विकासन्युज

विदेशी लगानीकर्ताको लागि एकल विन्दु सेवा सुरु गर्दैछौं : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल विन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्ताहरुको समस्या समाधानका लागि सरकारले एकल विन्दु सेवा सुरु गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका हुन् । पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको बताउँदै उनले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने पनि बताए । ‘चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेको छ, अफ्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिवद्ध छ,’ उनले भने । यस्तै, उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे ।

नर्भिक आइभिएफले नि:शुल्क ओपिडी गर्दै, ल्याब र भिडियो एक्सरेमा समेत छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिबार(चैत ४ गते) नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो । नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने अस्पतालले जनाएकाे छ । बिहान १० देखि २ बजेसम्म नर्भिक आइभिएफ सेन्टरमा सञ्चालन हुने नि:शुल्क ओपिडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए । उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने उनले बताएका छन् ।  

आइपीओ ल्याउँदै सिकोस हाइड्रोपावर, एनआईबिएल एस क्यापिटलसँग गर्यो सम्झौता

काठमाडौं । सिकोस हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले एनआईबिएल एस क्यापिटलसँग संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपीओ सम्झौता गरेको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा सिंकोस हाइड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सुर्यप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । सिंकोस हाइड्रोपावर प्राइभेटले नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उपलब्ध गराउने लक्ष्य सहित सिंकोस खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । यस आयोजनाको क्षमता ३.४५ मेगावाट रहेको छ । यस कम्पनीले प्राइभेटबाट पब्लिक कम्पनीमा परिणत भएर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने तयारीका गरिरहेको छ । उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटलले सिंकोस हाइड्रोपावर कम्पनीलाई सर्वसाधारण सेयर निष्काशन पूर्व र निष्काशनको अवधिमा संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना बनाउन, पूँजी संकलन गर्न, ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्न र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श सेवा प्रदान गर्नेछ ।

