आज ३ बजे मन्त्रिपरिषद विस्तार, यी हुन् नयाँ १६ मन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिष्द विस्तार गर्दैछन् । उनको नेतृत्वको सरकारमा सहभागी मन्त्रीको नामावली दिनका लागि दलहरुलाई दिउँसो १ बजेसम्मको समय दिएका छन् । १ बजेसम्म दलहरूबाट नाम लिएर दिउँसो ३ बजेका लागि शपथग्रहण गराउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरूबीच कुन दलले कति मन्त्रालय लिने भन्ने विषयमा सहमति भएपनि मन्त्रालयको नेतृत्व कसले लिने भन्नेबारेमा अझै टुंगो लागेको छैन । यसअघि भएको सहमति अनुसार नेपाली कांग्रेस ८, नेकपा माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी २/२ मन्त्रालय पाउनेछन्। त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेपाल समाजवादी पार्टीले १/१ वटा मन्त्रालय पाउनेछन्। त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दैछन् । यी हुन नयाँ मन्त्रीहरु सत्ता साझेदार दलमध्ये प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालयसहित सरकारमा सहभागिता जनाउँदै छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । उपप्रधान एवमं रक्षा मन्त्रालय लिदैँ खड्काले नेतृत्वमा अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री रमेश रिजाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री धनराज गुरुङ र शहरी विकासमन्त्रीका रुपमा एनपी साउँदलाई पठाउने निर्णय भएको काँग्रेस स्रोतले जनाएको छ । यस्तैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री सीता गुरुङ, कानून न्याय तथा संसदीय मामिलामन्त्रीमा डिगबहादुर लिम्बू र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत बन्ने भएका हुन् । त्यस्तै, सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेका छन् । प्रधानमन्त्रीसहित गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय माओवादीले नेतृत्व गर्ने भएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ । भौतिकबाट उनलाई गृह मन्त्रालयको जिम्मोवारी दिने विषयमा पार्टीले यसअघि नै निर्णय गरिसकेको छ । माओवादीबाट अहिले सञ्चारमन्त्रीमा रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती छन् । माओवादीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने कांग्रेसले लिने भएको छ । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई अर्को कुनै मन्त्रालय दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ । त्यस्तै, एकीकृत समाजवादीले शिक्षा र भौतिक पूर्वाधार मन्त्रालय लिने भएको छ । शिक्षामन्त्रीमा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले शरतसिंह भण्डारीलाई श्रम, राजेगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने निर्णय गरिसकेको छ । जसपाले लिने २ वटा मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।
छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै
चितवन । छ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ । उनले भनिन्, ‘यो पाँच वर्षको अवधिमा हामीले छ पर्यटन मन्त्रीसँग नियमित छलफल ग¥र्यौं । महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको निजी निवास र कार्यालयमा धेरै पटक छलफल भएको छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरको पहलले सार्थकता पाएको हो । पर्यटनमन्त्री अधिकारी हुँदा तत्कालिन समयमा चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका प्रधानमन्त्री दाहालसहित जिल्लाका सरोकारवालाको उपस्थितिमा बृहत् छलफल गरेर अभियानको थालनी गरिएको थियो । प्रमुख दाहालले भनिन्, ‘झण्डै पाँच वर्ष फाइल बोकेर भरतपुर र काठमाडौं ओहोर दोहोर गरे ।’ विमानस्थलको धावनमार्ग विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई गणेशस्थान र नेपाली सेनाको कालीबहादुर गणलाई दियालो बङ्गला सारिने भएको छ । ब्यारेक सार्ने निर्णय भइसकेको उल्लेख गर्दै उनले घोडा प्रजनन केन्द्र सार्न वनको जग्गा भएकाले केही निर्णय बाँकी रहेको बताइन् । बाँकी निर्णय दुई साताभित्रमा गरेर काम अघि बढ्ने छ । केही दिनअघि विस्तारका लागि प्रधानमन्त्रीको निवास बालुवाटार र कार्यालय सिंहदरबारमा नेपाली सेनासहितको सरोकारवाला बसेर टुङ्गोमा पुगेको दाहालले जानकारी दिइन् । यो विमानस्थलबाट मकवानपुरदेखि दाउन्नेसम्मका बासिन्दाले हवाई सेवा लिँदै आएका छन् । त्यस्तै तनहुँ र गोरखा आसपासका बासिन्दाले पनि यो विमानस्थलबाट सेवा लिँदै आएका छन् । विसं २०१५ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा २०१८ मङ्सिर १२ गते हवाई कार्यालय स्थापना गरिएको थियो । तत्कालीन समयमा टुइनेटरजस्ता १८ सिटे जहाजमात्रै सञ्चालन हुँदै आएकामा पछिल्ला वर्षमा एटिआर ४२, जेटस्टिम बिचक्राफ्टजस्ता मझौला र आधुनिक जहाजको उडान हुँदै आएको छ । एक हजार दुई सय मिटरमात्र धावनमार्ग भएको तथा उडान र अवतरण क्षेत्रमा भौतिक संरचनाका कारण यो विमानस्थल जोखिमपूर्ण मानिएको छ । धावनमार्गलाई एक हजार पाँच सय मिटर लामो बनाएर एटिआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्ने गरी विस्तार गर्न लागिएको हो । यससँगै आधुनिक ट्रमिनल भवन बनाइँदै छ । एक अर्ब ९२ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको अत्याधुनिक ट्रमिनल भवनको बिहीबार प्रधानमन्त्री दाहालले शिलान्यास गरेका छन् । छोटो धावनमार्ग, उडान र अवतरण क्षेत्र अतिक्रमण तथा उच्च जोखिमसँगै महँगो हवाई भाडा तिर्न यहाँका बासिन्दा बाध्य छन् । हाल यहाँबाट काठमाडौँ र पोखरा बुद्ध एयरले उडान भर्दै आएको छ । दैनिक आठ उडान हुँदै आएको छ । कोभिड–१९ अघिसम्म यो सङ्ख्या १२ रहेको विमानस्थलले जनाएको छ । दैनिक सात सयभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन् । सन् १९५८ मा निर्माण कार्य सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको तथ्याङ्क छ । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको सो विमानस्थलको सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा कालोपत्र सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए । देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । विमानस्थल ५८ बिघामा फैलिएको छ । सन् १९५८ मा संयुक्त राज्य अमेरिकाको सहयोगमा मलेरिया नियन्त्रण कार्यक्रमअन्तर्गत यो विमानस्थल निर्माण गरिएको हो । अहिले विमानस्थल १० घण्टाको