विकासन्युज

पत्रकारितासँगै व्यावसायिक अचार उद्यममा जम्दै ‘बन्दना’

पाल्पा । व्यक्ति एक ठाउँ अनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बनेकी छन्, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरुपमा नेतृत्व गर्दै आउनुभएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा कहलिएकी छन्। पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरुका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उनले बताइन्। एक वर्षअघिदेखि उनले रामपुरमा अचार उत्पादन सुरु गरेकी छन् । पारिवारिक अवस्था अब्बल रहे पनि आफ्नो व्यवसायबाट अरु महिलाले पनि सिको गरुन् भनेर आफैँले व्यस्त समयका अलवा व्यावसायिक अचार उत्पादन सुरु गरेको उनले बताइन् । ‘महिलालाई सशक्तीकरण गर्न, रामपुरको उत्पादन बाहिर चिनाउन र फुर्सदको समय सदुपयोग गर्दै यस व्यवसायमा लागेको छु’, उनले भनिन्, ‘अहिलेको बजार अवस्था राम्रै रहेकाले उत्पादन वृद्धि गर्दै जाँदा यसबाट मनग्य आम्दानी लिन सकिने सम्भावना एक वर्षको अनुभवले मैले देखेको छु ।’ घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा ‘भान्छाको साथी दिदीको अचार’ नाममा उद्योग दर्ता गरी व्यावसायिक उत्पादन सुरु गरेकी छन् । मुला, गाँजर, गुन्द्रुक, भटमास, तामा, अकबरे खुर्सानी, मेथी, लसुन, आँप, अमला, इमिली, लप्सीलगायतका गाउँघरमा उत्पादन हुने कृषिउपजबाट विभिन्न खालका अचार उत्पादन गर्छिन् । होलसेल मूल्य हाल (तौलअनुसार फरक) न्यूनतम रु एक सय १० देखि बढीमा दुई सय ५० र खुद्रा मूल्य न्यूनतम रु एक सय ३५ देखि तीन सयमा धमाधम बिक्री भइरहेको छ । उनी भन्छिन्, ‘अचारको माग धेरै आएको हुँदा यसलाई विस्तार गरी ठूलो मात्रामा उत्पादन गर्ने तयारी गरिरहेको छु, ल्याब टेस्टको लागि भैरहवा पठाइएको हँुदा त्यसको रिपोर्ट आएपछि उत्पादन बढाएर विभिन्न स्थानमा ब्राण्ड बनाएर बजार पठाइनेछ ।’ पाल्पा (तानसेन), बुटवल, काठमाडौँमा समेत अचार खपत भएको छ । स्थानीय उत्पादन भएकाले विभिन्न स्थानबाट खोजी खोजी अचार माग गर्ने बढेको उनी बताउँछिन्। स्थानीय उत्पादनको स्वाद फरक र गुणस्तर राम्रो भएकाले विदेशमा बसोबास गर्ने नेपालीबाट माग भई विभिन्न देशमा अचार पुगेको उद्यमी पोखरेलले बताइन्। कोभिड–१९ को प्रभावले बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै केही नयाँ उद्यम गरौँ भन्ने मनसायले यस व्यवसायमा सीप सिकेर उत्पादन सुरु गरेको उनको भनाइ छ । उद्यमी पोखरेलले काठमाडौँको बूढानीलकण्ठमा