काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिष्द विस्तार गर्दैछन् । उनको नेतृत्वको सरकारमा सहभागी मन्त्रीको नामावली दिनका लागि दलहरुलाई दिउँसो १ बजेसम्मको समय दिएका छन् ।
१ बजेसम्म दलहरूबाट नाम लिएर दिउँसो ३ बजेका लागि शपथग्रहण गराउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनका दलहरूबीच कुन दलले कति मन्त्रालय लिने भन्ने विषयमा सहमति भएपनि मन्त्रालयको नेतृत्व कसले लिने भन्नेबारेमा अझै टुंगो लागेको छैन ।
यसअघि भएको सहमति अनुसार नेपाली कांग्रेस ८, नेकपा माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी २/२ मन्त्रालय पाउनेछन्। त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेपाल समाजवादी पार्टीले १/१ वटा मन्त्रालय पाउनेछन्।
त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दैछन् ।
यी हुन नयाँ मन्त्रीहरु
सत्ता साझेदार दलमध्ये प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालयसहित सरकारमा सहभागिता जनाउँदै छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।
उपप्रधान एवमं रक्षा मन्त्रालय लिदैँ खड्काले नेतृत्वमा अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री रमेश रिजाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री धनराज गुरुङ र शहरी विकासमन्त्रीका रुपमा एनपी साउँदलाई पठाउने निर्णय भएको काँग्रेस स्रोतले जनाएको छ ।
यस्तैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री सीता गुरुङ, कानून न्याय तथा संसदीय मामिलामन्त्रीमा डिगबहादुर लिम्बू र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत बन्ने भएका हुन् ।
त्यस्तै, सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेका छन् । प्रधानमन्त्रीसहित गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय माओवादीले नेतृत्व गर्ने भएको छ ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ । भौतिकबाट उनलाई गृह मन्त्रालयको जिम्मोवारी दिने विषयमा पार्टीले यसअघि नै निर्णय गरिसकेको छ ।
माओवादीबाट अहिले सञ्चारमन्त्रीमा रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती छन् ।
माओवादीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने कांग्रेसले लिने भएको छ । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई अर्को कुनै मन्त्रालय दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।
त्यस्तै, एकीकृत समाजवादीले शिक्षा र भौतिक पूर्वाधार मन्त्रालय लिने भएको छ । शिक्षामन्त्रीमा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले शरतसिंह भण्डारीलाई श्रम, राजेगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने निर्णय गरिसकेको छ ।
जसपाले लिने २ वटा मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।