हाराहारीमा मात्र सञ्चालन हुँदै आएको छ । विस्तारसँगै रात्रिकालीन उडानसमेत गरिने छ । भरतपुर विमानस्थलको समयसापेक्ष विकास र विस्तारमा ढिलाइ भएको अधिकारीले बताए । विमानस्थलको आवश्यकता, औचित्य र महत्वबारे आफैँले बुझेर हृदयङ्गम गर्ने नेतृत्वको अभाव हुँदा विस्तार र विकास हुन नसकेको उनको भनाइ छ । विमानस्थल विस्तारका लागि १९ बिघा नेपाली सेनाको लिनुपर्ने हुन्छ । यस क्षेत्रमा बाँकी रहेको जमिनमा नेपाली सेनाको हेङ्गर र उद्यान बनाइने बताइएको छ । रासस
अर्थमन्त्रीमा डा. महत, यी हुन् काँग्रेसका आठ मन्त्री
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने भएको छ । काँग्रेसले आठ मन्त्रालयको जिम्मा लिएर सरकारमा जान लागेको हो । सरकारमा जाने आठ जना मन्त्रीहरुको काम टुंगो लागेको छ । उपप्रधान सहित रक्षामन्त्रीमा खड्का जाने भएका छन् । यस्तै, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री रमेश रिजाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री धनराज गुरुङ र शहरी विकासमन्त्रीका रुपमा एनपी साउँदलाई पठाउने निर्णय भएको काँग्रेस स्रोतले जनाएको छ । यस्तैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री सीता गुरुङ, कानून न्याय तथा संसदीय मामिलामन्त्रीमा डिगबहादुर लिम्बू र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत बन्ने भएका हुन् । यससँगै सत्ता गठबन्धनमा दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको छ । सहमतिअनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमत पार्टीले १ मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक÷एक मन्त्रालय पाउने सहमति बुधबार नै भएको थियो ।
व्यवसायमा ट्रयाक खोल्दै, छोरानातिलाई सँगसँगै डोर्याउँदै
काठमाडौं । एउटा ठूलो कोठा । कोठाको तीनतर्फ तीन वटा सोफा सेट । भित्तामा ठूलो टीभीको जस्तै स्क्रिन । तर, त्यो टीभी होइन, सीसीटीभीको निगरानी गर्ने डिस्प्ले हो त्यो । त्यही डिस्प्ले निगरानीमै व्यस्त देखिन्छन् प्रदिपजंग पाण्डे । नेपाली उद्योग व्यवसायमा परिचित नाम हो प्रदिपजंग । काठमाडौंको लाजिम्पाट नजिकै रहेको उत्तरढोकामा छ लोमस फर्मास्यूटिकल्सको केन्द्रिय कार्यालय । त्यही कार्यालयमा बसेर उनले व्यवसायिक योजना बनाउँछन् । केन्द्रिय कार्यालयबाटै पेप्सिकोलामा रहेको लोमस फर्मास्यूटिकल्स उद्योगको निगरानी गर्छन् । जाँगर चलेको बेला उद्योगमै पुग्छन् । कर्मचारीहरुलाई सल्लाह सुझाव दिन्छन् । काम गर्न उप्रेरणा जगाउँछन् र हौसला दिन्छन् । आजकल यसरी नै बित्छ उनको दैनिकी । उमेर ७५ वर्ष । युवाहरुको जस्तो जोस जाँगर । देशविदेशमा हुने घटनाक्रम र अर्थतन्त्रको जल्दोबल्दो अवस्थाको अपडेट । यतिसम्मको उर्जा पाण्डेमा कसरी आउँछ होला ? उनको सक्रियताभित्रको उर्जाको राज हामीले खोतल्ने प्रयास गर्यौं । उनले मुसुक्क मुस्कुराउँदै जवाफ दिए, ‘जहिल्यै पनि सकारात्मक भावना राख्नु पर्छ, यदि नकारात्मक सोच्यो भने आफैलाई खान्छ, राम्रोसँग निद्रा लाग्दैन, रोग वृद्धि हुन्छ, शरीर पुरै गल्छ, खुसी हुन सकिँदैन, काममा सन्तुष्ट हुन सक्नु पर्छ, उर्जा आफै आउँछ ।’ तपाईं आफ्नो उद्योग व्यवसायमा सन्तुष्ट हुनुहुन्छ ? हामीले पुनः जिज्ञासा राख्यौं, ‘एकदम सन्तुष्ट छु, एउटा खुड्किलो टेकिसकेपछि मात्रै अर्काे खुड्किलो टेक्नुपर्छ भन्ने मेरो मान्यता हो, एकैपटक चार खुड्किलामाथि टेक्यो भने लडिन्छ, एउटा खुड्किलोमा टेकेपछि सफल भएर मात्रै अर्काे खुड्किलोमा टेक्नु पर्छ, लोमसको सफलतापछि मात्रै मैले अन्य क्षेत्रमा हात हालेँ, मैले कहिल्यै पनि एकै पटक ४ वटा क्षेत्रमा लगानी गरिनँ, जुन क्षेत्रमा लगानी गरेँ, त्यो क्षेत्रबाट म पूर्ण सन्तुष्ट र सफल भएको आभास गर्छु,’ उनले भने । उनी भएका व्यवसायलाई सफल बनाउन तर्फ लाग्न सल्लाह दिन्छन् । एउटा व्यवसायसँगै अर्कोमा जम्प गर्दा त्यसले सफलता र सन्तुष्टि नमिल्ने उनको भनाइ छ । ‘मैले हेलिकप्टरमा लगानी गरेँ, तर अब एयरलाइन्समा लगानी गर्नुपर्छ भनेर कहिल्यै सोचिनँ, जे छ त्यसैमै सन्तुष्ट भएँ, हुन त हजार इच्छाहरु हुन्छन् तर, सबै इच्छाहरु पुरा हुँदैनन्, सारा मान्छेले होटल खोले भने मैले पनि होटल खोल्नुपर्छ भनेर कहिल्यै सोचिनँ,’ तर अरुले सम्भावना नदेखेको र योजना नबनाएका क्षेत्रमा लगानी गर्ने योजना बनाएँ,’ उनले आफ्नो व्यवसायिक रणनीति सुनाए । आफुले जति पनि संरचनाहरु विस्तार गरेँ ती नम्बर वान भएको उनको दाबी छ । अब त्यसलाई खस्किन नदिन, दीगो बनाउन र उत्कृष्ट बनाउन यो उमेरमा पनि सक्रिय भएर लागि परेको उनी बताउँछन् । ‘जबसम्म मेरो स्वास्थ्य र विवेकले काम गर्छ, तबसम्म सक्रिय भएर काम गर्छु,’ उनले भने, ‘मान्छे जति सक्रिय हुन्छ, त्यति नै स्वस्थ हुन्छ, सक्रिय भएपछि व्यस्त भइन्छ, व्यस्त भएपछि उर्जा बढ्दै जान्छ, ।’ व्यवसायमा ट्रयाक खोल्दै अहिले जुनसुकै क्षेत्रमा पनि देखासिकी हावी छ । एउटा व्यवसायीले होटल खोल्यो भने अर्को व्यवसायीलाई पनि होटल खेल्ने इच्छा जाग्छ । एउटा व्यक्तिले एयरलाइन्समा लगानी थप्यो भने अर्कोलाई पनि सोही क्षेत्रमा काम गर्न मन लाग्छ । तर, उद्योगी पाण्डेलाई भने त्यस्तो कहिल्यै लागेन । नेपाली औषधि उद्योगममा उनको पृथक किसिमको छाप छ । जतिखेर नेपालमा विदेशी औषधिको दबदबा थियो । बिरामीहरुले विदेशी औषधि खाएर जीवन बचाउनु पर्ने विवशता थियो । तर, त्यो बाध्यताको बाटो पाण्डेले सदाका लागि अन्त्य गरे । त्यो अवस्थामा नेपालमै औषधि उद्योग खोल्न सकिन्छ भन्ने न कुनै उद्योगी व्यवसायी नत कुनै प्रशासकहरुले सोचेका थिए । तर, त्यो विवशतामाथि बुद्धी लगाएर पाण्डेले औषधि उद्योग खोल्ने योजना बुने र वि.सं २०४४ सालमा स्थापना गरे लोमस फर्मास्यूटिकल्स । ‘मैले नेपालमा औषधि उद्योग खोल्दा देशमा औषधि उद्योग नै थिएनन्, उद्योग खोल्नु अगाडि २/३ वटा उद्योग थिए तर खासै चलेका थिएनन्, औषधि के हो जनतालाई पनि थिएन, धेरैजसोले जडिबुटी प्रयोग गर्थे, डाक्टर र सचिवहरुले पनि नेपालमा औषधि बन्छ र भनेर प्रश्न गर्थे, त्यो बेला जोखिम नै लिएर २५ लाख पुँजीमा गोंगबुमा उद्योग खोलेँ, तर जोखिमको प्रतिफल राम्रै पाइँदो रहेछ,’ सुरुवाती दिनहरु स्मरण गर्दै पाण्डेले भने । दिनहरु बित्दै गए । लोमसको औषधिले बजारमा चर्चा पाउँदै गयो । आइएमएस हेल्थले गरेको सर्वेक्षणमा सन् २००१, २००२ र २००३ मा भारत र नेपालबाट बिक्री हुने औषधिहरुमध्ये सबैभन्दा उत्कृष्ट बन्यो लोमस । संरचनाहरु