नेप्सेमा २ कम्पनीको डेढ करोड कित्ता सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको साधारण सेयर आईपीओ सूचीकृत भएको छ । सोमबार नेप्सेमा सुपरमाई हाइड्रोपावर र माया खोला हाईड्रोपावर कम्पनीको गरी कूल १ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको हो । सुपरमाई हाइड्रोपावर कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुको ५ लाख कित्ता, सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी)को ५ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुको ४० लाख कित्ता सेयर रहेको छ । दोस्रो बजारमा कारोबारका लागि नेप्सेले कम्पनीलाई एसएमएच सिम्बोल प्रदान गरेको छ । साथै, कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १३०.७६ रुपैयाँ र अधिकतम ३९२.२८ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्राप्त गरेको छ । यस्तै, माया खोला हाईड्रोपावर कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुको १० लाख कित्ता, सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी)को २४ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुको ६६ लाख कित्ता सेयर रहेका छन् । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि कम्पनीलाई एमकेएचएस सिम्बोल प्रदान गरेको छ । साथै, कम्पनीलाई पहिलो कारोबारका लागि न्यूनतम ८८.५३ रुपैयाँ र अधिकतम २६५.५९ रुपैयाँ प्रदान गरिएको छ । मंगलबार घोडे जात्राको लागि सार्वजनिक विदा परेको हुँदा बुधबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ ।
ग्रील तथा स्टील व्यवसायी महासंघले सदस्यहरुलाई दियाे तालिम
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले ‘मोटिभेसनल प्रोग्राम अन डायनामिक लिडरसिप’ सम्बन्धि तालिम दिएको छ । महासंघले आफ्ना जिल्ला, क्षेत्र र इकाई समितिका पदाधिकारी सदस्यहरुलाई तालिम दिएको हो । महासघका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायिहरुलाई सगठित गर्न र एक आपसमा भाइचाराको विकास गर्दै व्यवसायिहरुबिच सहयोगात्मक भावनाको बिकास गर्न उक्त तालिम आयोजना गरेको बताए । उनले उक्त तालिमलाई क्रमश देशका अन्य भागहरुमा पनि संचालन गर्ने बताए । महासघका वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठले यो तालिमले ग्रील व्यवसायिहरुको नेतृत्वतहमा रहेका लिडरहरुलाई थप ज्ञान र हौसला मिलेको बताउदै यहाँ सिकेको ज्ञानलाई आफ्नो आफ्नो कर्म क्षेत्रमा गएर अरुलाई पनि सिकाउन अनुरोध गरेका थिए । महासंघको अनुसार तालिममा १७० जनाले सहभागिता जनाएका थिए ।
नक्सालदेखि नगरकोटसम्म एनओजी राइड सम्पन्न
काठमाडाैं । जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत चैत ४ गते शनिबार आयोजना भएको राइड नक्साल शोरुमबाट शुरु भएर नगरकोटसम्म पुगेर समापन भएको थियो । टिभिएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक रहेकाे जगदम्बा मोटर्सले उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।
कम्पनीहरु आय विवरण पेश गर्नै मान्दैनन्, महासंघसँग राजश्व विभागको गुहार
