विकासन्युज

नेपाल लाइफले सार्वजनिक गर्यो २०८० सालको क्यालेन्डर

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनील वि.सं. २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । चैत्र १६ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीले २०७९ पुस मसान्तसम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी, १ खर्ब ५० अर्ब रुपैयाँ जीवन बीमाकोष र ९ अर्ब ५२ करोडभन्दा बढी सेयरधनी कोष रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि ८ वटा प्रादेशिक कार्यालय र १८४ वटा शाखा तथा उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । साथै, कम्पनीले हालसम्म १ खर्ब ९७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ ।

अबदेखि बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौं । सञ्चालित बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन, निर्जीवन र पूनर्बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो । बीमा ऐन, २०७९ अनुसार उक्त नयाँ व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । जुन बैशाखदेखि सबै कम्पनीहरुलाई लागू हुने भएको छ । तर चैत मसान्तसम्मको लागि नवीकरण हुन बाँकी कम्पनीहरुले भने सो अवधिसम्मको लागि नवीकरण गर्नुपर्ने बताइएको छ । साविक बीमा ऐन, २०४९ अनुसार उनीहरुले चैतसम्ममा नवीकरण गरिसक्नु पर्ने कार्यकारी निर्देशक पौडेलले बताए ।

नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि एमएडब्लु इन्टरप्राइजेजले उपहार योजना ल्याएको छ । ‘पावर अफ फाइभ’ योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ । त्यस्तै, खरिद गरेपछि फेरी वाइल्ड कार्ड मार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् । खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड जित्ने मौका पाउनेछन् । यो योजना आर १५ , एमटी १५ र फ्यासिनिो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु कम्पनीले जनाएको छ । यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी यमाहा पावर अफ५ डटकममा गएर वा क्यूआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् । सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्ने र उनीहरुले आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्नेछन् । साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।