‘सलिको’को नामबाट अघि बढ्यो सगरमाथा लुम्बिनी, नम्बर वान बन्न अवसरसँगै चुनौति पनि

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका दुई कम्पनी मर्ज भई बन्यो सलिको अर्थात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी । जो ‘विश्वासको सम्बन्ध, एकताको प्रतिक’ को नारासँगै सलिकोको ब्राण्ड नाम लिएर नयाँ सोचका साथ अगाडि बढेको छ । नेपालको पहिलो जोइन्ट भेन्चर कम्पनीको रुपमा वि.सं.२०५३ साल देखि सञ्चालनमा आएको सगरमाथा इन्स्योरेन्स र वि.सं.२०६२ सालदेखि निर्जीवन बीमा सेवा दिँदै आएको लुम्बिनी जनरल एक आपसमा मर्ज भएका हुन् । जसले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट फागुन २९ गतेदेखि औपचारिक रुपमा एकीकृत कारोबार समेत शुरु गरिसकेका छन् । सोमबार काठमाडौंको याक एण्ड यतिमा आयोजित एक कार्यक्रममा दुई कम्पनीले संयुक्त कारोबार शुरु गरेका हुन् । दुई कम्पनी सबल पुँजी, प्रयाप्त शाखा सञ्जाल, दक्ष जनशक्ति भएको एक उत्कृष्ट निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित गर्ने कम्पनीको उद्देश्य छ । मर्जरसँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । जुन बीमा प्राधिकरणले तोकेको पुँजीको तुलनामा बढी हो । निर्जीवन बीमा क्षेत्रमा सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीचको मर्जर चौथो हो । तर समग्र बीमा क्षेत्रमा भने यो पाँचौ मर्जर हो । अवसरसँगै चुनौति पनि बीमा प्राधिकरणले पुँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्न नदिने भएसँगै मर्जरको लागि लुम्बिनी जनरल इन्स्योरेन्सलाई छनोट गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (साविकको सगरमाथा इन्स्योरेन्स)का सीईओ चंकी क्षेत्रीले बताए । ‘सगरमाथा इन्स्योरेन्सको यो ऐतिहासिक क्षण हो, २७ वर्षको सगरमाथा र १८ वर्षको लुम्बिनी जनरलबीचको सहकार्यले बीमा क्षेत्रमा एउटा मार्ग बनाई विश्वसनीयताका साथ काम गर्नेछौं, हामी सहरमात्र केन्द्रित नभई गाउँमा पनि बीमाको पहुँच बढाउने छौं, नयाँ नयाँ प्रडक्टहरु बजारमा ल्याउने छौं,’ सीईओ क्षेत्रीले भने । साथै, उनले यो एउटा अवसरसँगै चुनौति रहेको बताए । हालको लागि मानव संसाधनलाई व्यवस्थापन गर्नु मुख्य चुनौति रहेको उनको भनाई छ । पछिल्लो समय बीमाको दायराहरु बढ्दै गएको बताउँदै चंकी क्षेत्रीले यसबाट रोजगारी मात्रै नभई सो रोजगार र सम्भावनाका डोकाहरु खुल्दै गएको समेत उनले बताए । कम्पनीको जोखिम धारण गर्ने क्षमतामा वृद्धि, कर्मचारीलाई छैन भेदभाव सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मूलले सञ्चालक समितिले दिएको एकीकृत कम्पनीको अध्यक्ष पदको जिम्मेवारीलाई मनन गरी कम्पनीको हितको लागि काम गर्दै इन्स्योरेन्सलाई अघि बढाउने प्रतिवद्धता गरेका छन् । विगत ९ महिनामा बिना कुनै अवरोध सफलता पूर्वक काम गरी मर्जर प्रक्रियालाई टुंगोमा पुर्याउन सफल भएको बताउँदै उनले मर्जरले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी कम्पनीहरुको जोखिम धारण गर्ने क्षमता बढाउने उनको भनाई छ । ‘आगामी दिनमा सलिकोको नामबाट जनताको माझमा बीमाको पहुँच विस्तार गरी ग्राहकको सेवामा समर्पित हुने कम्पनीको रुपमा स्थापित हुने लक्ष्य लिएका छौं, हाम्रो दृष्टिकोण र लक्ष्य भनेको सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी) लाई बीमाशुल्क आर्जन, बजार हिस्सा, ग्राहकको विश्वास र सेवाको हिसावले संस्थागत सुशासन पालना गर्ने र गराउने तथा सेयरधनीलाई प्रतिफल दिने हिसावले उत्कृष्ट र अग्रणी कम्पनीको रुपमा लैजाने