विकास र नियम कानुनहरु परिमार्जन हुँदै गए । गोगंबुमा उद्योग विस्तारका लागि ठाउँ नपुगेपछि पेप्सीकोलामा पाण्डेले २५ रोपनी जग्गा खरिद गरे । त्यतिबेला प्रतिरोपनी ७ लाख रुपैयाँमा जग्गा खरिद गरेको उनले बताए । अहिले सोही क्षेत्रमा आनाको ५० लाख रुपैयाँ मूल्य पुगेको छ । ‘पहिला एउटै भवनमा ३४ वटा औषधि उत्पादन गरिन्थ्यो तर, दिनप्रतिदिन माग बढ्न थालेपछि विस्तार गर्दै लगियो, अहिले ४ सयभन्दा बढी औषधि उत्पादन भइरहेका छन्, हर्वल, स्टोरेन्ट, पेनिक्लिनिक लगायत सबै प्रकारका औषधि छट्टाछुट्टै भवनमा बन्छन्, उनले भने । पाण्डेले सबै काम एउटै उद्योगबाट सञ्चालन गर्दा गाह्रो हुन्छ भनेर जनकपुरमा समेत आफ्नो उद्योग विस्तार गरेका छन् । उनको सबैभन्दा पछिल्लो लगानी यही हो । जनकपुरमा साढे ४ बिघा जमिनमा विभिन्न प्रकारका औषधि उत्पादन भइरहेको छ । ‘मेरो फराकिलो सोच छ, ५०/६० वर्षको भिजन लिएर काम गरिरहेको हुन्छ, काठमाडौंमा ठाउँ पुगेन भने फ्याक्ट्री सञ्चालन गर्न दिँदैनन्, काठमाडौंमा उद्योग बन्द गर्न लगाइयो भने पनि हामी तुरुन्तै जनकपुर जान सक्छौं,’ उनले आफ्नो आगामी कदम पनि सुनाए । लोमस औषधि उद्योग स्थापनाको किस्सा भने रोचक छ । मान्छेलाई हानी हुने भन्दा पनि त्यसले सबैलाई टेवा पुग्ने क्षेत्र आफुले रोज्ने गरेको उनी बताउँछन् । ‘म चुरोट, रक्सी, मासु बेच्दिन, त्यसमा लगानी पनि गर्दिनँ, चुरोट र रक्सीले स्वास्थ्यलाई हानी गर्छ भने मासु खानु भनेको अर्काको ज्यान लिनु हो, स्वास्थमा खराब हुने काम नगर्ने मेरो संकल्प छ, जनतालाई नोक्सान गर्ने पेशा कहिल्यै गर्दिनँ, त्यसैले पनि औषधि क्षेत्रमा हात हालेको हुँ,’ उनले भने । औषधि उद्योगपछि उनले सिमेन्ट उद्योग खोले । उनले दुई दशक अगाडि कसमस सिमेन्ट उद्योग सञ्चालनमा ल्याए । सिमेन्ट उद्योग स्थापना गर्दा पनि देशमा खासै सिमेन्ट उद्योग थिएनन् । पछि उनले सिमेन्ट उद्योग खोले । विस्तारै नेपालमा सिमेन्ट उद्योग स्थापनाको लहर सुरु भयो । औषधि व्यवसायबाट व्यवसायिक जीवन सुरु गरेका पाण्डेको सिमेन्ट, बैंक, जीवन तथा निर्जीवन बीमा, सूचना प्रविधि र पर्यटन लगायत क्षेत्रमा लगानी छ । उनी सबै क्षेत्रमा आफु सफल भएको दाबी गर्छन् । ती क्षेत्रमा नयाँ ‘ट्रेण्डसेट’ गर्न पनि आफु सफल भएको उनी सुनाउँछन् । उद्योगी व्यवसायी भन्दा जति सजिलो छ त्यो भन्दा कयौं गुण दुःख पीडा भोग्नु पर्ने उनी बताउँछन् । २०६२/६३ को जनआन्दोलन उनको मानसपटलमा ताजै छ । त्यो सकस उनी अहिले सम्झिन पनि चाहन्नन् । ‘औषधि उद्योग गोंगबुमा थियो, आन्दोलनका बेला सडकमा हिड्डुल गर्न पनि सकस हुन्थ्यो, म बिहानै ७ बजे फ्याक्ट्रीमा पुगेर कर्मचारीलाई खाना खुवाएर काम गराउँथे, बेलुका सुरक्षित घर पुर्याउँथे, त्यतिबेला धेरै जोखिम मोलियो, चन्दा माग्न लाइन लाग्थ्यो, चन्दा नदिए तेरो घर जलाउछु भन्थे,’ डरत्रासका बिच व्यवसाय गर्नु पथ्र्यो,’ उनले विगत स्मरण गर्दै भने । तर, आफुले कहिल्यै चन्दा नदिएको उनी सुनाउँछन् । उहिलेको भन्दा अहिले सकस ७५ वर्षको अवधिमा पाण्डेले धेरै जोखिमहरु मोले । धेरै चुनौतीहरुको सामना गरे । चन्दा माग्नका लागि टेबल अगाडि पेस्तोल ताक्नेहरुसँग उनी डराएनन् । अनुशासित भएर आफ्नो उद्योग