बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो । बुटवल–११ सिर्जनानगरमा सर्भेको सुरुआत गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपुर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका ब्लक पनि नापजाँचको प्रक्रियामा जाने बताए । उनले अहिले वडा नं २, ११ र १२ का जग्गाको नापजाँचको प्रक्रिया सुरु भएको र छिट्टै नै लालपुर्जा प्राप्तिको प्रक्रियामा अगाडि बढाउने बताए । बुटवल–११ का अध्यक्ष रामचन्द्र खनालले आफ्नो वडामा अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न नापीका लागि कन्ट्रोल प्वाइन्टको निर्धारणको काम सुरु भएको जानकारी दिए । वडा नं २ का करिब तीन सय घरधुरी, वडा नं ११ का चार सय घरघडेरी र वडा नं १२ का एक सय २० घरधुरीको नापजाँच अगाडि बढाइएको बुटवल उपमहानगरपालिकाका भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले जानकारी दिए । उनले डीजीपीएस सर्भे सम्पन्न भएपछि नापजाँचको काम गर्ने र भूमि आयोगमा सिफारिस गरेर पठाएपछि लालपुर्जा प्राप्तिको प्रक्रिया अगाडि बढ्ने बताए । सर्भेमा बुटवल उपमहानगरपालिकाका पाँच सर्भेक्षक खटिएका छन् । छिट्टै नै सर्भे पूरा गरी नापजाँचको काम थाल्ने बुटवल उपमहानगरपालिकाका सर्भेक्षक त्रिदेव बुढाथोकीले जानकारी दिए । रासस
उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय
काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको पार्टीका कार्यकारिणी समिति सदस्य केशव झालले जानकारी दिए। उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने, बारा क्षेत्र नं २ मा उम्मेदवारी दिने तथा दुई मन्त्रालयसहित सम्मानजनकरुपमा सरकारमा सहभागी हुने निर्णयसमेत गरीएको उनले बताए। उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेको छ ।
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
काठमाडाैं । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने र फार्म सञ्चालक ऋण तिर्न नसक्ने बताए । उनका अनुसार झापाको एक सय ४४ किलोमिटर सीमा क्षेत्रबाट दैनिक चार हजार किलोभन्दा बढी मासु, जिउँदो कुखुरा र अण्डा अवैधरुपमा भित्रिरहेको छ । यसबाट वार्षिक ५० करोडभन्दा बढी रकम अनाधिकृत ढङ्गले विदेश गइरहेको छ । ‘दुई खर्बभन्दा बढी लगानी र कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान दिइरहेको पोल्ट्री व्यवसायबाट लाखौँले रोजगारी पाइरहेका छन्’, निरौलाले भने, ‘आत्मनिर्भर एउटा मात्र कृषि उद्योगको रुपमा रहेको यसलाई जोगाउन अवैध आयात कडाइका साथ रोक्न राज्यले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।’ मुलुकमै सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्लाको पहिचान बनाएको झापामा तेस्रो मुलुकबाट आयातित सुपारीका कारण स्वदेशी सुपारीले बजार र उचित मूल्य पाउन नसकेको व्यवसायीको गुनासो छ । सुपारी कृषक नीलकण्ठ तिवारीले विदेशबाट डलरमा किनेर भारतमा तस्करी गर्ने उद्देश्यले सुपारीको आयात गर्न कार्य तत्काल रोक्न माग गरे । विदेशी सुपारीका व्यापारीले स्थानीय किसानले उत्पादन गरेको सुपारीले निर्यातको कोटा हडपेकोे आरोप लगाए । ‘किसानले बाहुनडाँगीमा फलाएको स्थानीय सुपारी काँकरभिट्टामा बेच्न ल्याउँदा प्रहरीले पक्रिएर दुःख दिने गरेको छ’, उनले स्थानीय सुपारीको व्यापारमा सरकार नरम हुनुपर्ने माग गर्दै भने, ‘स्वदेशकै उत्पादनले पुग्दो छ भने किन विदेशबाट सुपारी आयात गर्ने ?’ नेपालमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको र सिङ्गापुरलगायतका तेस्रो मुलुकबाट २५ हजार मेट्रिक टन सुपारी आयात हुने गरेको उनले बताए । तेस्रो मुलुकबाट डलर खर्चेर हुने गरेको आयातलाई उहाँले ‘सुन दिएर घुन ल्याउने गरेको’ टिप्पणी गरे । कोशी प्रदेशका प्रदेशसभा सदस्य गोपाल तामाङले सीमित व्यापारीको सुपारी र मासुको धन्धाले गर्दा हजारौँ किसानको स्वदेशी उत्पादन बर्बाद हुने अवस्था आउन नदिन राज्यले बेलैमा सोच्नुपर्ने धारणा व्यक्त गरे । मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगीरथ राईले केही धनधावालले भारतबाट मरेका कुखुरासमेत लुकीछिपी ल्याएर सीमावर्ती बजारमा बेच्ने गरेको उल्लेख गर्दै यसबाट वैधानिक र स्वच्छ व्यवसाय गर्ने बदनाम भइरहेको बताए । खुला सीमाका कारण सीमित सुरक्षाकर्मीले मात्र सीमामा हुने अवैध धन्धा निमिट्यान्न बनाउन सम्भव नहुने प्रहरी उपरीक्षक दुर्गा रेग्मीको भनाइ छ । सचेत नागरिक, व्यवसायी र जनप्रतिनिधिबाट रचनात्मक सहयोगको खाँचो रहेको उहाँ बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कुखुराको मासु, अण्डा र जिउँदो कुखुरा भारतबाट आयात गर्न प्रतिबन्ध रहेकाले त्यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए । रासस
एक लघुवित्तले जम्मा गर्यो बोनस सेयर डिम्याट खातामा
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत पुस ३० गते सम्पन्न सातौं वार्षिक साधारण सभाले पारित गरेको ४ प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । लघुवित्तले बुक क्लोज गरेको दिन (पुस १९ गते)सम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
राष्ट्र बैंकले दोस्रो पटक घटायो जीवन विकास लघुवित्तको लाभांश, अब कति पाउँछ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पछि जीवन विकास लघुवित्तको लाभांश दोस्रो पटक घटाइएको छ । राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२८५ प्रतिशत बोनस सेयर र ०.७१४१ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद गरी कूल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद गरी कूल ३३.१५ प्रतिशत लाभांश वितरण गरेको थियो । पुनः राष्ट्र बैंकको निर्देशन भन्दै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत्र ३० गते मोरङको कटहरी स्थित केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा बोलाएको छ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले सभामा भाग लिई लाभांश प्राप्त गर्न सक्नेछन् ।
४ कम्पनीको साधारणसभा आज हुँदै, लाभांश र मर्जर मुख्य एजेण्डा
काठमाडौं । तीन लघुवित्तसहित ४ वटा संस्थाको बार्षिक साधारणसभा शुक्रबार हुने भएको छ । छिमेक लघुवित्त, साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको वार्षिक साधारणसभा आज चैत्र १० गते बस्ने भएको हो । छिमेक लघुवित्तको २१ औं वार्षिक साधारणसभा हेटौंडा–४ मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कूल २५.२६ प्रतिशत लाभांश पारित गर्नेछ । लघुवित्तको सभाले अधिकृत पुँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउनेछ । साथै, बोनस सेयर वितरणपश्चात् चुक्ता पूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने प्रस्तावसमेत पारित गर्नेछ । यस्तै, साना किसान लघुवित्तको २४ औँ वार्षिक साधारणसभा कृषि विकास बैंक केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.३६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, आरएमडिसी लघुवित्तको २४ औँ बार्षिक साधारणसभा अमृत भोग कालिकास्थान, काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साना किसाना लघुवित्त र आरएमडिसी लघुवित्तको सभाले एकआपसमा मर्ज हुने सम्बन्धी प्रस्तावहरु प्नि पारित गर्नेछन् । आरएमडिसी लघुवित्तको १ कित्ता सेयर बराबर साना किसान लघुवित्तको ०.८७ कित्ता (१ः०.८७)को स्वाप रेसियोमा मर्ज हुनेछन् । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको साधारण सभा त्रिभुवन आर्मी अफिर्स क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस डिम्याट खातामा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । बैंकको गत पुस २५ गते सम्पन्न १४ औां वार्षिक साधारण सभाले पारित गरेको १३.३० प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकले बुक क्लोज गरेको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
सडकमा फोहर फाल्ले २ जनालाई १२ हजार जरिवाना
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फालेको भन्दै २ जनालाई कारबाहीस्वरुप १२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । कामपाले कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहर फालेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार जरिवानास्वरुप कामपाले मण्डललाई २ हजार र भारतीलाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो । कामपाले भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहरमैला सडकमा फालेको भन्दै जरिवाना गरेको हो । त्यस्तै मण्डलले सार्वजनिक स्थानमा फोहर फालेका कारण उनलाई जरिवाना गराइएको हो । कामपाले पछिल्लो समय सडकपेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ । फोहरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई ५ सयदेखि ५ हजारसम्म जरिवानासमेत तिराउने गरेको छ । वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । उक्त गाडीमा नै फोहर राख्नका लागि आग्रह गर्दै आएको छ । महानगरको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ । उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन २ सय गाडी फोहर बोकर बञ्चरेडाँडामा जाने गर्दछन् । वर्षाको समय सुरु नभएकाले अहिले फोहरको अन्तिम व्यवस्थापन गर्नका लागि कुनै अवरोध नभएको बताइएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलवासीले भने यसअघिको सम्झौता पालना नभए पुनः फोहर व्यवस्थापनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।