यस्तै, सञ्चालकमा सिद्धार्थ मनी राजभण्डारी, अजिथ आर गुणवर्द्धने, गजेन्द्रलाल श्रेष्ठ, अरुण राज श्रेष्ठ र कमल भट्टराई नियुक्त भएका छन् । जसमध्ये सिद्धार्थ मनी राजभण्डारी, अजिथ आर गुणावर्दने र गजेन्द्रलाल श्रेष्ठ सगरमाथा इन्स्योरेन्सका सञ्चालक हुन् भने अरुण राज श्रेष्ठ र कमल भट्टराई लुम्बिनी जनरल इन्स्योरेन्सका हुन् । सञ्चालक अजिथ गुणवर्द्धनेले साविकको सगरमाथा इन्स्योरेन्समा श्रीलंकाको सेलिन्को इन्स्योरेन्स पिएलसीका संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए । त्यस्तै, नवनियुक्त सञ्चालकमध्ये गजेन्द्र लाल श्रेष्ठ र कमल भटृराईले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने भएका छन् भने बाँकीले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने छन् ।
अमेरिकाको सिग्नेचर बैंक पनि बन्द, क्रिप्टोकरेन्सीमा उच्च लगानी गर्नाले डुब्यो
काठमाडौं । अमेरिकाको सिग्नेचर बैंक पनि बन्द भर्एको छ । अमेरिकाको बैंक तथा वित्तीय संस्थाको नियामकले सिग्नेचर बैंक बन्द गरेर आफ्नो मातहतमा लिएको हो । गत शनिबार मात्रै सिलिकन भ्याली बैंक बन्द भएको थियो । त्यसको दुई दिनमै यो बैंक पनि बन्द भएको हो । अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले आइतबार साँझ संयूक्त विज्ञप्ति जारी गर्दै यो बैंक बन्द भएको उल्लेख गरेको हो । बैंक बन्द भए पनि उक्त बैंकमा रहेका निक्षेपकर्ताको सबै निक्षेप सुरक्षित हुने पनि बताइएको छ । यो बैंकले उच्च रुपमा क्रिप्टोकरेन्सीमा लगानी गरेकोले समस्यामा परेको बुभिएको छ । कुल निक्षेप ८८.६ बिलियन डलर रहेको यो बैंकका निक्षेपकर्ताले भने निक्षेप फिर्ता पाउने उल्लेख गरिएको छ । यसअघि बन्द भएको सिलिकन भ्याली बैंकको लगानी स्टार्टअपमा थियो ।
नेपालको पानी सबै किसिमको इन्धनको स्रोत बन्दै छ : कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भविष्यमा नेपालको पानी सबै किसिमको इन्धनको स्रोत बन्ने बताएका छन् । घिसिङले सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा सो कुरा बताएका हुन् । ‘नेपालको विद्युतबाट हाइड्रोजन निकालेर हाइड्रोजन सवारी प्रयोग गर्न सकिन्छ भने यही केमिकल फर्टिलाइजर पनि उत्पादन गर्न सकिने भएकाले भविष्यमा नेपालको पानी सबै किसिमको इन्धनको स्रोत बन्दैछ,’ उनले भने । सरकार इभी सँगगँगै हाइड्रोजन प्रविधिमा जान खोजि रहेका बताउँदै उनले सबैलाई विद्युतिय सवारी साधन प्रयोग गर्न आह्वान समेत गरेका छन् । विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरूप विद्युतिय सवारी साधनहरू आइरहेको पनि घिसिङले बताए । उनले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको र आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने जानकारी दिए ।
जीप छिरिङ लामा शेर्पालाई ‘एफक्यान ग्लोरी अवार्ड’
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पालाई प्रदान गरेको छ । एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ आयोजना गर्दै महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान दिएका महासंघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई उक्त अवार्ड दिएकाे हाे । एघारौं एफक्यान एक्सिलेन्स अवार्डमा कालिका कन्स्ट्रक्शनले पनि दुई महवपूर्ण विधामा अवार्ड जितेको छ । विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुई विधामा कालिकाले अवार्ड हात पारेको हो । ए क्लास तर्फ समयमै उत्कृष्ट काम गरेको विधा तर्फ सामानान्तर निर्माण सेवाले सिल्भर अवार्ड जित्दा ब्रोन्ज अवार्ड कन्काई इन्टरनेशनल बिल्डर्सले हात पारेको छ भने बी क्लास तर्फ यही विधामा सगुन कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङले गोल्ड अवार्ड जित्दा एस। एल कन्स्ट्रक्शन प्रा। लि ले सिल्भर अवार्ड हात पारेको छ । सी क्लासतर्फ यही विधामा नेशनल कन्स्ट्रक्शन कञ्चनपुरले गोल्ड र शिवालय बिल्र्डस् प्रा लि। काभ्रेले सिल्भर अवार्ड जितेको छ । बी क्लासतर्फ समयमै उत्कृष्ट काम गरे वापत् जय विष्णु निर्माण सेवाले सिल्भर अवार्ड, कोशी प्रदेशबाट क्लास डी तर्फ झापाको उद्देश्य निर्माण सेवाले उत्कष्ट अवार्ड जितेको छ । क्लास डीमा वागमती प्रदेशबाट तेज कन्स्ट्रक्शनले अवार्ड जित्दा गण्डकी प्रदेशबाट जि।