रहेको रिक फुड उद्योगमा पाँच दिनको तालिम लिएर व्यावसायिक उत्पादनलाई जोड दिएकी हुन् । ‘न्याय र समानता, आर्थिक समृद्धिका लागि महिलाको अर्थपूर्ण सहभागीता हुनु जरुरी छ, महिला आफैँमा आर्थिक क्षेत्रमा सक्षम भइएन भने घरपरिवार, समाजमा हिंसाको सिकार बन्नुपरेको छ, आफैँले कमाउन सकियो भने अरुसँग आश्रित हुनुपरेन, यसले महिला हिंसाका घटना कमी हुँदै जानेछ’, उद्यमी पोखरेलले भनिन्। उनले रामपुरमा भएको व्यापार मेलामा रु एक लाख २५ हजार बराबरको अचारको कारोबार गरेकी छन् । एक वर्षको अवधिमा मात्रै उनले एक हजार पाँच सय किलो अचार बजारमा खपत भएको छ । बिक्री गर्न तीन सय किलो अचार बाँकी छ भने उत्पादन कार्य चलिरहेको छ । एक वर्षको अवधिमा करिब रु दुई लाख बराबरको अचार बिक्री भएको छ । गत माघ २७ देखि फागुन ८ सम्म रामपुरमा चलेको तेस्रो व्यापार मेला तथा व्यापार मेलामा कृषि ज्ञान केन्द्र पाल्पाको स्टल व्यवस्थापनमा राखिएको अचार मेलाको मुख्य आकर्षणसमेत बनेको थियो । सोही मेलाका कारण अहिले अचारको माग थपिँदै गएको उद्यमी पोखरेल बताउँछिन् । यस क्षेत्रमा सुक्खाभन्दा झोलिलो अचार खोज्ने ग्राहक बढेकाले उनीहरुको मागलाई मध्यनजर गर्दै झोलिलो खालको अचार उत्पादन गर्ने उनको सोच छ । आफ्नै गाउँघरका खेतबारीमा उत्पादन भएका कृषिजन्यउपजलाई अचार बनाएर बजार पठाउँदा आनन्दको अनुभूति भएको उनले अनुभव सुनाइन्। आफूले केही व्यवसाय गरेर समाजमा अन्य महिलालाई पनि विभिन्न उद्यम, व्यवसाय गर्न अग्रसर गराउँदै सामाजिक अभियान्ता, पत्रकारिता सँगसँगै यस उद्योगलाई निरन्तररुपमा अगाडि बढाउने उनी बताउँछिन् । उद्यमी पोखरेल हाल बोलीखबर डटकमका सम्पादक, मेचीकाली राष्ट्रिय दैनिकका पाल्पा संवाददाता तथा प्रेस चौतारी नेपाल पाल्पाका उपाध्यक्ष हुन् । यसका अलवा अहिले उनी मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल विकास समितिद्वारा सञ्चालित साइपल बोटेक ज्वइक टिएमएस जेभी एसोसिएसनको सामाजिक सहजकर्ताका रुपमा समेत काम गर्दै आएकी छन् । व्यस्त समयको बाबजुद पनि अचार उत्पादनमा सक्रियताका साथ लागिरहेकी छन् । श्रीमान् वैदेशिक रोजगारीमा घरमा एक छोरा र आफू बसोबास गर्दै आएकी छन् । उनले पत्रकारिता, सामाजिक अभियान्तासँगै गरेको यस अचार उद्योगले फुर्सदको समय काममा लगाउने र आर्थिक क्षेत्रमा अरुको निर्भर नभई आफैँ अब्बल बन्नुपर्छ भन्ने सामाजमा राम्रो प्रभाव पारेको रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताउँछन् । रासस ।

