विकासन्युज

नेप्सेमा ५ कम्पनीको ११ करोड ६९ लाख कित्ता सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता विभिन्न ५ कम्पनीको सेयर सूचीकृत भएको छ । गत फागुन २८ गते आइतबारदेखि चैत ३ गते शुक्रबारसम्म नेप्सेमा ५ कम्पनीको सेयर सूचीकृत भएको हो । नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था, प्राइम कमर्सियल बैंक, चिलिमे जलविद्युत कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र प्रभु बैंकको गरी कूल ११ करोड ६९ लाख ९९ हजार ७५८ कित्ता सेयर सूचीकृत भएको हो । जसमा बोनस सेयर र हकप्रद सेयर रहेको छ । गुराँस लघुवित्तको ४ प्रतिशत बोनस वापतको ३९ हजार कित्ता सेयर सचीकृत नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस वापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, चिलिमे जलविद्युत कम्पनीको ७.५ प्रतिशत बोनस वापतको ५० लाख ६३ हजार ८४६.०१ कित्ता नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले लिलामी मार्फत बिक्री गरेको संस्थापकको ४३ लाख ५७ हजार १८५ कित्ता सेयर हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै, प्रभु बैंकको १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले १ः१ स्वाप रेसियो अनुपातमा प्राप्ति गरेपश्चात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब नेप्सेमा प्रभु बैंकको कूल २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता सेयर पुगेको छ भने नेप्सले सेञ्चुरी बैंकको सूचीकरण खारेज भएको छ ।

रक्तदान गरेर मनायो पोखरा फाईनान्सले २६ औं वार्षिककोत्सव

काठमाडौं । पोखरा फाईनान्सले २६ औ वार्षिकोत्सव रक्तदान कार्यक्रम गरेर मनाएको छ ।संस्थाले प्रधान कार्यालयमा सम्पन्न भएकाे कार्यक्रममा ५१ जना रक्तदान गरेका थिए । पोखरा ९, न्यूरोड, कास्कीमा प्रधान कार्यालय रहेको यस वित्तीय संस्थाले मिति २०५३ साल देखि आफ्नो बैंकिङ्ग कारोबार शुभारम्भ गरेको हो । संस्थाकाे वित्तीय संस्थाको हाल अधिकृत पुँजी १५० करोड रहेको छ भने जारी तथा चुक्ता पूँजी १.०८ अर्ब रहेको छ । देशका विभिन्न ठाउँहरुमा शाखा सञ्जाल रहेको यस वित्तीय संस्थाको हालसम्म २४ वटा शाखा संख्या, १ एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सञ्चालनमा रहेको छ ।  

एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी किन्नेलाई सस्तोमा सजिलै कर्जा दिने

काठमाडौं । प्युजो र सिट्रोन आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेटले विक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्सबीच शुक्रबार यसबारे सम्झाैता भएकाे छ । दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रीला मोटोर्स प्रा।लि।को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकका सबै शाखाहरूबाट‍ सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ । बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्ने बैंकले बताएकाे छ ।  

क्रिप्टो करेन्सीका कारण नै तीन अमेरिकी बैंकहरु बन्द भए

एजेन्सी । यो हप्ता वित्तीय बजारको लागि जंगली समय बन्यो, यसपटक क्रिप्टो बैंकहरुको लागि चिसो ठण्डी बनेर प्रकट भए । सिल्भरगेट क्यापिटल बन्द हुनुपूर्व उसले क्वाइनवेस गिमिनी जस्ता क्रिप्टो कम्पनीका ग्राहकहरुको गणना गरेको थियो । क्यालिफोर्नियामा आधारित ऋणदाताले पछिल्लो समयका कुख्यात क्रिप्टो एक्सचेन्ज एफटिएक्स पनि सेवा दिएका थिए, जसले यसको गिरावटमा भूमिका खेलेको थियो । त्यस्तै प्रविधि र स्टार्टअपमा आधारित सिलिकन बैंक एकहप्ता अगाडि मात्रै पतन भयो । जब स्थिर क्वाइन जारी गर्ने सर्कलले तिनीहरुले ३.३ बिलियन डलर बराबरको स्थायी क्वाइन ती धरासायी उन्मुख बैंकहरुमा राखेको थाहा पाए, त्यतिबेला लगानीकर्ताहरु खुसी थिएनन् । पछिल्लो आइतबार राति नियामक निकायले सिग्नेचर बैंकलाई बन्द गर्यो । बैंकको व्यवस्थापनले विश्वास गुमाएपछि नियामकले सो बैंकलाई बन्द गरेको थियो । यो बैंकले सिल्भरगेटले जस्तै हाइ प्रोफाइलका क्रिप्टो कारोबारीलाई ब्लक चेन र रियल टाइममा आधारित चौबिसै घण्टा व्यापार तथा भक्तानी सुविधा प्रदान गर्ने प्रणाली बनाएको थियो । अमेरिकी वित्त क्षेत्रमा भएको पछिल्लो समयको यो ठूलो घट्नासँगै अब क्रिप्टो उद्योग कसरी अगाडि बढ्ला भन्ने बहसको प्रारम्भ भएको छ । रोयटर्स पोडकास्ट ।

तीन दिन चट्याङसहित वर्षा हुने

काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौंसहित देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका पश्चिम र सुदूरपश्चिम क्षेत्रका अधिकांश स्थानमा वर्षा भएको छ । महाशाखाले जारी गरेको मौसम विवरणअनुसार भोलि शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । चैत ५ गते आइतबार देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२३ वर्षसम्म विज्ञान र गणितका शिक्षक रहेका यादव यसरी बने उपराष्ट्रपति

काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले कुल ३० हजार ३२८ मतभार पाएका छन् । यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती दुई छोरा र एक छोरी छन् । उनी विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए । यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाएका उनी राजनीतिक जीवन अघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित थिए । बारा कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा उनी विज्ञान र गणित विषयको शिक्षक थिए । भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो । नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी उच्च शिक्षा लिई भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेशका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उनी २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका हुन् । सो पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सदभावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्ने यादव पहिलो नेता हुन् । राजनीतिका क्रममा उनको भेट उपेन्द्र यादवसँग भएपछि उनी २०५९ सालमा मधेशी जनाधिकार फोरममा आवद्ध भएका हुन् । त्यसपछि उनी २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य भएका थियो भने विसं २०६५ मा उनी पार्टी महासचिव भए । यादव स्वच्छ तथा इमान्दार छविका नेता मानिन्छन् । उनी विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका उनी हाल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेताको भूमिकामा समेत छन् । पार्टी तथा सरकारको प्रतिनिधि भई उहाँले हालसम्म संयुक्त राज्य अमेरिका, पोल्याण्ड, चीन, संयुक्त अधिराज्य, बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स)लगायत देशको भ्रमण गरिसकेका छन् । रासस

९० विकास बैंकबाट १७ वटामा झर्दा पनि बजार हिस्सा घटेको छैन : अध्यक्ष श्रेष्ठ

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान)का अध्यक्षमा सुयोग श्रेष्ठले विकास बैंकको बजार हिस्सा बढ्दै गएको बताएका छन् । शुक्रबार चितवनमा सम्पन्न एशोसिएसनको १७ औं वार्षिक साधारण सभामा बोल्दै नव नियुक्त अध्यक्ष श्रेष्ठले ९० वटा विकास बैंकबाट अहिले १७ वटामा झर्दा पनि बजार हिस्सा कायम राख्न सकेको बताए । उनका अनुसार विकास बैंकका लागि ठूलो उपलब्धि रहेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैको सहयोगबाट विकास बैंकहरुको हक र हितका लागि कार्य गर्ने प्रतिबद्धता समेत जनाए । ‘आजका विकास बैंकहरु व्यवसायका दृष्टिकोणबाट हिजोका वाणिज्य बैंकहरु जस्तै हुन्, ९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु विकास बैंकहरुको उपलब्धि हो,’ उनले भने । उनले विकास बैंकले राम्रो काम गर्नका लागि सीईओहरुबीच सहकार्य गर्न आवश्यक रहेको बताए । साथै, उनले अप्ठ्यारो अवस्थामा पनि एसोसियसनलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकोमा निर्वतमान अध्यक्ष पोखरेललाई धन्यवाद दिए । एशोसिएसनका पूर्व अध्यक्ष प्रद्युमन पोखरेलले कोरोना महामारी, रुस र युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति लगायतका कारण बैंकिङ्ग क्षेत्र निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताए । सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन उनले अनुरोध गरे । एशोसियसनको चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति पनि चयन गरेको हो । महालक्ष्मी विकास बैंकका सीईओ बोधराज देवकोटा उपाध्यक्ष, सिन्धु विकास बैंकका सीईओ राम कुमार गिरी सचिव र लुम्बिनी विकास बैंकका सीईओ नरेश सिंह बोहरा कोषाध्यमा चयन भएका हुन् । यस्तै, एशोसिएसनको कार्यकारी सदस्यहरुमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका सीईओ डा.इन्द्र कट्टेल चयन भएका हुन् । नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ । एशोसियसनको १७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

चैत्र ६ गते विश्वासको मत लिन्छु, १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।शुक्रबार लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । दाहालले उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए । ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु, विश्वासको मत ६ गते लिने भनिएको नै छ, त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’ उनले भने । प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताए ।