इन्साइडर ट्रेडिङको आरोपमा न्यौपानेविरुद्ध मुद्दा दायर, ३.२३ करोड बिगो माग
काठमाडौं । जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध ३ करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ । धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को अभियोगमा न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उक्त मुद्दा दायर गरेको हो । नेपाल धितोपत्र बोर्डको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेको थियो । रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा न्यौपानेले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख अनधिकृत लाभ लिएको देखिएको अभियोगपत्रमा छ । न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैधरूपमा सेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २०७९ मङ्सिर २४ गते कारबाही गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अनुसन्धानपछि न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको हो ।
एटीसीसँग अश्लिल शब्द बोल्ने ३ जना पाइलट निलम्वित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो । ‘यही २१, मार्च २०२३ मा काठमाडौँबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएकोछ,’ प्रवक्ता निरौलाले भने । त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ । एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन पाउने छैनन् ।
विलासी जीवन र फजुल खर्चका लागि कर्जा लिनुहुँदैन : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले विलासी जीवनमा खर्च गर्नका लागि कर्जा लिन नहुने बताएको छ । ग्लोबल मोनी विक २०२३ सम्बन्धी सचेतना दिँदै राष्ट्र बैंकले विलासी जीवन तथा अनवाश्यक खर्च गर्नका लागि कर्जा लिन नहुने बताएको हो । साथै राष्ट्र बैंकले कर्जाको प्रयोगबाट आम्दानी सिर्जना गर्नुपर्ने बताएको छ । ‘विलासी जीवन तथा फजुल खर्चका लागि कर्जा लिनुहुँदैन, कर्जाको प्रयोगले आम्दानी सिर्जना गर्नुपर्दछ,’ राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार कर्जाको प्रयोग कसरी गर्ने र कर्जा कसरी तिर्ने भन्ने स्पष्ट योजना बनाएर मात्र कर्जा लिनुपर्दछ । राष्ट्र बैंकले गत सोमबारदेखि ग्लोबल मोनी विक २०२३ साताव्यापी रुपमा मनाइरहेको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विकको यो ११ औं संस्करण हो । राष्ट्र बैंकले यसपटक ‘प्लान योर मनी, प्लान्ट योर फ्यूचर’ भन्ने मूल नाराका साथ यसपटक ग्लोबल मनी विक मनाइरहेको छ ।
खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन् । कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँले बताए । ‘आयोजनाको कामको अनुमति लिने बेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यसअनुसार पानी छाड्नुपर्छ, खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ । साप्सुखोलामा त्यस्तो देखिन । यसले पर्यावरणमा असर पुगेको छ,’ उनले भने । वि.सं. २०७८ मङ्सिर १४ गतेदेखि परीक्षण उत्पादन सुरू गरिएको ६.६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वि.सं. २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण आयोजनाको प्रवद्र्धक कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए । राजापानीको बेलडाँडास्थित विद्युत् गृहबाट उत्पादित विद्युत् २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । १० स्थानीय तह रहेको जिल्लाबाट यो (साप्सुखोला जलविद्युत् आयोजना) सँगै तीन जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन । जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापे जस्तो बनेको स्थानीय बासिन्दा बताएका छन् । स्थानीय बासिन्दाको गुनासो आएपछि आयोजनास्थलको अनुगमनमा पुगेका प्रजिअ सेढाईले प्रवद्र्धक कम्पनीका आयोजना प्रमुख प्रदीप दाहाललाई फोन गरेर तत्काल सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन निर्देशन दिएको जानकारी दिए । ‘ड्यामभन्दा मुनी खोलामा कमिला वारपार गर्ने अवस्था देखिएको छ, आयोजनास्थलबाटै फोन गरेर सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन आयोजना प्रमुखलाई निर्देशन दिएको छु, प्रवद्र्धक कम्पनीको ठूलो लापरबाही देखिएकाले प्रशासनको तर्फबाट औपचारिक रुपमा पत्रसमेत लेख्ने तयारी गरिएको छ,’ उनले भने । कम्पनीका आयोजना प्रमुख दाहालले कमजोरी स्वीकार्दै अधुरो कामलाई चाँडै पूर्णता दिने प्रतिबद्धता जनाए । ‘ड्याम वरिपरी घेराबार लगाउने काम कम्पनीले अनिवार्य गर्नैपर्छ । विविध कारण ढिलो भएको छ, सिडियो साबसँग पनि कुरा भएको छ, अबको १५ दिनभित्र घेराबार लगाउने काम सम्पन्न गर्छौँ,’ उनले भने । करिब १ अर्ब ५० करोड रुपैयाँ लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड ७ हजार लिटर पानी खसाएर विद्युत् उत्पादन गरिएको हो ।
सानिमा रिलायन्सको एकीकृत कारोबार सुरु, सिनर्जी ल्याएर प्रतिफल बढाउने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबार सुुरु भएको छ । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । दुई कम्पनीबीच एकीकृत कारोबारसँगै अब थप सिनर्जी उत्पन्न गरेर प्रतिफल बढाउने कम्पनीको दाबी छ । यी दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसको ८ महिनापछि एकीकृत कारोबार गर्न सफल भएका हुन् । प्राधिकरणले गत फागुन १८ गते दुई कम्पनीलाई स्वीकृति दिएको थियो । दुई कम्पनी बराबर हैसियत अर्थात् सेयर अनुपात १ः१ स्वाप रेसियोमा एकीकृत कारोबार गरेका हुन् । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । साथै, अब कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोड रुपैयाँ, जगेडा कोष ७७ करोड ५९ लाख रुपैयाँ र सेयरधनी कोष ४ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ । साथै, मर्जर पश्चात् कम्पनीको खुद नाफा २८ करोड ३० लाख रुपैयाँ र लगानी १३ अर्ब ५० करोड रुपैयाँ पुगेको जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बनेका छन् भने कम्पनीको सञ्चालक समिति अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् ।
मर्जरमा जाने कम्पनी भाग्यमानी हुन् : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले मर्जरमा जाने कम्पनीको प्रशंसा गरेका छन् । बिहीबार सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले कम्पनीहरुले बीमा समितिको मर्जर नीतिलाई अनुशासित ढंगले आत्मसाथ गरेर अगाडि बढेको भन्दै मर्जरमा जाने कम्पनीहरुको प्रशंसा गरेका हुन् । ‘बीमा कम्पनीहरु मर्जर हुनु समग्र बीमा क्षेत्रका लागि सकारात्मक हो, कम्पनीहरुले पुँजी वृद्धिका लागि मर्जर नीति अवलम्बन गर्नु प्राधिकरणका लागि पनि सकारात्मक हो, मर्जरमा जाने कम्पनीहरुले प्राधिकरणबाट केही सुविधाहरु पनि पाउँछन्,’ उनले भने, ‘मर्जरमा जाने कम्पनीहरु भाग्यमानी हुन् ।’ उनले समान किसिमका व्यवसायिक घरना भएका कम्पनी मर्जरमा जाँदा थप सिनर्जी उत्पन्न हुने धारणा राखे । मर्जर भएका कम्पनीहरुमा हालसम्म कुनै पनि समस्या नआएको पनि उनको भनाइ छ । ‘अहिलेसम्म भएका मर्जरमा कुनै समस्या आएका छैन, लगानीको दायरा बढाउनुपर्छ, इनोभेसन, रिसर्च, डिजिटल प्लेटफर्म जोड दिनुपर्छ, मर्जमा जाने कम्पनीलाई प्राधिकरणले पनि सहयोग गर्छ,’ उनले भने । अध्यक्ष सूर्यप्रसाद सिलवालले दुई वटा कम्पनी एकीकृत भई एउटा सशक्त कम्पनी बनेकोमा बधाईसँगै शुभकामना व्यक्त गरे ।
