विकासन्युज

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, गत वर्षकोभन्दा कम

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.९४ प्रतिशत लाभांश घोषणा गरेको हो । बैठकले ८.५० प्रतिशत बोनस सेयर र ०.४४७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश गत वर्षको भन्दा ६.३१ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले १५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

महानगरले १३ करोडको लगानीमा एक दर्जन पार्क बनाउँदै, बालेनको प्राथमिकतामा यम बुद्ध पार्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० मा १२ वटा पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाले विभिन्न वडामा सुविधा सम्पन्न आधुनिक पार्क बनाउन लागेको हो । महानगरले चालू आर्थिक वर्षको वार्षिक कार्ययोजनामा समावेश गरेअनुरुप पार्क निर्माणको काम अगाडि बढाउने भएको हो । महानगरपालिकाका अनुसार धेरै जसो पार्क निर्माणको काम चालू आव भित्रबाटै सुरु हुनेछ । महानगर भित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ यो वर्ष पनि पार्क निर्माण गर्न लागेको महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुख राम बहादुर थापाले जानकारी दिए । महानगरपालिकाले साना ठूला गरी १२ पार्क निर्माण गर्न चालू आवमा १३ करोड ६३ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरपालिकाले साना ठूला गरी करिब २२ वटा पार्क निर्माणको काम अगाडि बढाएको थियो । जसमध्ये ८ वटा पार्क निर्माणको काम सम्पन्न भइसेको पनि थापाले बताए । उनका अनुसार बाँकी १४ वटा पार्क निर्माणको चरणमा छन् । निर्माणाधीन पार्कको पनि लगभग ६०/७० प्रतिशत काम सम्पन्न भइसकेको छ । सो पार्कको काम महानगरले असार मसान्त भित्र सक्ने लक्ष्य लिएको छ । ‘महानगरपालिकाले कतिपय ठाउँमा पार्क निर्माणको काम सुरु गरिसकेको छ, अहिले वडा नम्बर ६ मा पनि काम भएको छ भने ३२ नम्बर वडामा पनि २ पार्क र ९ मा एक वटा पार्क बनाउने काम चलेको छ, अहिले भदौ असोज तिरै डिजाइन गरेका पार्कको निर्माण सुरु गरेका छौं,’ उनले भने । थापाका अनुसार पार्कमा फरक–फरक सेवा सुविधा हुनेछन् । पार्क जलवायु अनुकुल, पर्यावरण अनुकूलन र विपत् व्यवस्थापन अनुरूपको हुनेछ । कुन–कुन ठाउँ बन्दैछन् पार्क ? महानगरपालि चालू आवको योजनामा समावेश भएका धेरै पार्कको डिजाइन तयार गरी टेन्डर गरिसकेको छ । थापाका अनुसार योजनामा भएका पार्कका निर्माणका काम यही वर्षदेखि सुरु हुनेछ । महानगरपालिकाले वडा नम्बर ३ गङ्गालाल हस्पिटलको अगाडिको भागमा ‘इको पार्क’ निर्माण गर्ने भएको छ । महानगरले सो ठाउँमा इको पार्क निर्माण गर्नको लागि टेन्डर गरिसकेको पनि थापाले बताए । महानगरले उक्त पार्क निर्माणको लागि चालू आवमा एक करोड ५ हजार रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, महानगरको अर्को योजना हो बालाजु पार्क कम्पाउन्ड निर्माण तथा संरक्षण गर्ने । पहिलो चरणमा कम्पाउन्ड घेर्ने मात्र महानगरको योजना छ । यसको लागि अहिले डिजाइन स्टिमेट गरिरहेको थापाले जानकारी दिए । बालाजु पार्कको लागि चालू आवमा ५ करोड रुपैयाँ छुट्याइएको छ । चालू आवमा नै महानगरले बुद्धनगर पार्किङ सहितको पार्क निर्माण योजना राखेको छ । उक्त पार्किङ सहितको पार्क निर्माणको लागि एक करोड ५ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ । महानगरले सानो गौचरनमा बालमैत्री पार्क र खुल्ला व्यायमशाला निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ । भूगोल पार्क न्युरोडमा निर्माणमा बनाउने भएको छ । उक्त पार्क निर्माणमा विवाद परेको छ । मूर्तिको विषयलाई लिएर