उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वराष्ट्रपति डा रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए । यसैगरी समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरू, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । रासस
नेपाल प्रहरीका पाँच डिआइजी एआइजीमा बढुवा
काठमाडौं । नेपाल प्रहरीका पाँच नायब महानिरीक्षक (डिआइजी) को अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीका पाँच डिआइजीलाई बढुवा गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा भएका छन् ।
चैत १२ गतेभित्र स्ववियु निर्वाचन सक्न उपकुलपति प्रा.डा. बास्कोटाको निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका हुन् । उनले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । ‘स्थगन भएका क्याम्पस/कलेजमा पनि आगामी चैत १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस, राजनीतिक दल, विद्यार्थी सङ्गठन, स्थानीय प्रशासनलाई अनुरोध गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ । उनले केही क्याम्पसमा विद्यार्थी सङ्गठनको सामान्य विवादका कारणले मतदान स्थगन गर्नु परे तापनि अधिकांश क्याम्पसमा शान्तिपूर्णरुपमा सम्पन्न भएको बताएका छन् । हिजो चैत ५ गतेदेशभरि नै त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि भएको स्ववियु निर्वाचन भएको थियो । ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा त्रिचन्द्र, आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कर्मश क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ । यस्तै, सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस पनि निर्वाचन प्रक्रिया रोकिएको छ । रासस
उपभोक्तालाई ठगी गर्ने ८ हजार व्यापारी कारबाहीमा, विशेष निगरानी गर्दै नापतौल कार्यालय
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए । उनले भने, ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ ।’ सो कार्यालयले फागुन महिनासम्म दुई हजार ७५ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ । सीमित स्रोत र साधनबीच बजार अनुगमनको कार्यलाई तीव्रता दिएको सो कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि एक सय २५ पटक एकल अनुगमन र एक सय १६ पटक संयुक्तरुपमा बजार अनुगमन गरेको सूचना अधिकारी पुडासैनीले बताए । चालु आवको आठ महिनामा सो कार्यालयबाट पाँच हजार आठ सय ६९ व्यापारीले नापतौल तथा नाप्ने तौलने यन्त्र जाँच गरेका छन् । यस्तै, चार सय १५ पेट्रोलियम पदार्थ वितरण पम्प जाँच, ७९ भेहिकल टैङ्क जाँच, पाँच हजार ७० ट्याक्सीको मिटर जाँच गरेको छ । कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताउँछन् । ‘नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौं,’ उनले भने । सो कार्यालयले चालु आवको आठ महिनामा एक करोड ३५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले हाल काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ । रासस
पर्वतमा १० महिनादेखि जग्गा कारोबार ठप्प, स्थानीय तहले काम गर्न नसकेको ठहर
फाइल फोटो पर्वत । पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै ठप्प बनेका हुन् । कतिपय पालिकाले भूउपयोग कार्यान्वयन समिति गठन गरे पनि केही पालिकाले गठनसमेत गर्न सकिरहेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशिका र परिपत्रबमोजिम स्थानीय तहहरुले वर्गीकरणको काम थालनी गर्न नसक्दा जग्गाको कारोबार हुन नसकेको हो । भूउपयोग ऐन २०७६ र नियमावली २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट, खरिद बिक्री गर्न पाउने व्यवस्था रहेको छ । सोही व्यवस्थाको कार्यान्वयनमा कडाइ गर्न सबै सात सय ५३ वटै पालिकालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ मा जमिनको खण्डीकरण रोक्न भनिएको थियो । परिपत्रमा स्थानीय भूमि वर्गीकरण समितिले खेतीयोग्य, गैरखेतीयोग्य, भिर, पाखोलगायत १० प्रकारमा वर्गीकरण गरेको जग्गा मात्रै कित्ताकाट गर्ने र खरिद बिक्री गर्न पाउने व्यवस्था गरेको छ । वर्गीकरण नभई जग्गाको कित्ताकाट र खरिद बिक्री गर्न नपाउने भएपछि मालपोत कार्यालयमा जग्गाको कारोबार रोकिएको छ । जग्गाको कारोबार नहुँदा सधैँजसो सेवाग्राहीको चाप हुने कार्यालयका कर्मचारी फुर्सदिला हुन थालेका छन् । भूउपयोग नियमावली २०७९ अनुसार पालिका प्रमुखको अध्यक्षतामा भूउपयोग कार्यान्वयन समिति गठन हुनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार गठित समितिले गरेको वर्गीकरणअनुसार जग्गाको कित्ताकाट, खरिद बिक्री, मूल्याङ्कन हुने व्यवस्था गरेको भए पनि पर्वतका सातवटै पालिकामा समिति सक्रिय हुन सकेका छैनन् । जिल्लाको सबैभन्दा बढी घरजग्गा कारोबार हुने कुश्मा नगरपालिकामा समिति गठन भए पनि कार्यान्वयमा जान सकेको छैन । नगरप्रमुख रामचन्द्र जोशीका अनुसार समिति गठन सकिएर जग्गा वर्गीकरणका लागि प्राविधिक टोलीले काम अघि बढाउने तयारी गरेको छ । ‘समितिमा कतिपय पदेन सदस्य हुने व्यवस्था रहेछ,’ उनले भने, ‘सम्बन्धित विषयविज्ञ छनोट गर्ने काम भएको छ । अब वर्गीकरणका सूचक तयार गरेर फिल्डमा खटिने तयारी गरेका छौं ।’ जिल्लाको फलेवास नगरपालिकाले पनि समिति गठन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताए । विज्ञ सदस्यसहितको समिति गठन भएर वर्गीकरणको काम अघि बढाउन कार्यपालिकाको निर्णय कुरेर बसेको उनले बताए । नियमावलीमा कृषियोग्य जग्गाको वर्गीकरणका लागि छ महिनाको समयसीमाको व्यवस्था छ । गत जेठ दोस्रो साता जारी नियमावलीअनुसार नै मन्त्रालयले जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरेको थियो । नियमावलीअनुसार भूमि वर्गीकरणका लागि स्थानीय पालिकाको भूमिका प्रमुख रहने व्यवस्था रहेको छ । कृषियोग्य जमिनको खण्डीकरण रोक्ने, व्यवस्थित र सुरक्षित बसोबाससहित जग्गाको व्यवस्थित व्यवस्थापनको उद्देश्यले ऐन र नियमावली ल्याइएको मालपोत कार्यालय पर्वतका सूचना अधिकृत उमेश सापकोटाले बताए । गत जेठदेखि अंशबण्डालगायतका कारोबार ठप्पै रहेको सापकोटाले बताए । घरजग्गाको कारोबार पनि निकै कम बनेको छ । एकल कित्ताबाहेकको खरिद बिक्री हुन छाडेको उनले बताए । स्थानीय तहले ऐन कार्यान्वयन गरेर सिफारिस नगरेसम्म यस्तै अवस्था रहने उनको भनाइ छ । जिल्लाको मोदी, जलजला, महाशिला, पैंयु र विहादीले समिति गठनको प्रक्रिया आरम्भ गरेको जनाएका छन् । रासस
एनएमबि लघुवित्तको साधारणसभा २०८० सालमा हुने, लाभांश पारित गर्ने
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले १० औं बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त सञ्चालक समितीको चैत ५ गते बसेको बैठकले २०८० बैशाख १५ गते पोखरा कास्कीमा साढे १२ बजे वार्षिक साधारसभा बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ लघुवित्तको सभाले आर्थिक वर्ष २०७/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी वृद्धि हुने र केन्द्रिय कार्यालय रहने ठेगाना प्रबन्धपत्र मासंशोधन गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । लघुवित्तले साधारणसभा प्रयोजनको लागि चैत १७ गतेदेखि २०८० बैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरु साधारण सभामा सहभागि हुन सक्नेछन् ।
कालिका लघुवित्तको साधारणसभा आह्वान, पूँजी सरंचना परिवर्तन र लाभांश पारित गर्ने
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १३ औं बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त सञ्चालक समितीको चैत ५ गते बसेको बैठकले चैत २९ गते पोखरा कास्कीमा बिहान ९ बजे वार्षिक साधारसभा बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कूल २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ । बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । यस्तै, संस्थाको हाल कायम पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहका सेयर स्वामित्व ६४.५२ प्रतिशत र ३५.४८ रहेकोमा नियमनकारी निकायबाट स्वीकृति गरी संस्थापक समूहको ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम गर्नेछ । लघुवित्तले साधारणसभा प्रयोजनको लागि चैत १६ गतेदेखि चैत २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरु साधारण सभामा सहभागि हुन सक्नेछन् ।
हिमालयन रिइन्स्योरेन्सको दाबी भुक्तानी साढे ४ हजार प्रतिशतले छलाङ, कुन सूचक कस्ता ?
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ६२.८३ प्रतिशत घटेर ४ करोड ६३ लाख ८१ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ६८७ प्रतिशत बढेर २ अर्ब ३६ करोड ३३ लाख रपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ९९ लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४ हजार ५७९ प्रतिशत बढेर १४ करोड १७ लाख ५३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० लाख २९ हजार रुपैयाँ मात्रै खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको गत वर्षको पुस मसान्तसम्म २ करोड ४५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेकोमा यसवर्ष बढेर ४२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कूल बीमा शुल्क आर्जन ७१४ प्रतिशत बढेर २ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ, जगेडा कोष ३८ प्रतिशत बढेर १७ करोड ७७ लाख रुपैयाँ, बीमा कोष १३ करोड ६९ लाख रुपैयाँ र महाविपत्ति कोष १ करोड ५० लाख रुपैयाँ रहेको छ ।