विकासन्युज

सुदूरपश्चिममा सवारी दुर्घटना : तीन वर्षमा पाँच सय बढीको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन । गत तीन वर्षयता यहाँ एक हजार दुई सय ४६ सवारी दुर्घटना भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको देखिएको छ । उक्त सवारी दुर्घटनामा परेर यहाँ पाँच सय तीनको ज्यान गएको प्र्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल छन् । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै यहाँ एक सय ८७ सवारी दुर्घटना भएकामा एक सय २१ जनाले ज्यान गुमाएका छन् । यो आवमा एक सय ४६ गम्भीर र एक सय ५७ सामान्य गरी तीन सय तीन जना घाइते भएका छन् । यस्तै, गत आव २०७८/७९ मा पाँच सय एक सवारी दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका छन् । आव २०७७/७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा एक सय ८६ जनाको मृत्यु भएको छ । यी दुई वर्षमा पनि सवारी दुर्घटनामा परेर सयौँ जना अङ्गभङ्ग भएका छन् । दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लङ्घन नै देखिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए । उनले भने, ‘सवारी दुर्घटना हुने मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु नै हो, सबैले सवारी चालकले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना निकै कम हुने देखिन्छ ।’ सवारीसाधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गइरहेका छन् । मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्नु, ग्रामीण क्षेत्रमा पनि सवारीसाधनको गति कम नहुनु, सडकमा सवारीको चाप बढ्दै जानु, सडक पुराना र साँघुरो हुनु र सवारीचालक तथा सवारीधनीले प्रहरीलाई छलेर भए पनि क्षमताभन्दा बढी भार बोक्नुलगायतले सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन, मोबाइल प्रयोग गरेर सवारी चलाउनु, यात्रु बोक्ने साधनमा सवारीचालक र सवारीधनीले जनावरदेखि खाद्यान्नसम्म बोकेर ग्रामीण क्षेत्रमा गाडी चलाउने र त्यसतर्फ प्रहरीको ध्यान कम जाँदा बढी दुर्घटना भइरहेको छ । यस्तै सवारीका कारण हुने दुर्घटनामा सवारीसाधनमा आउने यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन् । जस्तै चढ्दा र ओर्लँदा ख्याल नगर्दा, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपुर्याएर पनि दुर्घटना भएका छन् । सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो-ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायत छन् । यस्तै हुस्सु, कुहिरो, बाढी-पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के जाँच, टाइमकार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास भइरहेको प्रमुख गिरीको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेला-बेलामा सचेत गराउने कार्य गरेको छ । उनले भने, ‘नियमित जाँचसँगै जनचेतनामूलक सन्देश दिँदै आएका छौँ, प्रदेशभरि दुई सय बढी सचेतनामूलक होर्डिङ बोर्ड राखेका छौँ, चालकसँग एक मिनेट कार्यक्रम सञ्चालनमा छ ।’ रासस

क्याप्टेन आचार्यले आफ्नै हवाइ कम्पनी खोले, पौने १ अर्ब लगानीमा ९० जना बढीले रोजगारी पाउने

