
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत गएका छन् । सम्मेलनमा भाग लिन मंगलबार उनी बेलायत गएका हुन् । उनीसँग स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह गएका छन् ।
मेयर बालेन चैत ५ गते स्वदेश फर्कने छन् । यस अवधिका लागि उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ । मंगलबार देखि चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मेयरसँगै साझेदार सहरबाट प्राविधिक शत्रमा सामेल हुन निमन्त्रणा गरिएको थियो ।
शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीहरूलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोट पटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । सम्मेलनबाट आएका निचोडले स्वस्थ्य सहर निर्माण गर्न अग्रणी रणनीति प्रदान गर्ने जनाइएको छ ।
विश्वमा सहरीकरण तीब्र गतिमा फैलिएको छ । अस्वस्थ्य सहरी आचरण र दुर्घटनाहरु बढ्दै जाँदा, सहरी केन्द्रहरूमा बस्ने मानिसहरु नसर्ने रोगका कारण मृत्युबरण गरिरहेका छन् । हृदय रोग, स्ट्रोक, क्यान्सर, मधुमेह र पुरानो श्वासप्रश्वासका रोगहरू मानव मृत्युको कारण बनेका छन् ।
सहरहरूमा बसोबास गर्ने मानिसहरू नसर्ने रोगबाट आफूलाई बचाउन कमजोर हुँदै गएका छन् । यसबेला जीवन बचाउने र स्वस्थ सहर निर्माण गर्ने विषयमा साझा रणनीति चाहिएको छ । शिखर सम्मेलनले स्वस्थ्य र जीवन्त सहरहरू निर्माण गर्ने उत्कृष्ट अभ्यासमा छलफल गर्नेछ । सम्मेलनबाट मेयर र प्राविधिकको प्रतिनिधिमुलक सञ्जाल निर्माण हुनेछ । यसमार्फत नसर्ने खालका रोग र चोटपटक कम गर्ने रणनीति र उपायका क्षेत्रमा सहकार्य हुने जनाइएको छ ।