काठमाडौं । नेपालको हवाई उडानमा नयाँ कम्पनी थपिन भएको छ । आन्तरिक उडान गर्नेगरी धौलागिरी कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग उडान अनुमति मागेको हो ।
धौलागिरी हेलिकप्टर कम्पनीले केही समयअघि मन्त्रालयसँग अनुमतिका लागि आवेदन दिएको हो । ‘केही समय अगाडी धौलागिरी हेलिकप्टर कम्पनीले उडान अनुमति माग गरेको थियो, लगभग सबै प्रक्रिया सकिसक्यो, अब एक साताभित्र हामीले उडान अनुमति दिन्छौं’, मन्त्रालय स्रोतले भन्यो, हामीले राजश्व भुक्तानीका लागि एक साताको समय दिएका छौँ, राजश्व भुक्तानी गरेको रसिद मन्त्रालयमा पेश भएपछि उडान अनुमति पाउँछ ।’
यसअघि नेपालका अधिकांश हेलिकप्टर कम्पनीमा काम गरिसकेका क्यापटेन केशव प्रसाद गौचन (सोवित) ले नयाँ हेलिकप्टर कम्पनी ल्याउन लागेका हुन् ।
गौचनले यसअघि एयर डाइनेस्टीमा क्याप्टेन, अल्टिच्युट एयरमा अपरेशन डाइरेक्टर र हेली एभरेष्टमा अपरेशन डाइरेक्टरका रुपमा काम गरिसकेका छन् । उनी पछिल्लो समय प्रभु हेलिकप्टरमा प्रशिक्षक पाइलटका रुपमा कार्यरत छन् ।
मन्त्रालयबाट अनुमति पाएसँगै सुरुवाची चरणमा तीन वटा हेलिकप्टरबाट सेवा दिने तयारी भएको सञ्चालक गौचनको भनाइ छ । उनले यसअघि अन्य हेलिकप्टर कम्पनीले सञ्चालन गर्दै आएका हेलिकप्टरबाट नै उडान गर्ने बताए ।
‘हामीले उडान अनुमतिका लागि मन्त्रालयमा आवेदन दिएका छौँ, अनुमति पाइसकेका छैनौँ, अनुमति पाएपछि थप प्रक्रिया अघि बढाउँछौँ’, उनले भने ।
पर्यटन मन्त्रालयले हेलिकोप्टर सञ्चालनको अनुमति दिएसँगै नेपाल नागरिक उडड्यन प्राधिकरणले एनओसी दिएपछि मात्र सञ्चालन हुनेछ । सञ्चालनमा रहेका एक दर्जन कम्पनी आर्थिक मन्दीको मारमा परिरहेको बेला नयाँ हेलिकोप्टर कम्पनी थपिने भएको हो ।
२०७८ को चैतमा मन्त्रालयले शिवम एयरलाइन्सलाई उडानको अनुमति दिइसकेको छ । मन्त्रालयबाट अनुमति पाएको उक्त एयरलाइन्सले पछिल्लो समय नेपाल नागरिक उडड्यन प्राधिकरणमा एनओसीका लिने तयारीमा छ ।
सगरमाथा आरोहण गर्ने पहिलो क्याप्टेन
गौचनले २०७८ सालमा सगरमाथाको सफल आरोहण समेत गरेका छन् ।
हेली एभरेष्टमा कार्यरत रहँदा उनीसँगै हेलिका मार्केटिङ डाइरेक्टर टासी लाक्पा शेर्पा र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।
उनीहरूले २०७८ को वैशाख २८ गते मंगलबार बिहान ७ बजे सगरमाथाको शिखरको आरोहण गरेका थिए । क्याप्टेन गौचनले सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पाइलटको रूपमा कीर्तिमान राखेका छन् । उनी बेगखोला रघुगंगा गाँउपालिका म्याग्दीका हुन् ।