ठूलो व्यवसायिक घरानासँग मर्ज हुनु हाम्रो सफलता हो : अध्यक्ष कोइराला
काठमाडौं । साविक सानिमा इन्स्योरेन्सका अध्यक्ष कुमार कोइरालाले उत्कृष्ट तथा ठूला व्यवसायिकका घरानासँग मर्ज हुन पाउनु ठूलो सफलता भएको बताएका छन् । बिहीबार सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबारमा बोल्दै उनले सो बताएका हुन् । ‘५ वर्षअघि पहिलो कारोबारदेखि नै कम्पनीसँग आवद्ध छु, बजारमा राम्रो पहिचान बनाउन सफल भएको कम्पनी छोटो अवधिमा उत्कृष्ट व्यवसायिक घरानासँग मर्ज हुन पाउनु हाम्रो सफलता हो,’ उनले भने । साथै, उनले २ वटा कम्पनी एक भएर सिनर्जी ल्याउने बताए । मर्जर पश्चात् बीमा क्षेत्रमा अब्बल कम्पनीका रुपमा स्थापित गराउने उनको भनाइ छ । ‘हिजोसम्म अलगअलग रहेका कम्पनी आज एक भएका छन्, २ व्यवसायिक समूहले ५ वर्षअघि कम्पनी सुरु गरेका थिए, अब नयाँ कम्पनीको रुपमा थालनी भएको छ,’ उनले भने, ‘५ वर्षमा अब्बल कम्पनी बन्न सफल भएका छन्, सानिमा र रिलायन्सबीच मर्जरले ठुलो सफलता हासिल गर्ने छ ।’ मर्जरपश्चात् जीवन बीमा क्षेत्रमा अब्बल संस्थाको रुपमा स्थापित गर्नुपर्ने उनले बताए । स्थापनाकालमा नै कम्पनीसँग आवद्ध भएको र बजारमा कम्पनीको राम्रो पहिचान बनाउन सफल भएको उनको दाबी छ ।
पुरानो संसद् भवन नभत्काउन संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन नभत्काउन निर्देशन दिएको हो । नभत्किएसम्म भत्काउन जरुर नरहेको समितिका सभापति मायाप्रसाद शर्माले बताए । निर्माणाधीन सङ्घीय संसद्मा सङ्घीय पुस्तकालय समयसापेक्ष अनुरुप र व्यवस्थित ढङ्गको हुनुपर्ने सभापति शर्माको भनाइ छ । ‘विभिन्न कालखण्डका इतिहास बोकेका भवनको संरक्षण गर्यो भने आउने पुस्तालाई साक्षीको रूपमा रहन्छ, पुर्खाको इतिहास मास्न हँुदैन, भवनको संरक्षणतर्फ सबैले पहल गर्नुपर्छ,’ उनले भने । बैठकमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको मौलिकता, संस्कृतिलाई संरक्षण गर्न समितिको मार्गदर्शनलाई मन्त्रालयले स्वीकार गर्ने बताए । पुराना भवनको प्राविधिक अध्ययनअनुरुप कलाकृति संरक्षण गर्दै नयाँ भवन बनाउँदा पुराना आवरण र महत्व भल्किने हुनुपर्नेमा उनको भनाइ छ । सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ भवन प्रविधिमैत्री र व्यवस्थित खालको हुने बताउँदै चैत मसान्तसम्म पुरानो संसद् भवनको संरक्षणका लागि बाक्लो प्लाष्टिकले छोप्ने र पिपलको रुख हटाउने प्रतिबद्धता व्यक्त गरे । बैठकमा समितिका सदस्य मदनकुमारी शाहले आधुनिक प्रविधिका नाममा नेपालको कला, संस्कृति मास्न नहुने, राणाकालीन समयमा बनेको सिंहदरबार अहिले पनि अनुकूल रहेको तर निर्माणाधीन सङ्घीय भवन साँघुरो रहेकाले समयमा सचेत रहन जरुर रहेको बताए । समिति र मन्त्रालयले सहकार्य गरेर पुरानो भवनको संरक्षण गर्नुपर्ने समिति सदस्य तुलसा दाहालले बताए । उनले सहरी मन्त्रालयलाई तत्काल पुरानो भवनको संरक्षणका लागि काम अगाडि बढाउन आग्रह गरे । त्यस्तै समितिका सदस्यहरूले पुरानो भवनले पञ्चायत, संसदीय व्यवस्था, गणतन्त्र झल्काउने रहेकाले तत्काल संरक्षण गर्न काम सुरु गर्नुपर्ने र नयाँ भवन समयसापेक्षअनुरुप इतिहास जोगाउने हुनुपर्ने, भवनको संरक्षणका लागि समितिले कानुनी सहजीकरण गर्ने विचार व्यक्त गरेका थिए । उनीहरुले नयाँ भवन प्रविधिमैत्री व्यवस्थित ढङ्गको हुनुपर्ने, सिंहदरबारको आकर्षणका रूपमा हुनुपर्ने, कार्यान्वयनको गतिलाई प्रभावकारी बनाउनुपर्नेलगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।