आर्थिक संकट छ तर प्रभु इन्स्योरेन्सको व्यवसाय घटेको छैन : सीईओ बज्राचार्य

पछिल्लो समय बीमा कम्पनीहरु धमाधम मर्ज हुँदैछन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको नीति लिएसँगै कम्पनीहरुले एक आपसमा मर्जरमा जाने बाटो रोजेका हुन् । कतिपयले एकीकृत कारोबार पनि गरिसकेका छन् भने केही एकीकृत कारोबार गर्ने तयारीमै छन् । यो अवस्थामा प्रभु इन्स्योरेन्सले भने हालसम्म कुनै ठोस निर्णय गरेको छैन । यद्दपि पुँजी वृद्धिको लागि मर्जर मात्रै विकल्प होइन । बोनस सेयर वितरण गर्न पाउने, हकप्रद सेयर जारी गर्न सक्ने विकल्प पनि हुन्छन् । केही कम्पनीहरुले सम्पत्ति बेचरै भएपनि पुँजी वृद्धि गर्ने योजना अगाडि सारेका छन् । यो अवस्थामा प्रभु इन्स्योरेन्सले कुन बाटो रोज्दै छ, कम्पनीको आगामी योजनाहरु के छन् ? प्रस्तुत छ यसै विषयमा केन्द्रीत भएर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यसँग विकासन्युजले गरेको विकास वहस। पछिल्लो समय अर्थतन्त्रमा त्यति सहज अवस्था छैन भनेर व्यवसायीहरुले भनिरहेका छन् । इन्स्योरेन्समा कस्तो छ प्रभाव ? आर्थिक संकटबारे अर्थविज्ञहरुले जति नियालेर, विश्लेषण गरेर हेरेका छन्, हामी त्यसरी गएका छैनौं । इन्स्योरेन्स पनि वित्तीय क्षेत्रसँगै जोडिएको क्षेत्र हो । यो क्षेत्रबाट हेर्दा पनि नेपालको आर्थिक वृद्धि कम नै रहेको हो की भन्ने देखिन्छ । अहिलेको आर्थिक अवस्थाको प्रभाव इन्स्योरेन्समा निश्चय नै परेको छ । तर प्रभु इन्स्योरेन्सको हकमा मैले आफ्नो व्यापार घट्न दिएको छैन । तर यसको अर्थ यो होइन की बजारमा अर्थतन्त्र राम्रो अवस्थामा छ । हाम्रो इन्स्योरेन्स कम्पनीले जति बीमा बजारमा विकास गर्नुपर्ने हो, त्यति भइरहेको छैन । प्रभुको व्यवसाय घटेको छैन तर जति बढ्नु पर्ने हो त्यति बढेको पनि छैन । प्रभु इन्स्योरेन्सको अहिलेको ग्रोथ र अनुमानित ग्रोथ कति हो ? हाम्रो अहिलेको ग्रोथ भनेको सामान्य ५ देखि १० प्रतिशत होला । जुन कम्तिमा ३० देखि ३५ प्रतिशतको ग्रोथमा जानु पर्ने थियो । बीमा बारे बुझ्दै जानेको संख्या बढ्दै गएको थियो । बजारले गति लिँदै थियो । तर पछिल्लो समय यो गतिको रफ्तार रोकियो । जसले जतिसुकै गाली गरेपनि, नकारात्मक सोचे तापनि बीमा अति आवश्यक हो । यस क्षेत्रको विकास सोही अनुसार हुन सकेको छैन । जसले एक पटक बीमा गरिसकेका छन्, उनीहरु निरन्तर बीमा गर्न चाहान्छन् । ‘अहिले संकट छ, म बीमा गर्दिन’ त कसैले भन्दैनन् होला, बजार किन संकूचित हुने ? हो, जसले बीमा गरिरहेका छन्, उनीहरुले फेरी पनि बीमा गर्छन् । तर नयाँ त आउन सकेनन् नि । बीमा पोलिसी नवीकरण हुन्छ तर यो पनि घटिरहेको छ । किनभने कुनै कम्पनी घाटामा गयो भने कतिपयलाई प्रिमियम तिर्न गाह्रो हुन्छ । कम्पनी चल्ननै नसक्ने अवस्थामा गयो भने उनीहरुले तिर्न सक्दैनन् । अर्को, नवीकरण त होला तर थप बिजनेस त भएन नि । अहिले देखिएको यहि हो । नयाँ आउन सकेनन् । नयाँ व्यापार भएन । नयाँ उद्योगहरु स्थापना हुन सकेनन् । भइराखेका पनि राम्रोसँग चल्न सकेनन् । देशले विकासको गति लिन सकेन । महंगी बढेको बढ्यै छ । बढ्दो महंगीको तुलनामा नेपालीहरुको क्रयशक्ति छैन । आयस्तर नभएपछि क्रयशक्ति हुँदैन । जीविकोपार्जन त हुन्छ तर वृद्धि विकास हुँदैन । राजश्व उठनेन भन्दै सरकारले विकासका परियोजनाहरुमा खर्च गरिरहेको छैन । यसले बीमा क्षेत्रलाई कस्तो असर पारिरहेको छ ? समग्र रुपमा हेर्दा विकास निर्माणको काममा ढिलाई भइरहेको छ । कारण खस्कँदो आर्थिक अवस्था नै हो । यसलाई ठ्याक्कै प्रतिशतमा भन्न त सकिँदैन । काम गर्छु भनेर सम्झौता भइरहेका छन् तर विभिन्न कारणले ती काम अघि बढ्न सकेका छैनन् । काम अघि नबढी बीमा हुँदैन । यसले सोझैे असर बीमामा परेको छ । यो त सरकारी तवरबाट हुने विकासका योजनाहरु नबन्दाको असर । अब सबै बीमा कम्पनीहरुलाई विकासका योजनाहरुले नै धानेको, यसले बीमा कम्पनीको बिजनेसमा उल्लेख्यनीय रुपमा सहयोग गर्ने भन्ने पनि होइन । योसँगसँगै अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका पनि छ । तर अहिले निजी क्षेत्रहरुसँग पनि पैसा छैन । नयाँ लगानी भएको छैन । लगानी सुरक्षित छैन । बीमा पनि यसकै वरिपरि नै घुम्छ । प्रभु इन्स्योरेन्सले सरकारी प्रोजेक्टहरुको बीमा कत्तिको गरिरहनु भएको छ ? गरिरहेका छौं । बाटो, पुल लगायतका सरकारी प्रोजेक्टहरुको ठेक्का कुनै कन्स्ट्रक्सन कम्पनीले लिग्ला तर योजना त सरकारकै हो । यसको बीमा अवश्य छ । तर यसले मात्रै बीमा क्षेत्र धान्दैन, मुख्य निजी क्षेत्र नै हो । अहिले निजी क्षेत्र सुस्ताएको छ । बाहिरबाट गाडीहरु आयात हुन सकेका छैनन् । बीमा क्षेत्रमा उल्लेखनीय हिस्सा मोटर बीमाकै हो । हाउजिङ, रियल स्टेट, हाइड्रोपावर लगायत क्षेत्रमा नयाँ काम भएको छैन । देशको आयात निर्यात दुबै घटेको छ । यसले मेरिन इन्स्योरेन्स घटिरहेको छ । बैंकले नयाँ कर्जा प्रवाह नहुँदा बीमा पनि विस्तार हुन सकेन । घर कर्जा नै गएन भए घरको बीमा थपिदैन । यस्तो संकटको बीचमा प्रभु इन्स्योरेन्सको बिजनेस एक्स्पान्सन हुनुमा के ले योगदान गरिरहेको छ ? पहिलो त सबैको साथ सहयोगले हो । अर्को हाम्रो लगनशीलताले पनि हो । हाम्रो लगनशीलतालाई सबैले गरेको कदर गरिदिनु भएको छ । यतिको लेभलबाट घट्नु हुँदैन है नै भन्ने एउटा उद्देश्य लिनै पर्ने रहेछ । यो अनुसार हामी खट्छौं पनि । प्रभु इन्स्योरेन्सको के छ नयाँ योजना ? निर्जीवन बीमामा कुनै पनि किसिमको योजना तथा स्किम हुँदै हुँदैन । हामीले गर्ने भनेकै छिटो छरितो सेवा दिने हो । प्रविधिलाई भरपुर प्रयोग गर्ने । यो हामीले शुरुवात गरेका हौं । यसलाई कसरी छिटो छरितो दिन सकिन्छ ? आजको जमानामा कुनै ठाउँमा दुर्घटना भएमा तत्काल कसरी पुग्न सकिन्छ ? र, ग्राहकलाई परेको समस्यालाई पहिचान गरि कसरी समाधान निकाल्न सकिन्छ भन्नेतर्फ नै लाग्ने हो । कतिपय बीमितहरुले खुशी व्यक्त गरेको पाइन्छ भने कतिपय बीमितले कम्पनीहरुप्रति गुनासो गरेको पनि पाइन्छ । यो अवस्थामा तपाईंहरुको फोकस व्यवसाय बढाउनुतर्फ हो या बीमितहरुलाई अधिकतम सन्तुष्टि दिनको लागि उच्चस्तरको सेवामा हो ? हाम्रो फोकस बीमा गराउनमा हुन्छ । मैले जहिलेदेखि प्रभु इन्स्योरेन्समा नेतृत्व गरें, त्यतिबेलादेखि नै मैले भन्दै आएको के हो भने हामी बीमामा पछाडि छौं । बीमामा चेतना फैलाउनु पर्छ । र, शिक्षामा जोड दिनुपर्छ । शिक्षामा पनि युनिभर्सिटी लेभलमा होइन, प्राथमिक तहदेखि नै हुनुपर्यो । यसले धेरैमा चेतना बढ्छ । मेरो उद्देश्य बीमा गराउनु पर्छ र यससम्बन्धी चेतना बढाउनु नै पर्छ भन्ने हो । पहिलो त बीमाको परिभाषा जान्नु पर्यो । जसमा बीमा कम्पनी र बीमितबीच एक आपसमा करार हुन्छ । बीमा भनेको कुनै एउटालाई परेको आर्थिक नोक्सानीको क्षतिको क्षतिपूर्ति सबै मिलेर भुक्तानी गर्ने हो । जस्तै १०० जनाले इन्स्योरेन्स गरेका छन्, १० जनाको दावी पर्यो भने बाँकी ९० जनाको प्रिमियम संकलन गरेर दिने हो । बीमाको सिद्धान्त पनि एउटा नियममा आधारित छ । सो अनुसार बीमा कम्पनीले कहिल्यै पनि दावी कम दिएका हुँदैनन् । तर बीमितहरुले जति माग्यो त्यति दावी दियो भने सन्तुष्ट हुने, होइन भने असन्तुष्ट । यसले यो क्षेत्रमा नकारात्मकता जन्मायो । बीमा कम्पनी र बीमितबीच गलत सूचना प्रवाह हुनाले नकारात्मकता बढी भएको हो की ? यसमा बीमकहरुको पनि त दायित्व होला नि बीमा गराउँदा नियम र शर्त, दायित्व र अधिकार विस्तृत रुपमा बुझाउने ? तपाईंले भन्नु भएको एकदमै सहि हो । यो गर्नुपर्छ र गरिराखेको पनि हो । हामीले शुरुमा बीमा गराउँदा टप टु बटम, अक्षरश इमान्दारिताका साथ नियम र शर्त कसैले पनि पढेको हुँदैन । जे हुन्छ सबै सारांशमा हुन्छ । त्यसभित्र सबै समेटिँदैन । वास्तविक रुपमा भन्ने हो भने यसबारेमा कसैलाई पनि व्यक्तिगत रुपमा कक्षा लिएर बुझाउँन सकिँदैन । बीमा गराएपछि क्षति भएमा यसको क्षतिपूर्ति हुन्छ, यसरी दिन्छौं, यति दिन्छौं भनेर बुझाउने बाहेक अरु नहुने रहेछ । त्यसैले यहाँ द्वन्द्व हुने रहेछ । यसमा नबुझ्ने कुनै पक्ष हुँदैन र पनि किन यस्तो भइरहेको छ भन्न सकिँदैन । दावी लिनेले बढी दावी लिगौं भन्छ, यता दावी दिने मान्छेले म दिँदै दिन्न भनेको हुँदैन । दिएकै हुन्छ । हामी पनि नियममा बाधिएका छौं, गल्ती गर्यौं भने हामीलाई पनि कारवाही हुन्छ । त्यसैले नियम विपरित जाने त कुरै भएन, कारवाही भोग्न को चाहान्छ र ? बीमितको सन्तुष्टिबारे तपाईंहरुले सर्भे गर्नुभएको छ ? हाम्रोमा सन्तुष्टि असन्तुष्ट दुबै व्यक्त गर्ने छन् । कामहरु गर्दै जाँदा कतिपय विषय चित्त बुझ्ने नबुझ्ने हुन्छ । यदि साँच्चै चित्त नबुझेको भए बीमा कम्पनीहरु यसरी अघि बढ्थे होला र ? सबै कुरा बाध्यात्मक हुँदैन नि । बजारमा बीमा कम्पनीहरु अरु पनि छन् । ओपन मार्केट हो । जो जहाँ पनि जान सक्ने अवस्था छ । त्यसैले हरेक क्षेत्रमा सकारात्मक र नकारात्मक दुबै पक्ष हुन्छन् । हामीले नकारात्मकलाई मात्रै जोड दिनु भएन । जस्तै, कम्पनीमा दिनभरी आएका ग्राहकमध्ये १० जना सन्तुष्ट भए २ जना भएनन् भने चर्चा ती २ जनाको हुने गर्छ । पछिल्लो बीमा कम्पनीहरुमा शाखा विस्तार गर्ने क्रम घट्दै गएको देखिन्छ । किन यस्तो भइरहेको छ ? कतै