काठमाडौं । शिवम् एयरलाइन्स उद्योग विभागमा दर्ता भएको छ । आन्तरिक रुममा उडान गर्ने गरी कुल ८४ करोड ९१ लाख ७८ हजार ६२५ रुपैयाँ लगानी रहने गरी गत माघ ९ गते उद्योग विभागमा दर्ता भएको हो । शतप्रतिशत नेपाली लगानी रहेको शिवम् एयरलाइन्सले उद्योग सञ्चालनमा ल्याएपछि ९८ जनालाई रोजगारीसगैँ ३० किलोबाट विद्युत उपयोग गर्नेगरी उद्योगबाट स्वीकृति पाएको छ । शिवम् एयरलाइन्सका सञ्चालक क्यापटेन दिनेश आचार्य हुन । उनीसँग तीन दशक नेपाल तथा भारतका वायुसेवा कम्पनीका जहाज उडाएको अनुभव रहेको छ । लामो समय उडान अनुभव बोटुलेका आचार्य आफैले लगानी गरेर नयाँ एयरलाइन्सका रुपमा शिवम् एयरलाइन्स सञ्चालन गर्न लागेका छन् । आप्नो क्षमता र सीपको प्रयोग गर्न आफैले एयरलाइन्स कम्पनी खोलेको उनको भनाइ छ । ‘मैले हवाई क्षेत्रमा ३० वर्ष काम गरे, नेपाली तथा भारतीय वायुसेवा कम्पनीहरुमा क्यापटेन भएर लामो समय काम गर्न मलाई आफैले वायुसेवा कम्पनी खोल्न मन लाग्यो’, केही समय अघि उनले विकासन्युजसँग भने, ‘आप्नो सीप र क्षमताको प्रयोग गर्दै साथीको सहयोगमा नयाँ वायुसेवा कम्पनी सञ्चालन गर्दैछु।’ सौर्य एयरलाइन्सबाट काम छोडेर नयाँ एयरलाइन्स कम्पनी खोल्ने तयारी गर्दा नेपालमा कोभिड देखिएपछि बाँकी कामहरु रोकिएको उनको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ । लामो समयको तयारी पश्चात् उक्त कम्पनीलाई मन्त्रालयले अनुमति दिएको हो । मन्त्रालयबाट अनुमति पाएको सो एयरलाइन्स कम्पनीले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट एनओसी पाउन बाँकी छ । प्राधिकरणबाट उडानका लागि पाँच चरणको प्रक्रिया पूरा भएसँगै छिट्टै सेवा सुरु गर्ने योजना कम्पनी रहेको छ । शिवम् एयरलाइन्सका अध्यक्ष समेत रहेका क्यापटेन आचार्यले अमेरिकाबाट पाइलट कोर्श पूरा गरेका हुन् । अमेरिकाको पढाइ सकेर सन् १९९२ देखि नेपाली आकाशमा विमान उडाएका उनले भारतको जुन एयरमा समेत लामो समयसम्म काम गरे । निकोन एयरबाट हवाई उडानको सुरुवात गरेका उनले आकाशमा मात्रै १७ हजार घण्टाभन्दा धेरै उडान गरिसकेका छन् । निकोन एयरलाइन्सबाट उडानको सुरुवात गरेका उनले एभरेष्ठ एयर, बुद्ध, यती र सौर्य एयरलाइन्समा लामो समय क्यापटेनको रुपमा काम गरिसकेका छन् । नेपालका नाम चलेका एयरलाइन्स बाहेक उनले इन्डियाको जुन एयरमा समेत लामो समयसम्म काम गरे । तीन जहाजबाट दुर्गममा उडान गर्ने प्राधिकरणबाट एनओसी पाएपछि उडान सञ्चालनको तयारी गर्ने शिवम् एयरलाइन्सले जनाएको छ । सुरुवाती चरणमा तीन वटा साना जहाजमार्फत् दुर्गमका क्षेत्रमा उडान गर्ने गरी मन्त्रालयबाट अनुमति पाएको छ । ‘मन्त्रालयबाट आधिकारिक पत्र आएको छ, नागरिक उड्डयन प्राधिकरणबाट बाँकी प्रक्रिया पूरा गरी अबको एक वर्षभित्रै सेवा सञ्चालनमा ल्याउने योजना बनाएका छौँ,’ उनले भने । उनका अनुसार शिवम्ले पोखरालाई केन्द्रबनाएर जोमसोम, नेपालगन्जबाट सिमकोट, हुम्ला काठमाडौंबाट जुम्ला, लुक्ला लगायतका दुर्गमका गन्तव्यमा उडान भर्नेछ । कम्पनीमा आचार्य बाहेक व्यवसायी दिपक श्रेष्ठको लगानी रहेको छ । कम्पनीले ट्विनअटर–४०० (डीएच ६४००) सिरिज र लेट फोर–टेनमध्ये कुनै एक किसिमको जहाजमार्फत सेवा सुरु गर्ने योजना बनाएको बताइएको छ ।