व्यवसायमा रमाए । परिणाम स्वरुप उनी निजी क्षेत्रको ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत बने । तर, महासंघको अध्यक्ष बन्दै गर्दा अध्यक्ष पदबाट बाहिरिनुको अनुभव भने नमिठो छ । त्यसलाई उनी राजनीतिक विषय ठान्छन् । ‘मलाई राजनीति गरेर महासंघबाट बाहिर गरे, त्यसैले पनि मलाई राजनीतिदेखि घृणा लाग्छ, उनीहरुले मलाई दुख दिए, उजुरी पनि हाले, सर्वाेच्च अदालतले मलाई सफाइ दियो, ममाथि कुनै दाग लागेको छैन,’ उनले महासंघभित्र बस्दाका विवादहरु स्मरण गर्दै भने । ती विभिन्न सकस र समस्याहरुभन्दा अहिले बढी चुनौति भएको उनी बताउँछन् । उनी अहिलेको अर्थतन्त्रमा देखिएको समस्या आफ्नो जीवनकालको सबैभन्दा ठूलो सकस भएको सुनाउँछन् । व्यवसायी र ब्यक्तिगत जीवनमा सबैभन्दा धेरै दुखको क्षण अहिले भएको उनी बताउँछन् । ‘अहिले अवस्था गम्भीर छ, आर्थिक क्षेत्रमा ठूलो संकट आउने देखिन्छ, त्यसैले पनि दिनरात आफैले खटिएर संघर्ष गर्नुपरेको छ,’ उनले भावुक हुँदै भने । अहिले बाँच्नका लागि संयमित, चनाखो, बुद्धिमता र लागत कम गरेर काम गर्नु पर्ने उनको भनाइ छ । ‘अर्थतन्त्रमा देखिएको समस्याले धेरै उद्योगहरु धराशायी भइसके, आर्थिक क्षेत्र डामाडोल छ, धेरै सहकारी संस्थाहरु बन्द भए, प्रमोटरले लगानी गरेको रकम डुबेको छ, बैंक तथा वित्तीय संस्थाहरुले पनि राम्रो गर्न सकेका छैनन्, बैंकको नाफा पनि घट्दै गएको छ, भएका संरचनाहरु टिकाइ राख्नु अहिलेको मुख्य चुनौति हो, हरेश नखाएर अर्थतन्त्रलाई सही दिशामा ल्याउने अभिभारा निजी क्षेत्रमाथि छ,’ उनले भने । छोरानातिलाई सँगसँगै डोर्याउँदै उद्योगी प्रदिपजंग पाण्डेका तीन छोरा छन् । छोराहरुलाई पनि उनले व्यवसायमा अभ्यस्त बनाइसकेका छन् । छोराहरुसँगै नातिलाई पनि उनले व्यवसायमा नै सक्रिय बनाएका छन् । जीवनको उत्तरार्धमा रहेका पाण्डेका तीन छोरा प्रवल, प्रताप र प्रज्वल पनि विभिन्न उद्योग व्यवसाय सम्हालिरहेका छन् । तीन जना छोराहरु नै उनको व्यवसायका सारथी हुन् । प्रवलले भारतको बैंगलोरबाट इन्जिनियरिङ, प्रतापले फिलिपिन्सबाट एमिबए र प्रज्वलले ढाकाबाट एमफर्मा पास गरेका छन् । तीनै छोराले हासिल गरेको शिक्षा अनुसार व्यवसाय पनि बाँडफाँट गरिएको छ । पारिवारिक विजनेशमा औषधि उनी आफैले हेर्छन् । उनी सिटिजन्स लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि हुन् । उनलाई कान्छो छोराले सहयोग गर्छन । सिमेन्ट उद्योग प्रबलले हेर्छन । वित्तीय क्षेत्रको लगानी प्रतापजंग पाण्डेले हेरिरहेका छन् । दायाँबाट क्रमशः प्रतावजंग, प्रबलजंग, प्रदिपजंग र प्रज्जलजंग पाण्डे छोराहरु पनि निजी क्षेत्रका विभिन्न संघ संस्थाका उच्च ओहदामा रहेर काम गरिरहेका छन् । प्रज्वल फार्मेसी काउन्सिल र एफक्यानको अध्यक्ष पनि हुन् । छोराहरुसँग सँगै व्यवसायिक यात्रा गर्दा खुसी र रमाइलो पनि लाग्ने उनी बताउँछन् । प्रनवजंग पाण्डे पाण्डे परिवारको दुइटा वाणिज्य बैंक र तीन वटा बीमा कम्पनीमा पनि ठूलो लगानी छ । सिटिजन्स इन्टरनेनल बैंक, हिमालयन बैंक, शिखर इन्स्योरेन्स, आइजीआई इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्समा लगानी छ । कैलाश हेलिकप्टर पनि पाण्डे परिवारले सञ्चालन गरिरहेको