नियामक निकायको पोलिसीको प्रभाव परेको हो की ? गएको साता मात्रै हामीले तीन वटा शाखा खोल्यौं । हाल एक्स्टेन्सन काउन्टरसहित ६३ वटा शाखा छन् । तर समग्रमा बीमा कम्पनीहरुको शाखा विस्तार केही कमी भएको छ । यो अवस्था आउनुको कारण पछिल्लो २/३ वर्षको बीचमा देखिएको प्राकृतिक प्रकोपको प्रभावले हो । विश्व अर्थतन्त्र संकटमा यसको पनि भूमिका छ । त्यसैले पनि शाखा विस्तारको काम सुस्ताएको हो । सञ्चालनमा आएका सबै शाखाहरु दीगो छन् या घाटामा छन् ? मैले खोलेका सबै शाखा दीगो (सस्टिनेबल) नै छन् । घाटामा त छैनन् । मेरो ६३ वटा शाखामध्ये अहिलेसम्म मैले जम्मा दुई वटा शाखाहरुबाट कम बिजनेस गरेको छु । एउटा गाईघाट र अर्को बेनी । गाईघाटको शाखा भर्खर शुरुवात गरियो । बजार सानो । प्रतिस्पर्धी धेरै । त्यहिको बिजनेसले त्यहाँको व्यापार धानिँदैन । त्यस्तै, बेनीतिर बीमा नै हुँदैन । कारण कुनै बजारलाई अर्कै बजारले कन्ट्रोल गरेको हुने रहेछ । जस्तै, बेनीमा बीमा बाग्लुङबाट हुने रहेछ । कृषिको लागि खोलेको, बजार पनि सानो । तर त्यो पनि घाटामा छैन । पछिल्लो समय बीमा प्राधिकरणले बीमकहरुलाई प्रदेश कार्यालयहरु खोलेर त्यसबाट संघीय संरचनामा रुपान्तरण गर्न जोड दिँदै आएको छ । यो बीमा कम्पनीको हकमा कत्तिको जायज हुँदै छ ? प्राधिकरणको यो कदम त एकदम राम्रो हो । मान्छे होस् या कम्पनी, समय अनुसार चल्दै जानुपर्छ । यो अनुसार डेन्सिटी पनि बढ्दै गएको छ । प्रदेशमा पनि शाखा विस्तार गरेमा प्रदेशका कुनै बीमित पीडक छ भने त्यो मान्छे काठमाडौं धाउन परेन । त्यसैले यो सकारात्मक कदम हो । पछिल्लो समय कम्पनीहरुको संख्या घट्दै छ । यो अवस्थामा प्रभु इन्स्योरेन्स टिक्छ की हराउँछ ? प्रभु इन्स्योरेन्स अवश्य रहन्छ । किनभने हाम्रो ग्रोथ पहिलेदेखि एउटै लेभलमा बढ्दै आएको छ । लगानीकर्तालाई प्रत्येक वर्ष लाभांश दिँदै आएका छौं । हामी न एकदम अघि छौं न त पछि नै । हामी सहि तरिकाले, सहि ढंगले र सहि विश्लेषणबाट अघि बढीरहेका छौं । आगामी दिन कसरी अघि बढ्दै हुनुहुन्छ ? आजको यो अवस्थामा त दीगो छौं भने भोलिको दिन स्वणर्मय नै हो । अफ्ठेरो अवस्थामा पनि कसैले प्रगति गरेको छ भने पक्कै पनि उसले भोलिको दिनमा पनि गर्छ नै । साढे २ अर्बको पुँजी बढाउने समय सीमा चैतमा सकिँदै छ । यसमा तपाईंहरुको गृहकार्य कस्तो छ ? हामीले नियमनकारी निकायले दिएको निर्देशनलाई अक्षरश पालना गर्दै आएका छौं । पालना गर्छौं पनि । यसमा हामी प्रयासरत नै छौं । मर्जरमा जाने सक्दो कोशिस गर्ने छौं । प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जरको प्रक्रिया अगाडि बढेको थियो, किन भाँडियो ? मर्जर प्रक्रिया एक पक्षीय रुपमा टुट्यो । सबै विषयमा कुरा हुँदै थिए । धेरै विषयमा मौखिक रुपमा कुरा मिलेपछि प्रक्रिया अगाडि बढेको थियो । मौखिक रुपमा भएका सहमति कार्यान्वयन गर्ने कुराहरु अगाडि बढ्दै थिए । एकाएक उहाँहरुले मर्ज नगर्ने कुरा गर्नु भयो । सायद अर्को कम्पनीले बेटर अफर गरेकाले होला, उहाँहरुले नयाँ निणर्य लिनुभयो ।