काठमाडौं । आन्तरिक राजश्व विभागले आम्दानीको विवरण दाखिला गर्न उद्योगी व्यवसायीलाई लिखित रुपमा नै पत्राचार गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षकोे आय विवरण दाखिला गर्ने करदाता घटेपछि विभागले उद्योगी व्यवसायीको छाता संस्थाको रुपमा रहेको उद्योेग वाणिज्य महासंघलाई पत्राचार गर्दै विवरण दाखिला गर्न अनुरोध गरेको हो । विभागका महानिर्देशक दीर्घराज मैनाली आयकर विवरण दाखिला गर्न महासंघलाई पत्राचार गर्दा उद्योगी व्यवसायीमा दबाब सिर्जना गर्ने अनुमानका साथ लिखित रुपमा नै पत्राचार गरिएको बताउँछन् । ‘हाम्रो सूचना र उद्योग वाणिज्य महासंघलाई गरिएको पत्राचारले दबाब सिर्जना गर्छ, यसले कतिपय व्यवसायीहरुलाई मैले विवरण नबुझाउँदा शुल्क लाग्छ भन्ने पनि थाहा छैन’, उनले भने, ‘हाल मुद्धा परेका बाहेक २० अर्ब बढी बक्यौता रकम देखिएको छ, उक्त बक्यौता रकम उठाउन विभागले प्राथमिकता दिएका छ ।’ उनले कानुनले नै स्पष्ट रुपमा भनेअनुसार बक्यौता रकम असुलउपर गर्नका लागि सम्पत्ति रोक्का, बैंक खाता रोक्का तथा लिलाम बिक्रीका तहसम्मका काम कारबाहीहरु विभागले गर्ने बताए । ‘भ्याटमा कारोबार गर्ने, आयात गर्ने, आपूर्ति सप्लाईको काम गर्ने तर आय विवरण नबुझाउनेको संख्या बढ्दो क्रममा छ, त्यो अहिलेमात्र भएको होइन, पहिलै देखिेको हो, तर अहिले बढी देखियो, तथ्यांक सहित हामीले सिष्टममा सो विषय राखेर लिखित रुपमा नै कार्यालयलाई हेर्न निर्देशन दिइसकेका छौँ’, उनले भने । आय विवरण नबुझाउँदा हरेक दिन व्यवसायको सेल्स (टनओवर) का आधारमा जरिवाना लाग्ने उनको भनाइ छ । ‘अहिले पैसा छैन, तर तोकिएको समयमा विवरण बुझाउनुस, जति छ त्यति बुझाउनु अरु बाँकी रकम किस्ताबन्दी मार्फत बुझाउन पाइन्छ भनेर हामीले आग्रह गर्दै आएका छौं, विवरण नै नबुझाए पछि जरिवाना लाग्छ, यो विषय सबैले बुझ्नु पर्छ,’ उनले भने । भ्याटको ननफाइबर हटाउने काममा विभाग केन्द्रीत रहेको उनले बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजश्व विभागले महासंघमार्फत् उद्योग व्यवसायीलाई आय विवरण बुझाउन पत्राचार गरेको हो । यस विषयमा विभागले अध्ययन सुरु गरेको पनि बताइएको छ । व्यवसायीहरुले प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ । कारणसहित जानकारी गराएपछि विभागले विवरण पेश गर्न पुस मसान्तसम्मको समय थपिदिने गरेको छ । तर, पुस मसान्तसम्मको अवधिसम्म पनि केही करदाताले विवरण नबुझाएपछि विभागले छानबिन थालेको हो । कतिपय करदाताले आफ्नो कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण दाखिला गरेको, भन्सार तथ्याङ्क हेर्दा आयात–निर्यात गरेको पाइएको र त्यस्ता करदाताको नाममा अग्रीम कर कट्टीसमेत भएको देखिए पनि आयकरको विवरण भने नबुझाएको विभागले जनाएको छ । यसरी गत आर्थिक वर्ष २०७८/७९ मा कर लाग्ने कारोबार गरेको देखिए पनि हालसम्म आय विवरण र कर दाखिला नभएपछि त्यस्ता करदाताको विवरण संकलनको काम भइरहेको विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले जानकारी दिए । कुन कर कार्यालयमा कति करदाताले यस्तो विवरण बुझाउन बाँकी छ भन्ने तथ्याङ्क संकलन भइरकेको पनि उनले जानकारी दिए । आयकर विवरण र कर दाखिला नगर्ने करदाताको वास्तविक संख्या भने अझै आइनसकेको विभागले जनाएको छ । राजश्वमा सुधारको संकेत विभागले हालसम्म करिब ३ खर्ब राजश्व संकलन भएको जनाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि तोकेको लक्ष्यको ६४.