जनयुद्धका सहिदको नामावली राजपत्रमा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपनि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन् । यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

३८ प्रतिशतले घट्यो विदेशी लगानी

काठमाडौं । मुलुकमा आउने प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको आठ महिना (साउन–फागुन)सम्म प्रत्यक्ष वैदेशिक लगानी ३७ दशमलव ९३ प्रतिशतले घटेको हो । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य कमी आएको हो । उद्योग विभागका अनुसार यो आठ महिनामा १५९ परियोजनामार्फत २० अर्ब ५६ करोड २३ लाख रुपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष सो अवधिमा ३३ अर्ब १२ करोड ६६ लाख रुपियाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १२ अर्ब ५६ करोड ६५ लाख रुपियाँ कमी हो । १५९ वटा परियोजना यो वर्ष १५९ वटा परियोजनामा १३४ वटा साना उद्योग, २२ वटा मझौला र तीनवटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । ती परियोजनामार्फत नौ हजार ४७८ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । आठ महिनामा विदेशी लगानी प्रतिबद्धतामा सबभन्दा धेरै सेवामूलक परियोजनामा ७४ दशमलव ४४ प्रतिशत, पर्यटनमूलक परियोजनामा ६१ दशमलव ३८ प्रतिशत, उत्पादनमूलकमा १६ प्रतिशत, सूचना प्रविधिमा ७ दशमलव ५ प्रतिशत र पूर्वाधारमा ५ दशमलव ३ प्रतिशत रहेको विभागले जनाएको छ । खनिज, ऊर्जा र कृषिमा आधारित परियोजनामा लगानी प्रतिबद्धता नआएको विभागको तथ्याङ्क छ । विभागका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा मात्र दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । भदौ महिनामा तीन अर्ब ४४ करोड ६५ लाख रुपियाँको लगानी प्रतिवद्धता भएको छ । यस्तै असोज महिनामा एक अर्ब ८५ करोड ४७ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । कात्तिक महिनामा तीन अर्ब ६५ करोड रुपियाँ, मङ्सिर महिनामा ८० करोड आठ लाख रुपियाँ प्रतिबद्धता आएको छ । विभागका अनुसार पुस महिनामा चार अर्ब ८५ करोड २० लाख रुपियाँ, माघ महिनामा एक अर्ब ३९ करोड र फागुन महिनामा एक अर्ब ९२ करोड २९ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागका अनुसार आव २०७८र७९ मा साउनमा महिना पाँच अर्ब ५३ करोड ५० लाख, भदौ महिनामा छ अर्ब ३२ करोड, असोज महिनामा ११ अर्ब ९६ करोड पाँच लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यस्तै कात्तिक महिनामा ९८ करोड, मङ्सिर महिनामा पाँच अर्ब १५ करोड ५१ लाख, पुस महिनामा ६१ करोड २० लाख, माघ महिनामा ५३ करोड ९५ लाख र फागुन महिनामा दुई अर्ब २३ करोड रुपियाँ प्रतिबद्धता आएको थियो । विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले विश्व अर्थमन्त्रमा देखा परेको सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता घटेको बताए। रुस–युक्रेन युद्धपछि विश्वका धेरै मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेका कारण नेपालमा पनि वैदेशिक लगानीमा असर देखिएको उनको भनाइ छ । भिसामा कडाइ भिसामा कडाइ गरिएका कारण पनि लगानी प्रतिबद्धता कम आएको विभागको बुझाइ छ । प्रतिबद्धता गर्ने तर सोअनुसार लगानी नआएकाले विभागले व्यावसायिक भिसामा कडाइ गरेको हो । फागुनसम्म विभागले व्यावसायिक भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, १५० जना प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । लगानी सीमाको प्रभाव सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै सानो लगानीका विदेशी परियोजनामार्फत लगानी बढ्ने अनुमान गरिए पनि सोअनुसार लगानी आउन नसकेको विभागले जनाएको छ । गत मङ्सिर महिनादेखि विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँमा झारिएको थियो । लगानीको सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको हो । विभागका अनुसार सुरुदेखि हालसम्म मुलुकमा चार खर्ब ३९ अर्ब ८२ करोड ९४ लाख ९३ हजार रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । नेपालमा विदेशी लगानीकर्ताले लगानी गर्ने भनेर प्रतिबद्धता गरेको रकममध्ये ३० प्रतिशत लगानी भित्रिने गरेको बताइएको छ । साढे तेह्र अर्ब नाफा विदेशियो राससका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा लाभांशबापत साढे १३ अर्ब रुपियाँ विदेशिएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा तीन अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस गरेको हो । विभागले यो आठ महिनामा रोयल्टीबापत दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार रुपियाँ विदेशिएको छ । यसमा ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८२५ भारतीय रुपियाँ र सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैङ्कबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ । फागुनमा मात्रै तीन अर्ब सिफारिस विभागले फागुनमा मात्रै लाभांशबापत दुई अर्ब आठ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको छ । शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष विदेशिने रकम बढ्ने विभागको अनुमान छ । ‘गत आर्थिक वर्षमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ’, उनले भने । गोरखापत्रबाट