हिमालयन ट्राभल मार्ट जेठमा हुने

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो अवसरमा हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मार्ट कोसेढुङ्गा बन्नेमा विश्वास व्यक्त गरेकाे पाटा नेपालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरु सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताए । नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रुपमाविकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त लक्ष्य हासिल गर्नका लागिपूर्वाधार सुधार, सडक विमानस्थल र अन्ययातायात सुविधाको विकास र स्तरोन्नति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढिकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहनका लागि सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ । मार्टका आवश्यक पूर्वतयारी, अन्तर्राष्ट्रिय स्रोत बजारमा प्रचारप्रसार तथा व्यवस्थापन गरिरहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुतिचन्द ठाकुरले बताउनुभयो । उहाँका अनुसार हालसम्म ३० देशका ५० भन्दा बढी क्रेताहरु र २० वटा बिक्रेताहरूले सहभागिताका लागि दर्ता गरिसकेका छन् । रासस

आइएमई एजेन्ट्स मार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

काठमाडौं । आइएमई एजेन्ट्स मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने भएको छ । आइएमई तथा आइएमई डिजिटल सोलुसनका साझेदार मित्रमार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । यस सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसगँ यात्रुहरुले सुपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने छ । यसको साथै साझेदार मित्रहरुले आफ्नो ‘आइएमई-एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मुल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस सेवा मार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा कम्पनीले जनाएकाे छ ।

प्राइम बैंकले मनकामना मन्दिरमा बनायो सार्वजनिक शौचालय

काठमाडौं । प्राइम कमर्सियल बैंकले गोरखा जिल्लामा अवस्थित मनकामनाको मन्दिर परिसरमा सार्वजनिक शौचालय बनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शौचालय बनाएको हो । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले आज मनकामना क्षेत्र विकास समितिलाइ उक्त्त निर्मित शौचालय हस्तान्तरण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गरेको छ ।

ब्याजदर घटाउने प्रयास भइरहेको छ : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घटाउन आफूहरुले काम गरिरहेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको बताए । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका केसीले कुनै समूहले आन्दोलन गरेर ब्याजदर नघट्ने समेत बताए । ब्याजदर निरन्तर घट्ने क्रममा रहेकाले अराजक गतिविध रोक्न आग्रह गरे । ‘पछिल्लो समय बैंकको ब्याजदर उच्च भयो भनेर व्यवसायीहरु सडकमा आन्दोलन गरिरहेका छन्, बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि भएका छन्,’ उनले भने, ‘ब्याजदर घटाउन हामी प्रयास गरिरहेका छौं, आन्दोलन गरेर ब्याजदर घटबढ हुँदैन, माग र आपूर्तिले निर्धारण गर्छ ।’ उनले घरजग्गाको कारोबारमा कमी आउँदा बैंकको खराब कर्जा बढेको समेत बताए । अधिकांश सूचकहरु सकारात्मक अवस्थामा रहेका बेला बैंकहरु जोखिम अवस्थामा नरहेको उनको भनाइ छ । ‘सूचकहरु सकारात्मक रहेका छन्, नेपालका बैंकहरु जोखिममा छैनन्, घरजग्गाको कारोबार ठप्प हुँदा खराब कर्जा बढ्ने सम्भावना छ,’ उनले भने । विभिन्न कारणले विश्वका अन्य मुलुकमा ब्याजदरमा उच्च वृद्धि भएको उनले बताए । १८ लाख ऋणीको मुख हेरेर ब्याज घटाउने सम्भावना न्यून रहेको उनको भनाइ छ ।