विकासन्युज

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ ।

प्राइम बैंकले धितोमा रहेको कार बेच्दै

काठमाडौं । प्राइम कमर्सियल बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको भक्तपुर २ शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी किशोर कुमार राई, जमानीकर्ता जयन्ती राई र असार माया राई रही बैंकबाट ऋण लिएर चुक्ता नगरेपछि सवारी बिक्रीमा राखेको हो । प्राइम बैंक (साबिक कैलास बैंक)को नाममा यातायात कार्यालय लहान सिराहामा दर्ता रहेको स १ ज ४७९ नम्बरको फोर्स मोटर्स बिक्रीमा राखेको हो ।

दुई कम्पनी मर्ज भई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स बन्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिपोर्टको आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको छ । सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले दुवै कम्पनी मर्जर पश्चात पूँजीको हिसाबमा ठूलो बीमा कम्पनी बन्ने बताए । यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले मर्जरपछि कम्पनीले देशको सातै प्रदेशमा रहेको ८२ वटा शाखा मार्फत सेवा प्रदान गर्ने गरी उत्कृष्ठ सेवा प्रदान गरी एक नमूना बीमा कम्पनीको हुन् बताए ।

फेवाताल किनारमा पुराना डुङ्गा : थपिँदै चुनौती, मासिँदै सुन्दरता

फेवातालमा साइँली, डुङ्गा सलल सम्झनामा तिम्रो तस्बिर झलल …… स्वर : शिव परियार, सङ्गीत : रामचन्द्र काफ्ले, रचना : किरण घिमिरे । पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई । फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुङ्गा सयर गरेर पर्यटकले निकै आनन्द लिने गर्दछन् । जति हेरे पनि नथाकिने फेवातालको सुन्दरतामा माछापुच्छ्रेको छाँया प्रकृति प्रेमीका लागि निकै लोभलाग्दो दृश्य हो । फेवातालमा डुङ्गामा सयर गर्दै माछापुच्छ्रेलगायतका हिमशृङ्खलाको सुन्दर दृश्य तालमा हेरेर फर्कन पर्यटक निकै लालयित हुने गरेको पाइन्छ । यद्यपि पछिल्लो समय भने यही सुन्दर ताल छेउमा अस्तव्यस्त पुराना डुङ्गाले फेवातालको सुन्दरतालाई घटाइरहेको छ । लामो समय भएका काठका डुङ्गा ताल किनारमा बेवारिसे अवस्थामा रहँदा तालको सुन्दरतामा असर पारिरहेको बताउँछन् लेकसाइड निवासी साहित्यकार लक्ष्मण थापा । ‘फेवातालको सुन्दरता बेचेर धेरै बाँचेका छन्, पोखराको गहना फेवातालको छेउछाउमा पुराना डुङगालाई बेवारिसे छोडिनु गैरजिम्मेवारपन हो । यसले फेवातालको सुन्दरतासँगै ताल पुरिने जोखिम पनि बढाउँदै लगेको छ’, उनले भने, ‘यसरी नै पुराना डुङगा अस्तव्यस्त छोड्ने हो भने कालान्तरमा फेवातालले आफ्नो अस्तित्व जोगाउन सक्दैन ।’ फेवाताल किनारमा रहेका डुङ्गा वर्षायाममा पानीको सतह बढ्दा तालभित्र हराउने हुँदा ताल पुरिने जोखिम पनि बढ्दै गएको उनको भनाइ छ । योसँगै थापाले फेवातालसँगै जोडिएको भक्कल भन्ने ठाउँमा सिमपानीको चिसा खोलाले बगाएर ल्याएको माटो फेवातालमा मिसिँदा पनि ताल पुरिने जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । फेवा डुङगा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बेवारिसे अवस्थामा ताल किनारमा रहेका डुङ्गालाई वैशाख महिनाभित्र व्यवस्थापन गरिने जानकारी दिए । उनले भने, ‘हामीले हालै बैठकबाट यही विषयमा निर्णय गरेका छौँ, चैत २० गतेबाट अनुगमन गर्छौं र वैशाख महिनाभित्र ताल किनार र तालभित्र रहेका डुङगाको व्यवस्थापन गर्नेछाैं ।’ उनका अनुसार अहिले फेवा तालमा आठ घाटबाट (बाराही घाट, स्वीमिङ घाट, गौरीघाट, अम्मटघाट, फिस्टेलघाट, फेवाघाट, बङ्लादी घाट, पारिघाट) डुङगा सञ्चालन हुँदै आएको छ । फेवातालका लागि सातसय ६७ डुङ्गा सञ्चालित छन् । बाराही घाटबाट धेरै डुङ्गा सञ्चालन हुने गर्दछ । फेवाताल किनारमा बेवारिसे अवस्थामा रहेका करिब एक सय पचासदेखि दुई सयसम्म डुङ्गा हुन सक्ने उनको अनुमान छ । अनुगमनबाट सम्बन्धित डुङ्गा धनीलाई त्यसको उचित व्यवस्थापनका लागि पहल गर्न लगाउने तयारी भएको उनले जानकारी दिए । ‘हामीले डुबाएर राखेका डुङ्गालाई निकाल्ने मर्मतपछि प्रयोगमा ल्याउन मिल्नेलाई त्यहीअनुसार र नमिल्नेलाई तालबाहिर सम्बन्धित डुङ्गा धनीलाई नै व्यवस्थापन गर्न लगाउने गरी निर्णय गरेका छौँ । अब केही महिनामा ताल छेउमा बेवारिसे डुङ्गा देख्नुहुन्न’, गिरीले भने । पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित डुङ्गा व्यवसायीलाई एक महिनाको समय दिइएको बताए । ‘फेवाताल किनारका बेवारिसे डुङ्गाको विषयलाई लिएर कुरा आएको छ, हामीले त्यसको व्यवस्थापनका लागि एक महिनाको समय दिएका छौँ, त्यो समयभित्र उहाँहरूले त्यसको व्यवस्थापन गर्नुभएन भने वडाले नै त्यस्ता डुङ्गाको व्यवस्थापन गर्नेछ ।’ उनले डुङ्गा व्यवसायीले आफ्नो डुङ्गा प्रयोगविहीन भएपछि ताल छेउमा राख्दा तालको सुन्दरतामा असर परेकोप्रति वडाले चासो दिएको बताए । अध्यक्ष भट्टराईले फेवातालको मुख्य स्थानमा सरसफाइका लागि दुई कर्मचारी राखेर नियमित सफाइ कार्य गरेको र ताल छेउका व्यवसायीलाई पनि ताल र आसपास क्षेत्रमा फोहर नफाल्न सचेत गराइरहेको जानकारी दिए । योसँगै वडा सदस्य पवित्र थापाको संयोजकत्वमा ‘हाम्रो सफा वैदाम’ अभियान सुुरु गरेको उनले बताए । साथै ताल सरसफाइ र संरक्षणका लागि स्थानीय जलारीलाई पनि सक्रिय बनाएर कार्य गर्ने सम्बन्धमा वडाले निर्णय गरेको उनको भनाइ छ । रासस

मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल 

काठमाडाैं । मल्टीपर्पस फाइनान्सले साविकका सेयरधनीहरुमा हकप्रद साधारण सेयर निष्काशन गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । २०७९ साल पौष मसान्त सम्मको अधिकृत पूँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पूँजी ४५ करोड २० लाख रूपैयाँ, कुल सम्पत्ति १ अर्ब ८० करोड ८० लाख ८० हजार ९ सय ४ रुपैयाँ ११ पैसा, त्यसैगरी कुल निक्षेप १ अर्ब २९ करोड ६५ लाख ३७ हजार २९ रुपैयाँ ४४ पैसा तथा कर्जा लगानी ९८ करोड ८२ लाख १५ हजार ४ सय ३६ रुपैयाँ ८२ पैसा गरी कुल १३ हजार १ सय ३५ ग्राहकहरुलाई सेवा दिई रहेको छ । त्यसैगरी वित्तीय संस्थाको हाल शाखा संख्या ६ पुगेको छ । हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

आम सञ्चार सुझाव समितिले थाल्याे काम

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको आम सञ्चार सुझाव समितिले काम थालेको छ । सञ्चारमन्त्री रेखा शर्माको उपस्थितिमा आज पहिलो बैठक गरी समितिले काम शुरु गरेको हो । समितिको बैठकलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता शर्माले राजनीतिक परिवर्तन र संविधानको मर्मअनुरुप सञ्चार क्षेत्रमा धेरै कानुन निर्माण गर्न बाँकी रहेकाले त्यसका लागि तयारी गर्न समिति गठन गरिएको बताइन् । उनले भनिन्, ‘व्यवस्था बदलियो, संविधान फेरियो र धेरै क्षेत्रमा कानुन पनि फेरिएका छन् तर, सञ्चार र सूचना प्रविधिको क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी रहेकाले हामीले यसलाई प्राथमिकताका साथ अघि बढाएका छौँ ।’ सरकारले आम सञ्चारको क्षेत्रमा यो समितिसँग ठूलो आशा गरेको उल्लेख गर्दै शर्माले आम सञ्चार सुुधारका क्षेत्रमा आवश्यक सुुझाव प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । बदलिएको व्यवस्था र राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशलाई सम्बोधन गर्ने कानुन परिवर्तन सरकारको प्राथमिकतामा रहेको उनले स्पष्ट गरिन् । सञ्चारसँग सम्बन्धित केही विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने सरकारको तयारी रहेको जानकारी गराउँदै मन्त्री शर्माले बाँकी विधेयक पनि अर्को अधिवेशनबाट अघि बढाउने बताइन् । समितिका संयोजक डा सुरेश आचार्यले समितिले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रारम्भिक मस्यौदा तयार गरेर सरोकारवालासँग छलफल गरी अन्तिम प्रतिवेदन तयार पार्ने पनि उनले जानकारी दिइन् । सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका विषयमा सुुझाव दिन समिति गठन गरेको थियो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यको संयोजकत्वमा समितिमा सदस्यहरुमा महासङ्घका अध्यक्ष विपुल पोख्रेल, पूर्वअध्यक्षद्वय गोविन्द आचार्य र डा महेन्द्र बिष्ट तथा वरिष्ठ पत्रकार बबिता बस्नेत रहेका छन् । रासस

मर्जरमा गएकालाई पनि टप्दै एनआईसी र राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट आक्रामक

काठमाडौं । बैंकहरुबीच मर्जर गरेर नम्बर वान बन्ने रणनीति भइरहेका बेला एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक भने मर्जर बिना नै आक्रामक देखिएका छन् । मर्जर गरेर ठूलो पूँजी निर्माण गरी उल्लेख्य रुपमा नाफा गर्ने रणनीति बनाएका बैंकलाई पछि पार्दै यी दुई बैंकले चालू आर्थिक वर्षको माघमसान्तसम्म सन्तोषजनक नाफा गरेका छन् । चालू आर्थिक वर्षको ७ महिनासम्म सबैभन्दा बढी नाफा गर्ने बैंकको अग्रस्थानमा नबिल बैंक छ भने दोस्रोमा एनआईसी एशिया बैंक, तेस्रोमा ग्लोबल आइएमई बैंक, चौंथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ । यी पाँच बैंकमध्ये नबिल, ग्लोबल आइमएई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मर्जरले बढी नाफा गर्न सफल भएका छन् भने एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक मर्जरबिनै मर्जर भएका बैंकलाई टक्कर दिइरहेका छन् । समीक्षा अवधिमा नबिल बैंकले ४ अर्ब १३ करोड, एनआईसी एशिया बैंकले ३ अर्ब ६७ करोड, ग्लोबल आइएमई बैंकले ३ अर्ब ५५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७० करोड रुपैयाँ नाफा गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नबिल बैंकले १६ प्रतिशत बढी नाफा गरेको छ भने एनआईसी एशियाले २८.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ३४.३३ प्रतिशत नाफा बढाएका हुन् । ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा भने गत वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने १२ वटा बैंकको बढेको छ । समीक्षा अवधिमा सबैभन्दा नाफा बढी बढाउने बैंकको सूचीमा एभरेष्ट बैंक देखिएको छ । सबैभन्दा बढी घाटामा कृषि विकास बैंक देखिएको छ ।

सिटिजन लाइफले प्रतिकित्ता २९० रुपैयाँमा आईपीओ जारी गर्ने, माग्यो बोर्डसँग अनुमति

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता २९० रुपैयाँमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रिमियम मूल्यसहित उक्त रुपैयाँमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको हो । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १९० रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा कम्पनीले प्रतिकित्ता २९० रुपैयाँको दरमा एक करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने छ । जसअनुसार कम्पनीले कूल ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ ।