ट्राफिक प्रहरीद्वारा क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु
काठमाडौं । ट्राफिक प्रहरीले क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि क्यूआरसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरेको हो । सिफारिसपत्रमा शङ्का लागेमा जुनसुकै क्यूआर कोड रिडरमार्फत स्क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी जाँच गर्न सकिने कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले सिफारिस नक्कली नहोस् भन्ने उद्देश्यले क्यूआर कोड रिडरसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरिएको बताए । सवारीसाधनको कागजपत्र हराएको भनी प्राप्त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्र भए÷नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिँदै आएको छ ।
नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले पायो भारतको तीन अवार्ड
काठमाडौं । नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा तीन अवार्ड जितेको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिने मेटा अवार्डमा चार विधामा मनोनयनमा परेको नाटकले अभिनय, कोरियोग्राफी र सङ्गीतमा अवार्ड जितेको हो । जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले चलचित्र बनाउने सिलसिलामा तयार गरेको जानकारी दिए । ‘यसलाई मैले हाम्रो जितको रूपमा लिएको छु । यहाँ अब हामीलाई गर्ने विश्वास पक्कै बढ्ने छ’, निर्देशक सुवेदीले भने, ‘हाम्रो नाटक चाँडै नै मुम्बईको पृथ्वी थिएटर र एनीपीएमा मञ्चन हुने भएको छ ।’ भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ चार सय ९५ बाट छानिएर उत्कृष्ट दशमा परेको थियो । छानिएका नाटक यही चैत ११ देखि १७ गतेसम्म दिल्लीमा मञ्चन भएका थिए । नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटरको सहकार्यमा तयार भएको नाटकले सन् २०१९ मा सेरेनपिडिटी आर्ट्स ग्रान्ट अवार्ड प्राप्त गरेको थियो । निर्देशक सुवेदीको लेखन तथा निर्देशन रहेको नाटक ‘दि कन्फेसन’ केही दिनअघि मात्र नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)को हलमा मञ्चन भएको थियो । रासस
नेप्सेको वेवसाइट २ दिन नचल्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेवसाइट दुई दिन बन्द हुने भएको छ । प्राविधिक कारण वेवसाइट बन्द गर्नु परेकोले शुक्रबार र शनिवार वेवसाइट बन्द हुने नेप्सेले बताएको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्कीका अनुसार तथ्याङ्क माइग्रेट गर्नु पर्ने भएका कारण २ दिन वेवसाइट बन्द हुनेछ । तर, आइतबारदेखि वेवसाइट पूर्ण रुपमा सञ्चालनमा आउने उनले बताए । ‘नेप्सेको तथ्याङ्क माइग्रेट गर्नु परेको हुँदा समस्या आएको हो, शुक्रबार र शनिबार गरी २ दिन बन्द हुनेछ तर, आइतबारदेखि भने पूर्ण रुपमा सञ्चालनमा आउँछ,’ उनले भने । विहीबार साँझदेखि नै नेप्सेको वेवसाइट चलेको छैन ।
बालुवाटारमा सत्तारुढ दलको बैठक, मन्त्रिपरिषद् विस्तारबारे छलफल
फाइल फोटो काठमाडौं । मन्त्रिपरिषद् विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रालयको भागवण्डा टुङ्गो लगाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता छ । रासस
एसएमईका समस्या समाधान गर्न मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट शसक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगर तर्फको उपाध्यक्षमा दाबेदारी दिएको बताएका हुन् । ‘यो क्षेत्रको नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले भने । हाल महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष रहेका श्रेष्ठले फेरी यथावत स्थानमै उम्मेदवारी किन भन्ने सबैको जिज्ञासा आफ्नो लागि संवेदनशिल विषय बनेको पनि बताएका छन् । ‘देशको अर्थतन्त्र र निजी क्षेत्र नाजुक हुँदै गएको वर्तमान अवस्थामा समकालीन चेम्बर अभियन्ताहरु जुटेर जानुपर्नेमा जोड दिए पनि त्यसले सार्थकता पाएन । नयाँ नेतृव चयनका लागि सहमतिको प्रयास गर्दै गर्दा सहमति हुन नसक्नु दुखः लाग्दो विषय हो,’ श्रेष्ठले भने, ‘सहकार्य र सहमतिको बाटो लिने निर्णय गरिसक्दा पनि पूर्ण रुपमा सहमति नजुटेको अवस्थामा मेरोलागि पदभन्दा पनि वर्तमान अवस्थामा नाजुक बन्दै गएको निजी क्षेत्रको उत्थानका निम्ति पहल पैरवी गर्न एउटा सशक्त फोरम महत्वपूर्ण छ । तसर्थ उक्त सशक्त फोरम भनेको महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघ समुहको नेतृव पंक्ति हो भन्ने विश्वासका साथ यथास्थानमा नै आफुलाई उभ्याउने प्रयास गरेको छु ।’ सबै जना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई पनि आफुले ध्यानमा राखेर साथीहरुसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए । देशका सम्पूर्ण निजी क्षेत्रको धरोहरका रुपमा रहेको महासंघलाई नयाँ दिशातर्फ अघि लैजान आफुले उम्मेदवारी दिएको बताउने श्रेष्ठले सदस्यहरुलाई मजबुत रुपमा संगठित गरि नयाँ जोश र सक्रियता तर्फ लम्काउन जरुरी रहेको बताए । सबै सदस्यहरुले पाउने सेवाहरु सूचारु रुपले प्रदान गर्न, सबै वर्गका सदस्यहरुले महासंघले आफूहरु प्रति सम्मान व्यवहार गरेको महसुस गराउन, कुनै व्यक्ति, वर्गवाद वा समूहको स्वार्थ पूर्तिको माध्यम बन्ने अवस्था आउन नदिन आफुले जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठले बताए । जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भूमिकालाई सक्रिय बनाउनु पर्नेमा जोड दिएका उनले हरेक जिल्ला तथा नगरका उद्योगी व्यवसायीसँग भएको निरन्तरको भेटघाट तथा छलफलले महासंघमा यथास्थानमा उम्मेदवारी दिएको उनको भनाई छ । ‘विगत छ सात वर्षदेखि जिल्ला तथा नगरसँग प्रत्यक्ष रुपमा संलग्न हुने अवसर पाएँ । जिल्ला नगरका साथीहरुले परिपक्क निर्णय गर्दै स्थानीय उद्योग व्यवसायलाई बुझेर नेतृत्वमा आउन दिएको आदेशले नै मैले उम्मेदवारी दिएको हो,’ श्रेष्ठले भने, ‘जिल्ला नगरमा रहेका उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीलाई सिमित सेवा दिन सकिरहेको अवस्था छ । त्यहाँका साना ठूला समस्याहरु सरकार समक्ष पुर्याई समाधान गर्न सक्षम केन्द्रीय नेतृत्व हुनु जरुरी भएको साथीहरुको आग्रहलाई शिरोधार्य गर्दै उम्मेदवारी दिएको हुँ ।’ जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या तथा जिल्ला नगर उद्योग वाणिज्य संघको सशक्तीकरणमा जोड दिँदै प्रत्यासी श्रेष्ठले महासंघमा आफुले धेरै काम गर्न बाँकी रहेको बताए । कुनै पनि कम्पनी दर्ताका लागि संघले दिने सिफारिस देखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरुले नपाउने समस्याका विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेको भन्दै उनले बैंक वित्तीय संस्थाको व्याजदर, सहुलियत लगायत विषयमा समस्याको पहिचान गर्न जरुरी रहेको बताए । व्याजदर र बैंक वित्तीय संस्थाबाट उत्पन्न समस्याका विषयमा लामो समयदेखि आवाज उठाईरहेको बताएका उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । ‘लगानी योग्य कोषको अभाव, अनियन्त्रित बन्दै गएको चर्को बैंक ब्याजदर तथा वित्तीय संस्थाहरुको ज्यादतीले समग्र निजी क्षेत्रको मनोबल कमजोर र संवेदनशील हुँदै गएको छ,’ श्रेष्ठले भने, ‘यस्तो विषम परिस्थितिको सामना गर्दै आगामी दिनहरुमा निजी क्षेत्रको आशाको केन्द्रविन्दुको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको भूमिकालाई सशक्त बनाउनका झनै सक्षम, सवल र सशक्त क्षमतावान नेतृत्व र समुहको आवश्यकता पर्ने देखिन्छ ।’ महासंघ व्यक्तिका लागि नभई व्यक्ति महासंघका लागि हुनु पर्दछ भन्ने मान्यताका साथ आगामी दिनमा महासंघको नेतृत्वमा बस्नेहरुको व्यक्तिगत लाभका लागि नभई सदस्यहरुको सामुहिक लाभ र समग्र देशको आर्थिक विकासमा केन्द्रित रही महासंघको गरिमा उच्च बनाउनुपर्ने उनको भनाई छ । सरकार तथा राजनीतिक दलहरुमा सन्तुलित, निरन्तर र प्रभावकारी सम्बन्ध राख्न सक्रिय भूमिका निर्वाह गर्ने, महासंघलाई क्षेत्रिय तथा अन्तराष्ट्रिय स्तरमा स्थापित गर्न सम्बन्धको विस्तार गर्नुका साथै राष्ट्रिय र अन्तराष्ट्रिय वित्तिय क्षेत्र तथा दातृ निकायहरुसँग कार्यगत सम्बन्ध विस्तार गरि नेतृत्व श्रृङ्खलाको विकासमा आफुले पैरवीको काम गर्ने श्रेष्ठले बताए । महासंघले ठूला व्यवसायीको विषयमा वकालत गर्दै आएको बताउने श्रेष्ठ साना तथा आम व्यवसायीको विषयमा पनि महासंघ बोल्नुपर्नेमा जोड दिन्छन् । ‘यस्ता विषय ठूलो सानो जे भए पनि महासंघले सैद्धान्तिक रुपमा उठान गर्नुपर्छ, त्यसमा मेरो जोडबल रहन्छ,’ श्रेष्ठले भने । अर्थतन्त्र कमजोर अवस्थामा पुगेका बेला नीतिगत दरहरुलाई पनि खुकुलो बनाउनुपर्ने श्रेष्ठको भनाई छ । ‘अवस्था जटिल भयो भन्दै एक पछि अर्को गर्दै कडाईका साथ ल्याइएका नीतिगत व्यवस्थाले समस्या गम्भिर बनेको छ,’ श्रेष्ठले भने- ‘बैंक वित्तीय संस्थाका नीतिगत दरहरु हेरफेर गरिदिने हो भने पनि निजी क्षेत्रलाई सहज हुने मात्र नभई कारोबार चलायमा न बन्दा अहिलेको समस्या टर्न सक्छ । यसमा महासंघमा मेरो जोडदार पहल रहनेछ।’ यसका साथै जिल्ला नगरमा व्यवसाय सुरु गर्ने समयदेखि देखिने समस्या समाधानमा आफु लागिरहने पनि उनले बताए । महासंघ र स्थानीय निकाय, महासंघ र प्रदेश सरकार तथा महासंघ र केन्द्र सरकार मिलेर व्यवसायीलाई सचेतना कार्यक्रम गर्ने गराउने सम्बन्धमा आवश्यक पहल गर्ने उनको भनाई छ । उद्योगी व्यवसायीका समस्या समाधानका लागि मात्र नभई नयाँ आउने उद्यमीलाई समेत आवश्यक सूचना दिन उद्योग वाणिज्य संघहरुलाई सबल बनाउन जरुरी रहेको उनको बुझाई छ । जिल्ला नगरका समस्या ठूला उद्योगी व्यवसायीका लागि सानो हुने गरेको भन्दै श्रेष्ठले यस्तो अवस्थाको अन्त्य गरिनुपर्नेमा जोड दिए । ‘ठुला व्यवसायीलाई सानो समस्याले खासै असर नगरे पनि साना तथा मझौला उद्यमीका लागि यस्ता समस्या ठूला हुन्छन् भन्ने कुरालाई बुझिदिनु पर्छ,’ श्रेष्ठले भने । देशैभरी सञ्जाल रहेको उद्योग वाणिज्य महासंघले एक स्थानको उत्पादन सहज रुपमा अर्को स्थानका बिक्री गर्ने वातावरणको विकास मात्र गर्न सक्ने हो भने ठूलो काम हुने बताएका उनले आफुले त्यसका लागि तिब्र लबिङ गर्ने बताए । सरकारी संयन्त्रका कर्मचारीले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिएका श्रेष्ठले ऐन कानुन उद्योगी व्यवसायीलाई नियन्त्रण गर्ने किसिमको हुने गरेको भन्दै त्यसमा सहजीकरण गर्न पनि पहल गर्ने बताए । छुट्टै चेम्बर ऐन, क्रेडिट ऐन, व्यवसायीको लगानी सुरक्षित हुने गरी सुरक्षित कारोबार ऐन जरुरी रहेको उनको भनाई छ । ‘अहिले कारोबार ऐन छ तर, त्यसका केही प्रावधानहरु गलत छन् । राज्य संयन्त्रका कर्मचारीले हामी प्रति देखाउने ब्यवहार गलत छ । यसकारणले पनि व्यवसायीहरुले नचाहेर पनि गलत बाटो अपनाएर व्यवसाय गर्नुपर्ने अवस्था छ । यसको अन्त्य हुनुपर्छ,’ श्रेष्ठले भने । करका दरहरु धेरै हुँदा चोरी पैठारी बढिरहेको श्रेष्ठको बुझाई छ । कोरोनाकाल पछि चोरी पैठारी दिनदिनै बढिरहेको सन्दर्भमा विभिन्न उपकरणका माध्यमबाट चोरी पैठारी रोक्नुपर्ने उनी बताउँछन् । ‘अहिले जुन किसिमले चोरी पैठारी बढिरहेको छ त्यसले उद्योगी व्यवसायी समस्यामा पर्ने मात्र नभई राज्यले समेत ठूलो मात्रामा राजश्व गुमाईरहेको छ । यसलाई नियन्त्रण गर्न महासंघ नेतृत्वले पनि पहल गर्नुपर्छ,’ श्रेष्ठले भने । करसँगै भन्सार, रोजगार तथा बैंकका सम्बन्धमा धेरै समस्याहरु रहेको भन्दै श्रेष्ठले यस्ता समस्याहरुलाई समाधान गर्नका लागि महासंघमा आफुले पहल गर्ने बताए । समग्र अर्थतन्त्रलाई चलायमान बनाउन जिल्ला नगरमा सञ्चालित उद्योग व्यवसायको ठूलो योगदान रहेको बताउने श्रेष्ठ उनीहरुको राय र सुझाव लिएर महासंघ अघि बढ्नुपर्नेमा जोड दिन्छन् । यसका लागि अहिलेको कार्यकालमा आफुले धेरै प्रयासहरु गरेको र आगामी दिनमा झनै तिब्र रुपमा लबिङ गर्ने उनले बताए । सवल, सक्षम र समृद्ध जिल्ला नगर उद्योग वाणिज्य संघको निर्माण गर्ने प्रतिबद्धता पनि श्रेष्ठले जाहेर गरेका छन् ।
नेपाल लाइफले सार्वजनिक गर्यो २०८० सालको क्यालेन्डर
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनील वि.सं. २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । चैत्र १६ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीले २०७९ पुस मसान्तसम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी, १ खर्ब ५० अर्ब रुपैयाँ जीवन बीमाकोष र ९ अर्ब ५२ करोडभन्दा बढी सेयरधनी कोष रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि ८ वटा प्रादेशिक कार्यालय र १८४ वटा शाखा तथा उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । साथै, कम्पनीले हालसम्म १ खर्ब ९७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ ।
अबदेखि बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने
काठमाडौं । सञ्चालित बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन, निर्जीवन र पूनर्बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो । बीमा ऐन, २०७९ अनुसार उक्त नयाँ व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । जुन बैशाखदेखि सबै कम्पनीहरुलाई लागू हुने भएको छ । तर चैत मसान्तसम्मको लागि नवीकरण हुन बाँकी कम्पनीहरुले भने सो अवधिसम्मको लागि नवीकरण गर्नुपर्ने बताइएको छ । साविक बीमा ऐन, २०४९ अनुसार उनीहरुले चैतसम्ममा नवीकरण गरिसक्नु पर्ने कार्यकारी निर्देशक पौडेलले बताए ।
नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना
काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि एमएडब्लु इन्टरप्राइजेजले उपहार योजना ल्याएको छ । ‘पावर अफ फाइभ’ योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ । त्यस्तै, खरिद गरेपछि फेरी वाइल्ड कार्ड मार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् । खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड जित्ने मौका पाउनेछन् । यो योजना आर १५ , एमटी १५ र फ्यासिनिो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु कम्पनीले जनाएको छ । यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी यमाहा पावर अफ५ डटकममा गएर वा क्यूआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् । सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्ने र उनीहरुले आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्नेछन् । साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।