कावासोती । नवलपुर क्षेत्र नम्बर २ का संघीय सांसद विष्णुकुमार कार्कीले महिला दिदीबहिनीहरुलाई विभिन्न बैंकहरुले ५ प्रतिशत व्याजदरमा गर्ने गरेको सहुलियतपुर्ण कर्जा लगानी लघुवित्त माफर्त गरिनुपर्ने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले शनिबार नवलपुरमा कार्यरत २७ वटा लघुवित्त संस्थाको सहकार्यमा कावासोतीमा आयोजना गरेको वित्तीय साक्षरता राष्ट्रिय अभियानमा सांसद कार्कीले सो विषय संसदमा आवाज उठाउने समेत प्रतिवद्धता गरेका हुन् ।
उनले लघुवित्तका ऋणी सदस्यलाई किस्ता तिर्न नसकेपनि ब्याजमात्र भए पनि तिर्न आग्रह गरे । तर यो पैसा तिर्दिन भनेर हावादारी मान्छेको पछाडी नलाग्न र त्यस्ले आफैलाई अफ्ठ्यारो पार्ने कुरामा सचेत गराए ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले वित्तीय संस्थाविरुद्धका आन्दोलन तथा अराजक गतिविधि टुलुटुल हेरेर बस्न नसक्ने बताएका छन् । बैंक र वित्तीय संस्थाका कर्मचारीको सुरक्षाका लागि नेपाल सरकारबाट भएको आदेश अनुरुप सुरक्षा प्रदान गर्ने उनले बताए । यद्यपी लघुवित्तका क्षेत्रमा समस्या भए समाधान गर्न लघुवित्तकर्मीहरुको ध्यानाकर्षण गराए ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले महिलाले उत्पादन गरेका सामग्रीको बिक्रीका लागि बजार व्यवस्थापनका लागि सरकारले नीति बनाएर सहयोग गर्ने हो भने धेरै समस्या हल हुने तर्क गरे । महिलाको जीवनस्तर सुधार गर्न लघुवित्त संस्था सहयोगी बनिरहेको उनले बताए । सँधै लघुवित्तले मात्रे समस्याको समाधान नगर्ने बताउँदै उनले सरकारले तालिम, नीति, पूर्वाधार, बजार व्यवस्थापन र उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए ।
नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले सदस्यले वित्तीय व्यवस्थापन गर्न नजान्दाको परिणाम अहिले देखा परेको जनाउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरे । सदस्यले धेरै संस्थाबाट ऋण लिएको तर व्यवसाय नचल्दा ऋण भारी बनेको बताउँदै उनले लिएको पैसा सदुपयोग गर्न नजान्दा त्यसमाथी कोभिड, वर्तमान आर्थिक मन्दी पनि कारक बनेको उनको भनाई थियो । लघुवित्तले बढी ब्याज लिएमा एवं नियम विपरितका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उनको आग्रह थियो ।
नेपाल लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादवले ग्रामिण क्षेत्रमा दिदीबहिनीहरुलाई व्यवसायीकरण र सशक्तिकरण गर्न लघुवित्तको ठूलो भूमिका रहेको बताए । नेपाल लघुवित्त बैंकर्स संघका सदस्य प्रविणकुमार लामाले लघुवित्त बिना ग्रामिण क्षेत्रमा आर्थिक कारोबार ठप्प हुने बताउँदै समुदायमा भएको भ्रम हटाउन जरुरी रहेको बताए । विजय लघुवित्त वित्तीय संस्थाका सञ्चालक खेमराज सापकोटाले वित्तीय कारोबार हरेक नागरिकका लागि आवश्यक भएको तर त्यस्को व्यवस्थापन महत्त्वपूर्ण कुरा रहेको बताए ।
सदस्यहरुका तर्फबाट बोल्दै सीता भुसालले वित्तीय संस्थाकै कारण सदस्यले ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्दै सबैलाई सचेत गराए । अर्का सदस्य टीका कुमारी न्यौपानेले महिला उद्योगी भएको भए त्यसको श्रेय लघुवित्तलाई जाने बताए । अर्का सदस्य टीका कासी गुरुङले सकेसम्म भएको ब्याजदर अझै कम गरी महिलालाई माथी उकास्न आग्रह गरे । लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं कार्यक्रम संयोजक युवराज गौतमले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रम सन्ध्या सापकोटाले सहजीकरण गरेका थिए ।
यसअघि कावासोतीको फलफुलचोकबाट राजमार्ग हुँदै पानस रिसोर्टसम्म भएको सचेतना र्यालीका सहभागीले लघुवित्त आफ्नो सहारा भएको बताउँदै नारा लगाएका थिए । जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत २७ वटा लघुवित्त संस्थामा आवद्ध लघुवित्तकर्मी एवं सदस्यहरुले वित्तीय साक्षरता सम्बन्धी प्लेकार्ड बोकेका थिए । गाउँगाउँबाट आएका लघुवित्तकर्मी एवं ऋणी सदस्यहरुले लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त हाम्रो साहारा होु, वित्तीय अराजकता बन्द गर, प्रतिस्पर्धामा ऋण नलिउऊँ, कर्मचारीको जीउधनको सुरक्षा गर, लघुवित्तकर्मी जनताका सेवक हुन्, लिएको कर्जाको सहि सदुपयोग गरौँ, उद्यमी बन्न बढाऔं हाम्रो हात, लघुवित्त वित्तीय संस्थाले दिईरहनेछन् हाम्रो साथ, जबसम्म लघुवित्त वित्तीय संस्था रहन्छ, हाम्रो व्यवसाय चलिरहन्छ, लगायतका प्लेकार्ड बोकेका थिए ।
लघुवित्त संस्थाहरुसँग आवद्ध सदस्यहरुका लागि नेपाल लघुवित्त बैंकर्स संघले चितवन, नवलपुर, गोरखा लगायत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता राष्ट्रिय अभियान सञ्चालन गरिसकेको छ ।