मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज काठमाडौँमा मौसम आंशिकदेखि सामान्य बदली रही छिटफुट वर्षाको सम्भावना छ । काठमाडौँको न्यूनतम तापक्रम आज डिग्री ११ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।
प्रभु बैंकले ४१ वटा कार र घरजग्गा बेच्दै
काठमाडौं । प्रभु बैंक (साविको सेञ्चुरी कमर्सियल बैंक)ले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि ४१ वटा सवारी साधन र जग्गा बिक्री गरेर ऋण असुल गर्ने भएको हो । शाखा कार्यालय धनगढीबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी दक्षीणकाली मोटोकर्प प्रालिका सञ्चालक तथा जमानीकर्ता नविन जोशी र जयलक्ष्मी जोशीले लिएको कर्जा वापत धितोमा राखेका विभिन्न कम्पनीका ४० वटा बोलेरो र स्कोरपियो बिक्री गर्ने भएको हो । साथै नबिन जोशीको नाममा रहेको साविक हसुलिया ६ स्थित कित्ता नम्बर ३१७, १४०, १४९, १५१, ३१३, १५६ र ३१९ को क्रमशः १८२२, १९४५, १८८५, ८३६०, १६४५, २१९० र ८४.६५ वर्गमिटर क्षेत्रफल भएको जग्गा, साविक फूलवारी ३ स्थित कित्ता नम्बर ४९७ को ६५६४ वर्गमिटर भएको जग्गा र जग्गाले चर्चेको घर पनि बिक्रीमा राखेको हो । यस्तै, डि.के. व्रिक इण्डष्ट्रिज प्रालिका सञ्चालक तथा जमानीकर्ता जित बहादुर चौधरी र नबिन जोशी, मुनाल मल्ल, ओम प्रकाश ड.चौधरी र मिना चौधरीको पनि धितो लिलाम गर्ने बैंकले जनाएको छ । बैंकले मिना चौधरीको नाममा दर्ता भएको साविक हसुलिया ६ स्थित कित्ता नम्बर ३१८ को १३५४५.३५ वर्गमिटर, जित बहादुर चौधरीको हसुलिया २ स्थित कित्ता नम्बर २७७, ५९१ र ७१० को क्रमशः ४९६, ८४.६५ र ४८६९.६१ वर्गमिटर, मुनाल मल्लको नाममा रहेको हसुलिया ३ स्थित कित्ता नम्बर ११०२ को ३३८.६३ वर्गमिटर भएको जग्गा र जग्गामा बनेका घर बिक्री गर्नेछ । त्यस्तै, डि.के. व्रिक इण्डष्ट्रिजको स्वामित्वमा रहेको प्र ३०१००३ क ४५०८ नम्बरको लोडर बिक्री गर्ने भएको हो ।
नेप्सेमा जीवन विकास र एनएमबि लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । जीवन विकास लघुवित्तको १४.२८५ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता १ हजार ३७०.२६ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ५६६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, एनएमबि लघुवित्तको १० प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५०९.०९ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ५६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
नेप्सेमा एक कम्पनीको ४० प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस वापतको सेयर सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको ४० प्रतिशत बोनस वापतको ४४ लाख २५ हजार ४३२ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सूर्यज्योति लाइफले ४८ आना घरजग्गा खरिद गर्ने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले घर तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले केन्द्रिय कार्यालयका लागि घरजग्गा खरिद गर्ने भएको हो । कम्पनीको केन्द्रिय कार्यालयको लागि काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरु मध्ये कुनै एक स्थानमा जग्गा वा घरजग्गा खरिद गर्ने जनाएको छ । कम्पनीले नयाँबजार, लाजिम्पाट, उत्तरढोका, नागपोखरी, कमलपोखरी, नक्साल, गैहिधारा, हात्तिसार, वालुवाटार, विशालनगर, भाटभटेनी, महाराजगञ्ज, चाबहिल, गौशाला, बत्तिसपुतली, डिल्लीबजार, ज्ञानेश्वर, नयाँ बानेश्वर, तिनकुने, सोल्टीमोड, कालिमाटी, बल्खु, माइतीघर, थापाथली, चाकुपाट, कुपण्डोल, पुल्चोक, जावलाखेल, कुमारीपाटी, सानेपा, बखुण्डोल, सातदोबाटो, बालकुमारी लगायतका क्षेत्रमध्ये एक ठाउँमा खरिद गर्ने भएको हो । सो एक किलोमिटरको दूरीसम्म हुनुपर्ने कम्पनीले जनाएको छ । घर जग्गा विक्री गर्न इच्छुक घरजग्गाधनीले ३५ दिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । जग्गाको क्षेत्रफल न्यूनतम २५ देखि अधिकतम ४८ आनासम्म हुनु पर्ने कम्पनीको प्रशासन विभागले जनाएको छ । कम्पनीको हाल केन्द्रिय कार्यालय शान्त प्लाजा ज्ञानेश्वर काठमाडौंमा रहेको छ ।
कर्मचारी सञ्चय कोषले ९ वटा मोटरसाईकल बेच्दै
काठमाडौं । कर्मचारी सञ्चय कोषले पुराना सवारी साधन बिक्री गर्ने भएको छ । कोषले पुराना २ पाङ्ग्रे सवारीसाधन (मोटरसाईकल) तथा फर्निचरका सामानहरु बिक्री गर्ने भएको हो । कोषको पुल्चोक भवनस्थित अण्डरग्राउण्डमा रहेका ९ वटा पुराना २ पाङ्ग्रे मोटरसाईकल बिक्री गर्ने जनाएको छ । साथै, फर्निचरका सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्नेछ । इच्छुक खरिद गर्न ब्यक्ति, फर्म तथा कम्पनीले ७ दिनभित्र पुल्चोकस्थित भण्डार शाखाबाट बोलपत्र खरिद गरी पेश गर्न सकिने कोषले जनाएको छ ।
कुमारी बैंकले धितोमा रहेको स्कोरपियो बेच्दै
काठमाडौं । कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको शाखा कार्यालय कुपण्डोल ललितपुरबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी मकवानपुरको हाडीखोला ४ का बुद्धराम बलले कर्जा लिएवापत राखिएको धितो लिलाम गर्ने भएको हो । बैंक (साविक एनसीसी बैंक)धनी भई नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय विरगंजमा दर्ता कायम रहेको ना ७ ख ४३२ नम्बरको टाटा मोटर्स एमसीभि एयर बस बिक्री गर्ने भएको हो । यस्तै, बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय ललितपुरमा दर्ता कायम रहेको बा १६ च ६०३९ नम्बरको महिन्द्रा स्कोरपियो एसटू टूडब्लूडिको सवारी बिक्री गर्ने भएको हो । साथै बैंकले जमानीकर्ता रहरसिंह बलको नाममा मालपोत कार्यालय मकवानपुरमा दर्ता कायम रहेको हाडीखोला ५ स्थित कित्ता नम्बर १२२२ र १२२३ को ०-११-८-० र ०-१०-३.५ रोपनी जग्गा बिक्री गर्ने भएको हो ।
आजदेखि एसईई परीक्षा सुरु, ५ लाख विद्यार्थी सहभागी हुने
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने भएको छ । सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउने लगायतका सबै काम पुरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । एसईई परीक्षाका सहभागिता जनाउनका लागि यसवर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने विद्यार्थी ५ लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल ४ लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा १ लाख ६ हजार ९५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३२९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् । यस वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५६४ संस्थागत गरी ११ हजार ८२९ विद्यालय एसईईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । त्यस्तै वागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेस प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईईमा अघिल्लो वर्ष देशभरबाट ५ लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने ४ लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए । ७८ हजार जनशक्ति एसईई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिए । परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पुर्याइसकिएको छ । यसवर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ । बोर्डले यसवर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपाली १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो । त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ । परीक्षाको तालिका एसईई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ । परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । त्यसैगरि चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अग्रेजीको परीक्षा हुनेछ । त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ । चैत २३ गते बिहिबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड माकेर्टिङ, इञ्जिनियरिङ् ड्रईङ्, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ । यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, ईलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ्, ईञ्जिनियरिङ सर्भेईङ्ग र म्यूजिक अफ नेपालको परीक्षा हुनेछ । यस्तै चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फ ः ऐच्छिक प्रथमपत्रका सबै विषयहरु, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरु, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरु, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाईजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेण्ट सिष्टम, बिल्डिङ्ग कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ । चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इञ्जिनियरिङ्ग र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ । चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाईवे इञ्जिनियरिङ्, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ । परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फनै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ्, इष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ ।