मनकामना केबुलकार आज बन्द
काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले टावर मर्मत सम्भार कार्यको लागि आज चैत २२ गते एक दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो । केवुलकार टावरको मर्मत संभार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नत्ति गरेको छ ।
हवाई कम्पनीहरुलाई भाडा घटाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हवाई कम्पनीहरुलाई चैत २२ गतेदेखि हवाई भाडा घटाउन निर्देशन दिएको छ । प्राधिकरणलाई मंगलबार हवाई कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । ‘उपरोक्त विषयमा नेपाल आयल निगमको चैत २० गते तद्नुसारको निर्णयानुसार हवाई इन्धनको साविक मुल्यमा प्रति लिटर १० घट्न गएकोले घटेको मुल्य अनुसार हुन आउने विभिन्न वृत्तखण्डको यसैसाथ संलग्न नयाँ फियुल सरचार्ज माघ २२ तद्नुसारदेखि लागू हुने गरी कार्यान्वयन गर्नरगराउनु हुनं प्राधिकरणको फागुन २१ गतेको निर्णयानुसार अनुरोध गरिन्छ,’ निर्देशनमा भनिएको छ । नेपाल आयल निगमले सोमबार इन्धनको मूल्य घटाउँदा हवाई इन्धनको मूल्य पनि १० रुपैयाँले घटाएको थियो ।
एशियन लाईफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गर्दै मनायो सोह्रौं वार्षिकोत्सव
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले स्थापनाको पन्ध्रौं वर्ष पुरा गरी सोह्रौं वर्षमा प्रवेश गरेको छ । २०६४ चैत २१ गतेबाट कारोबार शुरु गरेको कम्पनी आजबाट सोह्रौं वर्षमा प्रवेश टेकेको हो । यो अवसरमा कम्पनीले २०७९ चैत १५ गतेदेखि २०७९ चैत २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै चैत २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाडौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी तथा सर्वसाधारण समेत ४६ जनाले रक्तदान गरेका छन् । साथै, देशभरका ६१ वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत् स्थानीय मठ मन्दिर, आश्रम, विद्यालय तथा अनाथालयमा शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर सामाग्री वितरण गरिएको छ । यो अवसरमा प्रधान कार्यालयमा आयोजित आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा पन्ध्र वर्षदेखि निरन्तर सहयोग पुर्याउँदै आएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र सेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिवद्ध रहेको व्यक्त गरे । यस कम्पनीको चालू आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा जीवन बीमाकोष ३५ अर्ब ६० करोड रुपैयाँ र कूल बीमाशुल्क ४० अर्ब ८५ करोड रुपैयाँ रहेको छ । कूल लगानी ३९ अर्ब ८ करोड रुपैयाँ छ । यसैगरी चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क ४ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीमा ६ लाख ११ हजार सकृय बीमालेख छन् । २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत आव २०७८/७९ को संचित नाफाबाट ८.९४७ प्रतिशत बोनश सेयर प्रस्ताव गरिएको छ । नियामक नेपाल बीमा प्राधिकरणबाट प्रस्तावित बोनश स्वीकृत भइसकेकाले निकट भविष्यमा नै आ.व. २०७८/७९ को साधारण सभा समेत आयोजना गरिने कम्पनीले जनाएको ।
सय प्रतिशतले बढ्यो महासंघका उम्मेदवारको शुल्क, सवा करोड रकम नगदमै भुक्तानी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उम्मेदवारहरुको उम्मेदवारी शुल्क शत प्रतिशतसम्म बढेको छ । यसअघि हुने निर्वाचन शुल्कको तुलनामा यसपटक १ सय प्रतिशतले उम्मेदवारी शुल्क बढेको हो । यसअघि अर्थात् २०७७ सालमा भएको महासंघको निर्वाचनको तुलनामा यसपटक उम्मेदवारहरुको उम्मेदवारी शुल्क बढेको महासंघ सचिवालयले जनाएको छ । अघिल्लोपटक ३ लाख रुपैयाँ रहेको वरिष्ठ उपाध्यक्षको उम्मेदवारी शुल्क यसपटक ६६.