तुलसीपुरको सेन्टर माध्यमिक विद्यालयले तरकारी बेचेरै कमाउँछ महिनामा डेढ लाख
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो । उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच ता गरी त्यहाँ तरकारी बजार स्थापनाका लागि सम्झौता भएको थियो । त्यही तरकारी बजारबाट अहिले विद्यालयले एक लाख ५७ हजार आम्दानी गर्दैआएको छ । तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताए। यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो । उपमहानगरपालिकाले आफूले उठाएको करिब ४४ लाख विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । दुई करोड ३३ लाखमा तरकारी बजार सञ्चालनमा आएको हो । एउटा पसलको भाडा पाँच हजार पाँच सय कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए । तरकारी बजारमा तरकारी व्यापारका साथै फलफूल व्यापारसमेत गरिँदै आएको छ ।
गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’ अगाडि बढाईंदै
बाग्लुङ । शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रचारप्रसार गर्नका लागि कालीगण्डकी किनारमा कृष्णगण्डकी उक्त परियोजना सञ्चालनमा ल्याइएको हो । सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकी (कृष्णगण्डकी)को प्रसार–प्रचार र संरक्षणका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुतुर्केघाटमा परियोजना निर्माण गर्न थालिएको छ । सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेत्र र यसमा पाइने पवित्र शालग्रामको संरक्षण गर्दै कालीगण्डकीमा व्यवस्थित स्नान कक्ष, घाट, सत्संग हल तथा कृष्ण मन्दिरको वृहत कल्पनाका साथ परियोजना अगाडी बढाइएको छ । खुतुर्केघाटस्थित लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा उक्त परियोजना थालिएको यसको अगुवाइ गरिरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) बागलुङ शाखाका प्रमुख तथा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) का केन्द्रीय उपाध्यक्ष परमेश्वर अच्युत दास (प्रदीप भण्डारी)ले बताए । कालीगण्डकीको महिमा बढाउन, पवित्र कालीगण्डकीमा स्नान, ध्यान, योग र तपस्याका लागि जग्गा व्यवस्थापनको काम भइरहेकोे छ । आगामी पाँच वर्षमा परियोजनाको पहिलो आधारभूत काम र बाँकी पाँच वर्षमा अन्य काम सम्पन्न गर्ने लक्ष्य छ । दुई चरणमा सम्पन्न गरिने सो परियोजनाअन्तर्गत पहिलो चरणमा तीन सय जना क्षमताको सत्सङ्ग हल र आश्रम निर्माण गरिने छ । ‘यो मुठ्ठी दानमा सञ्चालन हुनेछ, सरकारी निकायसित पनि बजेट माग्दै छौँँ’, दासले भने । परियोजना सम्पन्न गर्न झण्डै १७ करोडको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । कालीगण्डकी नदी नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङले ६५ लाखको लागतमा परियोजना सञ्चालन गर्ने क्षेत्रमा पक्की तटबन्ध गरिरहेको डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए। रासस ।
सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २० गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आभ्या क्लब घारिपाटन पोखरा कास्कीमा बिहा ११ बजे साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र संशोधन गर्ने र सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि चैत १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।
यी ३ लघुवित्तको आजसम्म सेयर खरिद गरे २७ प्रतिशतसम्म लाभांश पाइने
काठमाडौं । विभिन्न ३ लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मनकामना स्मार्ट लघुवित्त, समता घरेलु लघुवित्त र आरएमडीसी लघुवित्तको लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज फागुन ३० गते अन्तिम दिन हो । यी तीन लघुवित्त संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १० गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज फागुन ३० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले पाँचौ वार्षिक साधारण सभा चैत १६ गते सिद्धार्थनगर रुपन्देहीमा दिउँसो १ बजे बोलाएको छ । यस्तै, समता घरेलु लघवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले नवौं वार्षिक साधारण सभा चैत ११ गते धुलिखेलमा बिहान ११ः३० बजे बोलाएको छ । यस्तै, आरएमडीसी लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.