छ । अहिले उनका नाती प्रनवजंग पाण्डेले पनि व्यवसायमा साथ दिइरहेका छन् । ‘उनीहरुलाई पनि म जतिकै संयमित बनाइरहेको छु, कहिँकतै गल्ति गरे सच्याउन लगाउँछु, सबैसँग राम्रो व्यवहार गर्न संस्कार दिन्छु, उद्योगबाट उत्पादन भएका वस्तुहरुमा गुणस्तरीयता कायम गर्न, दीगो बनाउन र प्रतिस्पर्धी, क्षमता वृद्धि गर्नु पर्छ भनेर सिकाउँछु,’ उनले भने, ‘आफू मात्रै सन्तुष्ट भएर हुँदैन, संस्थामा आवद्ध कर्मचारी र मजदुरलाई पनि सन्तुष्ट बनाउनुपर्छ भनेर सल्लाह दिन्छु, छोराहरुसँगै नातीलाई व्यवसायिक सारथी बनाउन पाउँदा खुसी छु ।’ ‘त्यसपछि सरकारी जागिर छोडें’ उद्योगी प्रदिपजंग पाण्डे कुनैबेला सरकारी जागिरे थिए । सरकारी जागिरको प्रशंग बुझ्नु अगाडि उनको बाल्यकाल बुझौं । वि.सं. २००५ सालमा पाण्डेको जन्म काठमाडौंको क्षेत्रपाटीमा भयो । घर क्षेत्रपाटी । खेत लाजिम्पाटमा थिए । उनी आफ्नो बाल्यकाल अझै सम्झन्छन् । त्यतिबेला खेल्नका लागि बल पाइँदैनथे । सानो हुँदा भोगटेको भकुण्डो खेलेको उनको मानसपटलमा ताजै छ । उनले विं.सं २०२२ सालमा जीबी पब्लिक स्कूलबाट एसएलसी (हालको एसईई) पास गरे । व्यवसायमा सफल भएजस्तै उनी शैक्षिक योग्यता हासिल गर्न पनि कहिल्यै असफल भएनन् । उनले एसएलसी प्रथम श्रेणीमा पास गरे । वि.सं. २०२४ सालमा प्लस टू (आइकम) पब्लिक कमर्स कलेजबाट गरे । त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०२६ सालमा स्नातक (विक्रम) र २०२८ सालमा स्नातकोत्तर (एमकम) पास गरे । कानुन विषय पढ्न उनले कलेज भर्ना गरे । तर, परीक्षा दिन उनको मनले मानेन । ‘वकिल भएपछि पक्ष र विपक्ष भएर वकालत गर्नुपर्छ, मलाई कहिल्यै पनि पक्ष र विपक्ष हुन मन लाग्दैन, आधिकारिक वकिल नभएपनि कानुनका आवश्यक काम म आफै गर्छु,’ उनले भने । उनी आफु सकारी जागिर छोडेर व्यवसायी बनेको बताउँछन् । ‘मैले दुई वर्षसम्म एउटा सरकारी कार्यालयमा काम पनि गरेँ, त्यसलाई निरन्तरता दिएको भए अहिलेसम्म सचिव भएर पनि अवकाश भइसक्थें होला तर मलाई जागिर गर्न मन लागेन, त्यसमा प्रगति हुने नदेखेपछि व्यवसाय नै गर्नु पर्छ भन्ने लाग्यो,’ उनले जागिरे जिन्दगीबाट व्यवसायमा जम्प गर्दाका क्षणहरु स्मरण गर्दै भने । उनका धेरै साथीहरु सरकारी क्षेत्रमा छन् । महालेखापरीक्षक भानु शर्मा, पूर्वमन्त्री नारायण खड्का, गजेन्द्र बहादुर श्रेष्ठ लगायत उनका ‘क्लासमेट’ हुन् । ‘मेरो क्लासमेटहरु मुख्य सचिवसम्म भए, उनीहरु एक टाइम भएपछि फेज आउट भएर जान्छन् तर व्यवसाय गर्ने मान्छे आफ्नो शक्ति भएसम्म काम गर्न सक्छन्,’ उनले व्यवसायी बनेकोमा गर्व गर्दै भने । उनी थप्छन्, ‘मेरो पुर्खा (कालु पाँडे)ले युद्ध लडेर देशका लागि बलिदानी दियो, म देशको अर्थतन्त्रमा टेवा पुर्याएर काम गरिरहेको छु, आर्थिक क्षेत्रबाट यो देशका लागि योगदान दिइरहेको छु, यसमै खुसी छु, सन्तुष्ट छु ।’
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना
दोधारा चाँदनी । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । ‘भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने ‘पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।’ सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ । ‘अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ’, पन्तले भने, ‘यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।’ कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए । प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए । ‘अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ’, उनले भने, ‘आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।’ नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन । त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । ‘खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ’, पन्तले भने । रासस
मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज काठमाडौँमा मौसम आंशिकदेखि सामान्य बदली रही छिटफुट वर्षाको सम्भावना छ । काठमाडौँको न्यूनतम तापक्रम आज डिग्री ११ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।
प्रभु बैंकले ४१ वटा कार र घरजग्गा बेच्दै
काठमाडौं । प्रभु बैंक (साविको सेञ्चुरी कमर्सियल बैंक)ले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि ४१ वटा सवारी साधन र जग्गा बिक्री गरेर ऋण असुल गर्ने भएको हो । शाखा कार्यालय धनगढीबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी दक्षीणकाली मोटोकर्प प्रालिका सञ्चालक तथा जमानीकर्ता नविन जोशी र जयलक्ष्मी जोशीले लिएको कर्जा वापत धितोमा राखेका विभिन्न कम्पनीका ४० वटा बोलेरो र स्कोरपियो बिक्री गर्ने भएको हो । साथै नबिन जोशीको नाममा रहेको साविक हसुलिया ६ स्थित कित्ता नम्बर ३१७, १४०, १४९, १५१, ३१३, १५६ र ३१९ को क्रमशः १८२२, १९४५, १८८५, ८३६०, १६४५, २१९० र ८४.६५ वर्गमिटर क्षेत्रफल भएको जग्गा, साविक फूलवारी ३ स्थित कित्ता नम्बर ४९७ को ६५६४ वर्गमिटर भएको जग्गा र जग्गाले चर्चेको घर पनि बिक्रीमा राखेको हो । यस्तै, डि.के. व्रिक इण्डष्ट्रिज प्रालिका सञ्चालक तथा जमानीकर्ता जित बहादुर चौधरी र नबिन जोशी, मुनाल मल्ल, ओम प्रकाश ड.चौधरी र मिना चौधरीको पनि धितो लिलाम गर्ने बैंकले जनाएको छ । बैंकले मिना चौधरीको नाममा दर्ता भएको साविक हसुलिया ६ स्थित कित्ता नम्बर ३१८ को १३५४५.३५ वर्गमिटर, जित बहादुर चौधरीको हसुलिया २ स्थित कित्ता नम्बर २७७, ५९१ र ७१० को क्रमशः ४९६, ८४.६५ र ४८६९.६१ वर्गमिटर, मुनाल मल्लको नाममा रहेको हसुलिया ३ स्थित कित्ता नम्बर ११०२ को ३३८.६३ वर्गमिटर भएको जग्गा र जग्गामा बनेका घर बिक्री गर्नेछ । त्यस्तै, डि.के. व्रिक इण्डष्ट्रिजको स्वामित्वमा रहेको प्र ३०१००३ क ४५०८ नम्बरको लोडर बिक्री गर्ने भएको हो ।
नेप्सेमा जीवन विकास र एनएमबि लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । जीवन विकास लघुवित्तको १४.२८५ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता १ हजार ३७०.२६ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ५६६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, एनएमबि लघुवित्तको १० प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५०९.०९ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ५६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।