६६ प्रतिशत बढेर ५ लाख रुपैयाँ पुर्याइएको हो । यस्तै, उपाध्यक्षको शुल्क भने सय प्रतिशतले बढेको छ । यसअघि डेढ लाख रुपैयाँ रहेको उम्मेदवारी शुल्क बढेर ३ लाख रुपैयाँ पुगेको छ भने कार्यकारिणी सदस्यको उम्मेदवारी शुल्क ५० प्रतिशत प्रतिशत बढेर ७५ हजार रुपैयाँ पुगेको हो । यसअघि कार्यकारिणी सदस्यको उम्मेदवारी शुल्क ५० हजार रुपैयाँ थियो । सवा करोड संकलन महासंघले चैत २८ र २९ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुबाट १ करोड १७ लाख रुपैयाँ बढी शुल्क संकलन गरेको छ । मुख्य निर्वाचन अधिकृत लिलामणी पौडेलका अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार, उपाध्यक्ष र कार्यकारिणी सदस्यहरुको उम्मेदवारीबाट १ करोड १७ लाख बढी रकम संकलन गरिएको हो । महासंघको निर्वाचनका लागि ३ जनाले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका हुन् । तीनै जनाबाट १५ लाख रुपैयाँ शुल्क उठेको छ । यस्तै, महासंघको जिल्ला नगरको उपाध्यक्षमा तीन जना, वस्तुगत उपाध्यक्षमा तीन जना र एशोसिएट उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर उपाध्यक्षका लागि सुरकृष्ण उपाध्याय, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल र एशोसिएट उपाध्यक्षका लागि जोत्यसना श्रेष्ठ र भरत राज आचार्यले उम्मेदवारी दिएका हुन् । महासंघले ८ जना उम्मेदवारहरुबाट ३ लाख रुपैयाँका दरले २४ लाख रुपैयाँ शुल्क संकलन गरेको छ । यस्तै, महासंघको जिल्ला नगर संघको १८ सदस्यका लागि ३२ जना, वस्तुगत संघको १४ सदस्यका लागि २८ जना र एशोसिएटतर्फ १९ सदस्यका लागि ३० जना गरी कूल ९० जनाको उम्मेदवारी परेको छ । महासंघले कार्यकारिणी सदस्यहरुको उम्मेदवारबाट कूल ६७ लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ । महासंघको विधान अनुसार प्रत्येक प्रदेशबाट एक÷एक जना सदस्य हुन पाउने व्यवस्था छ । जसमा लुम्बिनी प्रदेशबाट निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य प्रदेशमा निर्वाचन हुने भएको छ । सुदूरपश्चिम प्रदेशबाट २ जना, कर्णाली प्रदेशबाट ३ जना, गण्डकी प्रदेशबाट २ जना, बाग्मती प्रेदशबाट २ जना, कोशी प्रदेशबाट ३ जना र मधेश प्रदेशबाट २ जनाले उम्मेदवारी दिएको पौडेलले बताए । प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरुबाट १५ जना उम्मेदवारबाट ११ लाख २५ हजार रुपैयाँ संकलन गरेको हो । नगदमै कारोबार पछिल्लो समय सरकार र राष्ट्र बैंकले समेत डिजिटल भुक्तानीलाई प्राथमिकता दिइरहेको छ । तर, अधिकांश व्यवसायीहरुले उम्मेदवारी दर्ता गर्दा नगद रकम भुक्तानी गरेका थिए । वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले पनि ५ लाख रुपैयाँको गड्डी नगद नै भुक्तानी गरेका छन् । महासंघको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्ताका लागि डिजिटल भुक्तानीको व्यवस्था गरेका भएपनि नगदमै कारोबार भएको हो । करोडौं रुपैयाँ बराबरको शुल्क भुक्तानी गर्दा अधिकांशले नगदमै शुल्क बुझाए ।
अनलाइन माध्यमबाट तिरेको राजस्व ट्राफिक प्रहरीद्धारा अस्वीकार, क्यान महासंघले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको राजश्व पोर्टलबाट भुक्तानी गरिएको जरिवाना ट्राफिक प्रहरीले स्वीकार नगरेको भन्दै कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले विभिन्न मन्त्रालय र सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएको छ । हालै सुर्खेत, कालिकोटलगायतका जिल्लामा विद्युतीय माध्यमबाट तिरिएको राजस्व ट्राफिक प्रहरीले वैध नहुने भन्दै कागजात नियन्त्रणमा लिएको भन्दै क्यान महासंघले विरोध जनाएको हो। यस घटनाले सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली लागू गर्न सरकारी संयन्त्र कमजोर देखिएको र सेवाग्राहीलाई लाइन बसेर नगदबाटै कारोबार गर्न बाध्य पारिएको क्यान महासंघले सरकारको ध्यानाकर्षण गराएको हो । सोमबार क्यान महासंघको टोलीले सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई यस घटनाबारे अवगत गराएको छ। मन्त्रालय पुगेको महासंघको टोलीले सरकारी राजस्व पोर्टल तथा अन्य डिजिटल भुक्तानी माध्यमबाट तिरिएको राजस्वलाई देशैभरका सरकारी कार्यालयले स्वीकार गर्न नसकेकाले सेवाग्राही मर्कामा परेको जानकारी गराएको छ । यस्ता घटनाले डिजिटल नेपाल निर्माणमा समेत असर पुग्ने क्यान महासंघ टोलीको धारणा छ । सरकारले सञ्चालन खर्च घटाउने र नवीनतम प्रविधिमार्फत भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न नीति तथा डिजिटल नेपाल फ्रेमवर्कजस्ता महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा सरकारकै अंगले अनलाइन माध्यमबाट सेवाग्राहीले भुक्तानी गरेको राजस्व अस्वीकार गर्ने घटनाले सरकारको योजना निर्माण र कार्यान्वयनबीच