प्रयत्न गरेका छौं, बीमा बजारमा स्वस्थ प्रतिस्पर्धा गर्दै नेपाल बीमा प्राधिकरणको नीति निर्देशनको पालना गरी हाम्रो लक्ष्य पुरा गर्छौं,’ अध्यक्ष मूलले भने । त्यस्तै, बीमा क्षेत्रको विस्तार र पहुँचको लागि नेपाल बीमा प्राधिकरणको अनुमति लिई नयाँ नयाँ प्रडक्टहरु लागू गर्ने, बीमाको पहुँच लक्षित वर्गसम्म पुर्याउने, बीमाको दायरा विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउने कम्पनीको योजना छ । यसका साथै, कम्पनीले विगतमा गर्दै आएको सामाजिक उत्तरदायित्व (सीएसआर) लाई पनि निरन्तरता दिने छ । कम्पनीले दुबै कम्पनीको कर्मचारीलाई समान रुपले समायोजन गरेको अध्यक्ष मूलले बताए । ‘दुवै कम्पनीमा कार्यरत कर्मचारीहरुले खाइपाई आएको सेवा शुल्कमा कुनै भेदभाव नगरी जिम्मेवारी समेत बाँडफाँड गरेका छौं, यससँगै उहाँहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउने नीति लिइएको छ,’ कार्यक्रममा बोल्दै उनले भने । निर्जीवन बीमा क्षेत्रमा ‘एक नम्बर’ साविकको सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले तोकिएको पुँजी पुर्याउनको लागि नै मर्जरको बाटो रोजेको बताए । विगत १६ वर्षभन्दा अघिदेखि सगरमाथाको सञ्चालक समितिको अध्यक्षको रुपमा कम्पनीको नेतृत्व गर्दै आएका अध्यक्ष मानन्धरले आफूसँग मिल्दोजुल्दो कम्पनीसँग मर्ज हुन सफल भएकोमा खुशी व्यक्त गरे । ‘बजारमा राम्रो साख रहेको, सुशासनमा सबल रहेको, व्यवसाय सुशासन रहेको, पुँजी र दक्षताको हिसाबले लुम्बिनी जनरल इन्स्योरेन्सलाई उपयुक्त ठानिएको र दुवै कम्पनीबीचमा गहन छलफल भई मर्जरमा जान सम्भव भएको हो,’ उनले भने । साथै, उनले नेपाल बीमा प्राधिकरणले तोकेको समयभन्दा एक महिना अगाडि नै कम्पनीको एकीकृत कारोबार गर्न सफल भएको बताए । ‘दुई कम्पनी एक भएपछि निर्जीवन बीमा क्षेत्रमा एक नम्बर हुने लक्ष्यका साथ अघि बढ्ने छ भन्ने विश्वास छ, उनले भने- ‘पूर्वअध्यक्षको रुपमा मात्रै नभई कम्पनीको एक लगानीकर्ताको हैसियतले आगामी दिनमा कम्पनीको हितको लागि व्यक्तिगत साथ सँगै समर्थन रहने छ ।’ ‘सलिको’ को नामबाट बीमाको पहुँच बढाउने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुई वटा कम्पनी एकीकृत भई एउटा सशक्त कम्पनी बनेकोमा बधाईसँगै शुभकामना व्यक्त गरे । उनले दुई वटा परिवार एक भएपछि लुकेर बसेका ट्यालेन्ट बाहिर आउने र पुँजीको पर्याप्तताले कम्पनीलाई लगानी गर्ने ठाउँहरु प्रशस्त खुलेको बताए । ‘दुई कम्पनीसँग भएको बेग्लाबेग्लै शक्ति, जनशक्तिलाई एकीकृत गरेर अगाडि बढ्दा बजारमा राम्रो छाप बनाउन सकिन्छ, मर्जरपछि बनेको नयाँ नाम नेपालको बीमा बजारमा बजारमा स्थापित गर्नुपर्छ,’ उनले भने । नियामकले दिएको निर्देशन बीमकले मान्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । त्यसैले, नियामकले विभिन्न आधारमा टेकेर निर्णय गरेको बताउँदै उनले बीमा बजारलाई विश्वसनीय र कम्पनीलाई थप सशक्त कसरी बनाउन सकिन्छ ? त्यसको हितमा नियामकले काम गर्ने बताए । ‘जोडिनु भनेको सामान्य होइन, यसले सिनर्जी ल्याउँछ, पुँजी वृद्धिले जोखिम धारण गर्ने क्षमतालाई बढाउँछ, इनोभेटिभ प्रडक्ट बजारमा आउन सक्छ, विज्ञता रहेको क्षेत्रहरुमा लगानी सकिन्छ,’ उनले भने- ‘अब सलिको नामबाट बीमाको पहुँच विस्तार गर्ने, बजारको हिस्सा बढाउने कम्पनीको लक्ष्यलाई प्राधिकरणले सँधै सहयोग गर्ने छ ।’ साथै, उनले समय र प्रस्थितिअनुसार कम्पनीहरुको चुक्ता पुँजी बढाउँदै जानुपर्ने समेत बताएका छन् ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, गत वर्षकोभन्दा कम