९० प्रतिशत राजश्व संकलन भएको महानिर्देशक मौनालीले बताए । सरकारले फागुन मसान्तसम्म ४ खर्ब ३७ अर्ब ६६ करोड ७० लाख २७ हजार रुपैयाँ राजश्व संकलनको अनुमान गरेकामा हालसम्म लक्ष्यको ६४.९० प्रतिशत मात्रै राजश्व संकलन भएको हो । चैत ४ गतेसम्म २ खर्ब १४ अर्ब १४ करोड ४७ लाख रुपैयाँ बराबर आयकर उठाउने लक्ष्य रहेकोमा हालसम्म १ खर्ब १७ अर्ब ९० करोड ५२ लाख उठेको छ । यो अवधिको आयकर लक्ष्यको ५५.०६ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर सङ्कलन करिब ४४.०४ प्रतिशत बिन्दुले कम हो । मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । हालसम्म ९५ अर्ब २४ करोड ६ लाख रुपैयाँ भ्याट उठाउने लक्ष्य राखिएकोमा ६९ अर्ब १३ करोड ३३ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ । जुन असुली लक्ष्यको ७२.५ प्रतिशत बराबर हो । दोस्रो चौमासिक अवधिमा घरबहाल कर ६९.१७ प्रतिशत सङ्कलन भएको छ । हालसम्म २ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बराबर घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा १ अर्ब ७० करोड ७४ लाख रुपैयाँ बराबर मात्रै उठेको हो । स्वास्थ्य सेवा कर असुली लक्ष्यको ८४.६९ प्रतिशत मात्रै देखिन्छ । हालसम्म ५ अर्ब ५० करोड २६ लाख रुपैयाँ स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा ४ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबर मात्रै सङ्कलन भएको देखिएको हो । हालसम्म शिक्षा कर तर्फ १ अर्ब १४ करोड १८ लाख रुपैयाँ शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा हालसम्म १ अर्ब ६ करोड ४० लाख रुपैयाँ बराबर उठेको हो । ‘गत मंसिरदेखि राजश्व संकलनमा बृद्धि हुन थालेको छ, गत आर्थिक वर्षको फागुन मसान्तसम्म संकलन भएको राजश्व बराबर नै चालू आवमा उठ्ने हाम्रो अनुमान छ’, उनले भने ।
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो । बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । सोमबारको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ ।
नेपाल-रसिया चेम्बरको अध्यक्षमा अशोक शेरचन
काठमाडाैं । बैंकर अशाेक शेरचनकाे अध्यक्षतामा नेपाल-रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन भएकाे छ । चेम्बरकाे शुक्रबार सम्पन्न साधारण सभाले शेरचनकाे अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति गठन गरेकाे हाे । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शेरचनसहित कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । चेम्बरकाे नयाँ कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य, उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा चयन भइका छन् । महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ, सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवालर रहेका छन् । यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ छन्। कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन् ।
तपाईंले फोन उठाउँदा भन्ने ‘हेल्लो’ शब्द कसरी विकास भयो, थाहा पाउनुहोस रोचक जानकारी
एटी एन्ड टी प्रमोशनल फिल्म (१९२६) मा अलेक्ज्याण्डर ग्राहम बेलको चित्रण गर्दै अभिनेता एजेन्सी । अहिलेको समयमा झण्डै सबैजसो मानिसहरुले आफ्नो साथमा मोबाइल फोन बोकिरहेका हुन्छन् । तपाईंको मोबाइलमा कसैको फोन आयो वा तपाईंले गर्नुभयो भने तपाईंले ‘हेल्लो’ शब्द पहिला उच्चारण गर्नुहुन्छ । के तपाईंले कहिल्यै सोच्नुभएको छ की हामीले जहिल्यै फोन उठाउँदा वा गर्दा भनिने हेल्लो किन भन्छौं भन्ने कुरा ? ‘हेल्लो’ शब्दका पछाडि भएका रोचक तथ्य जानौं । अक्सफोर्ड शब्दकोशका अनुसार ‘हेल्लो’ शब्द पुरानो जर्मन शब्द ‘होला’बाट आएको हो । ‘होला’ अर्थ ‘के छ’ भन्ने हुन्छ । यो शब्दमा समयक्रमसँगै परिवर्तन आएर ई.सं. १३०० मा कवि चौसरको समयसम्म आउँदा ‘हालो’ बनेको थियो । त्यस्तै अर्का कवि शेक्सपियरको समयसम्म आउँदा यो शब्द ‘हालु’ बनेको थियो । त्यसपछि पनि यो शब्दमा निरन्तर परिवर्तन आउने क्रम जारी रह्यो । फोन उठाउने वित्तिकै ‘हेल्लो’ भन्ने चलन टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहमबेलले गरेको भन्ने कथन चर्चित रहेको छ । तर, सो तर्कमा सत्यता नभएको अर्को तर्क पनि उत्तिकै बलियो रुपमा पेश भएको पाइन्छ । वैज्ञानिक ग्राहम बेलले टेलिफोन निर्माण गरिसकेपछि आफ्नी प्रेमिका ‘मार्गरेट हेल्लो’ लाई पहिलो फोन गरेका थिए र सो समयमा उनले पहिला हेल्लो भनेका कारण हेल्लो शब्द टेलिफोन संवादमा प्रचलनमा आएको हो भन्ने गरिन्छ । तर, तथ्यहरुले के देखाउँछन भने ग्राहम बेलकी प्रेमिकाको नाम ‘मार्गरेट हेल्लो’ नै थिएन । उनको प्रेमिकाको नाम मेबेल हवार्ड थियो, जोसँग उनको विवाह समेत भएको थियो । साथै इतिहासमा यो पनि उल्लेख गरिएको छ की टेलिफोन निर्माण गरिसकेपछि वैज्ञानिक ग्रामबेलले सबैभन्दा पहिला उनको सहयोगीलाई फोन गरेका थिए । त्यतिबेला उनले हेल्लो नभनेर ‘य–होई’ भनेका थिए । सोसँगै सोही शब्द नै पछि टेलिफोन संवादमा प्रयोग हुन थाल्यो । टेलिफोनको आविष्कारपछि विस्तारै यसको आम प्रयोग बढ्न थाल्यो । फोनको आम प्रयोगमा मानिसहरुले शुरुको बोलीमा ‘आर यु दियर ?’ अर्थात तपाईं त्यहाँ हुनुहुन्छ ? अथवा तपाईंले मैले बोलेको सुन्दै हुनुहुन्छ भन्ने अर्थ लगाइन्थ्यो । तर, पछि टेलिफोन संवादमा ‘हेल्लो’ले स्थान लिएपछि ‘आर यु दियर’को प्रयोग हट्न पुग्यो । कसरी प्रयोगमा आयो ‘हेल्लो’ शब्दको प्रयोग ? ‘हेल्लो’ शब्द सबैभन्दा पहिला सन् १८३३ मा लिखित रुपमा प्रयोग भएको थियो । यो शब्द सन् १८८७ मा पहिलो पटक अर्का वैज्ञानिक थोमस अल्वा एडिसनले प्रयोगमा ल्याएका थिए, त्यसपछि अहिलेसम्म टेलिफोन संवादको क्रममा निरन्तर प्रयोगमा आएको छ । एडिसनले सन् १८७७ मा पिटस्बर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिन्टिङ टेलिग्राफ कम्पनीका अध्यक्ष टिबिए स्मिथलाई पत्र लेखेर टेलिफोन संवादमा ‘हेल्लो’ बोल्नुपर्ने प्रस्ताव गरेका थिए । उनकै सोही प्रस्ताव पछि प्रयोगमा आएको थियो, जसलाई आज हामीले प्रयोग गरिरहेका छौं । एजेन्सीहरुको सहयोगमा ।
७०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेको छ । आइतबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।