प्रष्ट खाडल रहेको क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बताए । अध्यक्ष पोदारले सरकारी राजस्व खातामा रकम जम्मा भएको परीक्षण गर्ने प्रणाली भरपर्दो र सम्बन्धित सरोकारवालाहरूको पहुँचभित्र हुन जरुरी रहेकाले यस सम्बन्धमा सहयोग र समन्वय गरिदिन मन्त्री शर्मासँग अनुरोध गरेका छन् । महासंघको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री शर्माले यस घटनाबारे आफू संवेदनशील रहेको बताइन्। मन्त्री शर्माले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको र कार्यान्वयनमा देखिएका समस्या हल गर्न मन्त्रालयको तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् । यसअन्तर्गत गृह मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयसहित निकायमा मन्त्रालयको तर्फबाट पत्राचार गर्ने उनले भेटमा बताइन् । यसअघि क्यान महासंघले महालेखा नियन्त्रक कार्यालयलाई ध्यानाकर्षण पत्र बझाउँदै विद्युतीय माध्यमबाट तिरेको राजस्व सम्बन्धित सबै सरकारी कार्यालयमा मान्य गराउन आवश्यक समन्वय गरिदिन आग्रह गरेको थियो । साथै गृह मन्त्रालय र सम्बन्धित निकायमा पनि ट्राफिक जरिवानासहित अन्य सरकारी राजस्व अनलाइन प्रणालीबाट तिर्ने व्यवस्था कार्यान्वयन गराउन ध्यानाकर्षण गराइने महासंघले जनाएको छ । ‘२०७९ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेत ९३१४०४६८११० कारोबार संकेत नम्बर ९२०७९८४६०९६२० मा जम्मा भएको जरिवाना राजस्व रकम ५०० रुपैयाँको भौचर सुर्खेत प्रहरीले हामीलाई परिपत्र छैन, अनलाइन कारोबार हुँदैन भनी पुनः नगद लगिएको छ,’ क्यान महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘२०७९ फागुन १९ गते जिल्ला प्रहरी कार्यालय कालीकोट ९३१४०४६५०३० कारोबार संकेत नं. २०७९८४५२४५० मा जम्मा भएको जरिवाना राजस्व १५०० रुपैयाँ प्रहरीले परिपत्र चाहिने भन्दै सम्बन्धित व्यक्तिको बिलबुक र लाइसेन्ससमेत दिन नमानेको घटना सार्वजनिक भएको छ ।’ कानून कार्यान्व्यन गर्ने निकाय ट्राफिक प्रहरीले नै नेपाल सरकारको नियम नमान्ने र नगद नै बुझाउनुपर्ने बाध्यताले सरकारले अघि सारेको डिजिटल कारोबारलाई प्रोत्साहन नगर्ने र सेवाप्रवाहमा थप जटिलता ल्याउने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा टिभी जित्ने मौका
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । यस योजनामा सहभागी हुन बैंकका ग्राहकहरुले भिजा डेबिटरक्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २१ देखि बैशाख ९ गतेसम्म लागू रहनेछ । यस योजनाको अन्त्यमा, कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनौट गरिनेछ । छनौट भएका एक भाग्यशाली विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउनेछन् । बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन गर्नु रहेको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता नवीन योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकका संचालक अधिकारीको राजिनामा स्वीकृत
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका संचालक विश्व मोहन अधिकारीको राजिनामा स्वीकृत भएको छ । बैंकको चैत २० गते बसेको संचालक समितिको बैठकले अधिकारीको राजिनामा बैंकको स्वीकृत गरेको हो । बैंकका सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका थिए ।
भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण बढ्यो
काठमाडौं । भारतमा रोगजारी गरी नेपाल फर्कने नेपालीहरुलाई कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेपछि परीक्षणमा कडाई गर्दा बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई संक्रमण देखिएको हो । नेपाल र्फकनेहरुमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी साहीले जानकारी दिइन् । उनले नेपाल फर्कने नेपालीहरुको दैनिक परीक्षणमा कोरोना संक्रमित देखापर्न थालेसँग परीक्षणको दायरा पनि बढाएको बताइन् । ‘जमुनाहा नाकाबाट दैनिक करिव डेढ सयदेखि २ सय जनाको जाँच हुने गरेको छ, चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनिन् । कोरोनाको पोजेटिभ देखिएकाहरुमा समान्य लक्षण देखिएकाले उनिहरुलाई आइसोलेसनमा बस्ने सुझाव दिएर घर पठाउने गरिएको प्रमुख साहीले बताइन् ।