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.९४ प्रतिशत लाभांश घोषणा गरेको हो । बैठकले ८.५० प्रतिशत बोनस सेयर र ०.४४७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश गत वर्षको भन्दा ६.३१ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले १५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

महानगरले १३ करोडको लगानीमा एक दर्जन पार्क बनाउँदै, बालेनको प्राथमिकतामा यम बुद्ध पार्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० मा १२ वटा पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाले विभिन्न वडामा सुविधा सम्पन्न आधुनिक पार्क बनाउन लागेको हो । महानगरले चालू आर्थिक वर्षको वार्षिक कार्ययोजनामा समावेश गरेअनुरुप पार्क निर्माणको काम अगाडि बढाउने भएको हो । महानगरपालिकाका अनुसार धेरै जसो पार्क निर्माणको काम चालू आव भित्रबाटै सुरु हुनेछ । महानगर भित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ यो वर्ष पनि पार्क निर्माण गर्न लागेको महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुख राम बहादुर थापाले जानकारी दिए । महानगरपालिकाले साना ठूला गरी १२ पार्क निर्माण गर्न चालू आवमा १३ करोड ६३ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरपालिकाले साना ठूला गरी करिब २२ वटा पार्क निर्माणको काम अगाडि बढाएको थियो । जसमध्ये ८ वटा पार्क निर्माणको काम सम्पन्न भइसेको पनि थापाले बताए । उनका अनुसार बाँकी १४ वटा पार्क निर्माणको चरणमा छन् । निर्माणाधीन पार्कको पनि लगभग ६०/७० प्रतिशत काम सम्पन्न भइसकेको छ । सो पार्कको काम महानगरले असार मसान्त भित्र सक्ने लक्ष्य लिएको छ । ‘महानगरपालिकाले कतिपय ठाउँमा पार्क निर्माणको काम सुरु गरिसकेको छ, अहिले वडा नम्बर ६ मा पनि काम भएको छ भने ३२ नम्बर वडामा पनि २ पार्क र ९ मा एक वटा पार्क बनाउने काम चलेको छ, अहिले भदौ असोज तिरै डिजाइन गरेका पार्कको निर्माण सुरु गरेका छौं,’ उनले भने । थापाका अनुसार पार्कमा फरक–फरक सेवा सुविधा हुनेछन् । पार्क जलवायु अनुकुल, पर्यावरण अनुकूलन र विपत् व्यवस्थापन अनुरूपको हुनेछ । कुन–कुन ठाउँ बन्दैछन् पार्क ? महानगरपालि चालू आवको योजनामा समावेश भएका धेरै पार्कको डिजाइन तयार गरी टेन्डर गरिसकेको छ । थापाका अनुसार योजनामा भएका पार्कका निर्माणका काम यही वर्षदेखि सुरु हुनेछ । महानगरपालिकाले वडा नम्बर ३ गङ्गालाल हस्पिटलको अगाडिको भागमा ‘इको पार्क’ निर्माण गर्ने भएको छ । महानगरले सो ठाउँमा इको पार्क निर्माण गर्नको लागि टेन्डर गरिसकेको पनि थापाले बताए । महानगरले उक्त पार्क निर्माणको लागि चालू आवमा एक करोड ५ हजार रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, महानगरको अर्को योजना हो बालाजु पार्क कम्पाउन्ड निर्माण तथा संरक्षण गर्ने । पहिलो चरणमा कम्पाउन्ड घेर्ने मात्र महानगरको योजना छ । यसको लागि अहिले डिजाइन स्टिमेट गरिरहेको थापाले जानकारी दिए । बालाजु पार्कको लागि चालू आवमा ५ करोड रुपैयाँ छुट्याइएको छ । चालू आवमा नै महानगरले बुद्धनगर पार्किङ सहितको पार्क निर्माण योजना राखेको छ । उक्त पार्किङ सहितको पार्क निर्माणको लागि एक करोड ५ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ । महानगरले सानो गौचरनमा बालमैत्री पार्क र खुल्ला व्यायमशाला निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ । भूगोल पार्क न्युरोडमा निर्माणमा बनाउने भएको छ । उक्त पार्क निर्माणमा विवाद परेको छ । मूर्तिको विषयलाई लिएर विवाद परेको हो । विवाद टुङ्गयाइ पार्क निर्माणको योजनामा महानगर छ । सोही पार्क निर्माणको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, अर्को बुढापाकालाई लक्षित गर्दै महानगरले वडा नम्बर २५ मा महानगरले जेष्ठ नागरिक पार्क बनाउने भएको छ । सो पार्क महानगरले गुठीको जग्गामा बनाउन