सडक पूर्वाधारका लागि गुरुयोजना बनाउँदै अजिरकोट, निर्माण साढे दुई महिनामै सक्ने

फाइल फोटो गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरुयोजनाको काम अघि बढाएको छ । गाउँपलिकाले पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउने उद्देश्यसहित यातायात गुरुयोजना नै निर्माणको थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । गुरुयोजना निर्माणका लागि अहिले पालिकाभित्रका सबै वडामा सार्वजानिक सुनुवाइको काम सुरु भइसकेको उनले बताए । ‘अहिले सबै वडामा सुनुवाइ हुने क्रम चलिरहेको छ,’ उनले भने, ‘कुन सडकलाई कस्तो मापदण्ड बनाउने, सडक निर्माण गर्न लागिएको ठाउँका जनताको गुनासो के छन् भनेर राय सुझाव सङ्कलनको काम भइरहेको छ ।’ लगत्तै परामर्शदाता, भूगर्वविद्, अमिन, इञ्जीनियरलगायतका प्राविधिकको टोलीले गुरुयोजना निर्माणका लागि सुझावसहितको प्रतिवेदन तयार पार्ने उनले बताए । करिब साढे दुई महिनाभित्रमा गुरुयोजना निर्माणको काम सम्पन्न भइसक्ने अध्यक्ष देवकोटाको भनाइ छ । ‘एकपटक निर्माण गरेको सडक दुई-चार वर्षमा भत्काएर पुनः नयाँ बनाउनुपर्ने बाध्यता सबैतिर छ, त्यसले समय र लगानीसमेत बर्बाद भइरहेको छ,’ उनले भने, ‘यसलाई रोक्न र विकासलाई दीर्घकालीन लक्ष्यसहित तीव्रगतिमा अघि बढाउन पालिकाले यातायात गुरुयोजना निर्माणको काम अघि बढाएको हो ।’ उनले पालिकाले आफ्नै यातायात गुरुयोजना बनाएपछि पालिकाभित्र सडक निर्माण गर्दा दीर्घकालीन लक्ष्य बनाएर योजनाबद्धरूपमा सडक निर्माणको थालनी गरिनेसमेत बताए । ‘गुरुयोजना निर्माण गर्दा पालिकाभित्रका सडकलाई चार भागमा वर्गीकरण गर्न लागिएको छ,’ अध्यक्ष देवकोटाले भने- ‘वर्गीकरणका क्रममा सडकका मापदण्डसमेत निर्धारण गरिनेछ र त्यसका आधारमा मात्र सडक निर्माणको काम अघि बढ्छ ।’ उनका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको गुरुयोजनामा ‘क’ वर्गको सडकको न्यूनतम मापदण्डअनुसार चौडाइ १४ मिटर रहनेछ भने ‘ख’ वर्गको सडकको न्यूनतम मापदण्डमा चौडाइ १० मिटर रहने व्यवस्था गरिनेछ । त्यस्तै ‘ग’ वर्गको सडकको चौडाइ न्यूनतम आठ मिटर र ‘घ’ वर्गको सडकको मापदण्ड चौडाइ न्यूनतम छ मिटर कायम गरिने अध्यक्ष देवकोटाले बताए । ‘हामीले एकपटक सडक निर्माण गरिसकेपछि अबको ५० वर्षसम्म अजिरकोटको भविष्य यसले सुनिश्चित गर्दछ,’ उनले भने- ‘यस्तो रणनीतिक महत्वका विषयवस्तुलाई ढिलाइ गर्दा हामीले भोलिको गाउँपालिकालाई व्यवस्थित गर्न सक्दैनौँ भनेर गुरुयोजना निर्माणको थालनी गरिएको हो ।’ गाउँपालिकाले यातायात गुरुयोजना निर्माण गर्दा जनघनत्व, आवश्यकता र महत्वका आधारमा सडकको वर्गीकरण गर्न लागेको उनको भनाइ छ । उनले गाउँपालिकाको बजेटबाट मात्र सबै सडक निर्माणको काम अघि बढाउन नसक्ने भएकाले पनि गुरुयोजना निर्माण गरेपछि समपूरक तथा सङ्घीय अनुदानलाई केन्द्रित गर्न सजिलो हुने तथा दीर्घकालीन योजनासहित सडक निर्माणको काम अघि बढाउन सजिलो हुने बताए । सडक योजना निर्माण गर्दा गाउँपालिकाका वडाहरू गाउँपालिकाको केन्द्र, अस्पताल तथा सहर र अन्य ठूला विकासका पूर्वाधारसँग जोडिएका सडकलाई पहिलो प्राथामिकताको सडकका रूपमा विकास गर्ने योजना गाउँपालिकाको रहेको अध्यक्ष देवकोटाको भनाइ छ । रासस