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने ओईसीडीको प्रक्षेपण

एजेन्सी । अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ । चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान बढाएको हो । तर उक्त सङ्गठनले अमेरिकी बैंक क्षेत्रको उथलपुथलमा देखिएको कमजोरीबारे चेतावनी जारी गरेको छ । ओईसीडी ले यस वर्ष विश्व अर्थतन्त्रको वृद्धिदर २.६ प्रतिशतले बढ्ने अनुमान गरेको छ । गत नोभेम्बरमा गरिएको प्रक्षेपणमा यो दर २.२ प्रतिशत हुने अनुमान गरिएको थियो । सन् २०२२ मा देखिएको ३.२ प्रतिशतको विस्तारको तुलनामा यो अझै न्यून रहेको पेरिसस्थित ओईसीडीले ‘ए फ्रेजाइल रिकभरी’ शीर्षकको आफ्नो अद्यावधिक आर्थिक मूल्याङ्कनमा उल्लेख गरेको छ । ओईसीडीले आफ्नो अन्तरिम आर्थिक मुल्याङ्कन रिपोर्टमा भनेको छ, ‘व्यापार र उपभोक्ताको भावनामा सुधार आउन थालेको, खाद्यान्न र ऊर्जाको मूल्य मा गिरावट आएको र चीनको बजार पूर्णरूपमा खुल्न थालेपछि थप सकारात्मक सङ्केतहरु देखिन थालेका छन् ।’ उक्त प्रतिवेदन अनुसार सुधारको अवस्था अझै कमजोर रहेको र जोखिमहरू केही हदसम्म सन्तुलित भएका तर नकारात्मक पक्षमा झुकेका छन् । यसलाई पुष्टि गर्न युक्रेनमा युद्धको क्रममा अनिश्चितता, ऊर्जा बजारमा नयाँ दबाबको जोखिम र बढ्दो ब्याज दरको प्रभावलाई उद्धृत गरिएको छ । दशकौंदेखिको उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन्, तर बढ्दो ऋण लागतले अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने डर विश्व बजारमा व्याप्त छ । ‘कडा मौद्रिक नीतिको प्रभावका सङ्केतहरू संयुक्त राज्य अमेरिकाका क्षेत्रीय बैंकहरूसहित बैंकिङ क्षेत्रका केही भागहरूमा देखिन थालेका छन्’, विज्ञप्तिमा भनिएको छ । उच्च ब्याज दरले अन्तर्निहित वित्तीय कमजोरीहरू उजागर गर्दछ भने आर्थिक वृद्धिमा अपेक्षा गरेभन्दा बढी प्रभाव पार्न सक्छ । गत साता सिलिकन भ्याली बैंकले उच्च दरका कारण मूल्य घटाएको ऋणपत्रमा १.८ अर्ब अमेरिकी डलरको नोक्सानीको सन्दर्भ सार्वजनिक भएपछि मौद्रिक कडाइलाई जोडेर अध्ययन गरिएको हो ।

वाइवाईले गर्यो कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई

काठमाडौं । सीजी फुड्सको उत्पादन वाइवाइले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान सरसफाइ गरेको छ । आइसीसी लिग टू अन्तर्गतको बिहिबार त्रिवि क्रिकेट मैदानमा खेलका दौरान चाउचाउका खोल, पानीका बोत्तल लगायत अन्य फोहोर वाइवाइले शुक्रबार सफा गरको हो । बिहीबार सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजीत गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ । मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रहेको रोमान्चक खेलमा नेपालको वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ ।  

विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

काठमाडौं ।  सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय गर्न सफल भएका छन् । विभिन्न सात राष्ट्र सम्मेलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोटमा प्रवेश पाएका हुन् । यससँगै अब नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग खेल्न पाउने पक्का भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई) लाई पराजित गर्दै विश्वकपको छनोटमा प्रवेश पाएको हो । खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले विजयी भएको थियो । त्यस्तै, लिग दुईको अङ्कतालिकामा चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गरेका क्रमश: नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनीले विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ । प्लेअफमा यी चार टोलीसहित च्यालेन्ज लिगको शीर्ष दुई टोली क्यानडा र जर्सी गरी ६ राष्ट्रको प्लेअफ छनोट हुनेछ । उक्त खेल नामिबियामा यसै महिनामा हुनेछ । जसबाट शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोटमा सहभागिता जनाउन पाउनेछन् । जिम्वावेमा विभिन्न १० टोली प्रतिस्पर्धामा उत्रनेछन् । विश्वकप लिग दुईबाट नेपाल ओमान र स्कटल्यान्डले स्थान बनाए भने सुपर लिगबाट जिम्बावे र नेदरल्यान्ड्सले खेल्ने पक्का भइसकेको छ । अन्य टोलीको छनोट हुन भने बाँकी छ । जिम्बावेमा हुने विश्वकप छनोटमा आइसीसी सुपर लिगका पुछारका पाँच टोली, लिग दुईको शीर्ष तीन टोली र प्लेअफ छनोटबाट आउने शीर्ष दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सम्हालिएर खेल्दा जितिन्छ भन्ने आत्मविश्वास हुनाका साथै खेलाडीले अनुशासित भई ब्याटिङ गर्दा नेपालले कीर्तिमानी जित हासिल गर्न सकेको बताए । उनले अहिलेको नेपाली टोलीमा अद्भुत क्षमता भएको खेलाडी रहेको र उनीहरुले भविष्यमा नेपाली क्रिकेटका लागि राम्रो गर्नसक्ने बताए । यसैगरी, नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले युएईले दिएको लक्ष्य धेरै भए पनि जित निकाल्ने विश्वास नगुमेकाले विजयी हासिल गर्न सकेको भन्दै यस जितको श्रेय प्रशिक्षक मन्टी देसाईलाई दिन चाहेको बताए । प्रशिक्षक मन्टी आएदेखि नेपालली टोलीको माहोल परिवर्तन भएको र प्रत्येक खेलमा केन्द्रित हुन सिकाएको उनको भनाइ छ । देसाई नियुक्त भएपछि नेपालले लिग २ का पछिल्ला १२ खेलमध्ये ११ खेलमा जित हात पार्न सफल भएको थियो । रासस

नेप्सेमा ५ कम्पनीको ११ करोड ६९ लाख कित्ता सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता विभिन्न ५ कम्पनीको सेयर सूचीकृत भएको छ । गत फागुन २८ गते आइतबारदेखि चैत ३ गते शुक्रबारसम्म नेप्सेमा ५ कम्पनीको सेयर सूचीकृत भएको हो । नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था, प्राइम कमर्सियल बैंक, चिलिमे जलविद्युत कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र प्रभु बैंकको गरी कूल ११ करोड ६९ लाख ९९ हजार ७५८ कित्ता सेयर सूचीकृत भएको हो । जसमा बोनस सेयर र हकप्रद सेयर रहेको छ । गुराँस लघुवित्तको ४ प्रतिशत बोनस वापतको ३९ हजार कित्ता सेयर सचीकृत नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस वापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, चिलिमे जलविद्युत कम्पनीको ७.५ प्रतिशत बोनस वापतको ५० लाख ६३ हजार ८४६.०१ कित्ता नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले लिलामी मार्फत बिक्री गरेको संस्थापकको ४३ लाख ५७ हजार १८५ कित्ता सेयर हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै, प्रभु बैंकको १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले १ः१ स्वाप रेसियो अनुपातमा प्राप्ति गरेपश्चात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब नेप्सेमा प्रभु बैंकको कूल २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता सेयर पुगेको छ भने नेप्सले सेञ्चुरी बैंकको सूचीकरण खारेज भएको छ ।

रक्तदान गरेर मनायो पोखरा फाईनान्सले २६ औं वार्षिककोत्सव

काठमाडौं । पोखरा फाईनान्सले २६ औ वार्षिकोत्सव रक्तदान कार्यक्रम गरेर मनाएको छ ।संस्थाले प्रधान कार्यालयमा सम्पन्न भएकाे कार्यक्रममा ५१ जना रक्तदान गरेका थिए । पोखरा ९, न्यूरोड, कास्कीमा प्रधान कार्यालय रहेको यस वित्तीय संस्थाले मिति २०५३ साल देखि आफ्नो बैंकिङ्ग कारोबार शुभारम्भ गरेको हो । संस्थाकाे वित्तीय संस्थाको हाल अधिकृत पुँजी १५० करोड रहेको छ भने जारी तथा चुक्ता पूँजी १.०८ अर्ब रहेको छ । देशका विभिन्न ठाउँहरुमा शाखा सञ्जाल रहेको यस वित्तीय संस्थाको हालसम्म २४ वटा शाखा संख्या, १ एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सञ्चालनमा रहेको छ ।