३६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले २४ औँ वार्षिक साधारण सभा चैत १० गते काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो, कुनको कति ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थहरुले चैतमा लागू हुने गरी ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएर मंगलबार सूचना प्रकाशन गरेका हुन् । वाणिज्य बैंकहरुले चैत १ गतेदेखि लागू हुने गरी निक्षेपमा ०.४२ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाएका हुन् । वाणिज्य बैंकहरुले निक्षेप तर्फको साधारण बचतमा ०.४२ प्रतिशत ब्याजदर घटाएर अधिकतम ९ प्रतिशतसम्म तोकेका छन् । अब वाणिज्य बैंकहरुले बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याजदर दिने भएका हुन् । तर, बैंकको मुद्दती निक्षेप अन्तर्गतका खातामा भने ब्याजदर स्थीर राखेका छन् । संस्थागत मुद्दतीमा ९ प्रतिशत र ब्यक्तिगत मुद्दती खातामा १२ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछन् । साथै, बैंकहरुले कर्जाको लागत कम गर्नका लागि प्रिमियममा १ प्रतिशत घटाएका छन् । अब बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछन् । यसअघि ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । यस्तै, विकास बैंकहरुले पनि चैतमा ब्याजदर घटाएर सूचना प्रकाशन गरेका छन् । विकास बैंकहरुले साधारण बचत खातामा ०.१५ प्रतिशत ब्याजदर घटाएर ९.६० प्रतिशतसम्म ब्याज दिने भएका हुन् । विकास बैंकहरुले साधारण बचत खातामा न्यूनतम ६.६० प्रतिशतदेखि अधिकतम ९.६० प्रतिशतसम्म ब्याजदर तोकेका हुन् । यसअघि न्यूनतम ६.७५ प्रतिशतदेखि अधिकतम ९.७५ प्रतिशतसम्म ब्याजदर थियो । साथै, विकास बैंकको मुद्दती निक्षेपमा पनि ०.१५ प्रतिशत ब्याजदर घटाएका छन् । विकास बैंकहरुले मुद्दती खातामा न्यूनतम ९.५० प्रतिशतदेखि अधिकतम १२.६० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । यसअघि अधिकतम १२.७५ प्रतिशतसम्म ब्याजदर थियो । यस्तै, फाइनान्स कम्पनीहरुले बचत खातामा ब्याजदर स्थीर राखेको भएपनि मुद्दती खातामा भने घटाएका छन् । फाइनान्स कम्पनीहरुले मुद्दती निक्षेपमा ०.२० प्रतिशतसम्म घटाएर अधिकत १२.२५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।
कुमारी क्यापिटलले चैत ९ गतेदेखि सुनौलो लगानी योजना बिक्री गर्दै
काठमाडौं । कुमारी क्यापिटलले चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री गर्नेछ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो फण्ड खुलामुखि योजना हो । क्यापिटलले १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित राखी प्रथम पटक सार्वजनिक निष्काशन मार्फत ३५ करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्काशन गर्नेछ । साथै, क्यापिटलले प्रथम चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री गर्नेछ । इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गर्नेछ । क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले छिटोमा चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
नबिल बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?
काठमाडौं । नबिल बैंकले ब्याजदर घटाएर प्रकाशन गरेको छ । बैंकले मंगलबार एक सूचना जारी चैतमा लागू हुने गरी नयाँ ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि साधारण बचत खातामा ब्याजदर ६.४२ प्रतिशत थियो । यस्तै, बैंकले मुद्दती निक्षेपतर्फ संस्थागत खातामा ९ प्रतिशत र ब्यक्तिगत खातामा १२ प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै, बैंकले कर्जाको ब्याजदरमा भने १ प्रतिशत प्रिमियम घटाएको छ । यसअघि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम दर रहेको थियो । चैतमा लागू हुने गरी १ प्रतिशत घटाएर अधिकतम ५ प्रतिशतमा झरेको हो । बैंकका अनुसार पौषसम्म आधार दर १०.१० प्रतिशत रहेको छ । सोही आधारमा बैंकको कर्जाको ब्याजदर १५.१० प्रतिशतसम्म तोक्नसक्नेछ ।
सानिमा मिडिल तमोर हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीको आईपीअोमा सर्वसाधारण लगानीकर्ताले आज फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन २६ गतदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । बाँकी ४२ लाख ४८ हजार ९८३ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाटआवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक, वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लिरिङ्गले निर्माण गरेको मेरो सेयर प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।