विदेशमा ठक्कर, स्वदेशमा अवसर

ढोरपाटन । समथर भू-भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन् । चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका-४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो । कुँडुलेका अधिकांश युवाशक्ति विदेशमा छन् । यहाँ खेतीयोग्य जमिनलाई पौडेल र सुवेदीले व्यावसायिकरूपमा प्रयोग गरेका छन् । युवा विदेश पलायन भएपछि कुँडुलेका गाउँघर उराठिलो बनेका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकेको छ । गाउँमा अहिले वृद्धवृद्धा, महिला र बालबालिका मात्रै छन् । पौडेल र सुवेदी ज्वाइँ-जेठान छन् । पौडेल पनि विदेशमा हण्डर खाएर फर्किएपछि व्यावसायिक तरकारी खेती गर्ने सोच आएको हो । तेत्तीस वर्षीय प्रकाशसँग तीन वर्ष अफगानिस्तान र तीन वर्ष मलेसियामा पसिना बगाएको अनुभव छ । गोविन्द भने अहिलेसम्म विदेश गएका छैनन् । पौडेलसँग विदेशमा भोगेको भोगाइको फेहरिस्त छ । विदेशमा २० घण्टासम्म कडा परिश्रम गर्दासमेत आफूले सोचेजस्तो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएका पौडेललाई अहिले तरकारी खेतीबाट सन्तुष्टि मिलेको छ । चार वर्ष अगाडि ज्वाइँ-जेठानको संयुक्त लगानीबाट सुरु भएको तरकारी खेतीले अहिले खुसीसँगै आम्दानी पनि दिन थालेको छ । पाँच लाख रुपैयाँबाट सुरु गरेको व्यवसायमा हालसम्म ११ लाख रुपैयाँ बढी लगानी गरिसकेको पौडेलको भनाइ छ । कृषिसम्बन्धी तालिम लिएर व्यवसाय सुरु गरेका पौडेल र सुवेदीलाई सुरुआती चरणबाटै सफलता हात पर्न थालेको छ । परिवारसँगै पौडेल बिहानदेखि बेलुकासम्म बारीमै काम गर्छन् । तरकारीका बीच-बीचमा उम्रेका झारपात उखेल्नेदेखि भर्खर फल्न थालेका तरकारीलाई झाल हाल्ने र बारी खन्ने काम उनीहरूको दैनिकी हो । घर पर्वतमा भए पनि कुँडुलेमा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका उनीहरूले जग्गा भाडामात्रै वार्षिक करिब एक लाख तिर्ने बताउँछन् । ज्वाइँ-जेठानले ‘मुक्तिनाथ एकीकृत कृषि फार्म’ दर्ता गरी व्यवसाय अघि बढाएका छन् । व्यवसाय फस्टाउँदै गएपछि पौडेल र सुवेदीसँगै उनका परिवार पनि खुसी भएका छन् । पौडेल भन्छन्, ‘सुरुमा ठूलो पैसा कमाउने आशले विदेश गइयो, तर विदेशमा जति दुःख, सङ्घर्ष गर्ने हो भने यहाँ पनि राम्रो कमाइ गर्न सकिन्छ, अहिले यहाँ त त्यसरी मरिमेटी काम गर्न परेको छैन, सीमित समय काम गरे पुग्छ, विदेशमा निकै दुःख गरियो, न बिरामी हुँदा उपचार, न भोक लाग्दा समयमै खाना, अहिले आफ्नै परिवारसँगै काम गर्दा रमाइलो लाग्छ ।’ पौडेललाई विदेशमा छ वर्ष बिताएकामा अहिले पश्चताप लाग्छ । उनी स्वदेशमै व्यवसाय तथा अन्य काम गर्दा देश परिवर्तनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्छन् । विदेशमा बेच्ने श्रम आफ्नो गाउँठाउँमै गर्न सके समाज परिवर्तनसँगै आफ्नो परिवारको पनि जीविकोपार्जनमा सहजता आउने उनको भनाइ छ । व्यवसायलाई थप प्रवद्र्धनका लागि लगानी बढाइराखेको उनी बताउँछन् । कृषकका लागि धेरै अनुदान तथा कार्यक्रम आए पनि वास्तविक कृषकले नपाएको गोविन्दप्रसाद बताउँछन् । अहिलेसम्म कृषि ज्ञान केन्द्रले एक लाख ५० हजार रुपैयाँको टेनलबाहेक सहयोग नभएको भन्दै नगरपालिकाबाट कुनै पनि सहयोग पाउन नसकेको गुनासो गर्छन् । कृषकलाई प्राविधिक, समय-समयमा तालिम, मल, उन्नत जातका बीउबिजन र किटनाशक औषधि उलब्ध गराउन सके जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने सुवेदीको भनाइ छ । ‘यहाँ कृषिमा ठूलो सम्भावना छ, अहिले हामीहरूले सा-सानो फार्म चलाएर पनि जीविकोपार्जन गरेका छौँ, खाडी मुलुकमा जानुपरेको छैन, साउदी, कतारमा कमाउने दाम यही पनि कमाइन्छ,’ उनले भने, ‘तर राज्यले दिने सेवा सुविधा निर्वाहमुखी कृषकलाई र व्यावसायिक कृषक एउटै भएको छ, राज्यले व्यावसायिक कृषकलाई प्राथमिकता दिनुपर्छ, अहिले अनुदान पाउनेमा व्यावसायिक कृषकभन्दा बढी निर्वाहमुखी कृषक छन् ।’ सुवेदीले बाहिरबाट विषादी प्रयोग भएर आउने तरकारीले गर्दा आफूहरूले उत्पादन गरेका तरकारीले बजार नपाउने समस्या भएको बताए । बजार पाए पनि निकै कम मूल्यमा बेच्न बाध्य भएको उनले सुनाए । उनीहरूले आधुनिकतालाई पनि आत्मसाथ गर्दै, नयाँ प्रविधिबाट सिँचाइ र तरकारी खेतीको सुरुआत गरेका छन् । बारीमा आधुनिक प्रविधिको थोपा सिँचाइमार्फत तरकारीमा पानी लगाउने र मिनी टेलरमार्फत बारी खनजोत गर्दै आएका छन् । उनीहरूले मल, बीउलगायतका आवश्यक सामग्री बाहिरबाट लिएर तरकारीका बिरुवा आफैँ उत्पादन गर्ने गर्छन् । पौडेल र सुवेदीले आम्दानी गरेको अधिकांश रकम व्यवसायमै लगाउँदै आएको बताउँछन् । लागानी गरेर पनि वार्षिक तीन लाख रुपैयाँभन्दा बढी नाफा कमाउँदै आएको उनीहरूको भनाइ छ । व्यवसायलाई थप व्यवस्थित र ठूलो बनाउने योजनामा रहेका उनीहरूले आगामी वर्षमा अहिलेको भन्दा दोब्बर आम्दानी गर्ने गरी योजना बनाएका छन् । विदेशमा हण्डर खाएर फर्किएका युवा बागलुङमा धेरै छन् तर, पौडेल र सुवेदी जसरी व्यवसाय कमैले मात्रै गरेका छन् । कृषि ज्ञान केन्द्र बागलुङमा हरेक वर्ष करोडौंका बजेट आउने गरेका छन् । त्यो बजेटलाई कृषकसम्म सहजरूपमा पुर्याउने गरी काम गरिरहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । जिल्लामा पछिल्लो समय व्यावसायिक कृषिमा लाग्ने युवाहरू बढेको भन्दै उनीहरूलाई आधुनिकतासँगै जोड्न थालेको उनी बताउँछन् । ‘कृषकका हरेक समस्यालाई समाधान गर्दै जाने चरणमा छौं, सबैका समस्या एकैपटक समाधान हुनसकेका छैनन्, अहिले जिल्लामा कृषकले उत्पादन गर्ने तरकारीहरूले उचित बजार र मूल्य पाउन नसकेको सत्य हो,’ उनले भने, ‘जिल्लामा खपत भइरहेको छ, टाढा-टाढा पुर्याउनुपरेको छैन, बाहिरबाट आउने तरकारीलाई रोक्न सक्ने हो भने यहाँका कृषकलाई ठूलो राहत मिल्छ ।’ रासस