एस इन्जिनियरिङले अवार्ड जित्न सफल भएको छ । यस्तै, कर्णाली प्रदेशबाट उत्तम निर्माण सेवा सुर्खेतले अवार्ड हात पारेको छ । उत्कष्ट जिल्ला निर्माण व्यवसायी संघहरू मध्येमा तराईबाट कैलालीले अवार्ड जित्दा पहाड र हिमालबाट क्रमश स् कास्की र सिन्धुपाल्चोकले अवार्ड जितको छ । उत्कष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड वागमती प्रदेश महासंघले जितेको छ । त्यस्तै, उत्कृष्ट महिला निर्माण व्यवसायीमा एस एल कन्स्ट्रक्शनकी गीता शाहीले अवार्ड जितिन् भने उत्कृष्ट सर्भिस प्रमोसन कन्सल्टिङ कम्पनीको अवार्ड आर्किटेक्ट कोल्याबोरेट नेपालले जितेको छ । त्यस्तै, कन्स्ट्रक्शन सेक्टर एक्सिलेन्स इन्जिनियर अवर्डा इन्जिनियर नरेन्द्रकुमार देवलाई प्रदान गरेको छ ।
ललितपुर महानगरले निजी स्कुलहरुको शुल्क निर्धारण गर्दै
ललितपुर । ललितपुर महानगरले निजी निजी स्कुलहरुले विद्यार्थीसँग लिने शुल्क निर्धारण गर्ने तयारी गरेको जनाएको छ । ललितपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले विकासन्युजसँग कुरा गर्दै महानगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरुलाई नियमावलीका आधारमा वर्गिकरण गरेर शुल्क ट्युसन शुल्क तोक्ने तयारी भएको बताएका हुन् । ललितपुर महानगरपालिकाभित्र चालु शैक्षिक शत्र सम्म दुई सय ४२ वटा निजी स्कुल सञ्चालनमा रहेका छन् । ललितपुर महानगरपालिकाले अहिलेसम्म शिक्षा सम्बन्धी कानूनी व्यवस्था वा ऐन बनाइसकेको छैन् । त्यसैले संघीय तहको शिक्षा नियमावलीको आधारमा नै शुल्क निर्धारण गर्ने तयारी भइरहेको प्रमुख क्षेत्रीले बताए । स्कुलहरुको भौतिक पूर्वाधार, जनशक्ति लगायतका विभिन्न विषयहरुलाई लिएर महानगरले अहिले स्कुलहरुको बर्गिकरण गर्ने काम गरिरहेको छ । सोही आधारमा आगामी शैक्षिक शत्रबाट लागु हुनेगरी निजी स्कुलहरुको शुल्क निर्धारण हुने महाशाखाले जनाएको छ । महानगरले ट्युसन शुल्क बाहेक अन्य शुल्कहरुको निर्धारण भने गर्दैन ।
२४ अंकले घट्यो सेयर बजार, नेप्से १९५१ विन्दुमा
काठमाडौं । पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २४ दशमलव ६८ अङ्कले घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा कायम भएको छ । आज दुई सय ५६ कम्पनीको ३३ लाख ६९ हजार एक सय ३६ कित्ता सेयर २६ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा एक अर्ब १६ करोड २५ लाख तीन हजार बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ६५ दशमलव ०१ अङ्कले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ८२ दशमलव ७४ अङ्कले र लघुवित्त समूहको उपसूचक ६० दशमलव ८४ अङ्कले घटेको छ । बैंकिङ समूह २० दशमलव ३६, विकास बैंक समूह ३७ दशमलव २२, वित्त समूह १३ दशमलव ८९, होटल तथा पर्यटन समूह २५ दशमलव १० र जलविद्युत् समूह १६ दशमलव ३५ अङ्कले घटेको छ । त्यसैगरी, लगानी समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन समूह ४४ दशमलव १२, व्यापार समूह ३० दशमलव ६१ र अन्य समूह १३ दशमलव ७४ अङ्कले घटेको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै शुभम् पावरको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ६२ अङ्कले घटेको छ । आज एनआइसी एसिया बैंकको छ करोड २४ लाख ५६ हजार सात सय ४५ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा अरुण भ्याली हाइड्रोपावरको एक लाख ६७ हजार पाँच सय ३९ कित्ता सेयर किनबेच भएको छ ।