विकासन्युज

नेपालमा पर्यटन नीति नै छैन : पर्यटनमन्त्री किराती

फाइल तस्बिर काठमाडौं । नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्विकार गरेका हुन् । उनले अवको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा समेत गरे । रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्ने उनको भनाई थियो । मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भएपनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताए । उनले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धि अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिए । मन्त्री किरातीले भने, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं । हाम्रो संस्कृति नीति बनाउनै सकेनौं । सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो । चाईनिज कल्चर सेन्टरसँग नेपालमा । स्पेनिस कल्चर सेन्टर छ नेपालमा । ररियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा । तर नेपालको त केही पनि छैन । ऊसको चाँही यहाँ पनि छ । हाम्रो चाँही केही पनि छैन ।’ ‘संस्कृतिलाई रिसर्च गर्ने सेन्टहरु खैं ? हामी लोप नभएर को लोप हुन्छ अव । भनेपछि हामीले अनुसन्धानको क्षेत्रमा कति पनि काम गरेका छैनौं । अहिले म भन्दैछु–अवको पर्यटन भनेको चाँही प्रकृतिको सम्पदा र मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ । रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्छ’, मन्त्री किरातीले भने । मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भएपनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताए । उनले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहो¥याए ।

छैटौं निफमा ‘हेर्दा हेर्दै कहाँ पुगियो’ माथि छलफल

काठमाडौं । चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सव (निफ)को तेस्रो दिन आज ‘हेर्दा हेर्दै कहाँ पुगियो’विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न उक्त सेसनका प्रमुख वक्ताहरुमा चलचित्र निर्माता तथा प्रदर्शक अशोक शर्मा, अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक सुजित बिडारी थिए । नेपाली फिल्म पहिला र अहिले विषयक छलफलमा दर्शकको सोचलाई केन्द्रमा राखेर डेढ घण्टासम्म सेसन चलेको थियो । सेसनको संयोजन मुभी लभर्सले गरेको थियो । सेसनमा कस्ले के भने ? अशोक शर्मा – पहिला थोरै फिल्म बन्थे । त्यसबेला कोही स्टार पनि थिएन । अहिले धेरै फिल्म बन्छन् र स्टार पनि धेरै छन् । त्यसकारण सायद दर्शकले पनि स्टारहरुको अपेक्षा गर्छन् । – पहिला आफ्नो प्रतिभा देखाउन फिल्म खेल्नु पर्थो । टेलिफिल्म खेल्नु पर्थो । अहिले आफ्नै फोनका माध्यमबाट आफ्नो प्रतिभा संसारकालागि रिलिज गर्न पाईन्छ । जस्तो टिकटक । – पहिला दर्शक र स्टारहरुको भेट फिल्म चलेको ५१ दिने कार्यक्रमहरुमा मात्र हुन्थ्यो । अहिले दर्शकले स्टारलाई भेटिरहन पाए हुन्थ्यो भन्छ । कुनै न कुनै माध्यमले सम्पर्क गर्छ । – स्टार भनेको धेरै हलुका हुनुहुँदैन । त्यसकारण दर्शकसँग प्रत्यक्ष सम्पर्कमा धेरै रहनु हुँदैन । – हिजो जे जस्ता फिल्म बनेपनि अव भने हामीले हाम्रा लोकल स्टोरीलाई नै ग्लोबलमा पुर्याउने उद्धेश्य राख्नु पर्छ । स्वस्तिमा खड्का –पहिला सबैकुरामा अपसन कम थियो । अहिले अपसन धेरै छ । आफ्नो कुरा भन्नकालागि मुभी नै खेल्नु पर्छ भन्ने छैन । –अहिले ३ सय मुभी एउटै खाले बन्छन् । र, त्यही बीचमा एउटा फरक खाले फिल्म आउँछ । त्यसकारण दर्शकलाई बानी बनाउन अफ्टेरो परेको हो । तर, क्रिएटिभ फिल्मलाई दर्शकले माया गर्छन् नै । –नेपाली फिल्मका दर्शक कम छन् भन्ने कुरा म मान्दिन । हलमा कम भएपनि युट्युवमा प्रसस्तै भिवर्श छन् । हलमा असफल भएका फिल्मको पनि मिलियन दर्शक पुगेको देखिन्छ । दर्शक थिएनन् भने यस्तो हुन्न थियो । –पहिला सिनेमा हल किफायती थिए । अहिले फिल्म हल महंगा छन् । त्यसकारण युट्युव रिलिज पर्खिनु पर्ने अवस्थामा दर्शक पुगेको देखिन्छ । –फिल्म मेकरको भन्दा दर्शकको स्तर बढेको जस्तो मलाई लाग्छ । त्यही कारण धेरै फिल्म असफल हुने गरेका छन् । कोरियन फिल्मको कपी गरेको कुरा दर्शकलाई लुकाउन सकिदैन । किनभने उनीहरुले मेकरसँगै त्यो फिल्म हेरिसकेको हुन्छ । –हामीले हाम्रो फिल्मलाई ग्लोबलमा पुर्याउने हो भने हाम्रै लोकल कथालाई टिप्नु पर्छ । सुजित बिडारी, निर्देशक –फिल्मको क्रेज कहिल्यै घट्दैन जस्तो लाग्छ मलाई । आफ्नै आँखा अगाडि फरक पात्र, जीवन र समाज देख्न पाईने हुनाले मान्छेमा क्रेज रहेको हो । र, रहिरहन्छ पनि । अनि सिनेमा हलको पनि क्रेज सकिदैन । किनभने मोवाइल फोन र ल्यापटपले हलको मज्जा दिन सक्दैनन् । – नेपाली फिल्म हेरेर मैले सिकेको कुरा चाहिँ हल्ला गरेर फिल्म हेर्न हो । त्यसवाहेक कमै कुरा सिकेको छु । – फेन्टासी हेर्ने नेपाली दर्शक छन् होला । तर उनीहरु दिपिका पादुकोणको बिकिनी सिन हेर्न लजाउँदैनन् । तर, प्रियंकाको बिकिनीलाई भल्गर देख्छन् । – मेकरले आफ्नो रुट बनाउनु पर्छ । रुट बनाउन सकिएन भने कहिँ पुग्न सकिदैन ।

सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी

काठमाडौं । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने चार अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु तीन अर्ब ७८ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ । कोषले औषधोपचार सुविधाबापत रु ४४ करोड ५९ लाख ९६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत रु पाँच करोड ४५ लाख १७ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रु छ करोड ४६ लाख ६३ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत रु तीन अर्ब २१ करोड ६५ लाख ७१ हजार दाबी भुक्तानी गरेको छ । कोषले ६८ हजार ३६ योगदानकर्तालाई एक लाख छ हजार चार सय ५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ । कोषमा हालसम्म तीन लाख ९९ हजार एक सय ९२ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख ७० हजार २९, कोसीबाट ३८ हजार आठ सय ६८, मधेसबाट २१ हजार दुई सय ४१, गण्डकीबाट १५ हजार दुई सय १७, लुम्बिनीबाट १४ हजार ८६, सुदूरपश्चिमबाट एक हजार पाँच सय २६ र कर्णालीबाट एक हजार दुई सय २५ श्रमिक कोषमा आबद्ध भएका छन् । कोषमा १७ हजार सात सय ३४ रोजगारदाता सूचीकृत छन् । हालसम्म रु ३० अर्ब ७९ करोड योगदान रकम सङ्कलन भइसकेको छ ।

अनमोल केसीले पर्वतको कुश्मामा गरे बन्जी जम्प र स्काई साइक्लिङ

पर्वत । नेपाली चलचित्रका नायक अनमोल केसीले कुष्मामा स्काई साइक्लिङ तथा बन्जी जम्प गरेका छन् । शनिबार केसी आफ्ना साथीहरूसँग बन्जी जम्प गर्न कुश्मा पुगेका हुन्। बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएको द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए । ‘केसी सहितको टोलीले आज बन्जी र स्काई साइक्लिङ र स्काई क्याफेको मज्जा लिनुभयो’, उनले भने । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् । सामान्यदेखि एक्स्ट्रीम थ्रील हुने एड्भेन्चर हामीसँग छन्, अध्यक्ष राजु थप्छन्, ‘सबै खाले एड्भेन्चर भएकाले यो ठाउँ पारिवारिक गन्तव्य बनेको छ।’

विद्युत कारोबार प्रतियुनिट ११ रुपैयाँ ५४ पैसामा हुने, यस वर्ष साढे ८ अर्बको निर्यात