विवाद परेको हो । विवाद टुङ्गयाइ पार्क निर्माणको योजनामा महानगर छ । सोही पार्क निर्माणको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, अर्को बुढापाकालाई लक्षित गर्दै महानगरले वडा नम्बर २५ मा महानगरले जेष्ठ नागरिक पार्क बनाउने भएको छ । सो पार्क महानगरले गुठीको जग्गामा बनाउन लागेको हो । गुठिका स्वामित्वमा रहेको उक्त ठाउँमा १२ रोपनी जग्गा छ । सो जग्गामा टहरा छन् । सो टहरालाई हटाएर पार्क निर्माण हुनेछ । यो पार्क निर्माणका लागि चालू आवमा एक करोड रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै, अर्को पार्क हो ‘यम बुद्ध पार्क’ । उक्त पार्क महानगरले वडा नम्बर १६ मा बनाउने भनेको छ । यो मेयर बालेनको नयाँ योजना हो । यो पार्क नयाँ बस पार्क गंगबु क्षेत्रमा बन्नेछ । उक्त स्थानमा लगभग १५ रोपनी जग्गा छ । यम बुद्ध पार्कमा स्केट, वोर्डिङ्ग, बास्केटबल कोर्ट, बी वोईङ लागयत अन्य निर्माण गर्ने भनिएको छ । सो पार्कको काम पनि चालू आवबाटै सुरु हुने थापाले बताए । यम बुद्ध पार्क निर्माणको लागि मेयर बालेनले एक करोड ५ हजार रुपैयाँ छुट्याएका छन् । यस्तै, तीनकुनेमा बृद्द संरक्षण र डीपीआर तयार गर्न ५ लाख, विभिन्न पार्क तथा सार्वजनिक स्थानमा खुल्ला व्यायाम सामाग्री जडान एक करोड, एक वडा एक पार्क निर्माण गर्न कार्यमा एक करोड, गंगाहिटी हाईटको जग्गा संरक्षण गरी पार्क बनाउने काम गर्न ८ लाख ५ हजार र वडा परिसरको पार्क निर्माण ५० लाख रुपैयाँ बजेट महानगरले छुट्याएको छ । महानगरपालिकाले चालू आव भित्र नै धेरै पार्कको निर्माणाधीन कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । तर, लक्ष्य लिए पनि केही पार्क निर्माणको काम समयमा नै सम्पन्न गर्न नसकिने थापाले जानकारी दिए । महानगरले टेन्डरको काम गत मंसिरबाट मात्र गरेको थियो । मंसिसदेखि सुरु भएको टेन्डर अहिले संशोधनको चरणमा रहेको पनि थापाले बताए । महानगरले माघदेखि भएका सम्झौताहरू असारमा नै सकाउने तयारी गरिरहेको छ । पहिलो चौमासिकमा काम हुन नसकेको काम अर्को आर्थिक वर्षको पहिलो चौमासिक सक्ने महानगरको योजना छ । महानगरले चालू आव भित्र रानीवारी पोर्पा अजिमा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसको लागि यो वर्ष २ लाख १ हजार १७ रुपैयाँ बजेट छुट्याएको छ । महानगरले वार्षिक कार्ययोजनामा शिवस्थली पार्कको काम पनि सम्पन्न गर्ने भनिएको छ । तर, लक्ष्य लिए पनि उक्त पार्कको काम चालू आवमा भने सम्पन्न नहुने थापाको भनाइ छ । महानगरले वडा नम्बर ४ मा बाजे बज्यै पार्कका निर्माण गर्दैछ । यो पार्कको काम चालू आवमा निर्माण सम्पन्न गर्नको लागि १ करोड ९६ लाख २७ हजार रुपैयाँ छुट्याएको छ । थापाका अनुसार यो पार्क चालू आव भित्र निर्माण सम्पन्न हुने छ । महानगरले बालाजु पार्क मर्मत तथा संरक्षण गर्न ९ लाख ९२ हजार, मनोहरा नदी किनारको सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणमा २ करोड ९८ करोड ९७ हजार, मैतीदेवी पार्क निर्माण गर्ने कार्यमा ४ लाख ३३ हजार २ हजार, सन्तोषीनगर पार्क निर्माण गर्ने २ लाख ५८ हजार ७ सय, धुम्बाराही पार्कमा एक करोड ७ लाख ७२ हजार बजेट छुट्याएको छ । नरबुद्ध पार्क निर्माण गर्न ८ लाख १२ हजार, बालाजु पार्क विकास तथा स्विमिङ पुल निर्माण कार्यमा ७ करोड २५ लाख ९७ हजार छट्याएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । उक्त आचारसंहिता बमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेका विज्ञप्तिमा जनाइएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ । निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेका छन् । रासस