प्रतिनिधिसभाको बैठक बस्दै, सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री दाहालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ समेत पेस गर्नेछन् । यसैगरी बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ । साथै बैठकमा प्रेम सुवालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने छन् । यसैगरी सभामुखले बैठकमा नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउनु हुने सम्भावित कार्यसूचिमा रहेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेसमेत बैठकको सम्भावित कार्यसूची छ ।

कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी

काठमाडौं । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको ४६८ मतमा २३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन् । सङ्घ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा ४ कार्यकाल महासचिव र ३ कार्यकाल उपाध्यक्ष रहिसकेका छन् । ‘संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व सङ्घप्रति बढ्दो छ, आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु, मैले घोषणा गरेका अधिकांश काम गर्नेछु, कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु,’ नवनिर्वाचित अध्यक्ष निरौलाले भन्ने । उपाध्यक्षमा कविता गेलालले १५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले १४० मत तथा महासचिवमा सविन श्रेष्ठले ११२ मत प्राप्त गरेर विजयी भए । यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले २२३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले २६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् । सदस्यमा शीतल केसी सर्वाधिक ३०२ मत ल्याएर विजयी भए । अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ २८७, उद्धवप्रसाद भट्टराई २११, पवन केसी २०२, नम्रता खरेल १८७, पुकार भट्टराई १८२, खुश्बु खड्का १७७, सरिता राधोपाध्याय १४६, रोशन श्रेष्ठ १३५ र समीर लामा १३३ मत प्राप्त गरेर विजयी भएका हुन् । झन्डै ७ सय सदस्य रहेको सङ्घको निर्वाचनमा ४६८ मत मात्र खसेको थियो ।

कुमारी बैंकले ६ हजार ३२४ कित्ता सेयर बेच्दै

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी कृष्ण लामाको नाममा रहेको ६ हजार ३२४ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य बिक्रेताले तोकिए बमोजिम हुने बैंकले जनाएको छ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त समय अवधिमा आवेदन नपरेमा अन्य जोकाहीलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल रहेको छ ।

नेपाल आयल निमगले १८ लाखमा बेच्यो पुराना सवारी

काठमाडौं । नेपाल आयल निगमले पुराना सवारी साधन लिलाममा बिक्री गर्ने भएको छ । निगमको विभिन्न कार्यालयहरुमा रहेका पुराना सवारी लिलाम बिक्री गर्ने भएको हो । निगमका अनुसार सबैभन्दा बढी रकम कबोल गर्ने श्री स्क्रेप बाई एण्ड सेल्सलाइै छनोट गरेको छ । निगमले उक्त कम्पनीलाई १८ लाख १६ हजार ७८८ रुपैयाँमा पुराना सवारी साधन बिक्री गर्नेछ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ बमोजिम छनोट भएकाले कार्यालयमा ७ दिनभित्र सम्पर्क गर्न निगमले अनुरोध गरेको छ ।