लागेको हो । गुठिका स्वामित्वमा रहेको उक्त ठाउँमा १२ रोपनी जग्गा छ । सो जग्गामा टहरा छन् । सो टहरालाई हटाएर पार्क निर्माण हुनेछ । यो पार्क निर्माणका लागि चालू आवमा एक करोड रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै, अर्को पार्क हो ‘यम बुद्ध पार्क’ । उक्त पार्क महानगरले वडा नम्बर १६ मा बनाउने भनेको छ । यो मेयर बालेनको नयाँ योजना हो । यो पार्क नयाँ बस पार्क गंगबु क्षेत्रमा बन्नेछ । उक्त स्थानमा लगभग १५ रोपनी जग्गा छ । यम बुद्ध पार्कमा स्केट, वोर्डिङ्ग, बास्केटबल कोर्ट, बी वोईङ लागयत अन्य निर्माण गर्ने भनिएको छ । सो पार्कको काम पनि चालू आवबाटै सुरु हुने थापाले बताए । यम बुद्ध पार्क निर्माणको लागि मेयर बालेनले एक करोड ५ हजार रुपैयाँ छुट्याएका छन् । यस्तै, तीनकुनेमा बृद्द संरक्षण र डीपीआर तयार गर्न ५ लाख, विभिन्न पार्क तथा सार्वजनिक स्थानमा खुल्ला व्यायाम सामाग्री जडान एक करोड, एक वडा एक पार्क निर्माण गर्न कार्यमा एक करोड, गंगाहिटी हाईटको जग्गा संरक्षण गरी पार्क बनाउने काम गर्न ८ लाख ५ हजार र वडा परिसरको पार्क निर्माण ५० लाख रुपैयाँ बजेट महानगरले छुट्याएको छ । महानगरपालिकाले चालू आव भित्र नै धेरै पार्कको निर्माणाधीन कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । तर, लक्ष्य लिए पनि केही पार्क निर्माणको काम समयमा नै सम्पन्न गर्न नसकिने थापाले जानकारी दिए । महानगरले टेन्डरको काम गत मंसिरबाट मात्र गरेको थियो । मंसिसदेखि सुरु भएको टेन्डर अहिले संशोधनको चरणमा रहेको पनि थापाले बताए । महानगरले माघदेखि भएका सम्झौताहरू असारमा नै सकाउने तयारी गरिरहेको छ । पहिलो चौमासिकमा काम हुन नसकेको काम अर्को आर्थिक वर्षको पहिलो चौमासिक सक्ने महानगरको योजना छ । महानगरले चालू आव भित्र रानीवारी पोर्पा अजिमा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसको लागि यो वर्ष २ लाख १ हजार १७ रुपैयाँ बजेट छुट्याएको छ । महानगरले वार्षिक कार्ययोजनामा शिवस्थली पार्कको काम पनि सम्पन्न गर्ने भनिएको छ । तर, लक्ष्य लिए पनि उक्त पार्कको काम चालू आवमा भने सम्पन्न नहुने थापाको भनाइ छ । महानगरले वडा नम्बर ४ मा बाजे बज्यै पार्कका निर्माण गर्दैछ । यो पार्कको काम चालू आवमा निर्माण सम्पन्न गर्नको लागि १ करोड ९६ लाख २७ हजार रुपैयाँ छुट्याएको छ । थापाका अनुसार यो पार्क चालू आव भित्र निर्माण सम्पन्न हुने छ । महानगरले बालाजु पार्क मर्मत तथा संरक्षण गर्न ९ लाख ९२ हजार, मनोहरा नदी किनारको सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणमा २ करोड ९८ करोड ९७ हजार, मैतीदेवी पार्क निर्माण गर्ने कार्यमा ४ लाख ३३ हजार २ हजार, सन्तोषीनगर पार्क निर्माण गर्ने २ लाख ५८ हजार ७ सय, धुम्बाराही पार्कमा एक करोड ७ लाख ७२ हजार बजेट छुट्याएको छ । नरबुद्ध पार्क निर्माण गर्न ८ लाख १२ हजार, बालाजु पार्क विकास तथा स्विमिङ पुल निर्माण कार्यमा ७ करोड २५ लाख ९७ हजार छट्याएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । उक्त आचारसंहिता बमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेका विज्ञप्तिमा जनाइएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ । निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेका छन् । रासस

सगरमाथा जलविद्युतले चैत ८ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँ बराबरको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४ सय कित्ता सामूहिक लगानी कोषका लागि, ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता कर्मचारीका लागि र सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता सेयर छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत १२ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीका आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।