काठमाडौं । नेपाल–भारतबीचको विद्युत आदान प्रदान समितिको बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औं बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यहरुमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोक कुमार राजपुतको सहअध्यक्षमा बैठक बसेको थियो । ‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ, यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने छन्, यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने । बिहारसँग कटैया( बिहार)–कुशवा (नेपाल) र रक्सौल–परवानीपूर १३२ केभी प्रसारण लाइन जोडिएका छन् । गत फागुनको महिलो हप्तामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले कटैया–कुशवा र रक्सौल–परवानीपूर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३भित्र र अप्रिल÷मे २०२३मा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो । विद्युत आदान प्रदान समितिको बैठकले विद्युत आदान प्रदान सम्झौता अन्तर्गत आयात निर्यात हुने विद्युतको प्रति युनिट दर ७.२१ भारतीय रुपैयाँ (११ रुपैयाँ ५४ पैसा) तय गरेको छ । आर्थिक वर्ष सन् २०२२/२३को लागि १३२ केभि प्रसारण लाइनमार्फत हुने विद्युत आदान प्रदान दर तय गरेको हो । विद्युत आदान प्रदान सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आवश्यक परेको वेलामा विद्युत आयात गर्दै आएको छ । प्राधिकरणले अन्य दुई राज्यको तुलनामा आवश्यक परेको वेला सबैभन्दा बढी बिहारबाट विद्युत आयात गर्दछ । नेपालसँग बिहार र उत्तर प्रदेश मात्र १३२ केभी प्रसारण लाइनमा जोडिएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले चाहेको वेलामा विद्युत् लिने गरी नयाँ दर तय गरिएको र उक्त दर भारतर्फत निर्यात गर्दा पनि लागू हुने बताए । ‘आव २०१९/२०का लागि तय भएको दर त्यसपछिका वर्षहरुलाई पुनरावलोकन हुन सकिरहेको थिएन, भारतीय पक्षबाट वार्षिक साढे पाँच प्रतिशतको मूल्यबृद्धि जोडर प्राधिकरणले आयात गर्ने विद्युत्को बिल पठाउने गरिएको थियो, विगतमा गरिएको विलिङलाई समायोजन गर्दै जाने सहमति भएको छ, यसबाट प्राधिकरणललाई करिब ३१ करोड भारु (४९ करोड ६० लाख रुपैयाँ) फाइदा भएको छ’, घिसिङले भने । ‘नयाँ तय गरिएको दर टेक अर पे आधारमा हैन, हामीलाई आवश्यक पर्दा खरिद गरिने विद्युत्को दर हो, चाहिएको बेलामा मात्र विद्युत् आयात गरिने हुँदा यो दर अहिलेको भारतीय बजारभन्दा सस्तो छ, उक्त दर हामीले विद्युत निर्यात गर्दा पनि पाउने छौं ।’ उनले गत डिसेम्बरमा विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग बिडिङमार्फत माग गर्दा फेब्रुअरी र मार्च, अप्रिल तथा मेका लागि प्रति युनिट क्रमश : ७.५० र ८.७० रुपैयाँ प्रस्ताव पेश गरेको बताए । ‘प्रतिस्पर्धामा छनौट भएका कम्पनीहरुले आयातित कोइलाबाट उत्पादित विद्युत मात्र नेपाललाई बिक्री गर्न पाउने हुँदा कोइलाको मूल्यमा उतारचडाब आइरहेकोले उक्त कम्पनीहरु प्रस्तावित दरमा पनि प्राधिकरणसँग सम्झौता गर्न तयार भएनन्’, घिसिङले भने । ‘बिहार राज्यलाई आयातित कोइलाको व्यवस्था लागू नहुने भएकोले दर सस्तो भएको हो, प्रतिश्पर्धी बजारमा पनि दैनिक रुपमा प्रतियुनिट विद्युत्को औसत दर १२ भारुसम्म पर्ने गएको छ, यसमा प्रसारण शुल्कलगायत थप डेढ रुपैयाँ थप हुन्छ, त्यसैले अहिले तय गरिएको दर अन्यको तुलनामा सस्तो छ ।’ बैठकले नेपालले बिहारमा विद्युत् निर्यातका लागि एक महिनाभित्र मोडालिटी तय गर्ने निर्णय गरेको छ । ‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट निर्यात गर्न एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने निर्णय भएको र यसबाट देशभित्र खपत गरी बढी भएको विद्युत बिहारमा बिक्री गर्न थप बजार सुनिश्चित भएको घिसिङले बताए । प्राधिकरणले आवश्यक परेको वेला भारतबाट व्यापारिक रुपमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत, विद्युत आदान प्रदान सम्झौता (पावर एक्सेन्ज) र महाकाली सन्धि अन्तर्गतको विजुली भारतबाट आयात गर्छ । व्यापारिकरुपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्ज अन्तर्गत भारतबाट विजुली ल्याइरहेको छ । प्राधिकरणले प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत चालू आर्थिक वर्षमा भारतीय बजारमा बिक्री गरी ८ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ ।

नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनीको लागि सय भन्दा बढी स्टल बुकिङ

काठमाडौं । भृकुटीमण्डपमा चैत १० गतेदेखि नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु हुँदै छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयोजनमा उक्त प्रदर्शनी हुने भएको हो । ‘नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनी’ भृकुटीमण्डपमा चैत १० गतेदेखि सुरु भई १२ गतेसम्म सञ्चालन हुने मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका एक सय ५० भन्दा बढी स्टल रहने छन् । देशभर रहेका प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ, प्रोसेसिङसँग सरोकार राख्ने व्यापार-व्यवसायलाई एकै ठाउँ ल्याएर व्यापार साझेदारी गर्नका लागि साझा मञ्च प्रदान गर्नका लागि पनि उक्त प्रदर्शनीको आयोजना गरेको भट्टराईले बताए । उनका अनुसार प्रदर्शनी अवधि भर २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा  छ । प्रदर्शनीमा निःशुल्क प्रवेश गर्न सकिने छ । यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस्, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्टस्, प्याकेजिङ मेसिनरी, लेबल उत्पादक, कोरोगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूको सहभागिता रहने जनाइएको छ । तीन दिन सञ्चालन हुने उक्त प्रदर्शनीमा उद्योग र व्यापार-व्यवसायलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरूबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने अपेक्षा लिएको पनि भट्टराईले बताए । अहिले सय भन्दा बढी स्टल बुकिङ भइसकेको छ । अहिले पनि उक्त प्रदर्शनीमा स्टल राख्न चाहनेहरूले बुकिङ गर्न सक्ने भट्टराई बताउँछन् । उनका अनुसार सोमबार मंगलबार भित्र स्टल बुकिङ भइसक्छ ।

नागरिक लगानी कोषको ३३औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नागरिक लगानी कोषको ३३औं वार्षिकोत्सव सम्पन्न भएको छ । आज कोषको कार्यालयमा एक समारोहको आयोजना गरी कोषले वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव समारोहमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले वार्षिकोत्वको दिन कोषलाई थप उचाइमा पुर्याउन प्रतिज्ञा गर्नुपर्ने बताए । कोषले बचत गर्ने र लगानी गर्ने आवसरका रुपमा लिएर अगाडि बढ्नुपर्ने उनले बताएका थिए । अनलाइन प्रणालीमा गएपछि सेवामा तिव्रता आएको तर सबै राम्रो भएको भन्न भने नमिल्ने उनको भनाइ थियो । ‘अनलाईन प्रणालीमा जोखिम भएकाले सुरक्षित बनाउन जरुरी छ, बचतकर्ताको गोपनियता राख्न सक्नुपर्छ, प्रतिस्पर्धात्मक भएर गुणस्तर कामय गर्नुपर्छ’, उनले भने । नेपालको अर्थतन्त्र संकटमा नभएको, राजस्व संकलन घटेपनि अर्थतन्त्रमा सुधारका संकेत देखिएको सचिव घिमिरेले बताएका थिए । त्यस्तै समारोहका सभापति तथा नागरिक लगानी कोषका अध्यक्ष प्राडा सुर्यबहादुर थापाले कोषले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विभिन्न योजनाहरुबाट २ खर्ब ९ अर्ब ९४ करोड पुँजी संकलन गरेको र सो अवधिमा २ खर्ब ७ अर्ब २८ करोड लगानी गरेको बताएका थिए । समारोहमा कोषमा २० वर्ष भन्दा धेरै समय सेवा गरेका र सेवा निवृत्तलाई सम्मान गरिएको थियो ।

सुर्खेत उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौं फिर्ता

फाइल फोटो काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । एयरको इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान भएको यो घटनापछि उक्त जहाजलाई ग्राउन्डेड गरिएको छ । उक्त जहाज उड्नुपूर्व चेकजाँच गरेका इन्जिनियरलाई पनि काममा रोक लगाएको प्राधिकरणले जनाएको छ । १५ नटिकल माइल उडेर काठमाडौं फिर्ता भएको जहाजमा ६२ जना यात्रु रहेका थिए ।