सगरमाथा जलविद्युतले चैत ८ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँ बराबरको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४ सय कित्ता सामूहिक लगानी कोषका लागि, ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता कर्मचारीका लागि र सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता सेयर छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत १२ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीका आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

एकैदिन १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको छ । सोमबार तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ पनि आज प्रतितोला १६ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९० हजार ६ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार १ सय ९० रुपैयाँ रहेकाे जनाएकाे छ । यस्तै, आज चाँदीको भाउ ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । महासंघका अनुसार मंगलबार प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम भएको छ।

सम्पर्कमा नआएपछि वीर अस्पतालले पाँच जना स्टाफ जर्सलाई जागिरबाट हटायो

काठमाडौं । सम्पर्कमा नआएपछि वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई जागिरबाट हटाएको छ । पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुनलाई जागिरबाट हटाएको अस्पतालले सूचनामार्फत जनाएको छ । अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि अस्पतालले उनीहरुलाई सेवाबाट हटाएको सूचनामा उल्लेख गरिएको छ ।

स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बालेन पुगे बेलायत

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत गएका छन् । सम्मेलनमा भाग लिन मंगलबार उनी बेलायत गएका हुन् । उनीसँग स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह गएका छन् । मेयर बालेन चैत ५ गते स्वदेश फर्कने छन् । यस अवधिका लागि उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ । मंगलबार देखि चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मेयरसँगै साझेदार सहरबाट प्राविधिक शत्रमा सामेल हुन निमन्त्रणा गरिएको थियो । शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीहरूलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोट पटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । सम्मेलनबाट आएका निचोडले स्वस्थ्य सहर निर्माण गर्न अग्रणी रणनीति प्रदान गर्ने जनाइएको छ । विश्वमा सहरीकरण तीब्र गतिमा फैलिएको छ । अस्वस्थ्य सहरी आचरण र दुर्घटनाहरु बढ्दै जाँदा, सहरी केन्द्रहरूमा बस्ने मानिसहरु नसर्ने रोगका कारण मृत्युबरण गरिरहेका छन् । हृदय रोग, स्ट्रोक, क्यान्सर, मधुमेह र पुरानो श्वासप्रश्वासका रोगहरू मानव मृत्युको कारण बनेका छन् । सहरहरूमा बसोबास गर्ने मानिसहरू नसर्ने रोगबाट आफूलाई बचाउन कमजोर हुँदै गएका छन् । यसबेला जीवन बचाउने र स्वस्थ सहर निर्माण गर्ने विषयमा साझा रणनीति चाहिएको छ । शिखर सम्मेलनले स्वस्थ्य र जीवन्त सहरहरू निर्माण गर्ने उत्कृष्ट अभ्यासमा छलफल गर्नेछ । सम्मेलनबाट मेयर र प्राविधिकको प्रतिनिधिमुलक सञ्जाल निर्माण हुनेछ । यसमार्फत नसर्ने खालका रोग र चोटपटक कम गर्ने रणनीति र उपायका क्षेत्रमा सहकार्य हुने जनाइएको छ ।

आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।